१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बिआरआई विकास र समृद्धिको साझा आधार

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमणका क्रममा चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई नेपाल र चीन दुवै देशले साझा विकासको आधारका रुपमा स्विकारेका छन्। नेपाल भ्रमण गरी राष्ट्रपति सी स्वदेश फर्केलगत्तै जारी भएको संयुक्त वक्तव्यमा बिआरआईको कार्यान्वयनमा समेत जोड दिइएको छ।

१४ बुँदे संयुक्त वक्तव्यमा दुई देशको सम्बन्धलाई रणनीतिक साझेदारीका रुपमा विकास गर्ने उल्लेख छ। नेपाली पक्षले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेको वक्तव्यमा उल्लेख छ। नेपालको तीव्र आर्थिक विकासका लागि चीन सहयोगी रहने पनि वक्तव्यमा उल्लेख गरिएको छ।

दुवै देशले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई ध्यानमा राख्दै एकअर्काको चासो र सरोकारलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणा साकार पार्न चीन सरकार सहयोगी बन्ने, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र द्रुुत आर्थिक विकासका लागि चीन सरकार सहयोगी रहने वक्तव्यमा उल्लेख गरिएको छ। द्विपक्षीय उच्चस्तरीय भ्रमणलाई निरन्तर रुपमा अघि बढाउन दुवै देश सहमत भएका छन्। मन्त्रालयहरु, विभाग, कानुनी निकाय र राजनीतिक दलबीचको आदानप्रदानलाई निरन्तरता दिने व्क्तव्यमा उल्लेख गरिएको छ।

बिआरआईअन्तर्गत बन्दरगाह, सडक, रेल्वे, हवाईसेवा आदि माध्यमबाट हिमालय वारपार सम्पर्क सञ्जाल विस्तार गर्ने, क्रस बोर्डर रेल्वे निर्माणबारे विस्तृत तहको अध्ययन गर्ने र यसलाई काठमाडौं–पोखरा–लुम्बिनी रेल्वे परियोजनाका रुपमा अघि बढाउने, झाङमुर खासा बन्दरगाह पुनर्सञ्चालन, जिलोङ र केरुङ नाकालाई अद्यावधिक गर्ने र लिजिरनेचुङ नाका जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने पनि संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ। अरनिको राजमार्गको स्तरोन्नति गर्ने, स्याफ्रुबेंसी–रसुवागढी सडक पुनर्निर्माण गर्ने, जिलोङ र केरुङ हुँदै काठमाडौं जोड्न सुरुङ निर्माण गर्ने, कोसी, गण्डकी र कर्णाली करिडर निर्माणको विषय पनि वक्तव्यमा समेटिएका छन्।

नेपाली पक्षले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने जनाएको छ भने नेपालको तीव्र आर्थिक विकासका लागि सहयोगी रहने प्रतिबद्धता चीनले व्यक्त गरेको छ।

चीनको सिचुवान प्रान्तको छेङ्दुमा नेपालको कन्सुलेट जनरल स्थापना गर्ने समझदारी पनि भएको छ। दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउँदै विभिन्न क्षेत्रमा दुवै मुलुकको हित हुनेगरी सहकार्य गरेर अगाडि बढ्ने, संयुक्त राष्ट्रसंघमा नेपाल र चीनले आपसी सहकार्यलाई थप बलियो बनाउने, दुई मुलुकबीचको हित हुने क्षेत्रीय मुद्दामा सहकार्य गर्दै अघि बढ्ने, दुुई मुलुकबीच शिक्षा, पर्यटन, आयुर्वेद, मिडिया, थिंक ट्यांकलगायतमा प्रवद्र्धन गर्ने, चिनियाँ सरकारको तर्फबाट सयवटा कन्फ्युसियस इन्स्टिच्युट छात्रवृत्ति प्रदान गर्ने, नेपालको पर्यटन प्रवद्र्धनमा चीनको पक्षबाट सक्दो सहयोग गर्ने र भ्रमण वर्षमा पनि सहयोग रहने वक्तव्यमा जनाइएको छ।

दुई मुलुकबीच सीमा व्यवस्थापनसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ। सगरमाथा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धको द्योतक रहेको उल्लेख गर्दै चिनियाँ पक्षले जलवायु परिवर्तन र वातावरण संरक्षणमा जोड दिने, चीन र नेपालले संयुक्त रुपमा सगरमाथाको उचाइको घोषणा गर्ने र विभिन्न वैज्ञानिक अनुसन्धान गर्ने विषय संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ।

यसअघि आइतबार नै दुई देशबीच २० बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो।

दाहालसँग छुट्टै भेटघाट

काठमाडौंमा रहँदा राष्ट्रपति सीले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टै भेटेका छन्। नेकपाका सचिवालय सदस्यहरुसँगको सामूहिक भेटपछि राष्ट्रपति सीले दाहाललाई छुट्टै भेटेका हुन्। उनीहरुबीच दुईपक्षीय आपसी हितको विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ। यसअघि सन् २०१३ मा बेइजिङमा सी र दाहालबीच भेट भएको थियो। त्यसपछि दाहाल प्रधानमन्त्री छँदा बेजिङमा र ब्रिक्स (बिमस्टेक) बैठकको क्रममा भारतको गोवामा पनि उनीहरुबीच भेट भएको थियो।

भ्रमणकै क्रममा चिनियाँ राष्ट्रपति सीले दाहालसहित नेकपाका सचिवालय सदस्यहरूसँग भेटघाट गरेका थिए। उनले चिनियाँ कम्युनिस्ट पार्टीले जनताको मन जितेर शासन गरिरहेको बताउँदै नेपालमा पनि कम्युनिस्ट पार्टीले जनताको मन जित्नुपर्ने सुझाव दिएका थिए। उनले पार्टीका नेताहरुमा उच्च नैतिकता आवश्यक रहेको र पार्टीभित्र सुशासन कायम हुनुपर्नेमा जोड दिएका थिए। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सुशासनमा ध्यान दिए शासन सञ्चालन गर्न सजिलो हुने अनुभव सीले सुनाएका थिए।

‘चीनमा चिनियाँ कम्युनिस्ट पार्टीले शासन गर्न सकेको क्रान्ति गर्दा एकचोटि सत्ता कब्जा गरेको आधारमा होइन, निरन्तर जनसेवा गरेकाले जनताको समर्थन पाएको हो’, सीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने। भेटघाटमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, श्रेष्ठ, स्कुल विभाग प्रमुख ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सहभागी थिए।

सोल्टीमा उच्चस्तरीय वार्ता
राष्ट्रपति सी बसेकै होटल सोल्टीमा नेपाल र चीनका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो। वार्तामा नेपाली पक्षको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व राष्ट्रपति सी आफैंले गरेका थिए। वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, मुख्यसचिव, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारलगायत ३० जना सहभागी थिए।

राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं राष्ट्रपति सीका निकट सहयोगी नेता दिङ सुइसियाङ, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं पार्टीको विदेश मामिला आयोगका निर्देशक याङ जेइची, चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र हेर्ने सचिव यु यिङ जी, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका प्रमुख हे लिफेङ, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत सहभागी थिए।

राष्ट्रपति–प्रधानमन्त्रीद्वारा बिदाइ

नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी २१ घन्टा काठमाडौंमा रहे। आइतबार दिउँसो सबा दुई बजे सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादु पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरे। शनिबार अपराह्न ४ः४५ बजे नेपाल आएका सीको भ्रमण तालिका निकै व्यस्त रहेको थियो। सीको स्वागतको बेलामा जस्तै बिदाइको बेलामा पनि सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो। उनलाई नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो।

चारजना हिरासतमा

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला विरोध प्रदर्शन गर्न खोज्ने चारजना पक्राउ परेका छन्। स्वतन्त्र तिब्बतको नारा दिएर राष्ट्रपति सीको भ्रमणलाई लक्षित गरी विरोध गर्ने दुई तिब्बती शरणार्थी र दुई नेपालीलाई पक्राउ गरिएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा मधेस फाउन्डेसनकी सदस्य सुनीता साह, शान्ति समाजका बीपी पौडेल र तिब्बती शरणार्थी परिचयपत्र बाहक दुईजना हिस्से ग्याम्चो लामा र नवाङइमा लामा छन्। सीको भ्रमणका बेला देशभर रहेका तिब्बती शरणार्थी क्याम्पलाई सुरक्षा निकायले अघोषित रुपमा नियन्त्रणमा लिएको थियो। एक साताको अवधिमा केही व्यक्तिलाई नियन्त्रणमा लिएको भए पनि उनीहरुलाई सोधपुछपछि छाडिएको थियो।

प्रकाशित: २७ आश्विन २०७६ ००:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App