१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अनुुसन्धनमा गृहको प्राविधिक टोली सक्रिय

काठमाडौं - गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ।

मन्त्रालयले एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृत, शिक्षण अस्पतालका चिकित्सकसहितको अनुसन्धान टोली गठन गरेको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्णल सुवेदीले प्राविधक टोली गठन गरी अनुसन्धान थालेको पुष्टि गरे। ‘यो नितान्त प्राविधिक टोली हो, यसको आफ्नै कार्यक्षेत्र छ त्यसकारण यो विषयमा बढी प्रचारवाजी गर्नु जरुरी छैन, अनुसन्धान भैरहेको छ’, प्रवक्ता सुवेदीले भने। गत बर्ष साउन १० गते पन्तको बलात्कारपछि हत्या गरिएको थियो। साथीका घरबाट गृहकार्य गरेर घर फर्किरहेकी पन्तको गत वर्ष साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो।

गृह मन्त्रालय स्रोतका अनुसार रिजालको टिमलाई १५ दिनको समय दिइएको छ। ‘उनले एक हप्ता मात्रै भयो काम थालेको अब एक हप्तापछि आफ्नो प्रतिवेदन बुझाउनेछन्, समय पुगेन भने थप पनि हुनेछ,’ मन्त्रालय स्रोतले भन्यो, ‘प्राविधिक रुपमा त्रुटि भए कहाँ कसरी भएको हो त्यसको बारेमा अनुसन्धान गरी प्रतिवेदन दिन भनिएको छ।’

निर्मलाको भेजाइनल स्वाब र डीएनए परीक्षणमा प्रहरीको विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनलाई राष्ट्रिय मानव अधिकार आयोगले प्रश्न उठाएपछि त्यसलाई निरूपण गर्न पनि यो प्राविधिक टोली गठन गरिएको मन्त्रालय स्रोतको दावी छ। गत भदौ ४ गते दीलिपसिंह विष्टलाई बयान र अन्य प्रमाणको आधारमा प्रहरीले आरोपित गर्दै सार्वजनिक गरेको थियो। तर उनको डिएनए परीक्षण हुँदा मेल नखाएकाले उनी अदातलबाट छुटेका थिए। उनी अदालतबाट छुटेपछि प्रहरीको व्यापक आलोचन भएको थियो।

महाकाली अन्चल ककस्पतालका डा.हरीकुमार श्रेष्ठ सहितको ३ जनाको टोलीले शव पोष्टमार्टम गर्दा उनको घाँटीको अगाडिको किलकिले हड्डी भाँचिएको र निर्मलाको यौनाङ्गमा हाइमेन टियर भएको तथा मृतकको यौनाङ्गको स्वाब लिँदा विर्य नदेखिएको तर कन्फर्म गर्नका लागि स्वाबको नमुना केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाउनु पर्ने उल्लेख गरेको थियो।

राष्ट्रिय मानअधिकार आयोगको प्रतिवेदनले निर्मलाको भेजाइनल स्वाब र डीएनए परीक्षणमा प्रहरीको विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनलाई राष्ट्रिय मानव अधिकार आयोगले प्रश्न उठाएको थियो। ‘प्राप्त डिएनएको अटोजोमल प्रविधिबाट परीक्षण सम्भव हुँदाहुँदै पनि सो नगरी वाई एसटिआर प्रविधिबाट मात्र परीक्षण गरिएको पाइएको हुँदा यस्तो त्रुटिपूर्ण परीक्षणमा संलग्न प्राविधिकलाई आवश्यक छानबिनको दायरामा ल्याउँन्,’ भन्ने उल्लेख छ। आयोगले पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा एवं आयोगका एक अधिकृतसहितको अनुसन्धान टोली गठन गरेको थियो। आयोगले दिएको सोही अप्रतिवेदनका आधारमा गृह मन्त्रालयले रिजाल संयोजकत्वमा अनुसन्धानका लागि टोली गठन गरेको हो।

पन्तको हत्या प्रकरणमा निलम्बनमा परेका तत्कालीन प्रहरी उपरीक्षक(एसपी) दिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदीश भट्ट अनुसन्धानमा लापारबाही गरेको आरोपमा पदबाट बर्खास्त गरिसकेको छ। हत्याको अनुसन्धानमा लापरवाही गरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत २९ असोजमा प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयलाई पत्रचार गरेका थिए।

सोही आधारमा दुवैलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिनेगरी बर्खास्त गरेको हो। अनुसन्धानमा संलग्न डिएसपी अंगुर जिसी तथा प्रहरी जवान चाँदनी साउद अझै निलम्बनमा रहेका छन्। प्रहरीले सो प्रकरणमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, दिलीपसिंह विष्ट र चक्र बडू को रगत संकलन गरी डिएनए परीक्षण गरिएको थियो।

यसैबीच, निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले दिलीपसिंह विष्टका नाममा किटानी जाहेरी दिएकी छिन्। दुई हप्ताअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएकी हुन्। तर प्रहरीले किटानी जाहेरी दिएको विषय गोप्य राखिएको छ।

प्रकाशित: ८ आश्विन २०७६ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App