१६ मंसिर २०७९ शुक्रबार
विचार

कसका लागि हुँदै छ चुनाव ?

कात्तिक तेस्रो साता सप्तरीको सप्तकोसी नगरपालिकास्थित ओद्राहामा उम्मेदवारहरू मत माग्दै थिए। कोही माइकिङमार्फत त कोही झुपडी–झुपडी पसेर। मत माग्न जानेहरू बेलाबेला नाचगान पनि गरिरहेका थिए। ठीक त्यही समय त्यहीँकी पुनम सदा भने आफ्नै पिँढीमा टोलाएर बसेकी थिइन्। आँगनमै जोडिएको सडकको नाचगानले उनको ध्यान कत्ति पनि खिच्न सकेको थिएन। खिचोस् पनि कसरी ? केही दिनअघि मात्र ठेकेदारमार्फत काम गर्न पन्जाब लगिएका ससुरा कामकै सिलसिलामा लडेर ढाड भाँच्चिएपछि विचल्ली भएको छ। सासू वृद्ध छिन्। बाबुसँगै काम गर्न गएका श्रीमान् पनि बाबुको उपचारमा लाग्नुपरेकाले काम गर्ने कुरै भएन। एकातिर काम गर्न नसकेपछि खानै समस्या हुने भयो अर्कोतर्फ ठेकेदारले दिएको अग्रिम घरखर्च पनि सकिइसक्यो। यस्तो अवस्थामा उनको ध्यान कसरी चुनावमा जाओस् ?

ओद्राहा त्यही दुःखी गाउँ हो जहाँ २ वर्षपहिले मात्र घरैपिच्छे घाइते भएका थिए। गाउँभरिका युवा बटुलेर ठेकेदारले नै रिजर्भ गरी पन्जाब लैजान लागेको बस पल्टेपछि एक जनाको मृत्यु भएको थियो भने प्रायः सबै घाइते भएका थिए। तर पनि खानकै लागि श्रम बेच्न बाध्य यहाँका सदा समुदाय ठेकेदारकै शरणमा पर्नुको विकल्प छैन। र, पुनः पन्जाब पुगिसके।

सप्तकोसी नगरपालिकाकै अर्को गाउँ भगनी कमलपुरका बासिन्दा प्रत्येक दिन साँझ पर्नुअघि नै आधा घण्टापरको गङ्गाजली नदीको उकासमा बनाइएका टहरामा सुत्न जान्छन् र बिहान झिसमिसेमै फर्कन्छन्। किनकि २–३ धुरमा बनेका आफ्ना घर नामका झुपडीमा परिवारका सबैलाई सुत्नै पुग्दैन। त्यसैले बालबच्चा, अशक्त र ज्येष्ठ नागरिकलाई यहीं छाडेर बलियाहरू अन्यत्र सुत्न जानु यहाँको चलनै भएको छ।

शून्य चासो चुनावप्रति

गाउँ डुल्दा सुनिने माइकिङ र नाचगानका कारण गाउँबस्ती पूरै चुनावमा डुबेको आभास हुन्छ। जुन स्वाभाविक पनि हो। तर वास्तविकरूपमा भन्ने हो भने यस्ता बस्तीलाई चुनावले छोएकै छैन। जो मतदानमा सहभागी हुनुपर्ने हो, जसले उम्मेदवारका कुरा सुन्नुपर्ने हो, जसले चासो देखाउनुपर्ने हो, उसैलाई मतलव नभएपछि चुनाव लाग्छ कसरी ? प्रचारमा जो हिँडेका छन्, चुनावी प्रक्रियामा जो संलग्न छन्, उनीहरूलाई मात्र लागेको छ चुनाव। मतदाता त कि पन्जाब जाँदैछन् कि त गिरहतको काम गर्न। गाउँको यथार्थ यही हो।

भगनी, कमलपुरबाट दलित महिला सदस्यमा चुनिएकी करयाही सदा स्वयम्लाई चुनाव लागेको छैन। ३ धुर जग्गाकी मालिक करयाहीका ५ छोरा छन्। सबैको बिहे भइसक्यो। सबै जना यही ३ धुरमा बनेको ३ कोठे झुपडीमा बस्न बाध्य छन्। जुन जमिन उनका बुढाबुढीसहित ६ भाग लाग्छ। त्यसैले उनले नै सुनाएअनुसार आफ्नो समस्यामा अहिलेसम्म कसले के ध्यान दियो र चुनावमा खटिनु ?

सप्तकोसीकै सिद्धिपुरमा भेटिएकी मुन्नीकुमारी सदा निराश अनुहार लिएर बसेकी थिइन्। लाग्थ्यो, उनलाई चुनावबारे च पनि मतलव छैन। गएको भदौ ४ गते मात्र चन्द्र नहरमा छोरो डुबेर निधन भएपछि विह्वल भएकी उनलाई अब त्यस्तो घटना नहोस् भन्नका लागि सुरक्षित बास चाहिएको छ। ‘के मैले कसैलाई मत दिएँ भने मेरो सपना पूरा हुन्छ ?’ उनको गम्भीर प्रश्नको उत्तर दिने भने कोही छैन।

काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर

गाउँमा रोजगारी नभएकाले विपन्न समुदायका मानिस (विशेषगरी मुसहर) ठेकेदारको भर पर्न बाध्य छन् जसले ५–७ हजारमा ५–७ महिनै काममा दलाउँछन्। अर्कोतर्फ सरकारले यस्तै विपन्नलाई रोजगार दिने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको छ। जसअन्तर्गत ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र गठन गरिएको हुन्छ। आर्थिक वर्ष २०७९/८० का लागि सप्तकोसी नगरपालिकाको कुरा गर्ने हो भने ६३३ जना सूचीकृत भएका छन्। जसमध्ये ५२० जना त महिला छन्। यसले देखाउँछ कि पुरुषहरू सबैजसो कामका लागि बाहिर (विशेषगरी पन्जाब) जाने भएकाले महिलाको सङ्ख्या बढी हुने गर्छ।  

यीमध्ये ८७ जनाले मात्र तोकिएको समय रोजगारी पाउने गरी बजेट आएको छ। एउटा टोलका बेरोजगारलाई पनि नपुग्ने यो कस्तो रोजगार कार्यक्रम हो ? अझ त्यसमा पनि माथि उल्लेख गरिएका मुसहर समुदायको सङ्ख्या न्यून हुने गरेको छ। पालिकासम्म पहुँच नै नहुने भएकाले उनीहरूमध्ये ९० प्रतिशतलाई यस्तो कार्यक्रमबारे जानकारीसमेत छैन।

सरकारले तराईका विपन्न जनतालाई सुरक्षित आवासको व्यवस्था गर्ने भनेर जनता आवास कार्यक्रम सुरु गरेको छ आर्थिक वर्ष २०६६/६७ देखि। यही कार्यक्रमअन्तर्गत २०७७ सालदेखि बनाउन सुरु भएको रौतहटको कटहरिया नगरपालिकास्थित बगही (माझी टोल) का बासिन्दाको घरमा २१ महिना बित्दा पनि न छानो छ न त झ्याल ढोका नै। भएको घर पनि भत्काइएको र नयाँ पनि नबनेपछि पानी पर्दा स्थानीयको कुखुरा र हाँस खोरमा घुलमिल भएर बस्न बाध्य छन् उनीहरू। विगत १२ वर्षमा २ लाख ५ सय ७५ घर बनाउने लक्ष्य राखिएकामा २४ हजार १ सय ७२ वटा मात्र बन्नुले सरकार गरिबहरूप्रति कति निर्दयी छ भन्ने पुष्टि हुन्छ।

बुझाउन चुकेको पक्ष

संघ होस् या प्रदेश। अहिले हुँदै गरेको चुनाव विधायकको हो। विधायक भनेको विधान (नियम) बनाउने हो। नीति निर्माण गर्ने हो। जसले बनाएको नियम कानुनमा परिणत हुन्छ र मुलुकलाई सुव्यवस्थिततवरबाट सञ्चालन गर्न सघाउ पुग्छ। उनीहरूले निर्धारण गर्ने नीति कर्मचारीतन्त्रले कार्यान्वयन गर्छ र मुलुक समुन्नतितर्फ लाग्छ। यसैले विधायक चुन्दा गतिलो र सक्षम मानिस चुन्नुपर्छ। हामीले अँगालेको संसदीय व्यवस्थाको मर्म यही हो।  

तर मतदातालाई यो वास्तविकताबाट टाढै राखियो। विधायकको मुख्य काम ढाकछोप गरेर उनीहरूलाई ठेकेदारका रूपमा प्रस्तुत गरियो। जहाँ पनि भाषण गर्दा आफ्नो उम्मेदवारले जितेमा मन्त्री बनाउने र उसले मन्त्री भएपछि राज्यको ढुकुटी सबै यहीँ ल्याएर खनाउने अनि उक्त ठाउँ रातारात अमेरिका र स्विट्जरल्यान्ड हुने सपना बाँडिदै छ। बुझाउनुपर्ने कुरा नै बुझाउन नसकेपछि मतदान किन गर्ने प्रश्न जीवित रहने नै भयो। त्यसैले पनि यो चुनाव मतदाताको भन्दा पनि नेता र कार्यकर्तामुखी बन्न पुग्यो।

अनुत्तरित केही प्रश्न

देहाती बासिन्दाका केही प्रश्न छन्– रौतहटको कटहरिया नगरपालिकास्थित टोलापुरकी सरुलियादेवी खातुन ८ सन्तानकी आमा हुन्। हजुरआमासमेत भइसकिन्। उनको जन्म दर्ता प्रमाणपत्र पनि छ। तर उनको नागरिकता अहिलेसम्म नबनेकाले उनका सन्तानको जन्म दर्ता हुन सकेको छैन। जसका कारण उनका बच्चा विद्यालय त जान्छन् तर कक्षा छैन। जहाँ मन लाग्यो दिउँसभर त्यहीं बस्छन् र छुट्टी भएपछि अरूसँगै फर्कन्छन्। के अपराध गरे र मेरा बच्चा पढ्न नपाउने ? सरुलियाको प्रश्न छ।

सप्तकोसी नगरपालिकाको चौरियामा बस्दै आएको पुस्तौं बित्यो। साहूको जमिन अधियाँ गरेर गुजारा चलाइरहेको थिएँ। अहिले कोसी टप्पु आरक्षका जनावरले खाइदिने र नाश गरिदिने भएकाले बाली लगाउनै मिल्दैन। साहूले समेत यही कारण बाली नलगाएपछि काम गरेर खान पनि पाइएन। आरक्ष कार्यालयले जनावरले नाश गरेको बालीको क्षतिपूर्ति दिन्छ भनेर गएँ। जग्गा धनी पुर्जा, ब्याङ्क खाता र पान नम्बर मागे। म भूमिहीनले कहाँबाट ल्याउँ पुर्जा ? के राख्न खोलौं खाता र कहाँबाट खोजेर ल्याउँ पान ?– ६४ वर्षका जुगेश्वर सदा सोध्छन्।

इन्द्रदेव साह कटहरिया नगरपालिका–३ स्थित बडेरवाका बासिन्दा हुन्। दाङ, रुकुमतिर गाउँ डुलेर ग्याँस चुलो, प्रेसर कुकरजस्ता सामान मर्मत गर्ने उनी चुनावअघि नै फर्कने सोचमा छन्। उनको सोधाइ छ– उता काम गरे परिवार पाल्न पाउँछु। मेरो महत्व उतै छ। कामकै लागि किन नहोस्, सबैले चाह गर्छन् बरु उतै। यहाँ कसैलाई मत दिएर अहिलेसम्म के पाएँ र अब के पाउँछु ?  

अमेरिकी लेखक पेग्गी नुननले भनेका छन्– जब हामीले तिनीहरूलाई बारम्बार बतायौं र ती प्राथमिकता चुनावमा देखा पर्न थाल्छन् तब मात्र हाम्रा नेताहरूले हाम्रा प्राथमिकता थाहा पाउने छन्। जब सरुलिया, जुगेश्वर र इन्द्रदेव चुनावमा सहभागी हुने वातावरण नै बन्दैन भने नेताहरू कसरी जनताका प्राथमिकता बुझ्न सक्छन् ? त्यसैले पनि यो वर्ग वा जमात सहभागी नहुने चुनावबारे बहस जरुरी छ।  

अन्त्यमा,

मुलुक व्यवस्थितरूपमा सञ्चालन गर्न नीति निर्माण गर्ने र त्यसका लागि नेतृत्व चुन्ने मुख्य ध्येय हुने गर्छ चुनावको। जो सक्षम छ, बलियो छ, गरिखाएकै छ, उसका लागि सत्ता र सरकार हुनु र नहुनुको धेरै अर्थ रहन्न। जो बेरोजगार छ, विपन्न छ, कमजोर छ, पहुँचविहीन छ, भोकमरी र रोगसँग जुध्न विवश छ, उसका लागि बढी आवश्यक पर्छ सरकार। असल नीति र नियम अनि कानुन। त्यसैले आफ्ना समस्या समाधानका लागि कस्तो नेतृत्व चुन्ने भन्ने विषय अभाव र पीडा बेहोरिरहेकाले निर्णय गर्दा मात्र सही नेतृत्व चुनिने सम्भावना रहन्छ। जब यही वर्ग चुनावप्रति शून्य लगाव राख्छ र सहभागी हुँदैन भने यो चुनाव कसका लागि ? यस्तो चुनावबाट चुनिने नेतृत्वले कसको हित गर्छ ? उत्तर खोज्न ढिला भइसकेको छ। किनकि अमेरिकी पास्टर ह्यारी इमर्सनले भनेका पनि छन् कि प्रजातन्त्र सामान्य मानिसमा असाधारण सम्भावना छन् भन्ने विश्वासमा आधारित छ।

प्रकाशित: ३ मंसिर २०७९ ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App