१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निजी गुठीका नाममा सरकारी जग्गा अतिक्रमण

काठमाडाैं - विभिन्न निजी गुठी बनाई त्यसमार्फत देशभरका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम बढेको छ। पछिल्लोसमय राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा चन्द्रागिरी नगरपालिकाभित्र रहेका सरकारी जग्गा निजी गुठीले अतिक्रमण गरेको उल्लेख गरिएको छ। गुठी संस्थान अधिनस्त(सरकारी गुठी)ले मात्र सरकारी सम्पत्ति प्रयोग गर्न पाउने तर, अन्य संघ संस्था जस्तै जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने निजी गुठीले सरकारी तथा सार्वजनिक जग्गा निःशुल्क प्रयोग गर्न नपाने व्यवस्था छ। निजी गुठीहरू केही व्यक्तिले मात्र लाभ लिनेगरी गठन गरिएका हुने कारण यस्ता गुठियारले आफ्ना लागि चाहिने जग्गा खरिद वा भाडामा लिनुपर्ने कानुनी व्यवस्था छ।

गुठीको नाममा केही निजी गुठीले गुठी अधिनस्त (सरकारी गुठी) झै सरकारी सम्पत्ति निःशुल्क प्रयोग गरेको प्रतिवेदनमा जनाइएको छ। केन्द्रले तयार गरेको प्रतिवेदनमा चन्द्रागिरी नगरपालिका ६ मा रहेको एक सरकारी जग्गामा यसरी अतिक्रमण गरिएको उल्लेख छ। ८ आना क्षेत्रफल रहेको सो जग्गामा निजी गुठीको नाममा स्थानीय केही व्यक्तिले अतिक्रमण गरिएको प्रतिवेदनमा जनाइएको छ।

केन्द्रका अनुसार चन्द्रागिरी नगरपालिका ६ (साविक थानकोट ८) गा कित्ता नम्बर ८० को सो जग्गा न्हुच्छेलाल महर्जनलगायतका व्यक्तिले अतिक्रमण गरेका छन्। निजी गुठियारहरूले अतिक्रमण गरेको उक्त जग्गा नापी र मालपोत कार्यालयमा रहेका कागजातमा पर्ति (सरकारी) कायम रहेको प्रतिवेदनमा जनाइएको छ।

सतर्कता केन्द्रले सो जग्गामा आनन्द भैरब गुठीले पक्की भवन बनाएको उल्लेख गरेको छ। सो जग्गामा चन्द्रागिरी नगरपालिका अधिकारीले समेत बिनाआधार निजी गुठियारलाई भवन बनाउन दिएको प्रतिवेदनमा जनाएको छ। केन्द्रले चन्द्रागिरी नगरपालिका कार्यालयसँग बुझ्दा नगरपालिकाका अधिकारीले उक्त जगामा परापूर्वकालदेखि भवन बनाई गुठी सञ्चालन भइरहेको र २०७२ को भूकम्पले भवनमा क्षति पुगेकोले आनन्द भैरब गुठी थानकोटका गुठियारले पुरानो भवन भत्काई पछाडि दुई फिट सारेर नयाँ भवन बनाएको बताएका थिए। तर नापी कार्यालयमा रहेको नक्सामा गुठियारले दाबी गरे जस्तो परापूर्वकालदेखि उक्त कित्तामा भवन रहेको पाइँदैन। ‘साविक २०२१ सालको नापी नक्सामा समेत उक्त कित्तामा कुनै भवन भएको देखिँदैन,’ प्रतिवेदनमा भनिएको छ, ‘उक्त जग्गामा आनन्द भैरब गुठीका गुठियारले अतिक्रमण गरेको देखिन्छ।’

उक्त जग्गाबारेमा चन्द्रागिरी नगरपालिकाबाट प्राप्त कागजात र सोधपुछ गदा फाइलसम्म खडा भएको तर उक्त गुठीलाई भोकाधिकार दिने ÷नदिने विषयमा कुनै निर्णय नभएको प्रतिवेदनमा जनाइएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहमा रहेका सरकारी र सार्वजानिक जग्गाको संरक्षण र सम्बद्र्धन गर्ने आधिकारिक निकाय स्थानीय तह रहे पनि चन्द्रागिरी नगरपालिकाले आफ्नो जिम्मेवारी पूरा नगरेको प्रतिवेदनमा जनाइएको छ।
केन्द्रका सूचना अधिकारी डालानाथ अर्यालले केन्द्रले गुठी अधिनस्त (सरकारी गुठी)ले मात्र सरकारी सम्पत्ति प्रयोग गर्न सक्ने बताउँदै गुठीको नाममा निजी गुठियारले निःशुल्क सरकारी जग्गा प्रयोग गरे भने त्यो अतिक्रमण भएको ठहर हुने बताए। उनी भन्छन्, ‘चन्द्रागिरी नगरपालिकाको ८ आना जग्गामा यस्तो देखियो।’

निजी गुठीका नाममा सरकारी सम्पत्ति दुरुपयोग गरेको घटना चन्द्रागिरी नगरपालिकमा मात्र छैन, काठमाडौंको नक्सालमा करिब सात रोपनी सरकारी जग्गामा निजी गुठी हरिहर नारायाण समाजले दुरुपयोग गरेको केन्द्रले ठहर गरेको छ। केन्द्रले केही दिनअघि यतार गरेको अध्ययन प्रतिवेदनमा काठमाडौं महानगरपालिका १ नक्साल, नारायणचौरस्थित गुठी संस्थानको कित्ता नं. ८७० को करिब ७ रोपनी हरिहर नारायाण समाजले गुठी संस्थानलाई महिनाको ६ हजार मात्र भाडा दिने गरेको छ। ‘यो भनेको सरकारी सम्पत्तिको अतिक्रमण र दुरूपयोग हो,’ प्रतिवेदनमा जनाइएको छ।

गुठी संस्थानले बिनाप्रतिस्पर्धा उक्त निजी गुठीलाई जग्गा भाडामा दिएको थियो। संस्थानसँग गरिएको जग्गा भाडा सम्झौतामा उक्त जग्गामा पुनः भाडामा लगाउन नपाइने तथा मदिराजन्य वस्तुको उपभोग गर्न नपाइने व्यवस्था छ तर उक्त व्यवस्थाको उल्लंघन गर्दै हरिहर नारायण समाजले एउटा भवनको उत्तरपट्टीको सटर होटल÷रेष्टुरेण्टलाई मासिक करिब २० हजारका दरले भाडामा लगाएको छ। केन्दका अनुसार ७ रोपनी जग्गामध्ये २ रोपनी जग्गामा २०५६ पुस १६ गते काठमाडौं महानगरपालिकाले पछि नक्सा पास गर्नेगरी ३ तले भवन निर्माण गर्न स्वीकृति दिएको थियो।

प्रकाशित: १४ आश्विन २०७६ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App