२ चैत्र २०८२ सोमबार
image/svg+xml
विचार

जनयुद्ध’का बेला बिलाएका पत्रकारहरू

साबिकको कर्णाली अञ्चलको कालीकोटका नवराज शर्मा ‘वसन्त’ सुर्खेतमा रहेर कदम साप्ताहिक पत्रिका प्रकाशित गर्थे। कालीकोटमा दर्ता भए पनि जिल्लामा छापाखाना नहुँदा उनी सुर्खेतबाट पत्रिका प्रकाशन गरेर कर्णालीका जिल्लाहरूमा हेलिकोप्टरमार्फत पत्रिका पुर्‍याएर वितरण गर्थे। २०५२ फागुनबाटै कर्णालीमा सशस्त्र द्वन्द्वको आगो सल्किसकेको थियो। द्वन्द्वका बेला समाजमा वकालत गर्नेहरू सरकार र विद्रोहीको निसानामा नपर्ने कुनै थिएन।

२०५८ मंसिरमा सरकार-माओवादीबीच युद्धविराम भयो। २०५८ चैतमा उनी आफ्नो गाउँ सिप्खाना गए। शर्मालाई २०५९ वैशाख १९ गते ‘तपाईसँग केही सल्लाह गर्नुछ’ भन्दै माओवादीले लगे। दुई पक्षबीच युद्धविराम भएकाले माओवादीले शर्मालाई अपहरण गर्लान् भन्ने परिवारले कल्पना गरेको थिएन। जेठ १९ गते सान्नीगाढ साना जलविद्युत आयोजनाको विद्युत गृहमा चरम यातना दिएर माओवादीले शर्माको हत्या गरे। सोही राति माओवादीले हत्या गर्नुको कारणसहित घरमा सूचना टाँस गरे। त्यसमा लेखिएको थियो-पार्टीका महत्त्वपूर्ण सूचना सुरक्षा निकायलाई उपलब्ध गराएको र स्थानीय एक दलितको १५ सय रूपैयाँ नतिरेका कारण हत्या गरियो।

घरमुलीको मृत्युपछि एक श्रीमती र तीन छोराछोरीको बिचल्ली भयो। श्रीमान्को हत्याले विक्षिप्त बनेकी रिता न्यायकै खोजीमा बितिन्। जेठी छोरी संगीताले उच्च शिक्षा अध्ययन गर्न पाइनन्। छोरी साबु र छोरा जीवनले एसओएसको छहारीमा पढ्न पाए।

‘सशस्त्र द्वन्द्वले परिवार तहसनहस भयो, बुबाआमाको छहारी गुमायौं,’ साबुले भनिन्, ‘बुबाको हत्यामा संलग्नहरूले अहिलेसम्म सजाय पाएका छैनन्, हामीले बुबाको लास पनि पाएका छैनौं।’ साबुको आक्रोश तत्कालीन द्वन्द्वरत माओवादीसँग मात्रै छैन, राज्य पक्षसँग पनि छ। माओवादीले नै शर्माको शव गाडेको ठाउँबारे जानकारी दिएका छन्। उत्खननका लागि राज्यसँग र अधिकारवादी संघ-संस्थासँग आग्रह गरिए पनि हालसम्म त्यसले पूर्णता पाउन सकेको छैन। ‘कम्तीमा लास पाएको भए पनि केही सान्त्वना हुन्थ्यो,’ उनले भनिन्, ‘राज्यले पनि यसमा सहयोग गरेन।’

२०६१ भदौ २१ गते पत्रकार ज्ञानेन्द्र खड्काले पढाउने जनता मावि ज्यामिरेमा अभिभावक भेला थियो। भेला चलिरहेकै बेला दिउँसो करिब २ः३० बजे विद्यालयमा चार जना अपरिचित मानिस आए। सामान्य गाउँले भेषमा आएका उनीहरू को हुन् भनेर कसैले छुट्याउन सकेनन्। करिब आधा घण्टापछि मञ्चमा विद्यालयका प्रधानाध्यापक ठाकुरनाथ कुइँकेल भाषण गर्दै थिए। ती अपरिचितमध्ये दुई जना दुईतिरबाट आएर ज्ञानेन्द्र भन्ने तैं होइनस् भन्दै समातेर बाँध्न थाले। एक जनाले पेस्तोल र ग्रिनेट हातमा निकालेर सबै चुपचाप बस्ने, १० मिनेटमा छाडिदिन्छौं भने र बाँधिएका ज्ञानेन्द्रलाई लिएर हिँडे।

आफ्नै घरको बाटो लगिएका खड्कालाई उनी छोरी अजिताले देखेपछि आमा मिथिलालाई खबर गरिन्। छोरीबाट त्यो खबर सुन्नेबित्तिकै पछिपछि गएकी मिथिलाकै अगाडि विद्यालयबाट करिब १५ मिनेटको बाटो हिँडाएर गाउँकै देवीस्थानमा रहेको भलिबल पोलमा बाँधेर घाँटी रेटी ज्ञानेन्द्रको हत्या गरियो। पोलमा बाँधिएको ज्ञानेन्द्रको शव हत्याको करिब १८ घण्टापछि भोलिपल्ट स्थानीयवासीले उठाएका थिए। शव इन्द्रावती दोभान पुर्‍याएपछि आएका सुरक्षाकर्मीले खड्काको शरीरबाट माओवादीले उनीमाथि लगाएका आरोपपत्र बरामद गरेका थिए। माओवादीले सो पत्रमा उनलाई सुराकीलगायतका १० आरोप लगाएका थिए।

मारिने समयमा खड्का राष्ट्रिय समाचार समितिको मेलम्ची क्षेत्र संवाददाता (स्ट्रिन्जर) थिए। २०५४ सालमा काभ्रेबाट प्रकाशित जनप्रतिष्ठा साप्ताहिकमार्फत पत्रकारिता सुरु गरेपछि उनले समाचारपत्र दैनिक, सिन्धुपाल्चोकबाट प्रकाशित हुने सिन्धुसन्देश साप्ताहिक लगायत पत्रपत्रिकामा पनि काम गरेका थिए।

खड्काका एक श्रीमती मिथिला, दुई छोरी अजिता र अस्मिता तथा एक छोरा अश्विन छन्। श्रीमती मिथिला बिनाकारण, बिनागल्ती माओवादीले आफ्ना श्रीमान्को हत्या गरेको बताउँछिन्। घरमुलीको मृत्युपछि उनले भोगेको मानसिक तनावको फेहरिस्त लामै छ। उनी द्वन्द्व सकिएपछि पनि द्वन्द्वपीडितलाई निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगार लगायतको व्यवस्था राज्यले नगरिदिँदा आक्रोशित छिन्। ज्ञानेन्द्रका बुबा विष्णुबहादुरले घटनामा प्रत्यक्ष अप्रत्यक्ष संलग्नहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने धारणा राख्छन्। शान्ति प्रक्रिया सम्पन्न भएको यतिका लामो समयसम्म पनि हत्यारालाई कारबाही नहुँदा न्यायको अनुभूति गर्न नपाएको परिवारको गुनासो छ।

दैलेख सदरमुकाम नारायणमा वितरण हुने खानेपानी ५२ दिनसम्म अवरुद्ध भएपछि पत्रकार डेकेन्द्रराज थापा माओवादीसँग वार्ताका लागि नागरिक समाजका तर्फबाट २०६१ असार १२ गते गाउँ गए। वार्ता गर्न गएका थापालाई माओवादीले अपहरण गरे। चरम यातना दिँदै उनलाई २०६१ साउन २७ मा खाल्डोमा पुरेर हत्या गरे।

अपहरणको ४५ दिनपछि थापाको हत्या भएको थियो। माओवादीले २०६१ साउन २७ गते नौमुले गाउँपालिका (द्वारी गाविस-१) मा हत्या गरी चार वर्षसम्म शव लुकाएका थिए। घटनाको चार वर्षपछि नेपाल पत्रकार महासंघ र मानव अधिकारकर्मीहरूको रोहवरमा शव उत्खनन गरिएको थियो। दुई छोरी र एक छोरा रहेका डेकेन्द्रकी जेठी छोरी २५ वर्षीया नूतनले इन्जिनिरिङ सकाएकी छन् भने अर्की छोरी २३ वर्षीया निशा अहिले बिएस्सी नसिङ्ग अध्ययनरत छिन्। २१ वर्षीय छोरा निराजन सिभिल इन्जिनियर अध्ययनरत छन्।

डेकेन्द्रकी श्रीमती लक्ष्मी वीरेन्द्रनगर नगरपालिकामा अधिकृत पाचौं तहमा जागिरे छिन्। ‘छोराछोरीको पढाइमा सरकारले सहयोग गरेन,’ लक्ष्मीले भनिन्, ‘छोरीको डाक्टर पढ्ने इच्छा आर्थिक अभावका कारण पूरा हुन सकेन।’ मानव अधिकारकर्मीको रोहवरमा डेकेन्द्रको शव उत्खनन २०६५ असार ११ गते गरिएको थियो भने २०६५ साउन १८ गते दैलेख सदरमुकाम नजिकै रहेको श्रीस्थानमा दाहसंस्कार गरिएको थियो। नेपाल पत्रकार महासंघ दैलेखको अगुवाईमा दैलेख सदरमुकामका बीच बजारमा डेकेन्द्रराज थापाको अर्धकदको सालिक बनाइएको छ। चोकको नाम पनि डेकेन्द्रकै नाममा छ। पत्रकार थापाले सदरमुकामभित्रै वादी समुदायको बस्ती बसालेका थिए। समाजसेवामा आफूलाई समर्पित गरेका उनले दैलेखवासीलाई खानेपानीको समस्या समाधान गर्नका लागि वार्तामा जाँदा माओवादीबाट आफ्नो ज्यान गुमाए।

दैलेखमा वितरण भएको खानेपानी संस्था, हत्या गरिएको विद्यालय र नौमुले–दैलेख सडक खण्डको नामकरण पत्रकार डेकेन्द्रको नामबाट गरिनुपर्ने स्थानीयहरू बताउँछन्। ‘खानेपानीको समस्या समाधानका लागि माओवादीसँग वार्ता गर्न जाँदा उहाँको हत्या भयो,’ महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले भने, ‘त्यसैले खानेपानी आयोजनाको नाम, हत्या गरिएको विद्यालय र नौमुलेसम्म पुग्ने सडकको नामकरण डेकेन्द्रको नामबाट हुनुपर्छ भन्ने हाम्रो माग छ।’

दाहसंस्कारपछि पत्रकार थापाकी धर्मपत्नी लक्ष्मी थापाले २०६५ असोज ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जना विरुद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसयता ६ जनाले अदालतबाट सजाय काटिसकेका छन्। १ जनाले जेल सजाय भोगिरहेका छन् भने दुई जना अभियुक्त अझै फरार छन्। २०६९ मंसिर २७ गते पुनरावेदनमा रिट दर्ता भएको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखका तत्कालीन प्रमुख (डिएसपी) शारदाप्रसाद चौधरीको नेतृत्वमा अनुसन्धान अधिकृत (प्रहरी निरीक्षक) विनोद शर्माले २०६९ पुस २० गते नौमुले क्षेत्रमा पुगेर पहिलो पटक ५ जना आरोपीलाई पक्राउ गरी अनुसन्धान थालेका थिए।

जिल्ला अदालत दैलेखबाट कैद असुल गराउन तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले फैसला सुनाएका थिए। पत्रकार थापाको हत्या कसुरमा अदातलले ती आरोपितहरू पक्राउ परेपछि मुद्दा प्रक्रिया अघि बढ्ने गरी मुलतबीमा राखिएको छ। शान्ति प्रक्रियापछि २०६५ असार ११ गते नौमुले गाउँपालिका-३ द्वारीमा गाडिएको थापाको शव उत्खनन गरिएपछि न्यायिक प्रक्रिया सुरु भएको थियो।

पक्राउ परेकाहरूका सन्दर्भमा २०७१ मंसिर २१ गते तत्कालीन जिल्ला न्यायाधीश श्रेष्ठको इजलासले निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई दुई वर्ष तथा लक्ष्मीराम घर्तीमगरलाई एक वर्ष ६ महिना र वीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो। उनीहरूले कैद भुक्तान गरिसकेका छन्। उक्त फैसलामा अन्य चार जनालाई पक्राउ परेका बखत मुद्दा जगाउन सकिने गरी मुलतबीमा राख्ने उल्लेख थियो।

त्यसपछि हत्यामा संलग्न मुख्य आरोपीहरूलाई हत्याको १७ वर्षपछि सजाय सुनाइएको छ। जिल्ला अदालत दैलेखका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले हत्यामा संलग्नलाई सजाय सुनाएको हो। मुलतबीमा रहेको मुद्दाको फैसला सुनाएपछि परिवारजनले न्याय पाएको भन्दै खुसी साटेका थिए। फैसलापछि स्वर्गीय पत्रकार थापाका भाइ यज्ञराजले प्रहरीले पक्राउ पर्न बाँकी अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउनका लागि साहस देखाउनुपर्ने बताए। ‘पक्राउ पर्न बाँकी रहेका दुई अभियुक्त प्रहरीकै आसपास छन्,’ यज्ञराजले भने, ‘प्रहरीले चासो दिए अदालतको फैसलाको कार्यान्वयन हुनेमा आशावादी छौं।’

तेह्रथुमको मोरहाङमा जन्मिएका अम्बिका तिम्सिना मोरङको पथरीलाई कार्यक्षेत्र बनाएर तत्कालीन विद्रोही माओवादी निकटको जनादेश साप्ताहिकमा काम गर्थे। तर, उनैलाई माओवादी कार्यकर्ताले हत्या गरे। आफ्नो पार्टीका गोप्य सूचना सुरक्षाकर्मीलाई उपलब्ध गराएको आरोपमा २०५९ मंसिर २५ गते राति माओवादीले विभत्स हत्या गरेका थिए। त्यसअघि उनलाई माओवादी गतिविधिमा संलग्न भएको आरोपमा २०५९ जेठमा प्रहरीले पक्राउ गरी मोरङको पथरीमा केही दिन राखेको थियो। तिम्सिनालाई २०५९ साल भदौ १० गते प्रहरीले छोडेको थियो। प्रहरीको यातना र अत्याचारबाट छुटेका तिम्सिनालाई आत्पसमर्पण गरेको, पार्टीमा क्रियाशील व्यक्तिहरूको नाम प्रहरी प्रशासनलाई दिएको, जनपक्षीय पत्रकारिताबाट पलायन भएको, सुरक्षाकर्मीसँग आत्मसमर्पण गरेको आरोप माओवादीले लगाएको थियो।

एक्लो सन्तानको मृत्युपछि बुबा खगेन्द्र र आमा निर्मलाको सहारा खोसियो। माओवादीले बिनाकसुर छोराको हत्या गरेपछि खगेन्द्र मानसिकरूपले विक्षिप्त बने। छोराको लास देखेपछि बेहोस भएका खगेन्द्र लामो समयपछि होसमा आए। त्यसपछि मानसिक रोगको उपचारका लागि उनलाई नेपाल र भारतका विभिन्न स्थानमा पुर्‍याएर औषधि उपचार गरिरहनुपर्‍यो। अम्बिकाको हत्याले पारिवारिक रूपमा ठुलो क्षति बेहोर्नु परेको तिम्सिना परिवारले उनको हत्यास“गै सिर्जित मानसिक तनावका कारणले ठुलो आर्थिक क्षतिसमेत ब्यहोर्नुपर्‍यो। खगेन्द्र जनादेशसँगै धरानबाट प्रकाशित हुने विजयपुर साप्ताहिक र काठमाडौंबाट प्रकाशित हुने महिमा साप्ताहिकमा पनि संवाददाताका रूपमा काम गर्थे। ‘आय-आर्जन नहुने पेसामा नलाग्न धेरै पटक सुझाव दिएको थिएँ,’ बुबा खगेन्द्रले भने, ‘भनेको मानिदिएको भए कलिलै उमेरमा ऊ मारिने थिएन। हामीले हेर्दा पत्रकारिता पेसाबाट केही गर्न सकिँदैन जस्तो लाग्थ्यो तर पछि यही पेसाबाट केही गर्न सकिन्छ भनेर उसले हामीलाई विश्वस्त बनाएको थियो,’ अम्बिकाका बुबा खगेन्द्रले भने।

पत्रकारितामा प्रवेश गर्नुअघि तिम्सिना मोरङकै पथरीस्थित एभरेस्ट बोर्डिङ स्कुलमा केही समयसम्म अध्यापनको कार्यसमेत गरेका थिए। पत्रकारितामा प्रवेश गरेपछि जस्तासुकै चुनौती सहेर पनि उनी यही पेसामा निरन्तर रूपमा लागिरहे। धेरैले पत्रकारितालाई जाडोको सिरकको संज्ञा दिन्छन्। जाडोको सिरकमा सुरुमा पस्न नै गाह्रो, पसिसकेपछि निस्कनै गाह्रो। पत्रकारिता पनि त्यस्तै हो भनिन्छ। अम्बिकाको जीवनमा पनि पत्रकारिता झन्डै त्यस्तै भयो।

पत्रकारिता गर्ने सिलसिलामा माओवादी निकट पत्रिकामा काम गर्न पुगेकाले छोराको माओवादीसँग निकट सम्बन्ध रहेको हुन सक्ने बुबा खगेन्द्रको अनुमान छ। समाचार संकलन गर्ने कामबाहेक माओवादीको अन्य गतिविधिमा छोराको सक्रियता नरहेको खगेन्द्र बताउँछन्। छोराले माओवादी निकट पत्रिका जनादेशमा काम गर्न थालेपछि समाचार र लेखरचनाहरू दिन माओवादीका मान्छेहरू घरमै आउने गरेको र छोरो घरमा नहु“दासमेत उनीहरूले समाचार र लेखहरू घरमा छाडेर जाने गरेको बुबा बताउँथे।

‘माओवादीस“ग छोराको सम्बन्ध बढ्दै गएको थाहा पाएपछि हामीले त्यस्तो काममा नलाग्न भन्थ्यौं,’ उनले भने, ‘छोराले पत्रकारिताको कामबाहेक अरू कामको मतलब नरहेको बताउँथ्यो।’ अम्बिकाको हत्याले तत्कालीन विद्रोहीलाई के कति राजनीतिक फाइदा गर्‍यो, त्यो त उसकै कार्यकर्ताहरूलाई थाहा होला तर नेपाली पत्रकारिता क्षेत्रले एउटा असल र मेहनती पत्रकार, साहित्य क्षेत्रले एउटा प्रगतिशील साहित्यकार र परिवारले भविष्यको सहारा गुमायो।

सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीले मात्रै होइन, राज्यका निकायले पनि धेरै पत्रकारको हत्या गरे। माओवादीले २०५९ साल भदौ २३ गते सिन्धुलीको इलाका प्रहरी कार्यालय भिमानमा आक्रमण गर्‍यो। असोज १६ गते रामेछापको नारायण दल गुल्मबाट सादा पोसाकमा शाही नेपाली सेनाको टोली पत्रकार जितबहादुर घिमिरेको भुवनेश्वरीमा रहेको घरमा आइपुग्यो।

‘तपाईंसँग केही बुझ्नुछ’ भन्दै लगेर गएको सेनाले सुनकोसी किनार नजिकै रहेको राइमाने खोलाको आँपको रुखमा झुन्ड्याएर गोली हानी हत्या गर्‍यो। जितहादुरसँगै रामबहादुर श्रेष्ठ, शंकर कार्की, अर्जुन कार्की र सोमबहादुर आलेमगरको सेनाले एकै चिहान बनायो। जितबहादुर ग्रामीण क्षेत्रमा बसेर सुरक्षाकर्मी र माओवादीका ज्यादतीहरूलाई बारम्बार स्थानीय पत्रपत्रिकामार्फत उजागर गर्थे।

परिवारले उनको शव बुझ्न पनि पाएन। सुरक्षाकर्मीले शव उठाउन आउनेलाई मार्ने धम्की दिएपछि परिवारले शव नजलाएरै किरिया गर्‍यो। जितबहादुरको हत्या गर्नुभन्दा चार दिनअघि उनका दाजु बिर्ख घिमिरेलाई सादा पोसाकमा आएका तिनै सेनाका जवानहरूले रामेछाप सदरमुकाम आक्रमण गर्न जाऔं भन्दा नमानेपछि मरणसन्न हुने गरी कुटपिट गरेका थिए।

घरमुलीको मृत्युपछि श्रीमती तारालाई गुजारा चलाउनै धौधौ भयो। छोरा गोविन्द र छोरी गोमाको पालनपोषणसँगै शिक्षादीक्षाको जिम्मेवारी ताराको काँधमा आयो। ‘कमाएर खाने जमिन थिएन। छोराछोरीको पालन-पोषण र शिक्षादीक्षाको जिम्मेवारीले थप समस्या बनायो,’ ताराले भनिन्, ‘द्वन्द्वले मेरो सिन्दुर मात्रै खोसेन, छोराछोरीको अभिभावक र सहारा पनि खोस्यो।’

२०५९ जेठ ६ गते कृष्ण सेन ‘इच्छुक’ काठमाडौंबाट पक्राउ परे। जनादेश साप्ताहिकका सम्पादक रहेका सेनलाई उनको घरधनीमार्फत सेनाले पक्राउ गरेको थियो। केही दिन बेपत्ता बनाएर सेनलाई जेठ १३ गते सुरक्षाकर्मीले हत्या गरे। अर्घाखाची स्थायी घर भए पनि भारतमा जन्मिएका सेनले आफ्नो व्यावसायिक कर्मको सुरुवात दाङबाट गरेका थिए। दाङको कोइलावासमा रहेको साल्ट टेड्रिङ कर्पोरेसन लिमिटेडमा ६ वर्ष जागिर गरेका सेन पञ्चायती व्यवस्थामा सुरक्षा कानुनअनुसार २०३८ सालदेखि २०४४ सम्म दाङको घोराही र तुलसीपुर कारागारमा रहे। जेलबाट छुटेर काठमाडौं गएका सेनले योजना साप्ताहिकबाट पत्रकारिता सुरु गरे।

लगत्तै जनादेश साप्ताहिकको कार्यकारी सम्पादक भएर काम गरेका सेन माओवादीको सशस्त्र विद्रोहसँग नजिक थिए। तत्कालीन विद्रोही माओवादीले २०५५ साल पुस २९ गते ललितपुरको भट्टेडाँडाको इलाका प्रहरी चौकी कब्जा गर्‍यो। भोलिपल्ट जनादेश साप्ताहिकमा फोटोसहित ‘भट्टेडाँडामा माओवादीको साहसिक आक्रमण’ भन्ने शीर्षकमा ब्यानर समाचार छापियो। त्यसपछि प्रहरीले पत्रिकाको कार्यालयमा छापा हानेर सल्लाहकार शक्ति लम्सालसहित १३ जना पत्रकारलाई पक्राउ गर्‍यो। पत्रिकाका सम्पादक कृष्ण सेन ‘इच्छुक’ले लुकेरै पत्रिका प्रकाशन गरिरहे। २०५६ जेठ ६ गते सुन्धाराबाट पक्राउ परेका इच्छुकको १३ गते हत्या भयो। इच्छुक पत्रकारितासँगै साहित्य सिर्जनामा पनि उत्तिकै सक्रिय थिए। उनका बन्दी र चन्द्रागिरि, इतिहासको यो घडीमा र शोकाञ्जलि कविता–काव्य प्रकाशित छन्। इच्छुकका तक्मा केसी श्रीमती र समिक्षा सेन छोरी हुन्।

दाङका पुराना पत्रकार नारायणप्रसाद शर्मा सेनलाई सादा जीवन र उच्च विचारका व्यक्तिका रूपमा चिनिन्छ। ‘एक पत्रकार र साहित्यकारका रूपमा मैले उहाँलाई चिन्ने अवसर पाएँ। केही समय सँगसँगै काम पनि गर्‍यौं,’ शर्मा भन्छन्, ‘उहाँ अत्यन्तै सहयोगी हुनुहुन्थ्यो। उहाँका बारेमा जति कुरा काटे पनि विरोध नजनाउने अनि जति आलोचना गरे पनि जहिल्यै हाँसेर जवाफ दिनुहुन्थ्यो। उहाँ आफ्नो सिद्धान्तप्रति निष्ठावान् हुनुहुन्थ्यो।’

पत्रकार मनऋषि धिताल क्रान्तिकारी मिसन पत्रकारितामा सेनाले पुर्‍याएको योगदान सबैका लागि प्रेरणादायी भएको बताउँछन्। ‘क्रान्तिकारी मिसन पत्रकारिता गरिरहेका हामी पत्रकार सेनलाई कुनै पनि डेटलाइनमा बिर्सन सक्दैनौं। उहाँ हामी क्रान्तिकारी पत्रकारको मात्रै होइन, विश्वभरिका सबै पत्रकारको सम्पत्ति हुनुहुन्छ,’ धितालले भने, ‘व्यवहारमा सरलता, मिसनमा निर्भिकता र प्रतिबद्धता, नेतृत्वमा कुशलता, जनताप्रति समर्पण सारमा अभिव्यक्ति स्वतन्त्रताका लागि बलिदान उहाँका बिर्सनै नसकिने कुरा हुन्। हाम्रो आस्थाको आदर्श, क्रान्तिकारी गुरु, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि वीरगति प्राप्त गर्ने कलमका सिपाही कृष्णसेनलाई हामी यो युगको अन्तिम छेउसम्मै सधैं सम्झिरहने छौं।’

झापाका देवकुमार आचार्य (डी. कौडिन्य) जनादेश साप्ताहिक र जनदिशा दैनिकमा संवाददाताका रूपमा कार्यरत थिए। दृष्टि, छलफल, प्रकाश, जनआह्वान, जनआवाज, महिमा, ज्वालालगायतका पत्रिकाहरूमा पनि लेख लेख्थे। झापाबाट प्रकाशित हुने स्वाधीन संवाद साप्ताहिकमा नियमित स्तम्भ लेख्थे। डी. कोडिन्यलाई सशस्त्र द्वन्द्वका बेला २५९ साउन ७ गते चारआलीमा सेनाले हत्या गर्‍यो। छोरी तृष्णाका अनुसार हत्यापछि मेची अस्पतालको पोस्टमार्टम कक्षमा थुप्रै लासहरूसँगै बुबाको लास पनि राखिएको थियो। परिवारका सदस्यहरू साउन ८ गते अस्पताल पुग्दा कौडिन्यको शरीरभरि रगतै रगतले जमेका निलडाम थिए। खुट्टाका औलाको छाला उप्किएका थिए। शरीरमा लगाएका लुगा च्यातिएका थिए।

‘गोली हानेको जस्तो कतै देखिँदैनथ्यो, आँखा उघारै थिएँ,’ देवकुमार आचार्य (डी. कौडिन्य) को जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन शोधपत्रमा छोरी तृष्णाले लेखेकी छन्, ‘छातीमा संगीनले छेडेका तीन वटा प्वाल थिए, कुट्दाकुट्दै र घोच्दा घोच्दै मृत्यु भएको हो भन्ने प्रस्ट हुन्थ्यो।’ सरकारी सञ्चार माध्यमले भने मैलाचुली भिडन्तमा आचार्यको मृत्यु भएको समाचार प्रसारण गरेको थियो। कौडिन्यका ‘हुरीको गीत’, ‘उठौं जागौं’, ‘उज्यालो सँघारमा उभिएको दक्षिण अफ्रिका’, ‘मृत्युञ्जयी आगोका लप्काहरू’लगायत लेखहरू प्रकाशित छन्। कौडिन्यका श्रीमती यमुनादेवी, छोरीहरू तृष्णा र तृप्ति तथा छोरा देवराज छन्।

२०५२ साल फागुन १ गतेदेखि सुरु भएको सशस्त्र द्वन्द्व २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा आएर टुंगियो। यो अवधिमा नेपालमा १४ जना पत्रकार मारिए। केही पत्रकार बेपत्ता पारिए। त्यसपछि पनि पत्रकारहरू मारिने र बेपत्ता हुने क्रम रोकिएन।

२०६५ असोज २२ गते दसैंको नवमीका दिन कैलालीको अत्तरियाबाट बेपत्ता भएका पत्रकार जोशीका परिवारले उनी सम्पर्कमा नआएको जानकारी एक महिनापछि कात्तिक २४ गते नेपाल पत्रकार महासंघ कैलालीलाई खबर गरे। जनदिशा दैनिकका धनगढी संस्करणका सम्पादक र क्रान्तिकारी पत्रकार संघ कैलालीका संयोजकसमेत रहेका जोशी तत्कालीन श्रम तथा यातायात मन्त्री लेखराज भट्टका निकट रहेकाले सुरुमा त परिवारजनले जोशी मन्त्री भट्टसँगै विदेश गएको हुनाले सम्पर्कमा नआएको अनुमान गरेका थिए।

एक महिनासम्म पनि सम्पर्कमा नआएका जोशीको खोजीका लागि उनकी श्रीमती वसन्तीदेवी जोशी र भाइ पुष्पराज जोशीले जनदिशा दैनिकको धनगढी कार्यालय र माओवादीको कार्यालयमा सम्पर्क गरे। तर त्यहाँ उनका बारेमा कुनै खबर नभएको र उनको खोजीका लागि कुनै सहयोग नपाएपछि जोशीका भाइ र श्रीमती नेपाल पत्रकार महासंघ कैलालीको कार्यालयमा पुगे। जोशीको परिवारले दिएको जानकारीपछि महासंघले उनको खोजीका लागि जिल्ला प्रशासन कार्यालय कैलालीमा जोशीकी श्रीमतीका तर्फबाट खोजी गरिपाऊँ भनी २०६५ कात्तिक २५ गते निवेदन दियो।

स्थानीय प्रशासनले जोशी बेपत्ता भएको घटनालाई गम्भीरतापूर्वक नलिएपछि महासंघले आन्दोलनलाई तीव्रता दियो। स्थानीय प्रशासनलाई दबाब दिन महासंघले मंसिर १० गते धनगढीमा विशाल दबाब र्‍याली निकाल्यो। दबाब र्‍यालीको समापनका क्रममा धनगढीको एलएन चोकमा आयोजित सडक पत्रकार सम्मेलनमा जोशीकी श्रीमती र भाइले जोशीको अपहरणमा माओवादीका जिल्लास्तरका नेता र छिमेकी लोकन्द्र रावत र उनका भाइ संलग्न रहेको जानकारी दिए।

मंसिर १२ गते जेपी जोशीको परिचय पत्र र लुगासहित अस्थिपञ्जरहरू घर नजिकैको सामुदायिक वनमा फेलापर्‍यो। घटनास्थलमा फेला परेका प्रमाणका आधारमा परिवारजनले जोशीको हत्या भएको र त्यहाँ रहेका हड्डी जोशीको भएको बताए।

पत्रकार जोशीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका उनकै छिमेकी लोकेन्द्र रावत र उनका भाइ हाल कारागारमा छन्। रावत जोशीका अत्यन्त निकट थिए। द्वन्द्वकालमा जोशीले दिएको तीन लाख रूपैयाँबाट रावतले आफ्नो कारोबार बढाएका थिए। पछि जनदिशा दैनिकमा अत्तरियामा बाघको छाला पक्राउ परेको सम्बन्धमा रावतको नाम मुछेर समाचार प्रकाशित भएपछि जोशीको हत्या रावतले नै गरेको परिवारजनले आरोप लगाएका छन्। जोशी बेपत्ता हुनुभन्दा अघिल्लो रात रावत आफ्नो घरमा आएको जोशीका परिवारले बताउने गरेका छन्।

झापाका देवकुमार आचार्य (डी. कौडिन्य) की जेठी छोरी तृष्णा आचार्य द्वन्द्वमा मारिएका पत्रकारका परिवारले न्याय पाउन नसकेको बताउँछिन्। ‘द्वन्द्वका बेला कलम चलाएर ज्यान गुमाएका पत्रकारहरूलाई सरकारले सम्मान गर्न सकेको छैन,’ उनले भनिन्, ‘हामीमाथि विभिन्न कारणले आक्रमण भइरहेको छ।’

सेन्टर फर मिडिया रिसर्च (सिएमआर नेपाल) की अध्यक्षसमेत रहेकी आचार्य त्रिभुवन विश्वविद्यालयकी गोल्ड मेडलिस्ट हुन्। उनले सेवा आयोगमा प्रवेश पाइनन्। ‘हाम्रा परिवार किन मारिए ? हामीलाई थाहा छैन, मार्नेहरूले हामीलाई चिनिराखेका हुन्छन्,’ उनले भनिन्, ‘विभिन्न कारणले हामीमाथि आक्रमण हुने गरेको छ, सरकारी सेवा प्रवेशमा होस् वा अन्य कुनै निकायमा काम गर्दा द्वन्द्वपीडित पत्रकारको परिवार भन्नेबित्तिकै रोक्ने काम भइहाल्छ।’

उनले द्वन्द्वमा पारिएका पत्रकारका परिवारहरूलाई हेर्ने सामाजिक मनोविज्ञानमा पनि सुधार हुन नसकेको बताइन्। ‘द्वन्द्वमा पारिएका केही पत्रकारका परिवार कानुनी लडाइँमा रहे पनि कतैबाट सहयोग नपाएका उदाहरण पनि छन्,’ उनले भनिन्, ‘द्वन्द्वका क्रममा आफन्त गुमायौं, धेरैले पढ्ने वातावरण पाएनौं, अहिलेसम्म न्याय नपाउँदा हामीजस्ता परिवारलाई कस्तो भएको होला?’ उनले राज्यले द्वन्द्वमा हत्या गरिएका पत्रकारहरूलाई विशेष रूपमा हेर्नुपर्ने बताइन्।

रामेछापका पत्रकार राजकुमार केसीको हत्या हुँदा उमा कक्षा ६ मा अध्ययनरत थिइन्। पत्रकारिता गरेकै कारण बुबाको हत्या भएपछि उनले पत्रकार बन्ने अठोट लिइन्। समाचार लेखेकै कारण बुबाको हत्या भएकाले आफू बुबाले गरेको पेसामा आएको उमा बताउँछिन्। ‘बुबाको हत्या भएपछि बुबाले गरिआएको पेसा किन नगर्ने भनेर पत्रकारितातर्फ लागेकी हुँ,’ हाल काठमाडौंमा पत्रकारिता गर्दै गरेकी केसीले भनिन्, ‘पत्रकारितामा आएपछि बल्ल थाहा भयो, यहाँ कसैले गरेको गलत कुरा लेख्दा तारो बनिँदो रहेछ।’

उनले शान्ति प्रक्रिया सम्पन्न भएको यतिका समयसम्म पनि द्वन्द्वमा ज्यान गुमाएका पत्रकारका परिवारले न्याय नपाएको बताइन्। ‘पत्रकारका परिवारको त यस्तो अवस्था छ, द्वन्द्वमा ज्यान गुमाएका अरूको परिवारले कहिले न्याय पाउलान्,’ उनले भनिन्, ‘स्थानीय, प्रदेश र संघले कम्तीमा यसबारेमा चासो राखिदिए हुन्थ्यो।’ उनले पत्रकारिता पेसासँग सम्बद्ध संघ-संस्थाले पनि औपचारिकताबाहेक अरू बेला कुनै चासो नदिने गरेको बताइन्।

प्रकाशित: १६ पुस २०७९ ०१:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %