हिजोआज सर्वत्र भावनात्मक भयदोहनको बिगबिगी छ। टाठाबाठा चतुर मानिसले यसको उपयोग गरेर फाइदा उठाइरहेका छन्। आमजनतालाई प्रत्यक्ष/परोक्ष ठगिरहेका छन्, लुटिरहेका छन्। भयदोहनको सबै भन्दा बढी दुरूपयोग नेपालको राजनीतिले गरिरहेको छ।
चुनाव प्रचारप्रसारको क्रममा एक सहरिया नेता गाउँमा किसानहरूको भेलामा स्थानीय पोशाकमा सजिएर यसो भन्न सक्छन्, म तपाईँहरू जस्तै एक किसानको छोरा हुँ। म पनि तपाईहरू जस्तै खेतबारीमा हुर्किएको हुँ। यहीँको पानी खाएको हुँ। मेरो नशा–नशामा किसानको रगत बगिरहेको छ। मैले खुद किसानका रूपमा किसानका अनेक समस्या भोगेको छु। मलाई राम्रोसँग थाहा छ किसानहरूको समस्या र दुःखपीडा। किसान उनको भाषण सुनेर भावुक बन्छन्। उनलाई एकाएक आफ्नो मुक्तिको मसिहा ठान्छन्। अनि तरर्र ताली पिट्छन्।
पटक–पटक चुनाव जिती जनप्रतिनिधि भएर पनि विकासका नाममा सिन्को पनि नभाँचेका र जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रमा फर्केर नआउने नेताजीहरूले चुनावको बेलामा जनतालाई ढोग्दै भावुक बनेर, उस्तै परे आँसु झार्दै भयदोहन गर्न सक्छन्, मैले सारा जीवन राजनीतिमा लगाएँ, देश र जनताको सेवामा लगाएँ। कति जेलनेल खाएँ, दुःखकष्ट पाएँ। राजनीतिबाहेक मेरो अरू केही पनि छैन। त्यसैले मलाई फेरि एकपटक सेवा गर्ने मौका दिनुहोस्। यो मेरो अन्तिम चुनाव हो, यसपछि म चुनाव लड्दिनँ, अरूलाई मौका दिन्छु।
मैले भ्रष्टाचार गर्दिनँ, कसैलाई गर्न पनि दिन्नँ। भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु जस्तै हो भनेर वा राष्ट्रियताको पक्षमा चर्को बोलेर वा सत्तामा आए रातारात चमत्कार गर्नेछु भनेर पनि मतदातालाई भयदोहन गरेको देखिन्छ। निर्वाचनको बेलामा त यस्तो दोहन राजनीति चरमोत्कर्षमा पुग्छ।
भावनात्मक भयदोहन राजनीतिमा मात्र सीमित छैन। यसले हरेक पेसा, व्यवसाय र क्षेत्रमा जरा गाडेको छ। कुनै चिकित्सकले यसो भन्न सक्छन्, स्थिति निकै नाजुक छ, तुरुन्त शल्यक्रिया गर्नुपर्छ, नत्र आमा/बच्चा दुवैको ज्यान जान सक्छ। कुनै कम्पनीले यस्तो विज्ञापन गर्न सक्छ, मुटुरोगबाट बच्न यो तेल प्रयोग गर्नुहोस्। किटाणुहरूबाट बच्न यो साबुन प्रयोग गर्नुहोस्। कुनै जँड्याहाले जाँड खाने पैसाको व्यवस्था गर्न यसो भन्न सक्छन्, मेरो छोरो क्यान्सर भएर अस्पतालमा भर्ना छ, केही सहयोग गरिदिनुहोस्। कुनै निजी स्कुलको प्रिन्सिपलले अभिभावकलाई यसो भन्न सक्छन्, तपाईको छोरा निकै कमजोर छ, होस्टेल राख्नुभएन भने फेल हुन्छ। प्रेमीले प्रेमिकालाई फोनमा यसो भन्न सक्छन्, म पार्कमा छु, छिटो आऊ। धेरै बहाना नबनाऊ। तिमी आइनौ भने म गाडी लगेर खोलामा हालिदिन्छु। गाउँको पानी धाराको लामो लाइनमा कुनै चतुर महिलाले यसो भन्न सक्छिन्, घरमा मेरो सानो बाबु एक्लै छ, मलाई पहिला पानी भर्न दिनुहोस्।
आकाशको तारा खसालिदिने सपना बाँड्नु पनि भावनात्मक भयदोहनको एक अर्को उदाहरण हो। ड्रग्स किन्ने पैसा असुल्न आमा/बाबुसामु आत्महत्याको धम्की दिनु पनि भयदोहन हो। यी सबै प्रतिनिधि उदाहरण हुन्। हिजोआज भावनात्मक भयदोहन अधिकांश व्यक्तिको चरित्र भएको छ। यसबाट आफ्नो स्वार्थ तथा उद्देश्य पूरा गर्न तुलानात्मक रूपमा निकै सजिलो हुने भएकाले मानिसमा यो प्रवृत्ति विकास भएको हो।
अहिले पति/पत्नीको बेडरुमदेखि प्रधानमन्त्रीको कार्यकक्षसम्म भावनात्मक भयदोहनको बिगबिगी छ। शक्ति, पैसा र आफ्नो उद्देश्य पूरा गर्न टाठाबाठा चतुर व्यक्तिहरूले यसको सहारा लिने गरेका देखिन्छ। त्यसो त आम मानिसले पनि आफ्नो काम फत्ते गर्न कहिलेकाहीँ जानीनजानी भयदोहन गर्ने गर्छन्। घरमा पति/पत्नी, बुहारीहरूले मात्र होइन, साना साना नानी/बाबुहरूले पनि यसो गर्छन्। साना साना नानी/बाबुलाई पढ्न अल्छी लाग्यो भने मेरो टाउको दुःख्यो, हात दुख्यो भन्छन्। अनि अभिभावकको आँखा छलेर मोबाइलमा गेम खेल्छन्। यो पनि भावनात्मक भयदोहन हो।
जनसंख्याको तीव्र वृद्धि, आपसी होडबाजी, जसरी हुन्छ अगाडि बढ्ने प्रतिस्पर्धा, स्वार्थी प्रवृत्ति तथा जायज बाटोबाट भन्दा भयदोहनबाट आफ्नो अभीष्ट पूरा गर्न सजिलो हुने भएका कारण हिजोआज यत्रतत्र सर्वत्र यसको प्रकोप बढेको हो। त्यसैले अधिकांश मानिस आफ्नो जीवनकालमा कुनै कुनै बेला यसको शिकार हुने गर्छन्। त्यसो त भावनात्मक भयदोहनकर्ता पनि अर्को यस्तै व्यक्तिको सिकार बन्न सक्छन्।
आफ्नो नाजायज उद्देश्य पूरा गर्न मानिसको भावनात्मक संवेगहरू जस्तैः प्रेम, डर, धम्की, क्रोध, लोभ, दुःखपीडा तथा अपराधबोध आदिलाई प्रभावित गरी भयदोहन गर्छन्। यसका लागि उनीहरूले नयाँ–नयाँ उपाय निकाल्छन्। कतिपय भयदोहनकर्ताले चलाखीपूर्ण तरिकाले काम पूरा गर्छन्। अर्को पक्षले योबारे चाल पनि पाउँदैन। उल्टो भयदोहनकर्तालाई आफ्नो सहयोगी वा मसिहा ठान्छन्। यस्तो दोहनकर्ता प्रायः नजिकको र परिचित व्यक्ति तथा साथीसंगी हुने गर्छ।
सामान्यतया अरूलाई पनि आफू जस्तै सम्झने इमानदार, हुँदैन भन्न नसक्ने व्यक्ति, परिस्थितिको मूल्यांकन गर्न नसक्ने व्यक्ति, अशिक्षित, डराउने तथा भावुक प्रकृतिको व्यक्ति अर्थात् भावनात्मक बुद्धिमत्ता कम भएका व्यक्ति प्रायः भावनात्मक भयदोहनको सिकार हुने गर्छन्। त्यसो त शिक्षित व्यक्ति पनि यसको सिकार हुँदैन भन्ने होइन। विद्यावारिधि गरेको एक शिक्षित व्यक्तिलाई एउटा अशिक्षित गाउँले मानिसले पनि भयदोहन गर्न सक्छ। इन्जिनियरलाई चिकित्सकले, चिकित्सकलाई इन्जिनियरले, प्रहरीलाई वकिलले, वकिललाई प्रहरीले, शिक्षकलाई विद्यार्थीले, विद्यार्थी तथा अभिभावकलाई शिक्षकले, नेतालाई पत्रकारले, कर्मचारीले तथा व्यापारीले, पत्रकार, कर्मचारी तथा व्यापारीलाई नेताले तथा विज्ञापनले उपभोक्तालाई भयदोहन गर्न सक्छन्, गरिरहेका प्रशस्त उदाहरण छन्।
त्यसैले वर्तमान युगमा भयदोहनबाट बच्न सजिलो छैन। त्यसो त मानिसको मनोविज्ञान बुझ्न सक्ने, परिस्थितिको मूल्यांकन गर्न सक्ने सचेत र भावनात्मक बुद्धिमत्ताले परिपूर्ण व्यक्ति यसबाट कमै पीडित हुन्छन्। तर संसारमा यस्ता व्यक्ति कमै हुने गर्छन्। खुसीको कुरा के भने मानिसले चाह्यो भने आफ्नो व्यक्तित्व चम्काउन सक्छ। त्यसैले यस कुरालाई मनन गरी आफूमा भावनात्मक बुद्धिमत्ताको विकास गर्ने तथा भयदोहनबाट सचेत रहने हो भने जोगिन सकिन्छ।
अतः नाजायज फाइदा उठाउने उद्देश्यले अर्काको भावनालाई प्रभावित गर्नु भावनात्मक भयदोहन हो। यो एक किसिमको भावनात्मक शोषण हो। यसका लागि भयदोहनकर्ताले प्रेम, डर, भावना तथा अपराधबोध आदिको सहारा लिने गर्छ। आधुनिक युगमा हरेक क्षेत्रमा यसको बिगबिगी भएतापनि अलिकति सचेत हुने हो भने भयदोहन कम गर्न सकिन्छ। वास्तवमा शिक्षा तथा सचेतना नै भावनात्मक भयदोहनबाट बच्ने उपाय हो।
(साइकोथेरापिस्ट)
प्रकाशित: ४ मंसिर २०७९ ००:५९ आइतबार