२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्य

अपांगमैत्री छैनन् उपत्यकाका सडक

राजधानीको सुन्धारा आकाशे पुलअगाडि दृष्टिविहीन हिँड्ने ट्याक टाइलको बीचमा रहेको रुखको ठुटो। यो ठुटोले गर्दा दृष्टिविहीनलाई ओहोरदोहोर गर्न समस्या भएको छ। तस्बिर ः श्याम राई।

राजधानीका सडकमा गीत गाएर जीवनयापन गर्ने झापाका २८ वर्षीय दृष्टिविहीन जेठा ममु सन्देशलाई हिँडडुल गर्न सास्ती हुने गरेको छ। यसको कारण हो– राजधानीका सडक अपांगमैत्री नहुनु।

सडकका फुटपाथ अपांगमैत्री नहुँदा हिँडडुलमा समस्या भोग्नुपरेको उनको भनाइ छ। ‘कहिले त हिँड्दाहिँड्दा लडिन्छ,’ उनले दुखेसो पोखे।
सडकमा दृष्टिविहीनका लागि ट्याक टाइल नै छैनन् र भएका पनि फुटेको उनले बताए। त्यसकारण यसको तत्काल मर्मत गर्नुपर्ने उनको माग छ।

सुन्धारामा बस्दै आएका उनी गीत गाउनका लागि कहिले बौद्ध पुग्छन् त कहिले रत्नपार्क। राजधानीका चावहिल, कोटेश्वर, रत्नपार्क लगायत क्षेत्रका सडकमा दृष्टिविहीन हिँड्न सहज बनाउन राखिने ट्याक टाइल छैनन्। कतिपय ठाउँमा फुटेका छन्।

नेपाल वायुसेवा निगम अगाडिबाट न्युरोड गेटको पुल सम्मको करिब एक सय मिटरमा ट्याक टाइल नै छैनन्। न्यूरोड गेट अगाडि ट्याक टाइलको बीचमा रुखको ठुटो छ। तर, हटाउनमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन। यसले दृष्टिविहीन लड्न सक्ने जोखिम छ। सिंहदरबार अगाडिको सडक पनि दृष्टिविहीनका लागि हिँडडुल गर्न उपयुक्त छैन। सडकमा रहेको तार भुइँमा असरल्ल छ।

त्यति मात्रै होइन, फुटपाथमा जथाभावी गरिने पार्किङले पनि दृष्टिविहीनलाई हिँड्न सकस हुने गरेको छ। ग्वार्को, कोटेश्वर, पुतलीसडक, चावहिल, गौशला, लगायत ठाउँको यस्तो दृश्य देख्न सकिन्छ। माछापोखरीमा बस्दै आएका किशोर राणाले उपत्यकाका सडक अपांगमैत्री नहुँदा समस्या भोग्नु परेको सुनाउँछन्। ‘यहाँका सडक अपांगमैत्री नै छैनन्,’ उनले भने, ‘दृष्टिविहीनका लागि हालिएको ट्याक टाइल पनि सबै फुटेका छन। हिँड्दै लट्ठी नै अडिन्न।’ यसले हिँडडुल गर्दा जोखिम हुने गरेको उनले बताए।

त्यसो त उपत्यकाका सडक मापदण्ड अनुरूप निर्माण गरिएका छैनन्। अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ को निर्देशिकाको खण्ड ‘क’मा सबै सार्वजनिक सडक अपांगता भएका व्यक्तिको सहज र समान आवागमनको लागि पहुचयुक्त बनाउनु पर्ने उल्लेख छ।

त्यस्तै, खण्ड ‘ख’ मा खण्ड ‘क’ को प्रयोजनको लागि नयाँ बन्ने सम्पूर्ण सडक ह्विलचियर प्रयोगकर्ता, वैशाखी प्रयोगकर्ता, कृत्रिम अंग प्रयोग गर्ने व्यक्ति, दृष्टिविहीन, होचा–पुड्का लगायतका अपांगता भएका व्यक्तिको आवागमनको लागि पूर्णतया पहुँचयुक्त बनाउनु पर्नेछ र पुराना सडकमा विद्यमान अपांगता भएका व्यक्तिको आवागमनमा अवरोध पु¥याउने सबै किसिमका अप्ठ्यारालाई हटाइनु पर्नेछ।  खण्ड ‘ग’मा नयाँ बन्ने मुख्य ठूला सडकका सडक पेटी र सडक पार गर्ने ठाउँमा दृष्टिविहीन व्यक्तिको स्वतन्त्र आवागमनको लागि गाइडिङ ब्लक बिछ्याउनु पर्नेछ र पुराना सडकको हकमा मर्मत सम्भार गर्दा गाइडिङ बलक राख्नु पर्नेछ।

ख्ण्ड ‘घ’मा नयाँ बन्ने सार्वजनिक मुख्य सडकका सडक पेटीलाई सबै प्रकारका अपांगता भएका व्यक्तिको आवागमनको लागि पहुँचयुक्त बनाउनु पर्ने उल्लेख छ। तर, निर्देशिका अनुसार उपत्यका सडक निर्माण गरिएको पाइँदैन।

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले ट्याक टाइलको मर्मत गर्दै आएको बताए। ‘साना सडकको फुटपाथमा महानगरपालिका र नगरपालिकाले दृष्टिविहीनका लागि ट्याक टाइलको मर्मत गर्नुपर्छ,’ उनले भने, ‘ठूला सडकको मर्मत गर्दैै आएका छौं। विस्तारै सबै मर्मत गर्छाैं।’ उनका अनुसार ८ मिटर चौडाइ भएका सडकमा सात वर्षअघि नै ट्याक टाइल हालिएको थियो।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगर क्षेत्रका ८ मिटरभन्दा कम चौडाइ भएका सडकमा छिट्टै ट्याक टायल हाल्ने बताए। उनले भने, ‘हामीले पहिले पनि दृष्टिविहीनलाई हिँडडुल गर्न सहज होस् भनेर ट्याक टाइल हालेका थियौँ।’ उनले सरोकारवालासँग छलफल गरी चालू आर्थिक वर्षमा ट्याक टाइल हालिसक्ने बताए।

प्रकाशित: ४ आश्विन २०७६ ०४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App