१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२२ वर्षदेखि परिवारबाटै यातना

न्याय माग्दै सदरमुकाम चरिकोट आएकी दोलखा हावा–३ की ७१ वर्षीया तीर्थमाया विक । तस्बिर: नागरिक

दोलखा-आफ्नै परिवारका सदस्यबाट २२ वर्षदेखि बोक्सीको आरोपमा यातना बेहोर्दै आएकी ७१ वर्षीया दलित वृद्धा न्याय माग्दै सदरमुकाम आएकी छन्।
दुई देवर र तिनका परिवारबाट बोक्सी आरोपमा निरन्तर कुटपिट र लान्छना बेहोर्दै आएको बताउँदै तीर्थमायाले आफू सहनै नसकेर न्याय माग्न सदरमुकाम आएको बताइन् ।
‘२२ वर्षदेखि बोक्सी भन्दै कुट्थे, गाउँसमाजमा जहाँसुकै  बेइज्जत गरिदिन्थे, आजसम्म सहँदै आएकी थिएँ,’ उनले गहभरि आँसु पार्दै सुनाइन्, ‘कात्तिक २३ गते पनि साइँलो देवर केशव र कान्छो देवर काले विकको परिवारले प्लास्टिकमा दिसा ल्याएर बोक्सी भन्दै मुखमा दलिदिए ।’
तीर्थमायाका अनुसार केशव र कालेले अघिल्लो वर्षको चैतमा समेत बोक्सी आरोपमा दिसा र पिसाब खुवाउन खोजेका थिए । ‘त्यो बेला पनि यो बोक्सीलाई खुवाउनै पर्छ भनेर परिवार नै आएका थिए,’ उनले सुनाइन्, ‘पछि नाति–नातिना भएकाले जोगिएँ ।’
देवर परिवारका घृणित व्यवहार र यातनाबाट विक्षिप्त बनेकी तीर्थमाया घर छाडेर सदरमुकाम हिँडेकी थिइन् । सदरमुकामनजिक भीमेश्वर नगरपालिका–६ की कमला कार्कीले भेटेर यथार्थ बुझेपछि उनलाई जिल्ला प्रहरी कार्यालय पु¥याइदिएकी थिइन् ।
तीर्थमायाका पति रणबहादुर आरन (फलाम) को काम गर्छन् । छोरा कृष्ण बुहारी र चार नातिनातिनासहित छुट्टै घरमा बस्छन् भने छोरी शान्तमायाको बिहे भइसकेको छ ।
भूकम्पले घर भत्काएपछि रणबहादुरदम्पती कटेरोमा बस्दै आएका छन् । कटेरोमै उनीहरुको आरन छ । ‘श्रीमान आफ्नो दुःखजिलो गरेर खाने सोझो हुनुहुन्छ,’ तीर्थमायाले भनिन्, ‘श्रीमानको त्यही सोझोपनको फाइदा उठाएर ममाथि यातना दिँदै आए ।’
तीर्थमायाले सुडेनी तालिमसमेत लिएकी छन् । उनका अनुसार साइँला केशव र कान्छा देवर कालेले २२ वर्षदेखि ‘जग्गा खाएको’ भन्दै कुटपिट गर्दै आएका थिए । ससुराले गाउँमा बन्धकी राखेको जग्गा जेठो छोरो तीर्थबहादुरका पति रणबहादुरले आफूले ऋण तिरेर निखनेको उनले सुनाइन् । यसैलाई निहुँ बनाएर उनीहरुले तीर्थमायामाथि ‘राम्रो जग्गा दाजुभाउजूले खाएको’ भन्दै कुटपिट गर्दै आएका थिए ।
‘प्रत्येक दिनजसो रक्सी खाएर हाम्रो घरमा आउने र त्यो बोक्सी खै भन्दै श्रीमानकै अगाडि तथानाम भन्थे, लछारपछार पार्थे,’ तीर्थमायाले रुँदै सुनाइन्, ‘न्याय माग्न थुप्रैपटक प्रहरीकोमा जान खोजेँ, तर छोराछोरीले रोके ।’
उनका अनुसार एक महिनाअघि गाउँका एमाले नेता भरत सुनुवारको निधनपछि गाउँलेले आयोजना गरेको शोकसभाबाट फर्कंदासमेत देवर, देउरानी र भतिजी मिलेर गाउँनजिकै बाटोमा हातपात गरेका थिए । ‘रक्सी खाएर आएका उनीहरुले मलाई ढुंगाले हाने, भतिजीले उनका साथी लगाएर पनि कुट्न खोजिन्,’ उनले सुनाए, ‘पछि गाउँलेले गाली गरेपछि उनीहरु पछि हटे।’
घटनापछि न्याय माग्दै सदरमुकाम आएकी तीर्थमायाले दुवै देवरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले घटनामा संलग्नमध्ये तीर्थमायाका कान्छा दवर काले कामीलाई पक्रउ गरिसकिएको जानकारी दिए । अर्का आरोपित केशवको भने खोजी भइरहेको कुर्मीले बताए । दोषीलाई बोक्सी आरोपमा मुद्दा चल्ने उनले जनाए ।

 

 

प्रकाशित: ७ मंसिर २०७३ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App