१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
विचार

लैंगिक हिंसाको धार्मिक स्रोत

राजधानीको एक निजी कलेजबाट व्यवस्थापनमा ब्याचलर सकिरहेका मेरा एकजना छिमेकी भाइ छन्। उनकी स्कुल पढ्दै गरेकी १५ वर्षकी बहिनी पनि छिन्। परम्परागत संस्कारहरूको पालना गर्नु नै सभ्यताको परिचायक ठान्ने अभिभावकको स्कुलिङमा हुर्किएका उनी कर्मकाण्डमा निकै कट्टर छन्। त्यसैले बहिनीको महिनावारी हुँदासमेत घरभित्र कठोर छोइछिटो गर्नेदेखि पूजापाठ र शुभ–कार्यहरूमा बहिनीको उपस्थितिमाथि कडा प्रतिबन्ध लाउँछन्। त्यतिमात्र होइन बहिनीको परीक्षाफल अपेक्षाकृत राम्रो नहुनुमा समेत उनको आफ्नो मौलिक अन्धविश्वास छ। ‘नछुने’ हुँदा हुने लसपसले घरका कूलदेवता रिसाएका कारण परीक्षामा बहिनीको नतिजा राम्रो नआउने उनको विचित्रको तर्क रहन्छ।

जबकि लब्धाङ्कपत्रलाई नै आधार मान्ने हो भने उनी स्वयं आफ्नो कलेजका ‘सी’ ग्रेडका विद्यार्थी हुन्। तर छोरो भएकै कारण उनलाई यसको कहीँकतै स्पष्टीकरण दिइराख्नु पर्दैन। बरु बहिनीमाथि सामाजिक सांस्कृतिक अनुशासनका अनेक पर्खाल खडा गर्ने लाइसेन्स उनलाई परिवारबाटै प्राप्त छ। ‘छोरी मान्छेको इज्जत उनीहरूको चरित्रमा झुण्डिएको हुन्छ। त्यसमा थोरै पनि दाग लाग्यो भने समाजले घृणा र तिरस्कार गर्न सक्छ। त्यसैले छोरीहरू कडा अनुशासनमा बस्नुपर्छ। आफ्नो इज्जत छोप्न छोरीले छोटो लुगा लाउनु हुँदैन, जोडले बोल्न र हाँस्न हुँदैन। सहनशील कहलाउन अरूको मुख लाग्नु हुँदैन। सती सावित्री देखिन चलिआएकोे परम्परामाथि विमति राख्नु हुँदैन।’ यस्तै आशयका रुढिवादी उपदेशहरू उनले बहिनीलाई ‘रि-प्ले’ गरिरहन्छन्। धर्मान्धता र  लैंगिक हिंसाको सम्बन्ध कति गहिरो हुन्छ भन्ने यथार्थ बुझ्न ती भाइ जस्ता ‘भक्त’ हरूको जीवन व्यवहार गहिरो गरी नियाले स्पष्ट हुन्छ।

समाजमा लैंगिक हिंसा विभिन्न प्रकार र स्वरूपमा हुने गर्दछन्। बलात्कार वा करणी, यौनजन्य दुर्व्यवहार, शारीरिक हिंसा, बाल विवाह एवं जबर्जस्ती विवाह, लिंगकै आधारमा हुने स्रोत–साधन, अवसर र सेवाबाट वञ्चिति, मानसिक दुर्व्यवहार एवं रुढीवादी परम्पराका आधारमा गरिने भेदभाव सबै लैंगिक हिंसाका स्वरूप हुन्। अधिकांश लैंगिक हिंसाका सिकार महिलाहरू नै हुने गरे पनि पुरुष वा अन्य जोसुकैलाई जसबाट पनि हुन सक्छ। खासगरी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय (एलजिबिटिक्वी प्लस) माथिको विश्वप्यापी विभेद दुःखद छ।

तर महिला एवं किशोरीविरुद्ध हुने हिंसा आज जनस्वास्थ्य समस्याका रूपमा मात्र सीमित छैन। यसले सामाजिक, सांस्कृतिक, आर्थिक, कानुनी एवं मनोवैज्ञानिक समस्याको रूप धारण गरिसकेको छ। विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार लैंगिक हिंसा नभोगेका महिलाको तुलनामा हिंसा भोगेका महिलामा दुई गुणाभन्दा बढी गर्भ पतन भएको र झण्डै दुई गुणामा उदासीनता रहने गरेको पाइएको छ। साथसाथै यस्तो हिंसामा परेका १६ प्रतिशत महिलाबाट कम तौल भएका शिशुहरू जन्मेका छन्।

नेपालमा २५ प्रतिशतभन्दा बढी महिला कुनै न कुनै हिंसामा पर्ने गरेको आकलन छ। पछिल्लो प्रहरी तथ्यांकअनुसार नेपालमा सन् २०२१ जुलाइपछिको १ वर्षमा २१ हजार ५ सय ६८ उजुरी महिला हिंसाविरुद्ध परेका छन्। यो अत्यन्त डरलाग्दो आँकडा हो। नेपाली समाजमा रहेका केही परम्परागत रुढीवादी प्रथाहरू, जस्तै-कम उमेरमा हुने विवाह, बहुविवाह, झुमा, वादी, देउकी, छाउपडी जस्ता प्रथासमेत लैंगिक हिंसाकै रूप हुन्। यसलाई हाम्रो सामाजिक परम्परा र सांकृतिक मान्यता भनेर बेवास्ता गर्न मिल्दैन।

त्यसो त करिब १ सय वर्षअघिसम्म सती प्रथाले गाँजेको हाम्रो सामाजिक सांस्कृतिक इतिहास आफैँमा लिंगभेदी छ। त्यसका लागि कुनै तथ्य प्रमाण खोजिरहन पर्दैन। लिपिबद्ध हाम्रा ग्रन्थका पल्टाएर हेरे लैंगिक हिंसाको अत्यासलाग्दो गन्ध त्यहीँ भेटिन्छ। मिथकीय हाम्रा अधिकांश धर्मशास्त्रभित्र नारी चित्कारका अनेकौँ प्रसंग छन्। परापूर्वकालदेखि हामीले श्रवण गर्दै आएका व्रतकथामा लैंगिक हिंसाको लिपिबद्ध कथा पाइन्छ। पूजा गरिएको प्रसादसमेत सकेसम्म आफ्ना श्रीमान्लाई खुवाउनु, श्रीमान् नभए छोरालाई खुवाउनु, आफ्नै छोरा नभए मीत छोरालाई खुवाउनु, त्यो पनि नभए बरु खोलामा बगाइदिनु तर छोरी बुहारीहरूलाई नखुवाउनु भन्ने आशयका आश्चर्य लाग्दा अर्ती उपदेश उक्त ग्रन्थमा भेटिन्छन्। यस्ता कथाले दिन खोजेको शिक्षा र सन्देश के होला?

उक्त ग्रन्थकै अर्को प्रसंगमा वृन्दापति जालन्धरको बहादुरीबाट कायल भएका कथाका अर्का पात्रले पतिकै भेषमा गएर पत्नीको अस्मिता लुट्छन्। त्यसपछि सोही कारणले मनोबल गिरेका जालन्धरको हत्या गर्न उनीहरू सफल हुन्छन्। कथामा यो प्रसंगलाई अद्भूत पराक्रमका रूपमा व्याख्या गरिएको छ। तर प्रश्न उठ्छ, वृन्दासँग गरिएको धोकाधडीपूर्ण यौनक्रिडा हाम्रा ‘भगवान’ को बहादुरी थियो कि षडयन्त्रको आडमा गरिएको कायरतापूर्ण बलात्कार? जुनसुकै उद्देश्यले गरिएको भए तापनि त्यो एउटी महिलामाथि भएको गंभीर यौन हिंसा थिएन र? यद्यपि ‘भगवान’ ले समाजको भलाइका लागि अनेक उपकार गरेका कथा त्यहाँ भेटिन्छन्। तर एउटा विषय वा प्रसंगमा गरिएको समाज सेवाको सोधभर्ना अर्को सन्दर्भमा कसैमाथि अपराध गरेर लिन पाइन्छ त? त्यसो गर्न छूट हुन्छ त? त्यो अपराध हो भने नीतिशास्त्रअनुसार पनि अपराध गर्ने अपराधी त ठाउँको ठाउँ सजायको भागीदार हुनुपर्ने होइन र? त्यसो होइन भने हाम्रा धर्मशास्त्रहरूले व्याख्या र परिकल्पना गरेको समाज व्यवस्था आफैँमा लैंगिक हिंसामा आधारित भएको स्वतः प्रमाणित हुँदैन र? तर पनि चरमस्त्रीद्वेषी यस्ता धार्मिक ग्रन्थका पुरुष पण्डित्याइँहरूलाई भगवानको उपदेश गाथाका रूपमा चूपचाप श्रवण गर्दै ‘पवित्र’ मानेर हरेक वर्ष धूमधामले पूजा गर्नुपर्ने हाम्रो नियति छ। के हाम्रो ज्ञानको स्रोत साँच्चिकै सही छ त?

खल्तीको खजाना रित्तिएपछि द्रौपदीलाई जुवाको खालमा दाउ लगाउने युधिष्ठिर र यो सब तमासाको साक्षी बस्ने पाण्डव भाइभारदारहरूको विवेकलाई महाभारतमा नैतिकवान र धार्मिक भनेर बखान गरिएको छ। जुवा हारिसकेपछि दुर्योधनको निर्देशनमा दुशासनद्वारा द्रौपदीको चीरहरण भैरहँदा सबै भारदार एकप्रकारले रमिता हेरेर बस्छन्। जुवा हार्नेले आफ्नो हारेको खजानामाथि नियन्त्रण गुमाउँछ। जुवा जित्नेले नियन्त्रणमा लिन्छ। यो नै जुवाको नियम हो। यसैलाई आधार मानेर द्रौपदीमाथिको कौरवहरूको अत्याचारलाई सामान्यीकरण गर्न खोजेको कथा त्यहाँ छ। तर सृष्टिकै आधा अस्तित्वको भूमिकामा रहेकी नारीलाई खल्तीको सुकोको दर्जा दिएर जुवाको दाउमा थाप्ने युधिष्ठिर र उनका भाइभारदारहरू यथार्थमा साँच्चिकै धार्मिक थिए कि लैंगिक हिंसाका पर्यायवाची? ‘यत्र नार्यस्तु पुज्यन्ते: रमन्ते तत्र देवता’ भनेर धर्मशास्त्रका जतिवटा पानामा लेखिए पनि कथाका यिनै पात्रहरू साक्षी छन् त्यहाँ नारीमाथि कति दमन र अत्याचार छ भनेर। अझ ती सब घटनालाई टुलुटुलु हेरेर बस्ने त्यो लाचार समाजलाई सभ्य र आदर्श भनेर महिमामण्डन गर्नुको अर्थ के हो?

यसरी पौराणिक कालमा पुरुष सत्ता र शक्तिको आडमा भएका लैंगिक हिंसाका पीडक र प्रवृत्तिहरू आजको चेतनशील समाजमा पनि पुजनीय भैरहने हो भने सत्ता र शक्तिकै आडभरोसामा हत्या र बलात्कार आरोपीहरू अदालतबाट ससम्मान रिहाइ भैरहँदा रोइलो किन त? यस्ता यक्ष प्रश्नको जवाफ अब खोजिनुपर्छ।

निश्चित रूपमा इतिहासका पनि इतिहास हाम्रा ग्रन्थहरू मानव सभ्यताका धरोहर हुन्। पौराणिक परम्पराका जीवन्त दर्पण अनि आधुनिक साहित्यका स्रोतसमेत हुनाले यथार्थमा कालजयी सम्पदा हुन्। त्यसैले ती सदैव पठनीय छन्। संग्रहणीय छन्। त्यसो त प्राचीन यी ग्रन्थहरू चराचर जगत्का कथा उपकथाले भरिएका मात्र छैनन्। भीषण दार्शनिक बहसले समेत परिपूर्ण छन्। त्यहाँ अध्यात्म, दर्शन, आदर्श, नीति, नैतिकता, न्याय र उपकार आदिका वर्णन मात्र छैनन्। अन्याय, अत्याचार, विभेद अनि अनेक स्वार्थहरूको टकरावबाट उत्पन्न हुने जय/पराजयका बयान पनि त्यत्तिकै छन्।

सबभन्दा धेरै त त्यहाँ स्त्री जातिमाथि भएका चरम दमन, ज्यादती र चित्कारका चित्रण छन्। पितृसत्ताद्वारा नारी धर्मको नाममा नारीमाथि नै थोपरिएका भयानक र दर्दनाक अनगिन्ती किस्सा छन् किनकि हरेक धर्मग्रन्थ आफैँमा तत्कालिन समाजका प्रतिविम्ब हुन। तीभित्र सोही समयको परिवेश झल्किनु स्वाभाविकै हो। जसको गहन अध्ययनबाट सत्य खोतलिनु पर्छ। सूक्ष्म अनुसन्धानबाट अन्वेषण हुनुपर्छ। युग सुहाउँदा मूल्य/मान्यता अनुशरण गरिनुपर्छ। प्रगतिशील पदचापहरू पछ्याइनुपर्छ। तर अध्ययनका नाममा स्तुति मात्र गाउने अनि पढिने भन्दा बढी पूजापाठ मात्र गरिने धन्दाको भरमा पुरातन मूल्यहरू समाजमा थोपर्ने प्रवृत्ति घातक छन् जसलाई आजको मानव चेतनाले अंगाल्न संभव छैन।

जस्तो कि कुनै पत्नीका लागि उनका पति सहयात्री हुन सक्ला अर्धाङ्गी हुन सक्ला, जीवन साथी, मायालु वा परम मित्र जे पनि हुन सक्ला। तर पति परमेश्वर वा पतिदेव मान्नुपर्ने परम्परा समयको वेगसँगै अस्वीकृत हुँदैछ। त्यसैगरी कुनै पत्नी पतिको आज्ञापालक सेविका वा दासी बन्ने कुरा अब असंभव छ। तर पनि संस्कार जोगाउने बहानामा पत्नीले पतिदेवको आदेश अवज्ञा गर्न, पतिभन्दा पहिले पत्नीले खान र पति गुमाएकी विधवाले रातो रंग लाउन वर्जित भएको आदिइत्यादी बकबास फलाक्ने कर्मकाण्डी जमात सानो छैन समाजमा। आधुनिक युगभित्रकै रुढीवादी यो तप्का समाजको अग्रगामी विकासका लागि हरदम तगारो बन्छ। प्रगतिशील र वैज्ञानिक मानव चेतना समाज विकासको अर्को कालखण्डमा त्यस्ता मान्यताहरूलाई स्वीकार, अस्वीकार वा आवश्यक पर्दा खारेज गर्दै अघि बढ्छ। आखिर होमोसेपिन्सदेखि कम्प्युटर मानवसम्मको हाम्रो यात्रा यसरी नै तय भएको होइन र?

प्रकाशित: १४ मंसिर २०७९ ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %