नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्छ भन्दाभन्दै नेकपा एमालेको कमाण्डमा नयाँ सरकार बन्यो। काँग्रेस सभापति शेरबहादुर देउवालाई पछि पार्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाजी मारे। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुरानो सत्ता गठबन्धनबाट तानेर प्रधानमन्त्रीको कुर्सीमा बसाउन उनी भए। यद्यपि प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत लिन बाँकी छ।
प्रचण्ड नेतृत्वको सरकारमा नयाँ दल पनि सामेल छन् जो छ/सात महिना यता मात्र देखिने गरी मैदानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी संसदमा देखिएका नयाँ दल हुन। दल नयाँ हुने बित्तिकै यसको नेतृत्व पनि नयाँ हुनु स्वभाविक हो। यी तीन दलमध्ये नागरिक उन्मुक्ति पार्टीले यो सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी भने नहुने जनाएको छ।
सरकारमा सामेल दलहरुमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा सर्वत्र छ। यसका सभापति रवि लामिछाने उपप्रधान र गृह मन्त्रीसहित सरकारमा सामेल छन्। जनमतबाट पार्टी उपाध्यक्ष अब्दुल खान मन्त्रीका रुपमा सहभागी छन्। सरकारमा अरु पुराना दलहरु छन्। यीनले पनि सरकारमा नयाँ अनुहार पठाएका छन्।
सरकारमा सहभागी दलहरुमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र तीनका सभापति रवि लामिछाने सबैभन्दा बढी चर्चामा छन्। उनी पूर्व सञ्चारकर्मी पनि हुन। अहिले उपप्रधान तथा गृहमन्त्री भएका छन्। मन्त्री लामिछानेले शपथ लगत्तै ‘गृह मन्त्रालयको कार्यविधि विपरीत विभिन्न व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टा भित्र फिर्ता बोलाउन’ नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिए। संभवत यो निर्देशन र पहल विगतमा पनि भएको हो। यो नयाँ विषय, मुद्दा वा समस्या पक्कै होइन। तरपनि गृहमन्त्री लामिछानेले पनि यही निर्देशन दिए।
यस्ता सुरक्षाकर्मी फिर्ता गर्न कति संभव छ? त्यस्ता सुरक्षाकर्मीको संख्या कति छ? क–कसले त्यस्ता सुरक्षाकर्मी राखेका छन्? र, यस्ता सुरक्षाकर्मी कजाउने व्यक्तिहरुलाई के कारबाही गर्न सकिन्छ? भन्ने कुराको अभिलेख र तथ्याङ्क मन्त्रालयमा छ की छैन? भन्ने केही अध्ययन नै नगरी हत्तपत्त निर्देशन दिएर सस्तो लोकप्रियता कमाउने ‘स्टन्ट’ मन्त्री लामिछानेबाट पनि दोहोरियो जुन विगतका नेतृत्वहरुले गर्ने ‘स्टन्ट’ भन्दा फरक देखिएन्। कुनैपनि समस्यामा हात हाल्नु पूर्व त्यसलाई समाधान गर्ने दिगो उपायहरुको निक्र्यौल, अध्ययन नगर्ने परिपाटीबाट जनता आजित भइसकेका छन्।
क्षणिक लोकप्रियताका लागि गरिने निर्णय र दिइने निर्देशन देख्दा देख्दा सर्वसाधारण थाकिसकेका छन्। आशा गरिएका युवा नेतृत्वबाट पनि पुरानै पाराका ‘स्टन्ट’ दोहोरिन थालेको त होइन भन्ने आशंका उत्पन्न भएको छ। दिगो समाधान गर्ने भन्दा पनि पहिल्यै हल्लाखल्ला गर्ने कामलाई गृहमन्त्री लामिछानेले पनि निरन्तरता दिए जुन आम नागरिकको चाहना विपरीत हो।
यसले मन्त्री लामिछाने र पुराना दल तथा नेतृत्वहरुमा कुनै फरक देखिएन्। कम्तीमा नयाँ सोच बोकेर आएका युवा नेतृत्वले ‘सस्तो लोकप्रियता’ त्याग्न सक्नुपर्छ। यसलाई स्थापित हुने हतियार बनाउनु हुदैन्। यस्ता ‘स्टन्ट’बाजीबाट जनता अवाक् भइसकेका छन्। अझ रास्वपा त भर्खरै उदाउँदै गरेको पार्टी हो। यो आम नागरिकमा स्थापित भइसकेको छैन्।
त्यसैले यस्ता ‘स्टन्ट’हरु उनका लागि मात्र नभई उनको दलका लागि पनि हानिकारक हुन सक्छन्। गृहकार्य बिना गरिएका यस्ता निर्देशन तथा अन्य कुनैपनि निर्णयहरु प्रत्युत्पादक हुन सक्छन्। त्यसैले कुनैपनि समस्या समाधान गर्नु पूर्व पहिले गृहकार्य गर। अध्ययन गर। र, समाधानमा जाँदा राम्रो सन्देश जान्छ।
यो सहरमा रास्वपा र यीनका नेताहरुको असफलता कुर्ने जमातहरुको पनि कमी छैन्। यसतर्फ युवा नेतृत्वको ध्यान जान जरुरी देखिन्छ। रास्वपा र उनलाई मतदान गर्ने मतदाताले परिवर्तनको धेरै अपेक्षा गरेका छन्। ती आशा भरोसालाई सस्तो लोकप्रियतामा खर्च नगर्दा उत्तम हुन्छ।
गृह प्रशासनमा यस्ता धेरै समस्याका चाङ छन्। तीनको व्याख्या यहाँ गरेर संभव पनि छैन्। तर एउटा कुरा पक्का हो, ती समस्याका समाधान कानुन, विधिसम्मत र दिगो हुनुपर्छ। यसका लागि गृहकार्य, अध्ययन र अनुसन्धान गर्नुपर्छ। यतिन्जेल संयमता र धैर्यताको खाँचो पर्दछ। अनि मात्र आम नागरिकले परिवर्तन महसुस गर्न सक्छन्।
यस्तै काठमाडौँले भरोसा गरेका अर्का युवा नेता हुन, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह। यद्यपि उनले अहिलेसम्म देखिने गरी कुनै दल खोलेका छैनन्। कसैलाई खुलेर समर्थन पनि गरेका छैनन्। शाह पनि पछिल्लो समय बाग्मती किनारका सुकुम्बासी बस्ती हटाउने बिषयमा विवादमा मुछिएका छन्। त्यसो त लुकेर बग्ने ‘टुकुचा खोला’ उत्खनन गर्ने कामले पनि उनलाई अलोकप्रिय बनायो।
दुवै घटनाक्रम हेर्दा प्रष्ट हुन्छ, यी दुवै काममा पर्याप्त गृहकार्य गरिएन। यीनको परिणाम सोचे जस्तो आएन्। रवि देश बनाउने ‘हुटहुटी’ भए जस्तै बालेनमा पनि काठमाडौँ महानगर बनाउने ‘हुटहुटी’ छ। उनी आफ्नो अभियानलाई निरन्तरता पनि दिइरहेका छन्। केही हदसम्म सफल पनि भइरहेका छन्।
बाग्मती किनारका सुकुम्बासी बस्तीमा डोजर चलाउनु पूर्व बस्तीका आधारभूत कागजात वा दस्ताबेज र सूचनाहरू राख्नुपर्ने वा संकलन गर्नुपर्ने थियो। त्यो गरेको पाइएन। वास्तविक सुकुम्बासीको अभिलेख महानगरसँग थिएन्। को–को सुकुम्बासी हो को–को होइन? त्यहाँ बस्ने हरेक मान्छेहरुको विवरण तयार गरेको भए सायद विवाद कम हुने थियो। र, सफलता हात पर्ने थियो। सुकुम्बासी र हुकुम बासी छुट्टाउने कामनै नगरी एकै पटक डोजर लगेर भत्काउन थालियो जुन प्रक्रियामा मै तृटि भयो। यसको मारमा निर्दोष पनि परे।
‘टुकुचा’ खोला खुला गर्ने नाममा वैज्ञानिक रुपमा बनाइएका खोला माथिको संरचना भत्काउने काम पनि आफैमा गलत थियो भनेर सर्वत्र आलोचना भएकै हो। यसमा पनि पर्याप्त गृहकार्य र अध्ययन नगरेर काम अघि बढाइएको लगभग पुष्टि भइसकेको छ।
युवा नेतृत्वमा केही गरौँ भन्ने हुटहुटी हुनु स्वभाविक हो। विगतको विकृति र विसङ्गति हेर्दा अहिलेको आवश्यकता पनि युवा नेतृत्व नै हो। विकासको हुटहुटी व्यवस्थापनमा संयमता र धैर्यता देखिएन् जुन अति आवश्यक छ। अझ आशा गरिएका युवा नेतृत्वहरू त झन यस बिषयमा गम्भीर हुनुपर्छ।
काठमाडौँ महानगरका तत्कालीन मेयर केशव स्थापितले माइतीघर र कालीमाटी–कलङ्की सडक फराकिलो बनाए जस्तो अवस्था अहिले छैन्। जनता अहिले धेरै जागरूक छन्। आफ्ना हक अधिकारप्रति उनीहरु सचेत छन्। त्यति बेला मेयर स्थापितले पनि तीनकुनेको जग्गा पनि खाली गराएकै हुन। तर अहिलेसम्म पनि त्यो जग्गा न त राज्यको मातहतमा आयो न लालपुर्जा भएकाहरूले प्रयोग गर्न पाएका छन्। तत्कालीन मेयर स्थापित पनि सस्तो लोकप्रियतामा रमाउँथे। तरपनि उनको कार्यकालमा केही हदसम्म भएपनि काठमाडौँको ‘कोर’ क्षेत्रको मुहार फेरिएकै हो।
यसै गरी अहिले चर्चामा रहेका अर्का युवा तथा स्वतन्त्र नेता जसलाई भुईँ मान्छे भन्दा पनि फरक पर्दैन ती हुन, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ। यीनमा पनि देश बनाउने ‘हुटहुटी’ देखिन्छ। यीनले पनि आफ्नो ‘हुटहुटी’ व्यवस्थित गर्न सकेका छैनन्। यी राजनीतिक ‘स्टन्ट’ वा सस्तो लोकप्रियता भन्दा माथि देखिन्छन्। यीनले धरानबासीको खानेपानीको सपना पुरा गर्न भरभग्दुर प्रयास गरिरहेका छन्। धेरै हदसम्म सफल पनि भएका छन्। जनश्रमदान यीनको मूल मन्त्र हो। विकास निर्माणका हरेक काममा जनश्रमदानलाई प्राथमिकतामा राख्छन्।
तर कतिपय काममा यीनले पनि बाटो बिराउन थालेका छन्। राम्रो कामको थालनी गर्न खोजेका त छन् तर कानुनको पालनामा चुकेको देखिन्छ। यसको पछिल्लो उदाहरण भएको छ, ‘साबुन उद्योग स्थापना गर्ने उनको योजना’। प्रक्रिया पुरा नगरी वन क्षेत्रको जग्गामा उद्योग स्थापना गर्न लागिएका भन्दै उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ। योजना एकाएक रोकिएको छ।
यति मात्र होइन, उनलाई कार्यपालिका सदस्यहरूले पछिल्लो समय ‘निरंकुश, स्वेच्छाचारी र अराजक’को आरोप लगाएका छन्। उनी र कार्यपालिका केही सदस्यहरुबीच द्घन्द चर्किएको छ। बैठकहरु स्थगित भइरहेका छन्।
यति मात्र होइन, सामाजिक सञ्जालमा मेयर साम्पाङले लेखेका स्टाटस र ट्वीटहरु पनि विवादमा छन्। दलित समुदायको अपमान गरेको आरोप उनी माथि लागिसकेको छ। राष्ट्रिय दलित आयोगले कारबाहीको सिफारिस गरिसकेको छ। साम्पाङमा काम गरेरै देखाउनुपर्छ भन्ने भावना प्रष्ट छ केही हदसम्म यीनले गरेका पनि छन्। तर कानुन र प्रक्रियाको पालना तथा सामाजिक परिवेश आकलनमा उनी चुकिरहेका छन्। तरपनि साम्पाङ माथिको आशा र भरोसा कायम धरानबासीमा अहिले पनि कायमै छ।
पदमा पुग्न सजिलो हुन्छ, तर त्यसको गरिमा कायम राख्न र काम गरेर देखाउन निकै गाह्रो हुन्छ। त्यसैले त गाह्रो कामलाई सहज बनाउने चुनौती युवाले मात्र लिन सक्छ भनेर मतदाताले विश्वास गरेका हुन। युवा नेतृत्व र नयाँ दल छानेका हुन।
त्यसैले अब आउने युवा पुस्ताले ‘सस्तो लोकप्रियता’लाई नजर अन्दाज गरोस् भन्ने चाहना आम नागरिकको छ। समस्याहरुको दिगो समाधान गरेर आम नागरिकलाई परिवर्तनको महसुस गराओस। पुराना दल र तीनका नेताहरुले वर्षौँदेखि पटक–पटक गर्दै आएका राजनीतिक ‘स्टन्ट’हरु पछ्याउने र कोट्याउने काम नगरोस। तीनको दिगो समाधान खोजोस् र त्यसलाई स्थापित गरोस् भन्ने चाहना मतदाताको छ। हामी फरक हौँ र फरक तरिकाले काम फत्ते गर्छौ भन्ने सन्देश छाडन त्यति सजिलो भने छैन। तर गर्नै पर्छ।
अन्यथा फेरी पनि जनताले यी उखानहरु दोहोराउने छन्, ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ र ‘जुन जोगी आएपनि कानै चिरेको।’
प्रकाशित: १४ पुस २०७९ १२:५० बिहीबार