एपि तोलाङ
हरेक वर्ष आफन्त, इस्टमित्र र साथीभाइसँग दसैं मनाउँथ्यौं। यसपाला भने फरक तरिकाले दसैं मनाउने योजना बन्यो। स्कुल पढ्दैदेखि नाम सुनेको च्छोरोल्पा (४,५८० मिटर) हिमतालको पदयात्रा गर्ने टुँगो ग-यौं।
दोलखामा रहेको हिमताल १५४ हेक्टरमा फैलेको छ। ताल क्षेत्र गौरीशँकर संरक्षित क्षेत्रमा पर्दछ। २७० मिटर अधिकतम गहिरो तालको लम्बाइ ३.४५ किलोमिटर छ।
ताल पुग्न काठमाडौंबाट चरिकोट हुँदै छेतचेतसम्म बसबाट यात्रा गर्नु पर्दछ। दसैंको माहौलमा हामीले फूलपातीको अघिल्लो दिन बिहानै रत्पार्कबाट बसमा यात्रा ग-यौं। बसमा कोचाकोच भए पनि सबैको अनुहारमा दसैंको हर्ष थियो। परिवार भेट्ने चाहना देखिन्थ्यो।
तामाकोशीको किनारैकिनार रमणीय दृश्य हेर्दै साँझपख हामी छेतचेत पुग्यौं। च्छोरोल्पा हिमतालका लागि त्यहीँबाट पदयात्रा सुरु हुन्छ। पदयात्राको सुरुमै झरनाहरूले स्वागत गर्छन्। छेतचेतबाट झोलुंगे पुल तरेर २ घन्टा ठाडो खुड्किलो उकालो लागेपछि सिमीगाउँ पुगिन्छ।
डाँडामा अवस्थित बाक्लो बस्ती सिमी गाँउ निकै रमाइलो छ। एक रात त्यहाँ बसेर बिहान उतरतर्फ माथि हेर्दा चाँदिझैं टल्किरहेको गौरीशंकर हिमालको पहिलो दर्शन पायौं। बिहानी चिया सँगै गौरीशंकरका केही दृश्य क्यामेरामा सजाएर अघि बढ्यौं।
खोलाको सुस्केरा अनि चराको गुञ्जनसँगै झरना हेर्दै सुरमुजेमा खानाको लागि बिश्राम ग-यौं। पदमार्गमा २–३ घन्टा फरकमा होटल तथा लज भेटिन्छन्। दोस्रो दिन साँझको बसाइ डोङगाङ होटलमा ब्यवस्था गरियो। डिनरमा केही फरक स्वाद अनुभव भयो–कोदोको ढिँडो। भोलिपल्ट सबेरै डोङगाङको तात–तातो चियाले शरीर तताए पछि नागाँउसम्मका लागि बढ्यौं।
ठाउँठाउँमा सेताम्मे झरना, गुराँसका बोट र झोलुङे पुलका दृश्य खिच्दै अघि बढ्दा थकान पत्तै भएन। हाम्रा पाइला अघि बढ्दै जाँदा छिट्टै बेदिङ पुग्यौं। नदी किनारामा रहेको बाक्लो बस्ती। गुम्बाहरूले गाउँको सौन्दर्यमा निखार ल्याएको अनुभव भयो। बेदिङमा खानपिन पछि रोल्वालिङ नदीको किनारैकिनार नागाउँतिर लाग्यौं।
पदमार्गमा रंगविरंगका फूल, वनस्पति र हरिया पहाडले मादकता थपिरहे। साँझ ५ बजे नै हामी नागाउँ पुग्यौं। चारैतिर हिमालले घेरिएको नागाउँ रोल्वालिङ उपत्यकाको सुन्दर गाउँ हो। त्यहाँ मैदानमा चौंरी चरिरहेका थिए। ढुँगाले बनाइएका शेर्पा समुदायका घर आकर्षक छन्।
सबेरै सूर्योदयको किरणसँग हिमताललाई क्यामेरा र आँखामा सजाउने उद्देश्यसहित त्यो रात बेलैमा सुत्यौं। तेस्रो दिन सबेरै टर्च लाइटको सहायताले बाटो छिचोल्दै च्छोरोल्पातिर लाग्यौं। नदीका स–साना काठे पुल तर्दा बेग्लै अनुभूति भयो।
लगभग २ घन्टाको उकालो यात्रा पछि प्रमुख गन्तब्यस्थल पुग्यौं। स्कुल पढ्दा सुनेको नाम आफ्नै आँखा अगाडि देख्दा छुट्टै आनन्द मिल्यो। हिमतालको डिलमा बसेर हेरिरहें। तालको चारैतिर चाँदिझैं चम्केका हिमाल। शान्त ताल। उदाउँदै गरेका सूर्यका किरण हिमाललाई म्वाइँ खान थाले। हामी चाहिँ त्यो मिठो दृश्य कयामेरामा कैद गर्न थाल्यौं।
तालको पानी ब्यवस्थित निकासका लागि बाँध बाँधिएको रहेछ। हे-यौं। करिब ४ घन्टा हिमतालको बसाईमा विभिन्न कोणबाट तस्बिर खिच्यौं। त्यति सुन्दर ठाउँमा बसेर हामीले खानेकुरा खायौं।
च्छोरोल्पालाई छाडेर आउने मनै थिएन, तर छाड्नै प-यो। त्यो दिन फर्केर हामी डोङगाङमा बस्यौं। र छैठौं दिन काठमाडौं आइपुग्यौं। यसरी क्लिक नेपाल फोटोग्राफी ग्रुपको यात्रा सफल भयो।
प्रकाशित: २ कार्तिक २०७६ ०२:०१ शनिबार