१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डेंगी नियन्त्रणमा उदासिन स्थानीय सरकार

लहान सिथत इष्टपोइन्ट होटलको पूर्वपट्टी बस्तीको बीचमा रहेको कवाड संकलन केन्द्रमा ड्रमहरुमा जम्मा पारेर राखिएको पानी।तस्विरःमिथिलेश यादव/नागरिक

लहान - देशभर फैलिएको डेंगीको प्रकोप नियन्त्रणका लागि ‘सर्च एन्ड डेस्ट्रोय’ अप्रेसन मात्र प्रभावकारी उपाय हुने विज्ञहरुले बताउँदै आएका छन्। तर, स्थानीय सरकारले भने डेंगी नियन्त्रणका लागि यस्ता उपाय अवलम्बन गरेका छैनन्।

सिरहाको गोलबजार नगरपालिकामा करिब १० जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पवन कुमार पञ्जीयारले बताएका छन्। तर, यस नगरपालिकाले फगिङ मेसिन प्रयोग गरेर लामखुट्टे धपाउँदैछ।

लहान नगरपालिकामा पनि डेंगीको संक्रमण पाइएको चिकित्सक डा. अरबिन्द कुमार साहले बताए। निजी क्लिनिकमा जाँचका लागि आएका एकजना बिरामीको परीक्षण गर्दा डेंगी भेटिएको उनले बताए। तर, लहान नगरपालिकाले पनि डेंगी नियन्त्रणका लागि कुनै सावधानी अपनाएको छैन्। यो नगरपालिकाले लामखुट्टे धपाउन फगिङ  मेसिन समेत प्रयोग गरेको छैन्। सावधानी अपनाउनका लागि माइकिङ पनि गरिएको छैन्। सामाजिक सञ्जाल फेसबुकमा भने लाखुट्टे भगाउन अपिल गरिएको छ।

स्थानीय विनोद ठाकुरका अनुसार नगरपालिकाले एफएम र केही स्थानीय पत्रिकामा प्रचार गरेर लामखुट्टे नष्ट गर्न अनुरोध गरेको छ। जुन प्रभावहिनजस्तै छ। यहाँका कबाड संकलन केन्द्रहरु, ग्यारेजहरु, पानी जम्ने स्थानहरुमा लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गरिएको छैन्।

जे आवश्यक छ त्यो गरिएको छैन ठाकुरले भने,‘बेमतलवको काममा पैसा खन्याइँदैछ।’ अव्यवस्थित फोहोर पानी, खुल्ला नालालगायत कारणले डेंगीको उच्च जोखिममा रहेको चिकित्सकहरु बताउँछन्। अझ बस्तीको बीचमा सञ्चालित ग्यारेज, कवाड संकलन केन्द्रहरुका कारण जोखिम बढ्दो रहेको चिकित्सकहरुको भनाई छ। तर, नगरपालिकाले न सावधानीका उपाय अवलम्बन गरेको छ न नियन्त्रणको अभियान नै स्थानीय देवनारायण यादवले भने। 

वैशाखयता पूर्वको धरानबाट फैलिएको डेंगी नियन्त्रणमा प्रभावकारी उपाय अपनाउन नसक्दा यसले प्रकोपको रुप लिएको छ । प्रदेश २ को आठवटै जिल्लामा यसको संक्रमण देखिएको छ ।

विशेषज्ञहरुका अनुसार लामखुट्टेका अन्डा, प्युपा र लार्भा खोजेर नष्ट गर्ने (सर्च एन्ड डेस्ट्रोय) विधि अपनाउनुको साटो लामखुट्टे मार्न औषधि छर्कने (फगिङ) उपाय अपनाइँदा डेंगु नियन्त्रण हुन नसकेको हो ।

परिवर्तित व्यवस्था अनुसार स्वास्थ्यसम्बन्धी अधिकार स्थानीय सरकारमा छ। जसकारण केन्द्रीय सरकारबाट सावधानीका लागि अपनाउनुपर्ने उपाय र अपिल सहयोग गर्नेबाहेक कुनै अभियान चलाइएको छैन । कतैकतै स्थानीय तहले फगिङ मेसिन प्रयोग गरिरहेका छन् । जसलाई विशेषज्ञहरु अनावश्यक भन्छन् ।

स्थानीय सरकार 'सर्च एन्ड डेस्ट्रोय' अभियानमा नजाँदा डेंगु फैलिँदै गएको विशेषज्ञहरुको भनाई छ। रोग फैलाउने लामखुट्टे खोजेर मास्ने अभियानलाई स्थानीय सरकारले सशक्त बनाउनुपर्ने डा. चन्द्रनारायण यादव बताउँछन्। लामखुट्टेको प्रजनन प्रक्रिया पूरा हुन नदिनका लागि बस्ती वरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने, कवाड संकलन केन्द्रमा रहेका खाली बोतल, प्लास्टिकका भाँडा, ड्रमहरुलाई घोप्टाएर राख्ने, पानी जम्न नदिने उपाय अपनाउनुपर्ने उनले बताए । डेंगीको संक्रमणबाट जोगीन लामखुट्टेले फुल पार्न सक्ने सबै स्थान खोजेर नष्ट गर्नुको विकल्प नरहेको उनी बताउँछन् ।

‘एउटा मात्र संक्रमित लामखुट्टे बाँच्यो भने त्यसले एक वर्षमा रोग सार्न सक्ने करोडौं लामखुट्टे उत्पादन गर्न सक्छ,’ उनले भने । उनका अनुसार एक संक्रमित लामखुट्टेले आफ्नो अधिकतम ३० दिनको जीवनकालमा ५ सयदेखि एक हजार संक्रमित फुल पार्छ । यी सबै फुल लामखुट्टेमा परिणत भए महिनामै रोग सार्ने लाखौं लामखुट्टे उत्पादन हुन्छन् । डेंगीको बढ्दो विस्तार नियन्त्रण गर्न सरोकारवाला सबै निकाय र नागरिक समाजले समन्वय गर्नुपर्ने उनले बताए ।

लहान, गोलबजार, मिर्चैया, सिरहा जस्ता सहरी क्षेत्रमा गमला, फ्रिज, खाल्डाखुल्डी, टायर, प्लास्टिकका बोतल–बट्टा, टुक्राटाक्री बढी छन्। लहान स्थित इष्टपोइन्ट होटलको पूर्वपट्टी बस्तीको बीचमा कवाड संकलन केन्द्र छ। यहा भण्डारण गरिएका खाली बोतल सफा गरेर बाहिर निर्यात गरिन्छ। बोतल सफा गर्न ड्रममा पानी जम्मा गरेर राखिन्छ। यसले लामखुट्टे फैलिन सहयोग गरिरहेको छ।

डेंगीको संक्रमण फैलिरहेका बेला यो कवाड संकलन केन्द्र वरपरका स्थानीय अहिले डराएका छन्। कवाड संकलन केन्द्र छेउ घर भएका जयनाराण यादव भन्छन्, ‘यो कवाड केन्द्र लामखुट्टे उत्पादन गर्ने उद्योग बनेको छ।’ यहाँ ‘सर्च एन्ड डेस्ट्रोय’ अभियान चलाउनुपर्ने अति अवश्यक छ, स्वास्थ्यकर्मी समेत रहेको उनले भने।

प्रकाशित: ६ आश्विन २०७६ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App