१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

औद्योगिक कच्चा पदार्थको आयात घट्यो

विराटनगर भन्सार परिसरमा औद्योगिक कच्चा पदार्थ लोड गरिएका ट्रक ।

विराटनगर – पूर्वका उद्योगले कच्चा पदार्थको आयात कटौती गर्न थालेका छन् । स्टिल उद्योग, स्प्रिट, साबुन उद्योगलगायत ठूला उद्योगले कच्चा पदार्थ आयात कटौती गर्न थालेका हुन् ।

सरकारले अव्यावहारिक रुपमा कर लगाउँदा भारततर्फ वस्तु निर्यात गर्ने अवस्था नरहेको र भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नसमेत नसक्ने अवस्था भएपछि उत्पादन कटौती गर्नुपरेको  मोरङका उद्योगीले बताएका छन् । विशेष गरी स्टिल, साबुन, स्प्रिट, रडलगायत उद्योगहरूले उत्पादन कटौती गरेका हुन् । सरकारको अव्यावहारिक नीतिका कारण देश आर्थिक संकटतर्फ जान लागेको मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष पवनकुमार शारडाले बताए । उनले सरकारले हरेक क्षेत्रमा करको दर बढाउँदा सबैजसो क्षेत्र नराम्ररी प्रभावित बनेको स्पष्ट पारे ।

अव्यावहारिक करकै कारण पूर्वका निर्यातजन्य ठूला उद्योगहरूले कच्चा पदार्थको आयात कटौती गरेको पनि शारडाले जानकारी दिए । पूर्व क्षेत्रबाट वार्षिक पाँच अर्ब बढीको आइरन स्टिलका सामान निर्यात गर्ने उद्योगहरू सरकारले लगाएको चर्को करका कारण यो वर्ष निर्यात गर्ने स्थितिमा नरहेको शारडाले बताए । उनले भने, ‘आइरन एन्ड स्टिल उद्योगहरूले भारततर्फ गर्ने निर्यात लगभग बन्द भइसकेको छ ।’

यहाँका स्टिल उद्योगहरूले वार्षिक करिब पाँच अर्बका स्टिल उत्पादन निर्यात गर्दै आएका थिए । प्रिमियर स्टिल उद्योगका सञ्चालकसमेत रहेका शारडाले पूर्वका स्टिल उद्योगहरूले जिआई वायर भारततर्फ निकासी गर्दै आएका थिए । चालु आर्थिक वर्षदेखि सरकारले प्रतिटन कच्चा पदार्थ आयातमा एक हजार ६ सय ५० रुपैयाँ कर लगाएपछि भारततर्फको निर्यात प्रभावित भएको शारडाले बताए ।

उनले भने, ‘जथाभावी कर लगाउँदा निर्यात प्रभावित भएको मात्रै छैन उद्योगहरूले कामदारसमेत कटौती गर्ने अवस्था आइसकेको छ ।’ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विराटनगर भन्सारबाट आयात हुने औद्योगिक कच्चा पदार्थको आयात घट्दा राजस्व असुलीसमेत प्रभावित भएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता मणिराम पौडेलले बताए । उनले भने, ‘धेरै राजस्व संकलन हुने वस्तुहरूको आयात घटेका कारण भन्सारको राजस्व संकलनसमेत प्रभावित भएको छ ।’

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको तुलनामा ४० प्रतिशत कम राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । पहिलो त्रैमासमा १३ अर्ब ९४ करोड राजस्व संकलनको लक्ष्य राखिकोमा आठ अर्ब ४७ करोड रुपैयाँमात्रै संकलन भएको छ ।

चालु वर्षको तीन महिनामा विराटनगर भन्सार कार्यालयबाट आयात हुने औद्योगिक कच्चा पदार्थसहित ३० प्रकारका वस्तुको आयात गत वर्षको तुलनामा  घटेको छ । आयात घटेका वस्तुहरूमा गर्मेन्ट, आइरन स्टिल, यातायात साधन र तिनका पार्टपुर्जा, डिजेललगायत वस्तुको आयात घटेको छ । तिनमा सबैभन्दा बढी महिला र केटीहरूले लगाउने कुर्ता सुरुवालको आयात उच्च दरले घटेको छ । गत वर्ष ६ लाख १३ हजार नौ सय ९५ थान आयात भएकोमा चालु आर्थिक वर्षको तीन महिनामा ८४ हजार चार सय थान मात्रै आयात भएको छ ।

यस्तै गत वर्ष नौ सय २३ वटा अटो रिक्सा आयात भएकोमा यो वर्ष दुई सय ७५ वटामात्रै आयात भएको छ । लुब्रिकेन्टको आयातमा पनि गिरावट आएको छ । गत वर्ष चार लाख नौ हजार चार सय ३८ किलो लुब्रिकेन्ट आयल आयात भएकोमा चालु आर्थिक वर्षमा एक लाख १३ हजार एक सय ६७ केजी आयात भएको छ । उद्योगहरूले प्रयोग गर्ने फ्याट्टी एसिडको आयात पनि उच्च दरले गिरावट आएको छ । गत वर्षको पहिलो त्रैमासमा ६० लाख ८१ हजार किलो आयात भएकोमा यो वर्ष २७ लाख ५४ हजार किलो मात्रै आयात भएको छ ।

पुरुष र बालबालिकाले लगाउने कपडाको आयात पनि उच्च दरले घटेको छ । यस्तै फलाम उद्योगका कच्चा पदार्थको आयातमा पनि उच्च दरले गिरावट आएको छ । यस्ता उद्योगले कच्चा पदार्थका रुपमा प्रयोग गर्ने ठूला रोलको आयातमा ६० प्रतिशतले गिरावट आएको छ । गत वर्ष चार करोड ९९ लाख किलो आयात भएको फलाम र स्टिलका ठूला रोल यो वर्ष दुई करोड ७१ लाख किलोग्राममा सीमित भएको छ । यस्तै रङ उद्योगको कच्चा पदार्थ आयातमा पनि गिरावट आएको छ । रङ उद्योगले प्रयोग गर्ने कच्चा पादार्थको आयात करिब ५० प्रतिशतले घटेको छ । गत वर्ष चार लाख ३६ हजार किलोग्राम आयात भएकोमा यो वर्ष दुई लाख २४ हजार किलोमा सीमित छ ।

टिसर्ट, भेस्टलगायत कपडाको आयात पनि ५० प्रतिशकै दरले घटेको छ । साबुन उद्योगको कच्चा पदार्थ जनावरको बोसोको आयात पनि घटेको छ । यसको आयात पोहोरको तुलनामा आधा मात्रै छ । रड बनाउन प्रयोग हुने अर्धप्रशोधित कच्चा पदार्थको आयात पनि घटेको छ । यसको आयात १८ प्रतिशतले घटेको छ । रड तथा रेलिङ उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ बार एन्ड हट रोलको आयात पनि घटेको छ । यसको आयात करिब २० प्रतिशतले घटेको छ । चामलको आयात २९ प्रतिशतले घटेको छ ।

विभिन्न १४ प्रकारका वस्तुको आयात बढेको छ । जसमा एयर कन्डिसनर, तामाका तार, मोटरसाइकल, पेट्रोल, आलमुनियम, डाइपर, खाने तेलको आयात बढेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । यहाँबाट चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खानेतेलको आयात उच्च दरले बढेको छ । रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थको आयात उच्च दरले बढेको छ । गत वर्ष यसको आयात ४८ हजार लिटर भएकोमा यो वर्ष एक लाख ५० हजार लिटर पुगेको छ । यस्तै पाम तेलको कच्चा पदार्थको आयात गत वर्ष एक करोड ३५ लाख किलो भएकोमा यो वर्ष पाँच करोड ६६ लाख किलो पुगेको छ ।

सोयबिन आयलको आयात पनि उच्च दरले बढेको छ । गत वर्षको त्रैमासमा ९३ लाख किलो आयात भएकोमा यो वर्ष दुई करोड ५८ लाख किलो आयात भएको छ । सनफ्लावर तेलको आयात पनि बढेको छ । गत वर्ष ९५ लाख किलो सनफ्लावर तेलको आयात भएकोमा यो वर्ष एक करोड २९ लाख किलो आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

विराटनगर नाकाबाट चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फलामजन्य उद्योग, रङ उद्योग, साबुन उद्योगले प्रयोग गर्ने कच्चा पादर्थ र कपडाको आयात घटेको छ भने पाम तेल, भटमास तेल, सूर्यमुखी तेल उद्योगले कच्चा पदार्थका रुपमा प्रयोग गर्ने क्रुड तेलको आयात बढेको छ । यस्तै एसी, तयारी सेरामिक्समा सामान, ब्याट्री लगायत वस्तुको आयात पनि बढेको भन्सार कार्यालयको तथ्यांकले देखाउँछ  ।

प्रकाशित: १४ कार्तिक २०७६ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App