७ वैशाख २०८१ शुक्रबार
विचार

लिंगभेदको भाष्य

चर्चित अफ्रिकी लेखक चिमामान्डा अदिची भन्छिन्– ‘मेरो आफ्नो बालापन अश्वेतमाथिको अन्याय र अत्याचार भोग्दै हुर्कियो। जीवनका हरेक घुम्तीमा समाजका तथाकथित श्वेतहरूबाट विभेदको वर्षा भैरहँदा म सोच्थेँ, दुनियाँमा छालाको रंगको आधारमा गरिने रंगभेद भन्दा निकृष्ट विभेद अरू के नै होला र ! तर जब वयस्क हुँदै गएँ रंगभेदको तुलनामा लिंंगभेदको अनुभूति कैयौँ गुणा भयानक लाग्न थाल्यो। त्यसले झन धेरै पीडा दियो। अनि जीवनको लडाइँ लिंगभेदविरुद्ध सोझियो। जुन निरन्तर जारी छ। जारी रहनेछ।’

निश्चितरूपमा लिंगभेद आजको मानव समाजको एउटा विरूप यथार्थ हो। जसको वरिपरि वर्तमान विश्व व्यवस्था घुमिरहेको प्रतीत हुन्छ। सापेक्षितरूपमा पश्चिमा समुदाय लिंगभेदको न्यूनीकरणमा केही सफल देखिन्छ। तर आधारभूतरूपमा त्यहाँ पनि महिलाहरू विभेदमुक्त छैनन्। किनभने मानव अधिकार र समानताको घोर पक्षपाती रहेको हुँकार गर्ने अनि खुला प्रतिस्पर्धाको वकालत गरेर नथाक्ने अमेरिकामै महिलाले राज्य व्यवस्थाको बागडोर सम्हाल्ने अवसर पाएको इतिहास छैन। न त समाजवादमार्फत साम्यवादतर्फ लम्किरहेको दाबी गर्ने चीनमा नै त्यस्तो देखिन्छ। मोटोरूपमा हेर्दा यो नै आफैँमा लिंगभेदको ज्वलन्त उदाहरण हो।  

राष्ट्रपति चुनावको दौरान डोनाल्ड ट्रम्पकी प्रतिस्पर्धी हिलारी रोधम क्लिन्टनको लैंगिकतालाई लिएर अमेरिकी समाजमा जे जस्ता टिकाटिप्णी र शब्दवाणहरू प्रहार भए, चुनावपछि प्रकाशित आफ्नो पुस्तक ‘ह््वाट ह्यापेन्ड’ मा उनले सविस्तार वर्णन गरेकी छिन्। हामीले समृद्ध र समुन्नत भनेर मरिहत्ते गर्ने मुलुकहरूकै हविगत यस्तो छ भने ‘अपुत्रस्य गतिर्नास्ति सर्वगो नै बछः’ (अर्थात पुत्रबिहीनलाई मोक्ष प्राप्त त हुँदैन, स्वर्ग पनि प्राप्त हुँदैन) भन्ने मान्यता बोकेको समाजको कुनाकन्दरासम्म लिंगभेदको नदी बगिरहनु कुन अचम्म भयो र ?  

जगजाहेर छ, हाम्रो सभ्यतामा अधिकांश पुरुष श्रीमतीलाई तँ शब्दले सम्बोधन गर्छन् जबकि श्रीमतीले हजुर वा तपाईँ नलगाए अनिष्ट हुन सक्छ। समाजमा श्रीमान्ले आफ्नो श्रीमतीलाई चिनाउनुपर्‍यो भने ‘ऊ मेरो परिवार हो’ भनेर परिचय गराउने चलन छ। वास्तवमा ‘परिवार’ वा ‘फ्यामिली’ भन्ने शब्दको उत्पत्ति नै रोमन ‘फ्यामुलस’ शब्दबाट भएको देखिन्छ। जसको अर्थ घरायसी दास भन्ने हुन्छ। र, ‘फेमिलिया’ को अर्थ एउटाको अधीनमा रहेका दासहरूको समूह भन्ने हुन्छ।

त्यसो त लिंगभेदबारे चुरो कुरो बुझ्न मानव जातिकै उत्पत्ति र विकासको इतिहास खोतल्नुपर्ने हुन्छ। चाल्र्स डार्बिन जस्ता जीवशास्त्री र लेविस मोर्गन जस्ता मानवशास्त्रीहरूको वैज्ञानिक खोज अनुसन्धान तथा ऐतिहासिक भौतिकवादी दार्शनिकहरूको निचोड छ, करिब ७० हजार वर्षपहिलेसम्म चिम्पान्जीको स्वरूपमा रहेको मानव जाति करिब ८ हजार वर्ष पहिला जंगलमा सिकार गर्ने र फलफूल टिपेर मात्र खाने जंगली अवस्थामा थियो। समाजिक बनोटको हिसाबले जंगली र बर्बर अवस्थामा उत्पादक शक्तिको कम विकास र अतिरिक्त उत्पादन नगण्य भएकाले त्यो बेला व्यक्तिगत सम्पत्तिको अवधारणा नै थिएन। न त परिवारकै अवधारणा थियो। यदाकदा आदिम साम्यवाद भनेर व्याख्या गरिने त्यो समाजमा मानिस झुण्डमा घुम्थे, झुण्डमै बस्थे। व्यक्तिगत सम्पत्ति र परिवारको अवधारणा नभएको त्यो समाज मातृसत्तात्मक थियो। किनभने सन्तानहरू आमाको नाताले मात्र चिनिन्थे। र, समूहलाई मातृगोत्रको हिसाबले मात्र छुट्याउन सकिन्थ्यो। पुरुषहरू सिकार र फलफूल संकलनमा जाने र महिलाहरू सन्तानको हेरचाह, खानपिन र रोगव्याधि आदिको व्यवस्थापनको जिम्मेवारीमा रहने भएकाले प्रारम्भिक कृषि, पशु पालन, हस्तकला र घरेलु उपचार आदिका आविष्कारक तथा समूहका अगुवा पनि महिला नै थिए।  

त्यो मातृसत्तात्मक समाजमा महिलाको स्थान उच्च र सम्मानित थियो। त्यसपछि जब बर्बर युगको सुरुवात भयो, पशु पालन र खेतीपातीको पनि विकास हुँदै गयो। त्यसले मानिसलाई पहिलेको घुमन्ते अवस्था छाडेर निश्चित ठाउँमा बसोबास गर्न बाध्य पा¥यो। फलस्वरूप सुरुका मानव जातिका ठूला झुण्डहरू साना साना कबिलामा र तिनै कबिलाहरू क्रमशः विस्तारित परिवारमा विभाजित हुँदै गए। विस्तारै पहिलेको एउटा कुलको सामूहिक विवाहको सट्टा युगल विवाहको पद्धति सुरु भयो। जसमा महिलाहरू लोग्नेसँग जाने होइन कि बरु आफ्नो लोग्नेलाई आफ्नै कुलका दाजुभाइबीच भित्र्याएर राख्थे। त्यो बर्बर युगसम्म मातृसत्तात्मक परिपाटी कायमै रहेकाले समाजमा महिलाको स्थान सम्मानित नै थियो।  

बर्बर युगको समाप्तिसंगै फलामको आविष्कार भयो। कृषिमा अतिरिक्त उत्पादन हुन थाल्यो र कबिलाका केही चलाख मान्छे श्रम नगरी पालिन सक्ने भौतिक परिस्थिति तयार भयो। सामूहिक उत्पादनको व्यवस्थापन, कबिलाको सुरक्षा आदि काममा खटिएका कबिला प्रमुख वा ग्राम नाइकेले सामाजिक अतिरिक्त उत्पादनलाई कब्जा गरेर आफ्नो निजी सम्पत्ति बनाउन थाले। निजी सम्पत्तिको उत्पत्तिको साथसाथ निजी सम्पत्तिका मालिक पुरुषहरूले आफ्नो सम्पत्ति एकनिष्ठ सन्तानहरूमा हस्तान्तरण गर्न निजी पत्नी र एकनिष्ठ विवाहको पद्धति बसाले। अब ती नाइके पुरुषकै अह्रनखटनमा परिवार परिचालित हुनुपर्ने भयो। अटेरी गर्ने महिलाहरू हिंसात्मक दमनद्वारा नियन्त्रित हुँदै गए। आज पनि छोरीको इच्छा विपरित हुने जबर्जस्ती विवाह वा केटा पक्षले चाहेमा केटीलाई जबर्जस्ती उठाएर लाने प्रथा त्यसैको निरन्तरता हो। यसरी निजी सम्पत्ति र वर्गीय समाजको उत्पत्तिका साथसाथ मातृसत्तात्मक प्रणालीको अन्त्य र पितृसत्तात्मक प्रणालीको उदय भयो। महिलाहरू परिवारभित्र स्वतः दोस्रो दर्जाको सदस्य बन्न बाध्य भए। महिलाहरू पुरुष जातिका लागि उपभोग्य वस्तुका रूपमा मात्र उपयोग हुन थाले।  

त्यसपछि विकास भएको वर्ग विभाजित वा निजी सम्पत्तिमा आधारित समाजको पहिलो रूप दास समाजमा महिलाको स्थान आमरूपमा दासहरूको जस्तै रह्यो। करिब दुई हजार वर्षको सामन्ती युग वर्गीय समाजको दोस्रो रूप थियो। त्यो युगभर पनि महिलालाई परिवारको सदस्यका रूपमा स्वीकार गरिए पनि समाजमा उनीहरूको स्थान अर्धदासहरूकै जस्तो थियो। पुरुषहरूको यौन चाहना पूरा गर्ने र सन्तान उत्पादन गर्ने काममा महिलालाई घरको चार दिवारभित्र पुरुषहरूको दासताभित्रै रहनुपथ्र्यो। यसरी जब महिलाहरू निजी सम्पत्ति र वस्तुसरह पुरुषको अधीनमा पुगे स्वाभाविकरूपमा उनीहरूका सबै अधिकार छिनिए। यद्यपि इतिहासमा यस्ता विभेदविरुद्ध अनेकौँ प्रतिरोध, विरोध र आन्दोलन नभएका होइनन्। तर आफ्नो शारीरिक र मानसिक कमजोरीका कारणले भन्दा पनि प्रतिकूल बदलिँदो समाज व्यवस्थाका कारण महिला पछि पारिँदै गए।  

त्यसपछि जस्तो समाज निर्माण भयो त्यसैअनुसारका सभ्यता र संस्कृति र दर्शनहरू बन्दै गए। पुरुषको शक्ति युद्ध, साहस, पराक्रम र बहादुरी हो अनि महिलाको शक्ति शृङ्गार सौन्दर्य, यौनिकता र सन्तान उत्पादन हो भन्ने लिंगभेदी भाष्य र मूल्य/मान्यता स्थापित हुँदै आए। यसरी सुरु भएको महिलामाथिको विभेद र हिंसाको शृङ्खला विभिन्न रूप र आकारमा आजपर्यन्त जारी छ। बुझ्नुपर्ने कुरा के छ भने कुनै पनि भाष्य निर्माणमा समाजका कथित टाठोबाठो वा जानेबुझेको अगुवा वर्गकै भूमिका निर्णायक हुने गर्दछ। आमतप्काले त खुरुखुरु त्यसको सिको गर्ने मात्र हो। अझ राज्यको बागडोर सम्हालेका सत्ताधारीहरूको उन्मादले त झन विभेदका नयाँ नयाँ पदचापहरू छाड्दै अघि बढ्छ।  

पद, प्रभाव र प्रतिष्ठाको कलेवरमा लिंगभेद र यौन हिंसा कसरी फस्टाइरहेको हुन्छ र कथम्कदाचित छताछुल्ल भइहाल्यो भने त्यसलाई कसरी ‘सेटल डाउन’ गरिन्छ भन्ने कुरा ह्वाइट हाउसकी तत्कालीन कर्मचारी मोनिका लेवेन्स्की र राष्ट्रपति क्लिन्टनको मुद्दालाई अध्ययन गरे पुग्छ। मानव अधिकारको संरक्षण र महिला हिंसाकै विरुद्धमा दुनियाँभर वकालत गर्दै हिँड्ने महाशक्ति राष्ट्रकै निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका महिला हिंसाका कैयौ“ आरोपलाई उनले उल्टै खिल्ली उडाइदिने गरेका थिए। यो कुन शक्तिको कमाल थियो ? भनेर प्रश्न गरिरहनै पर्दैन। नेपालको इतिहासमा पनि बिरलै बाहिर आउने हाइप्रोफाइल यौन काण्डहरूमध्ये ‘महरा काण्ड’ अपवादकै रूपमा एक्स्पोज हुन पुग्यो। यद्यपि उनले अदालतबाट सफाइ पाइसकेका छन्।  

भर्खरै हामीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न गरेका छौँ। जसको नारा थियो– ‘सभ्य समाजको पहिचान, लैंगिक हिंसाविरुद्धको अभियान।’ तर दुःखको कुरा अभियानकै दौरान महिलाका आत्मदाहदेखि आफ्नै श्रीमान्द्वारा विभत्स हत्या भएका घटनाहरू सार्वजनिक भैरहे। यसैबीच विश्वमा वार्षिक ४५ लाख महिलाको हत्यामध्ये ५६ प्रतिशत पुरुष नातेदारहरूबाटै भएको अर्को डरलाग्दो तथ्यांक बाहिर आयो। आखिर किन पुरुषहरू महिलामाथि हिंसा वा हत्या गर्न यति सहजै उद्यत हुन्छन् त ? तथ्य के हो भने हरेक लैंगिक हिंसाको जननी वा स्रोत लिंगभेद हो। लिंगभेदकै आलोक र मलजलमा लैंगिक हिंसा जिउँदोजाग्दोरूपमा समाजमा हुर्किरहेको हुन्छ। जबसम्म समाजमा पुरुष दिमागले महिलालाई ‘सेकेन्ड सेक्स’ ठान्ने परिस्थिति बनिरहन्छ लैंगिक हिंसा रोकिने संभावना रहँदैन। त्यसैले लैंगिक हिंसा अन्त्य हुन लिंगभेदी भाष्यको निस्तेजीकरण अनिवार्य सर्त हो।

तर दुःखको कुरा हाम्रो समाज त्यतातिर उन्मुख देखिँदैन। बरु जानेर वा नजानेर अथवा निहित स्वार्थवश पुरुषसँगै महिलाहरूसमेत लिंगभेदका सारथि वा बाहक बन्ने गर्दछन्। ‘बंगलादेशबाट मेडिकल शिक्षा पास गर्ने महिलाहरूले अस्मिता साटेर सर्टिफिकेट ल्याउछन्’ भन्ने तत्कालीन मन्त्री शेरबहादुर तामाङको दाबी होस् या ‘महिलाको अंग प्रत्यारोपण गरेकाले वलीको दिमागले काम गरेन’ भन्ने नेता डाक्टर भीम रावलको ‘रोग निदान’। ‘साडी माथि सारेर पिँडौला देखाउँदै पोइल जान पाम भनेकै भरमा कोमल वली राष्ट्रिय सभा सदस्य र पार्टीको केन्द्रीय सदस्य बनाइएकी हुन्’ भन्ने नेता रघु पन्तको दलिल होस् या ‘बालकोटै गएर बसे पनि फरक पर्दैन’ भन्ने युवा नेतृ रामकुमारी झाँक्रीको राष्ट्रपति विद्यादेवी भण्डारीमाथिको कटाक्ष। यी सबै लिंगभेद र लैंगिक हिंसाका निकृष्ट भाष्य हुन्। ‘हामीले दुःख गरेर भित्र्याएकी दुर्गा भाउजू त अर्कैसँग सल्किछन्’ भन्ने पूर्वप्रधानमन्त्री वलीको नेतृ दुर्गा पौडेलप्रतिको व्यंग्य त झन चरम पुरुषवादी अहंकारले महिलाको यौनिकतामाथि गरेको क्षुद्र प्रहार हो। तर विडम्बना, हाम्रो सामाजिक संरचनाले यस्ता अश्लील व्यंग्यका घटनालाई गम्भीरतापूर्वक कानुनी दायरामा ल्याउनुको सट्टा सामान्य ख्यालठट्टाका रूपमा सजिलै पचाइदिन्छ। जसले गर्दा पीडकहरू झनझन हौसिन्छन्। अनि यस्तै सामाजिक सांस्कृतिक भाष्य र मनोविज्ञानको आलोकमा हुर्किएका छोरा पुस्ता समाजमा निरन्तर भइरहने महिला हिंसाका डरलाग्दा घटनाका कारक बनिरहन्छन्। समस्याको जड यहीँनेर छ। 

प्रकाशित: २९ मंसिर २०७९ ००:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App