१६ मंसिर २०७९ शुक्रबार
विचार

बेरूजु सपनाहरू

मानिसको जीवन एकपल्टका निम्ति मात्रै हो, छलकपट गरेर पटक-पटक चुनाव जितेझैँ जीवनको पुनरावृत्ति हुँदैन। सदुपयोग गर्नेलाई एउटै जीवन पर्याप्त (इनफ) छ। अल्छीलाई पाँच सय वर्ष पनि अपुग हुन्छ।

प्राचीन वैशाली राज्यमा एकजना राजनर्तकी थिइन्। नाच्ने, गाउने र पुरुषहरूलाई प्रसन्न राख्ने कामका लागि भर्ती गरिएका नगरवधूमध्ये आम्रपाली नामकी ती सुन्दरीको रूप, कला र विनयी स्वभावले धेरै जना आशक्त थिए। आचार्य चतुरसेनको “वैशालीकी नगरवधू” उपन्यास निकै प्रसिद्ध छ। उनले आम्रपालीलाई केन्द्रमा राखेर त्यो पुरानो कालखण्डको सजीव चित्रण गरेका छन्।

बुद्धको अनुमति लिएर आम्रपाली उमेर छिप्पिँदै जाँदा भिक्षुणी संघमा सक्रिय बन्छिन्। ‘रंगीला’ दुनियाँबाट बाहिर निस्केर उनी जगत्लाई परोपकार, कर्तव्य (धर्म) अनुशासन र चरित्रका बारेमा प्रवचन दिन्छिन्। जसरी रत्नाकार डाँकाले ज्ञान प्राप्त गरेर वाल्मीकि ऋषि भए, त्यसरी नै जीवन बदलियो आम्रपालीको। उनीहरूका सपना अनाथ र बेरुजु भएनन्।

दार्शनिकहरू भन्छन्-जीवन बदल्ने हो भने लक्ष्य बदल्नुपर्छ। “खराब आनीबानी बदल्नुपर्छ। नैतिक र सामाजिक बन्नुुपर्छ। जीवन भनेको मान्छेको निवन्ध र त्यसको सारांश होइन। जीवन जीवनजस्तै हुनुपर्छ। दृढता वा अठोट (पर्सिभेरेन्स) अहर्निश प्रयत्न (पर्सिस्टेन्स) र धैर्य (पेसेन्स) लगायतका गुणले युक्त देखेपछि धेरैले भन्छन्- “त्यो साँच्चैको मान्छे हो।” अर्थात मान्छेको आवरणमा देखिएका सबैजना मान्छे होइनन्।

मान्छेको वर्णन गर्दा, चित्र बनाउँदा वा मान्छेको निवन्ध लेख्नुपर्दा त्यस्तालाई हामी सम्झना पनि गर्दैनौँ। मान्छेले बारी वा खेतका बीचमा चराचुरुङ्गीबाट बाली जोगाउन “पुतला” बनाएर राख्छन्। नेवारीमा “बुख्याँचा” भनिन्छ काठमाडौँतिर। हामी जो मान्छे जस्तै देखिन्छाँं तर बुख्याँचा नै हौँ। मान्छेले केही नयाँ सिक्ने चार चरण छन्-सुन्नुपर्छ, बोल्नुपर्छ, पढनुपर्छ र अन्त्यमा जानेका केही कुरा लेख्नुपर्छ। स-साना केटाकेटीलाई पनि सिकाउने विधि त्यही हो। दुर्भाग्य नै भन्नुपर्छ, अचेल असल मानिस भेट्न धेरै मेहनत गर्नुपर्छ। मान्छेको निवन्ध लेख्न बस्दा म केही यस्ता मानिस सम्झिरहेको छु, जसले एउटै जीवनलाई पर्याप्त बनाए। सपनाहरू बेरुजु भएनन्।

उनन्तीस वर्षमै शेलीको मृत्यु भयो। डुँगा पल्टिदा ती मरे तर उनका कविता जगत् प्रसिद्ध छन्। मोतीराम भट्टको मृत्यु त्यस्तै युवावस्थामा भयो। वि.स. १९२३ मा जन्मेर १९५३ मा मरे उनी। दार्शनिक सेनेकाले भनेका छन्-“मान्छे कति वर्ष बाँच्छ, त्यो महत्वहीन कुरा हो। कसरी बाँच्छ ? त्यो महत्वपूर्ण हुन्छ।” मान्छेको निवन्ध लेख्नेहरूले कदापि बिर्सिन नहुने यो बुँदाले तीन करोडभन्दा धेरै नेपालीमध्ये कतिजना कसरी बाँचेका छन् भन्ने प्रश्नको उत्तर खोज्छ।

ह्यारी एस ट्रुम्यानले तेत्तीसौँ राष्ट्रपतिका रूपमा सपथ ग्रहण गरे। त्यसपछि उनले मनमनै एउटा निवन्धको रूपरेखा बनाए। अमेरिकासँग टक्कर लिने र लिन सक्ने “युएसएसआर” (सोभियत फेडरेसन) लाई क्षतविक्षत पार्न चाहन्थे उनी। फ्रयांकलिन डी रुजबेल्टको जस्तै सोच थियो, उनको। ह्यारीको कल्पना जर्ज डब्ल्यु बुसले साकार पारे। पन्ध्र टुक्रामा विभक्त भयो, सोभियत फेडरेसन। ती परास्त भए।

सपना देख्नु मात्र पर्याप्त हुँदैन तर स्वप्नद्रष्टा नायक हरेक राष्ट्रलाई चाहिन्छ। हरेक मान्छे सपना देख्छ र चाँडै बिर्सिन्छ सपनाहरू नबिर्सने मान्छे चाहिन्छ। समाज र राष्ट्रमा खुसी ल्याउने महानायक चाहिन्छ। निजी खुसी त्याग्ने उदात्त मन चाहिन्छ।

प्रथम विश्वयुद्ध (सन् १९१४–१८) देखेका, भोगेका र युद्धमा भाग लिएर धेरै नजिकबाट संसार हेरेका ‘टु«म्यान’ ले ऊबेलैदेखि केही चित्र बनाएका थिए, मनमा। सोभियत फेडरेसन जस्तै चीनलाई टुक्राटुक्रा पार्न चाहने उनको रणनीतिबारे धेरैले लेखेका छन्। चीनका वरिपरि रेहेका चौधवटा राष्ट्रमा जे भइरहेको छ, त्यो हेर्दा मिखाइल गोर्वाचोभको नियति अहिलेका चिनियाँ नेताहरूले केही वर्षभित्रै भोग्नुपर्ने अवस्था आउन सक्छ भन्ने विश्लेषकहरूको विचारलाई कुतर्क भनेर अस्वीकार गर्ने आधार देखिँदैन।

नीतिलाई केन्द्रमा राखेर काम गर्ने हो वा नेतालाई? धेरैलाई भ्रम छ। २०५२ सालबाट नेपालमा सुरु भएको सशस्त्र विद्रोह “आतंकवाद हो कि राजनीतिक” विद्रोह भन्ने कुरामा नेपाली सेनाको नेतृत्व समेत स्पष्ट देखिएन। फलतः आगो सल्किँदै गयो। अहिले पनि राष्ट्रका सामुन्ने कतिपय प्रश्न छन्- करोडौंँ रुपियाँ खर्च लाग्ने चुनाव प्रणाली, त्यहीसँग जोडिएको संघीयता, राज्यसंयन्त्रमै हस्तक्षेप गर्ने वैदेशिक सहायता, नेपाललाई “माइन्ड लक्ड” राष्ट्र बनाएर कालान्तरमा ‘फेल्ड स्टेट’ घोषणा गराउने प्रपञ्च र राजनीतिक अस्थिरताका मुख्य कारणबारे चार घण्टा पनि छलफल गरिएको छैन। त्यसैले सत्तरी–बहत्तर वर्षअघिदेखि “डेम्रोक्रेसी खतरामा छ” भन्ने गीत सुनिरहेका छौँ हामी।

हाम्रा सपनाहरू निजामती कार्यालयका कागज र कथित अभिलेखझैँ अँध्यारा कोठाहरूमा थुनिएका छन्। बेरुजु देखिएका छन्। ती अनाथ सपनाका आमाबाबु कोही छैनन्। त्यसैले अनाथ छन्, करोडौँ सपना। सपना किनबेच गर्नेहरूलाई भोट दिएर ६४ वर्षअघिदेखि संसद्मा पठाए पनि बस्ने बाजे-बज्यैका सपना नै ढुसी लागेको गुन्द्रुक बनेका छन्। प्रगतिका लागि दल नै चाहिँदैन, योग्य र इमानदारहरू मात्रै भए पुग्छ। युवा पुस्ताले देखाएको दलहरूप्रतिको घृणा आवेग मात्र होइन, जनादेश पनि हो। नेपालमा सोह्रदेखि चालीस बर्षसम्मको जनसंख्या ४१ प्रतिशत जति छ। उनीहरू फरक ढंगले सोचिरहेका छन्। भारतीय लेखक चेतन भगतको तर्क छ-“युवाले जे सोच्छन् राष्ट्रले त्यही सोचेको छ भन्ने बुझ्नुपर्छ।”

यही बुझ्न नसक्दा सपनाहरू अनाथ बन्छन्। युवालाई बुझ्न नसक्दा सिरिया, यमन र इजिप्टमा भएका उथलपुथल समाचारका हेडलाइन मात्रै होइनन्, धरातलीय यथार्थ पनि हुन्। तसर्थ चुनावमा कसले कतिपल्ट जित्दा के हुन्छ, त्यसको खासै अर्थ छैन। जनताका सपनाको संरक्षण, सम्पोषण र सम्वद्र्धन भएन भने अनर्थ हुन्छ। लाखौँ युवा जुरुक्क उठेपछि पामर, नामर्द, लाछी, पानीमरुवा र परजीवीहरू थचक्कै बस्छन्। अहिले देखिएका दृश्य यही बोल्दैछन्।

सरस्वतीको वरदानले कण्व ऋषिले मिश्र (इजिप्ट) भ्रमण गरेर दश हजार भन्दा धेरैलाई सुसंस्कृत बनाएको कुरा पुराणमा उल्लेख छ। (भविष्य पुराण, ४।२१।१६) यसको अर्थ, एउटा असल मानिसले हजारौँ लाखौंलाई सही मार्ग देखाउन सक्छ। शक्ति, सम्पत्ति, सत्ता र स्वार्थमा डुब्नेहरूले राष्ट्र र समाज नै डुबाउँछन्। त्यसबाट बच्न योग्यता चिन्ने योग्यता पनि चाहिन्छ।

केही दिनअघि मैले इलामका पुराना समाजसेवी केन्द्रप्रसाद आचार्यलाई सोधें-“झण्डै नब्बे वर्षसम्म सदाचार, समाजसेवा र इमानको बाटो हिँडिरहनुभयो। यसरी बाँच्दा के मिल्यो?”

उहाँले हाँस्दै भन्नुभयो-“मलाई ठूलो आत्मसन्तुष्टि मिलेको छ। केही भुलचुक भयो होला तर बेइमानी गरिनँ। यो जीवनको उपलब्धि हो।”

“झापाको खुदुनाबारी सुखानी हुँदै २०२० सालमा राजा महेन्द्र इलाम सवारी भयो। एक महिना यतै राज हुने भएकाले राजासहित विशिष्ट व्यक्तिहरूको भोजनका लागि मैले नै आफ्नो खेतबाट बीस मुरी चामल उपलब्ध गराएको थिएँ। चुल्ठे जातको धानबाट चामल बनाइयो। त्यो वासमतीभन्दा नरम र स्वादिलो हुन्छ।”

अरू धेरै मानिसझैँ सर्वसाधारणसँग रमाएर जीवन बिताउनुहुने केन्द्रप्रसादका केही सपना बेरुजु छन्। युवाले कामका लागि विदेशिनु नपरोस्, स्थानीय तहमै रोजगारी, उद्योग, अस्पताल लगायतका सुविधा हुन् भन्ने उहाँको चाहना छ। पुराना दिनहरू सम्झिँदै उहाँ भन्नुहुन्छ, “हामी कसैले औँला ठड्याउन नपाउन् भनेर काम गथ्र्याैँ। अब जमाना बदलिएको छ।”

सदैव हराभरा रहने काम वृक्षका लागि पनि जटिल छ। मौसम प्रतिकूल भए पनि घाम, हुरी खडेरी, प्रदूषण सहेर पनि वृक्ष उभिन्छ। अधिकांश मानिस आफू र आफ्ना सपनाको दुर्गति नहोस् भनेर सुरक्षाका लागि समाज, संगठन, संघ, राज्य देश र राष्ट्र बनाउँछन्। पृथ्वीनारायण शाहले अंग्रेज साम्राज्यलाई चुनौती दिँदै राष्ट्र एकीकरण गर्नुको प्रमुख कारण शक्ति आर्जन मात्र थिएन, धर्म–संस्कृति, परम्परा, इतिहास र मूल्य मान्यताको रक्षा पनि पुनीत उद्देश्य थियो। हामी अभिभावकहरू सन्तानलाई “पढाउँछौँ” मात्र। सिकाउने कष्ट गर्दैनौँ। अनुभवका आधारमा हाम्रा निरक्षर पुर्खाले ज्ञान हस्तान्तरण गरे। कृषि, पशुपालन, आयुर्विज्ञान, शस्त्रास्त्र विधा आदि हाम्रा पुर्खाले पढाएनन्, सिकाए मात्र। ज्ञानी हुन पढ्नु पर्दैन, सिके मात्र पुग्छ।

जापानी पुर्खाले राष्ट्रभक्ति, संस्कार, आचरण र परम्परागत ज्ञान सिकाए। हजारौँ वर्ष पुराना ज्ञानले जापानको प्राचीन धर्म, संस्कृति परम्परा जोगाउँदै राष्ट्रको प्रगति गरेको छ। चीनले त्यसै गरेको पाइन्छ। हामी सिकाउने होइन, पढाउनमै केन्द्रित भयौँ। महँगा स्कुल–कलेजमा धेरै धन खर्च गरेर “पढेको” मात्र काम लाग्छ भन्ने सिकाइयो। घाँटीमा बाँधिने वस्त्र–दाम्लो (टाइ) र शिक्षाबीच के साइनो छ? मैले बुझेको छैन।

कोसँग कस्तो व्यवहार गर्ने, समस्याको समाधान कसरी गर्ने, समाज र राष्ट्रलाई कसरी योगदान दिने, प्राचीन धर्म-संस्कृति कसरी बचाउने भन्ने कुरा सिक्ने र सिकाउने कुरा हुन्। पुस्तकमा दुई चार पृष्ठ व्याख्या गरेर जीवनको निवन्ध लेख्न र देख्न सकिँदैन। राष्ट्रलाई सुखी बनाउने अनेक शास्त्र छन्। “राजधर्म” सर्वोकृष्ट उदाहरण हो। तसर्थ राष्ट्रको सुखद् भविष्यका लागि नवीन पुस्ताले विभिन्न राष्ट्रमा सिकेका असल कुरा नेपाली माटोमा हुर्काए भने केही वर्षपछि राष्ट्रको मुहार अलि उज्यालो हुन सक्छ।

प्रकाशित: ९ मंसिर २०७९ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App