१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

असन्तुष्टले खोले नयाँ निर्माता संघ

काठमाडौं- अहिले अस्तित्वमा रहेको नेपाल चलचित्र निर्माता संघको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही निर्माताहरुले नयाँ संस्था स्थापना गरेका छन्। सबैभन्दा पहिले बक्स अफिस प्रणालीलाई कार्यान्वयनमा ल्याउन दबाब दिनु आफूहरुको एजेन्डा रहेको नयाँ संस्थाका अध्यक्ष नवल खड्काले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताए।

'चलचित्र निर्माता संघ नेपाल' नामक नयाँ संस्थाको १९ सदस्यीय तदर्थ समिति पनि सार्वजनिक गरिएको छ। खड्काको अध्यक्षता रहेको समितिमा सह–अध्यक्ष उदय सुब्बा, वरिष्ठ उपाध्यक्ष लय मैनाली र उपाध्यक्षमा सुस्मिता केसी तथा हिक्मत थपलिया छन्। त्यस्तै विमल पौडेल महासचिव, मनोज श्रेष्ठ सचिव, किसान पोखरेल सहसचिव, डिक खड्का कोषाध्यक्ष र कृषा चौलागाईं सहकोषाध्यक्ष रहेका छन्।

'पुरानो निर्माता संघले दुई वर्षदेखि बक्स अफिस लागू गराउने भन्दै आए पनि त्यो गफमै सीमित भएको छ,' अध्यक्ष खड्काले भने, 'तर हाम्रो संस्था ६ महिनाभित्रै बक्स अफिसलाई लागू गराउन कटिबद्ध छ। बक्स अफिस अभियानमा हामी जोसँग पनि सहकार्य गर्न तयार छौं, चाहे पुरानो निर्माता संघ नै किन नहोस्।'

अहिले अधिवेशनको तयारीमा रहेको पुरानो निर्माता संघमा आर्थिक हिनामिना भएको आरोप खड्काले लगाए। 'कार्यालय भवन निर्माणका लागि संकलित २३ लाख ८३ हजार रुपैयाँको हिसाब गुमनाम छ, त्यसमा हामी सदस्यहरुको पनि पैसा परेको छ,' खड्काले थपे, 'सबै हिसाबकिताब पारदर्शी बनाउँछ भने हामी मिलेर अगाडि बढ्न तयार छौं।'

वरिष्ठ उपाध्यक्ष लय मैनालीले नयाँ संस्था कुनै पार्टी विशेषको संगठन नभएको प्रष्ट पारे। उनका अनुसार संस्थामा हरेक पार्टीमा आस्था राख्ने निर्माताहरु सदस्य छन्। राजनीतिक स्वार्थपूर्तिका लागि संस्थामा कोही आएमा निलम्बित गरिने सहसचिव किसान पोखरेलको भनाइ थियो।

संस्थाको तदर्थ समितिका सदस्यहरुमा मुनाल घिमिरे, अर्जुन कार्की, मदनकुमार इङ्नाम, गंगाप्रसाद पोखरेल, रामकृष्ण न्यौपाने, निरज ढकाल, भूपेन्द्र लिङ्देन, निर्मल लामा र वीरेन्द्र सिंह छन्। संस्थाको सदस्यता बढाउँदै लैजाने योजना रहेको अध्यक्ष खड्काले सुनाए।

प्रकाशित: ९ मंसिर २०७३ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App