७ वैशाख २०८१ शुक्रबार
विचार

आमनिर्वाचनपछिको प्रतिनिधिसभा

यही २०७९ साल मंसिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा विजयी भएका सबैलाई बधाई ज्ञापन गर्दछु र आफ्नो मत दिएर संवैधानिक हकको उपयोग गर्ने सम्पूर्ण जनता जनार्दनमा आभार व्यक्त गर्दछु।

वि.सं. २०७२ सालमा संविधान निर्माण भएपछि भएको यो दोस्रो आमनिर्वाचन हो। आवधिक निर्वाचन प्रजातन्त्रको अनिवार्य सर्त हो र सुन्दर पक्ष हो। निर्वाचनको माध्यमबाट हाम्रो देशको संविधानले उचित गति लिएको छ र सुनिश्चित बाटो पनि पहिल्याएको छ। हाम्रो देशमा संविधान अब विवादरहित ढंगले अघि बढिसकेको छ र आमनागरिकमा संविधानप्रतिको आस्था र विश्वास वृद्धि भएको छ। संविधान एक गतिशील दस्ताबेज हो। आवश्यकता अनुसार यसको संशोधन गरी परिमार्जन हुँदै जानेछ। स्थानीय तह, प्रदेश र संघीय संसद्का निर्वाचन सम्पन्न गरेर अब प्रजातान्त्रिक पद्धतिमा आबद्ध भएर देश अघि बढिसकेको छ। जनताले निर्वाचनमा उत्साहका साथ सहभागिता जनाएका छन्। यो सकारात्मक पक्ष हो। मतदान प्रतिशत कहिले बढी त कहिल्यै कम भैरहन्छ। मुख्य कुरा आवधिक निर्वाचन र यसमा जनताको शान्तिपूर्ण सहभागिता नै हो। नेपालको संवैधानिक एवं प्रजातान्त्रिक प्रणाली अब अघि बढ्दै गएको छ र राजनीतिक प्रक्रिया सुस्थिर हुँदै गएको छ।

यसपालिको आमनिर्वाचनमा खास गरेर प्रतिनिधिसभामा नेपाली कांग्रेससहित अन्य पार्टीबाट पनि भर पर्न सकिने र आशलाग्दा युवाहरू निर्वाचित भएर आएका छन्। पुराना अनुभवी नेता पनि निर्वाचित भएर आएका छन्। यो उज्यालो पक्ष हो। यसबाट अब बन्ने संसद्मा सबैको सहभागिता, प्रतिनिधित्व र पुस्ता निरन्तरता कायम भएको छ। यसपटक केही नयाँ पार्टी पनि थपिएका छन्। ती पार्टीका पनि प्रायः युवाहरूको प्रतिनिधित्व संसद्मा हुनेछ। तीबाट धेरै युवा निर्वाचित भएर आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले आमचुनावमा सहभागी भएको पहिलो पटक नै प्रतिनिधिसभाको निर्वाचनमा आशातीत सफलता प्राप्त गरेको छ। यो पार्टीले काठमाडौँमा दश स्थानमध्ये चारमा र ललितपुरको एक स्थानमा विजयी भएर राजधानीमै महत्वपूर्ण जित हासिल गरेको छ। चितवन र अरू पनि केही स्थानमा यसले विजय प्राप्त गरेको छ र समानुपातिकमा पनि उचित मत प्राप्त गरेको छ। निकै छोटो समयको संगठनबाट पनि राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा सम्मानजनक परिणाम आउनु निश्चय नै यसप्रति जनताले विश्वास गरेका छन् भन्ने कुराको यो सूचक हो। तर राष्ट्रिय स्वतन्त्र पार्टी अझै संगठित र व्यवस्थित भैसकेको छैन। यसको यो गुरुतर कार्य अझै बाँकी छ। यसका सांसदहरूको कठिन परीक्षा अब प्रारम्भ हुनेछ। यसको आगामी नीति, कार्यक्रम, सिद्धान्त तथा देशको उन्न्ति र जनताको हितका कार्य कसरी अघि बढ्छन्? ती सबैले यसकोे भविष्य निर्धारण गर्नेछन् र यसैका आधारमा नै नेपाली जनताले यो पार्टीको मूल्यांकन गर्नेछन्।

यसपटकको आमचुनावमा भाग लिने पुराना र नयाँ सबै पार्टीको उत्साहलाई दृष्टिगत गर्दा सबैमा शान्तिपूर्ण रूपमा देश अघि बढोस् र छिटो भन्दा छिटो समुन्नत बनोस् भन्ने दृढता व्यक्त भएको टड्कारो रूपमा देख्न पाइन्छ। यसलाई सबैले सकारात्मक रूपमा लिनुपर्छ। देशबासीको यस्तै भावना, सहयोग र सक्रियताले नै देशलाई उज्ज्वल भविष्यतिर अग्रसर गराउँछ। अहिले दखिएको सबै जनताको, खासगरी युवाहरूको आमचुनावमा सक्रिय सहभागिता र सहयोगत्माक सोचाइलाई देश, जनता एवं वर्तमान संविधानप्रति सबैमा बढ्दै गएको अपनत्वका रूपमा लिनुपर्छ। सबै वर्ग, सबै क्षेत्र र खासगरी युवाहरूले यसरी नै चासो देखाउँदै गए भने देशले सबै क्षेत्रमा प्रगति गर्दै जाने कुरामा दुई मत हुन सक्तैन।

वि.सं. २०७४ को आमचुनावबाट स्थापित संसद्लाई एकपटक मात्र होइन, दुई पटक विघटन गरियो। विघटन अनाधिकृत तवरले भएको थियो। संविधानमा भएको व्यवस्थालाई उल्लघंन गरेर संविधानको भावना र मर्म विपरीत तवरले विघटन भएको थियो। त्यसैले सर्वोच्च अदालतबाट संसद्को पुनर्स्थापना भयो र देशका पाँच वटा पार्टीको सहमतिको संयुक्त सरकार बन्यो। यो सरकारले देशमा देखापरेका कतिपय समस्याको समाधान गर्न नसके पनि संविधान रक्षाको जिम्मेवारी भने पूरा गरेर, केही महिना पहिले स्थानीय निकायहरूको एवं भरखरै प्रदेशको र संघीय (केन्द्रीय) संसद्को निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न गरायो। यसलाई प्रजातान्त्रिक प्रणालीको दायित्व पूरा गरेको एक महत्वपूर्ण कार्यका रूपमा लिनुपर्छ।

संयुक्त सरकारको परम्परा नेपालमा यसअघि पनि नदेखिएको होइन तर ती त्यति टिकाउ भएनन्। अहिलेको वर्तमान गठबन्धनको संयुक्त सरकारले भने एक वर्ष भन्दा बढी अवधिसम्म विनाअवरोध संयुक्त सरकार सञ्चालन गरेर तीनवटै निर्वाचन गराउने दायित्व पनि पूरा गरेको छ। अब बन्ने संसद्को अवस्था हेर्दा अब पनि कुनै एकल पार्टीको मात्र सरकार बन्न सक्ने अवस्था देखिँदैन। फेरि पनि केही पार्टीको सामूहिक समझदारीमा संयुक्त सरकार नै बन्ने अवस्था देखिन्छ। धेरै उथलपुथल र अरू धेरै कुरा बेहोरेर पनि अहिलेको गठबन्धनका पार्टीहरू चुनावमा पनि संयुक्त रूपले सबै मिलेर गए। यिनीहरूको बेग्लाबेग्लै नीति र छुट्टाछुट्टैै कार्यक्रम र सिद्धान्त भए पनि मतदाताहरूका बीचमा जाँदा यिनीहरूले बेग्लै नीति र अवधारणाहरूबाट सहकार्यमा बाधा र विध्न उपस्थित गराएनन्। एकले अर्कालाई हरसम्भव सहयोग गरे। त्यसैले अबको गठबन्धन पनि पूर्ववत् पार्टीहरूका बीचमा नै बन्नेछ। सरकार विघटन भैरहने स्थिति रहिरह्यो भने त्यसले देश र जनता कसैको पनि भलाइ गर्दैन। सबैतिर अस्थिरता बढ्दै जानेछ। यस स्थितिमा भरपर्दा, महत्वपूर्ण र दीर्घकालीन कार्यहरू कार्यान्वयन हुन सक्ने छैनन्। यसप्रति सबैले समयमा नै सचेत हुन आवश्यक छ।

कामना गरौँ-देश सुशासन, शान्ति, स्थिरता, विकास एवं समृद्धितिर दु्रत गतिले अघि बढोस्। अन्तर्राष्ट्रिय स्तरमा सुसम्बन्ध कायम गरी असंलग्न परराष्ट्र नीतिको आधारमा देशले अहं भूमिका निर्वाह गर्न सफल होस् र सरकार यथाशक्य छिटो गठन होस्। सरकार सफल होस् र जनताको भलाइ गरोस् । यही हार्दिक शुभकामना!  

प्रकाशित: १८ मंसिर २०७९ ००:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App