२४ वैशाख २०८१ सोमबार
image/svg+xml
विचार

विश्वकपका रोमाञ्चक सम्झना

रंगशाला

९२ वर्षे विश्वकप इतिहासमा सबै भन्दा विवादास्पद कतार विश्वकप २०२२ ले गत आइतबार विश्व च्याम्पियनका रूपमा अर्जेन्टिनालाई पाएको छ। दोहाको लुसेल स्टेडियममा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले स्तब्ध बनाउँदै अर्जेन्टिना तेस्रोपल्ट विश्व च्याम्पियन बन्यो। यससँगै एसियाली भूमिमा दोस्रो पटक सम्पन्न हुँदा दक्षिण अमेरिकी राष्ट्रले सफलता पायो। यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकप आयोजना गर्दा अर्जेन्टिनाकै कट्टर प्रतिद्वन्द्वी ब्राजिल पाँचौँ पटक विश्व च्याम्पियन भएको थियो।

२० वर्षपछि एसियाली भूमिमा विश्वकप फर्किँदा दक्षिण अमेरिकी राष्ट्रले विरासत जोगायो। सन् १९३० मा भएको पहिलो संस्करण दक्षिण अमेरिकी टोली उरुग्वेले जितेको थियो। चार वर्षको अन्तरमा हुने ९२ वर्षे विश्वकप इतिहास भए पनि कतारमा २२औैँ संस्करण सम्पन्न भएको छ। दोस्रो विश्वयुद्धका कारण सन् १९३८ पश्चात् चौथो विश्वकपका लागि १२ वर्ष कुर्नुपर्‍यो। हालसम्म दक्षिण अमेरिकी तीन राष्ट्र ब्राजिल, अर्जेन्टिना र उरुग्वे तथा युरोपेली राष्ट्रले मात्र विश्वकप जितेका छन्। १० पटक दक्षिण अमेरिका र १२ पटक युरोपेली राष्ट्रले विश्वकप जितेका छन्। यसपल्ट विश्वकप फाइनल महादेशीय प्रतिद्वन्द्विता पनि रह्यो। एक महिनासम्म चलेको यो विश्वकप सदैव यादगार बन्नेछ। सन् २०१० देखि हरेक समय कतार विश्वकप चर्चामा रह्यो।

मानव अधिकार उल्लंघन, आप्रवासी कामदारमाथि शोषण, भ्रष्टाचार जस्ता अनेकौँ विवाद अनि अप्रत्याशित नतिजा र अफ्रिकाको ऐतिहासिक सफलता कतार विश्वकपका विशेषता हो। त्यसैले कतार विश्वकप राम्रो वा नराम्रो दुवै तवरबाट सदैव सम्झिइनेछ। आयोजना अधिकार पाउँदादेखि आइतबारको फाइनलसम्म कतार विश्वकपमा कैयौँ किस्सा जोडिए। शृंखलाबद्ध रूपमा एकपछि अर्को विवादमा कतार तानियो। खाडी मुलुककै अन्य राष्ट्रको पनि कतारले साथ पाउन सकेन। विश्वकप उद्घाटनको अघिल्लो दिन मात्र फिफा अध्यक्ष जियानी इन्फान्टिनो कतारको बचाउमा देखिए। तथ्यबाहिर गएर पश्चिमा मिडियाले कतारविरुद्ध नियोजितरूपमा एकतर्फी समाचार प्रसारण र प्रकाशन गरेको उनको आरोप थियो।

कतारमाथि विश्वकपको अधिकार सुरक्षित गर्न मताधिकार किनेको आरोप लागिरह्यो र पछि फिफाका पदाधिकारी नै भ्रष्टाचारका मुद्दामा मुछिएपछि केही सत्यतातर्फ पनि मोडियो। आयोजनाको तयारी क्रममा एक दशकभित्र कतारमा हजारौँ कामदारले ज्यान गुमाए। पश्चिमा सञ्चारमाध्यमले कतार विश्वकपमा हजारौँ कामदारले ज्यान गुमाएको रिपोर्ट लगातार सार्वजनिक गरेपछि यो आयोजनाप्रति युरोपेली राष्ट्रको घृणा बढ्दै गयो। चिहानमाथि विश्वकप हुन नसक्ने भन्दै कतारमाथि विश्वभरबाट आलोचना भइरह्यो। त्यहाँ मर्ने संख्यामा सबै भन्दा धेरै नेपाली नै थिए। सुरुमा यो रिपोर्ट अस्वीकार गर्दै आएको कतारले पछि ५०० देखि ६०० कामदारको विश्वकप तयारीका क्रममा मृत्यु भएको सार्वजनिक गर्‍यो।

कैयौँ राष्ट्रले त कतारबाट विश्वकप अन्यत्र नसारे नखेल्ने धम्कीसमेत दिए तर त्यो धम्कीमै सीमित रह्यो। पहिलोपटक अरबी भूमिमा खेल सुचारु हुँदासम्म आलोचनाबाट कतार अछूतो रहेन। अस्तव्यस्त आयोजना, समर्थकका लागि महँगो विश्वकप, होटलको अभाव र विश्वकपको मर्मअनुरूप सबै सहरमा आयोजना गर्न नसकिएकोलगायत कतारमाथि आरोप थियो। विश्वकप सुरु हुन एक हप्ता बाँकी छँदा फिफाका तत्कालीन अध्यक्ष सेब ब्लाटरले १२ वर्षअगाडि कतारलाई विश्वकप आयोजकका रूपमा छनोट गर्नु गल्ती भएको प्रतिक्रिया दिए। त्यो भनाइले कतारलाई फेरि अर्को झड्का लाग्यो। किनकि कतारले विश्वकप आयोजना पाउनुपछाडि ब्लाटरको सहयोग रहेको मान्ने गरिन्छ।

नयाँ राष्ट्रको उदय भएन

विवाद, दुखद घटना, आलोचना र खेलमा रोमाञ्चकताबीच आइतबार २२औँ संस्करण सकिएको छ। विश्वकप आयोजना गर्ने पहिलो अरबी भूमि पनि हो कतार। अहिलेसम्म आठ राष्ट्र मात्र विश्व च्याम्पियन भएका छन्। सन् २०१० को विश्वकपमा पहिलो पटक नयाँ टोलीको उदय भएको थियो। स्पेनले नेदरल्यान्ड्सलाई हराउँदै पहिलोपल्ट विश्व विजेता बनेको थियो। त्यसयता विश्वकप उपाधिमा नयाँ नाम कुँदिन सकेको छैन।

हारबाट च्याम्पियनसम्म

विश्वकपअगाडि अर्जेन्टिनालाई बलियो टोलीका रूपमा हेरिएको थिएन। तथापि, लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना त्यति कमजोर भने थिएन। दुई पटक विश्व विजेता भइसकेको अर्जेन्टिनामा अनुभवी र युरोपको व्यावसायिक फुटबलका सफल खेलाडीहरू थिए। तर कतार विश्वकपमा अर्जेन्टिनाको सुरुआत सुखद भएन र अप्रत्याशित हार भयो। फिफा वरियतामा आफू भन्दा ४३ स्थान तल रहेको साउदी अरेबियासँग अर्जेन्टिना २–१ ले स्तब्ध हुन पुग्यो। त्यो नतिजापछि अर्जेन्टिना निकै आलोचित पनि भयो। समूह चरणबाटै अर्जेन्टिना घर फर्किने आँकलन गरिएको थियो। तर, ती सबै असत्य सावित भए र अर्जेन्टिनाले हारबाट पाठ सिक्यो। लगातार फाइनलसम्म जीत निकाल्यो र तेस्रो पटक विश्व विजेता बन्यो। सन् २०१० को विश्वकपमा पनि स्पेन पहिलो खेल गुमाएर विश्वकप च्याम्पियन भएको थियो।

मोरक्कोको जीतमा अरब एकता

मध्यपूर्वी एसियाली राष्ट्रमा सरकारका अघि आमनागरिकले चर्को स्वर गर्नु विरलै हुने घटनाका रूपमा लिइन्छ। तर कतार विश्वकप २०२२ मा मोरक्कोको ऐतिहासिक सेमिफाइनल यात्राले ती नागरिकलाई केही समयका लागि भए पनि चर्को स्वर गर्ने छूट मिल्यो। राजनीतिकरूपमा विभिन्न ध्रुवमा रहेका अरबी मुलुकलाई पनि मोरक्कोको गौरवमय यात्राले एकै स्थानमा उभ्यायो। मोरक्को विश्वकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो अफ्रिकी र अरबी मुलुक हो। प्यालेस्टाइनविरुद्ध युद्ध जारी रहँदा २०२० मा मोरक्कोको इजरायलसँग नजिक भएको थियो। त्यसैले मोरक्को र प्यालेस्टाइनबीच राम्रो सम्बन्ध हुने कुरै भएन। तर कतारमा मोरक्कोको समर्थनमा सबै भन्दा बढी प्यालेस्टाइन समर्थक देखिए।

अन्तिम १६ मा स्पेनविरुद्ध पेनाल्टी सुटआउटमा निकालेको जितपछि मोरक्कोका खेलाडीले प्यालेस्टाइनको हण्डासहित खुसियाली साटे। जसले मैदानमा उपस्थित प्यालेस्टाइन समर्थकमा विशेष ऊर्जा प्रवाह गर्‍यो। कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए। तर मैदानमा प्यालेस्टाइनका समर्थकको उपस्थितिले हेर्दा लाग्थ्यो, उनीहरू कतार विश्वकपमा सहभागी ३३औँ राष्ट्र हुन्। बहराइन, युएइ र सुडान जस्ता अरबी मुलुकले पनि इजरायलसँग सम्बन्ध जोडेपछि प्यालेस्टाइन एक्लिएको थियो। मध्यपूर्वी तथा अरबका राष्ट्रहरू आर्थिक मन्दी, गृहयुद्ध र राजनीतिक अस्थिरताको पिरलोमा रहे पनि मोरक्कोको सफलताले सबैलाई एकै स्थानमा ल्याउने प्रयास गरेको छ। मोरक्को सरकारले अल्जेरियासँग सम्पूर्ण सम्बन्ध तोडे पनि त्यहाँका समर्थकले मोरक्कोको झण्डा फहराए। यता अल्जेरियाको सरकारी टेलिभिजनले भने मोरक्कोले जीतको समाचारसमेत प्रसारण गरेन।

अप्रत्याशित नतिजा

कतार विश्वकपभर अप्रत्याशित नतिजासमेत आइरह्यो। चार पटकको विजेता जर्मनीको समूह चरणबाटै बहिर्गमन तथा साउदी अरेबियासँग अर्जेन्टिनाको हार सबैभन्दा आश्चर्यचित नतिजा रह्यो। जापानले समूह विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्दा जर्मनी र स्पेनलाई हरायो। दक्षिण कोरियाले पनि समूह चरणमा पोर्चुगलमाथि जीत निकाल्दै नाटकीयरूपमा नकआउट चरणमा स्थान बनायो। जसले एसियाली टोली पनि बलिया छन् भन्ने प्रमाणित गर्‍यो। तर सबैको ध्यान भने मोरक्कोले विश्वकपमा गरेको प्रदर्शनले तान्यो र जुन एक हदसम्म कल्पनाबाहिरकै थियो।

यस पटक विश्वकपमा सहभागी सबै महादेशका राष्ट्र नकआउट चरणमा पुगे। एसिया कप २०१९ को विजेता कतारले घरेलु मैदानमा विश्वकपमा आशातीत प्रदर्शन गर्न सकेन। कतारले समूह चरणमा तीनवटै खेल हार्‍यो। कतार विश्वकप इतिहासमा सबै खेल हार्ने पहिलो आयोजक बन्यो।

महँगा खेलाडीको दुःखद बहिर्गमन

विश्वकै महँगा खेलाडी ब्राजिलका नेइमारको विश्वकप उपाधि जित्ने लक्ष्य यस पटक पनि अधुरै रह्यो। उनीसँगै अर्का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको लागि पनि यो विश्वकप सुखद रहेन। करियरको अन्त्यमा रहेका रोनाल्डो र नेइमारका लागि कतार अन्तिम विश्वकप बन्न सक्छ। पछिल्लो एक दशक व्यावसायिक फुटबलमा सफल ३७ वर्षे रोनाल्डो यो विश्वकप जित्न चाहन्थे। जुन, सम्भव हुन सकेन। उल्टै उनी पहिलो रोजाइमा नै परेनन् र पोर्चुगल पनि क्वार्टरफाइनलबाटै घर फर्कन बाध्य भयो। नेइमारलाई विश्वकप उपाधि दिलाउन सक्ने खेलाडीका रूपमा हेरिएको थियो। तर ती सबै आशाअनुरूप भएन।

क्रोएसियाविरुद्ध इन्जुरी समयमा गोल गर्दा नेइमारले पेलेको कीर्तिमानसँग बराबरी गरेका थिए। उनका लागि यो विश्वकपको उपलब्धि पेलेको ७७ गोलको कीर्तिमानसँग बराबरी गर्नुमात्र रह्यो। विश्वकप उपाधि जित्ने नेइमारको लक्ष्यमा भने पूर्णविराम लाग्यो भन्दा फरक नपर्न सक्छ। क्रोएसियासँग हारपछि निकै भावुक बनेका नेइमारले २०२६ को विश्वकप खेल्नेमा निश्चित नभएको पनि बताइसकेका छन्। यो विश्वकपमा मेसी, क्रोएसियाका कप्तान लुका मोडरिच र फ्रान्सका स्ट्राइकर ओलिभर जिरौउड जस्ता चर्चित खेलाडीका लागि पनि अन्तिम सहभागिता हुन सक्छ।

४८ राष्ट्रको तयारी

सन् १९९८ देखि ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दै विश्वकपमा कतार अन्तिम बन्नेछ। किनकि सन् १९९८ देखि ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दै आएको विश्वकपको आगामी संस्करणबाट ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। ९२ वर्षको विश्वकप इतिहासमा पहिलोपटक तीन आयोजक राष्ट्रले आतिथ्यता गर्दैछन्, ती राष्ट्र हुन्, क्यानडा, मेक्सिको र अमेरिका। सन् २०१६ मा जियानी इन्फान्टिनो विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्ष बनेदेखि नै उनले यो योजना अगाडि बढाएका थिए। विश्वकपमा ४८ राष्ट्र पुर्‍याइएपछि त्यसको फाइदा एसिया र अफ्रिकालाई पुग्नेछ। नयाँ फरम्याटअनुसार अफ्रिकाले ९ वटा क्वाफाइङ स्लट प्राप्त गर्नेछ। जसले यसअघि पाँचवटा पाउँदै आएको थियो। यता, एसियाले बढेपछि आठवटा स्लट प्राप्त गर्नेछ।

प्रकाशित: ६ पुस २०७९ ००:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App