coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सत्ता फुत्किएपछिका ‘काँग्रेसी’

सरकार कसले बनाउने वा कसको नेतृत्वमा बन्ने भन्ने चर्चाले संघिय राजधानी काठमाडौं पुसको जाडोमा पनि तात्तिएको थियो।

यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्याट्ट भने, ‘प्रचण्ड कुनै पनि हालतमा प्रधानमन्त्री बन्दैनन्।’ नेपाली काँग्रेसलाई अल्पकालीन रुपमा हाइसञ्चो भयो। काँग्रेसीहरू ढुक्क भए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिच ‘सत्ता पावर सेयरिङ’ र ‘सत्ता बार्गेनिङ भइरहेको थियो।

दोस्रो ठुलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तो भनिसकेपछि ‘प्रचण्ड’ हामीसँगै हुनेछन भन्ने विश्वासमा काँग्रेसीहरू ढुक्कसँग बसे।

प्रचण्ड हाम्रै शरणमा आउँलान भन्ने आकलन काँग्रेस सभापति देउवा एवं टिमले गरेको हुनुपर्छ। तराईतिर एउटा उखान छ नि, ‘कहाँ जान्छस् मछली मेरै ढडिया’ ‘ढडिया’ भनेको जाल त होइन तर माछालाई फसाउन बासको सूइरोबाट बनाइएको भाँडो हो जुन थारु समुदायले माछा मार्न प्रयोग गर्छन्। हो, नेपाली काँग्रेसले ‘प्रचण्ड’ लाई सत्ता सेयरिङमा यसै गरी फसाउने प्रपञ्च गरेको हुनुपर्छ। तर प्रचण्ड सत्ताका खेलाडी र सत्ता बार्गेनिङका बादशाह त हुँदै हुन त्यसैमा उनको पार्टी तेस्रो ठुलो दल बनेको छ।

ओलीले प्रचण्ड कुनै हालतमा प्रधानमन्त्री बन्दैनन् भनेको अर्को दिन त शक्ति केन्द्र एकाएक बालुवाटारबाट अध्यक्ष निवास बालकोट सर्‍यो। केन्द्र बालकोट सरेको झण्डै चार घण्टामै ओलीले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा अघि सारे। र, त्यही दिन पाँच बजे भित्र प्रचण्ड बहुमतसहित उपस्थित भए र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्रीको दाबी गरे।

यता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा छाँगाबाट खसेजस्तै भए। प्रचण्डको दाबी शीतल निवास पुग्ने बित्तिकै सभापति देउवा मात्र होइन संस्थापन पक्षका नेताहरु बढि विचलित भए। तर अघिल्लो दिन संसदीय दलको नेताको चुनावमा पछारिएको इतर पक्षलाई सत्ता गुमेको खबरले त्यति पोलेको देखिएन्।

यस घटनाले उल्टै इतर पक्षलाई राहत मिलेका सङ्केतहरू देखिए। इतर पक्षका नेताहरुले विभिन्न फोरमहरूमा व्यक्त गरेका भनाईले पनि  यसको पुष्टि भएको छ।

नयाँ सत्ता समीकरण र गठबन्धनको योजना प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्नुभन्दा तीन/चार दिन अघि नै बनेको भन्ने कुरा पछि सार्वजनिक भयो। र, नयाँ सत्ता गठबन्धनबीचको सहमति पत्रको ड्राफ्ट समेत त्यति बेलै तयार गरिएको र ड्राफ्ट लेख्नेदेखि नयाँ सत्ता समिकरणमा ओली नजिक रहेर पार्टीका उपमहासचिव, सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काम गरेको भन्ने कुरा बाहिर आयो। यतिन्जेल नेपाली काँग्रेस र यसको नेतृत्व के हेरेर बसेका थिए। त्यसैपनि नेपाली काँग्रेस ‘भेटरान’ नेताहरुको पार्टी हो। त्यसैमा यति धेरै गुट, उपगुट र समूहहरु छन्। यत्रो दौडधुप हुँदा यसको छनक सभापति देउवा र संस्थापन पक्षलाई भएकै थिएन त?

काँग्रेस सभापति देउवाले सरकार नेतृत्वको अडान लिएपछि प्रचण्ड हानिएर अध्यक्ष ओलीको शरणमा गए। उनले दुबैतिर ‘प्रधानमन्त्री कुर्सी’ को बार्गेनिङ गरिरहेका थिए।

काँग्रेसको कार्य सम्पादन समितिको बैठकले निर्वाचन परिणाम लगत्तै ठुलो दलको हैसियतले नयाँ सरकारको नेतृत्व काँग्रेसले नै गर्नुपर्छ भनेर निर्णय गरेकै हो। त्यसैले पनि सभापति देउवाले प्रधानमन्त्रीको कुर्सी दाबी गर्नु स्वभाविक हो। त्यसो त देउवामा प्रधानमन्त्री बन्ने लोभ अन्तिमसम्म पनि जिवितै थियो। उनले संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापालाई भारी मतले हराए पनि।

यसरी नेपाली काँग्रेस सबैभन्दा ठुलो दल हुँदाहुँदै पनि संघिय र प्रादेशिक सरकारका सबै नेतृत्व खोसियो। यसपछि काँग्रेसीहरूमा रुवाबासी चलिरहेको छ। आरोप र प्रत्यारोप छ। खुइल्याउने र खुइलिने प्रतिस्पर्धा छ।

सत्ता फुत्किएपछि काँग्रेसको संस्थापन पक्षमा अझ बढि विचलन देखिन्छ। संसदीय दलको नेता चुनिनका लागि सभापति देउवा र उनका पक्षले सांसदहरूलाई मन्त्री पदको आश्वासन दिएको हुनुपर्छ। ती उधारोका मन्त्री पदहरु फुस्किए। महत्त्वाकाङ्क्षी सांसदहरूका मन्त्री बन्ने सपनाहरू थिए। निर्वाचन आयोगकै सिलिङमा भएपनि लाखौँ रुपमा खर्च गरे चुनाव जितेर आएका छन्, सांसदहरु छन्। यी सबैलाई थम–थम्याउन संस्थापन पक्षलाई कम्ता हम्मेहम्मे परेको छैन होला।

सत्ता फुत्किदाको अर्को ठुलो चोट काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि परेको छ। निर्वाचन लगत्तै उनले आफूलाई राष्ट्रपति पदका दाबेदारका रुपमा प्रस्तुत गरिरहेका थिए। 

प्रधानमन्त्रीमा धेरै पटक प्रयास गर्दा पनि असफल भएपछि बिस्तारै उनी राष्ट्रपति पदमा दाबी गर्दै थिए। उनको यो सपना पनि हाललाई खलबलिएको छ।

नेता पौडेलले त आजका मितिसम्म पनि नयाँ सत्ता समीकरण स्वीकार गर्न सकेका छैनन्। उनी अझैपनि संविधान र नागरिक अधिकारको रक्षार्थ ‘राष्ट्रिय सहमति’ को सरकार बनाएर अघि बढ्नुपर्छ भनिरहेका छन्।

संस्थापन पक्षकै अन्य नेताहरूबिच विवाद भएका छन्। काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र पार्टी प्रवक्ता डा.प्रकासशरण महतका बिच पनि सत्ता खोसिएको बिषयमा विवाद भएको घटना सार्वजनिक भयो। विवाद सार्वजनिक भएपछि उपसभापति खड्काले आफ्नो ट्विीटर हेण्डलमा लेखे,

‘बालुवाटारमा पार्टी प्रवक्ता डा.प्रकासशरण महतले मलाई झम्टेको हातपात गर्न कोसिस गरेको भनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा केहि दिनदेखि सम्प्रेषण भएको बिषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यो कुरा सत्य होइन। केही मुद्दामा फरक तरिकाको बहस हामी साथीहरूका बिच भएको मात्र हो।’ 

तर उनले ‘फरक तरिका’ को बहस कस्तो हो? त्यसको व्याख्या गरेका छैनन्। त्यसैले उनीहरु दुईबिच सत्ता कसरी फुत्कियो? भन्ने बिषयमा विवाद भएको हुनपर्छ भन्ने आकलन गर्न गाह्रो छैन।

तर काँग्रेसको इतर पक्ष भने संस्थापन जस्तो विचलित भएको देखिएन्। यस घटनामा इतर पक्ष ‘संस्थापन पक्षको कमजोरीको रुपमा व्याख्या गर्ने र प्रचार गर्ने’ काममा लागेको देखियो। १४ औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित डा.शेखर कोइराला नेतृत्वमा रहेको इतर पक्षले सत्ता फुत्किएको घटनालाई सभापति देउवाको असफलता र कमजोरीको रुपमा व्याख्या गर्ने तयारी गरिरहेको बुझिएको छ।

निर्वाचन परिणाम, पुरानो सत्ता गठबन्धनमा आएको दरार र नयाँ सरकार गठनका बिषयमा छलफल गर्न काँग्रेसले यही पुस २२ गते राखिएको केन्द्रिय समिति बैठकमा पार्टी नेतृत्वको क्षमता माथि प्रश्न उठाउने तयारी भइरहेको छ। तर यो बैठक आज (बुधबार) पुस २८ गतेलाई सारिएको छ।

इतर पक्षमा काँग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि छन्। महामन्त्री थापाले त पोखरामा हालै सम्पन्न साहित्यिक महोत्सवको वक्ताको रुपमा गएर ‘आफू संस्थापन पक्षबाट अपमानित’ भएको समेत भन्न भ्याए। उनले आफूलाई सत्ता गठबन्धन र सत्तासमिकरणको कुनैपनि बैठकमा नबोलाइएको र छलफल समेत नगरिएको सार्वजनिक गरे। 

थापाको आशय, ‘आफूहरूसँग छलफल गरेर गरेको भए सायद सत्ता फुत्किँदैन थियो की’ भन्ने नै थियो। उनले व्यक्त गरेका शब्दहरुले पनि यो घटनाबाट इतर पक्ष तुलनात्मक रुपमा कम दुखी भएको छ।

संसदीय दलको नेताका उम्मेदवार समेत बनेका महामन्त्री थापाले सार्वजनिक कार्यक्रममा पुगेर सभापतिले एकलौटी गरे भन्दै हिँड्ने हो की पार्टी भित्रै बसेर आफ्नो अधिकारका लागि लड्ने हो? की महामन्त्रीको अधिकारका लागि लड्ने तरिका यही हो?

महाधिवेशनमा भारी मतले जितेका महामन्त्री हुन, थापा। निर्वाचित महामन्त्री विधान सम्मत अधिकार प्राप्तिका लागि लड्न नसक्नु कसको कमजोरी हो? संसदीय दलको नेता बन्न कसरत गर्ने र आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत पनि गर्ने तर पार्टी र त्यसको विधानमा उल्लेख अधिकार खोस्न नसक्नु महामन्त्री थापाकै पनि कमजोरी हो। र, पार्टीलाई एक ढिक्का बनाएर लैजाने काममा सभापति देउवा अहिले मात्र होइन, धेरै पहिलेदेखि नै असफल भइसकेका छन्। समूह र गुटहरूको कुरा मात्र सुन्ने, अरूको सुझाव र आलोचना सुन्नै नसक्ने प्रवृत्ति बढ्दै गएको छ। यसतर्फ नेतृत्व गम्भीर हुनैपर्छ। कमजोरी दुबैतिर त्यत्तिकै छन्।

सत्ता गुम्दैमा सबै थोक गयो भन्ने मानसिकताबाट काँग्रेसीहरू अब मुक्त हुनुपर्छ। पार्टी भित्र इतर र भितर पक्षहरू धेरै भए। तीनको तत्काल व्यवस्थापन गर्दा हुन्छ। सत्ता फुत्किएको रोदन भन्दा पनि अहिलेलाई पार्टी मजबुत बनाउने काममा लागे हुन्छ। सशक्त ‘वाच डग’ भएर प्रतिनिधिसभामा उपस्थित जनाउँदा उपयुक्त हुन्छ। सत्ताको नेतृत्व जुनसुकै बेला पनि आउन सक्छ। अघिल्लो पटकको नेतृत्व पनि एमाले अध्यक्ष ओलीकै गलत कदमले आएको होइन र? अहिले पनि उनकै पहलमा सरकार बनेको छ। 

अध्यक्ष ओलीले फेरी पनि त्यस्तै कदम नचाल्नान भन्न सकिने अवस्था छैन्। यो सरकार पनि शंकाको घेरामा परिसकेको छ। त्यसैले छट्पटाउन छोडेर काँग्रेसीहरू पार्टी बनाउन तीर लागे हुन्छ। प्रभावकारी प्रतिपक्ष भए हुन्छ।

यति गरेपछि निर्वाचनका बेला चुनावी गठबन्धन गर्न दलहरु खोज्दै हिडनु पर्दैन। कुनै क/ख/ग नेताबाट धोका पनि हुँदैन। ढुक्कले एकल बहुमतको सरकार बनाउन पाइन्छ। चेतना भया।

प्रकाशित: २० पुस २०७९ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App