१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्सनल अग्रता जोगाउन असफल

लन्डन– आर्सनलका कप्तान ग्रानिट जाकाले आइतबार आफ्नो टोलीले वाट्फोर्डविरुद्ध हारको संकट टारेको प्रतिक्रिया दिएका छन्। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा आर्सनल २–० को अग्रता जोगाउन नसक्दा अन्ततः वाट्फोर्डसँग २–२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको थियो।

२१औं मिनेटमा पिरे इमेरिक औबामेयाङले बललाई जाली चुमाउँदा आर्सनलले अग्रता लिएको थियो। त्यसको ११ मिनेटपछि औबामेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए। ५३औं मिनेटमा टम क्लेभर्लीको गोलमा वाट्फोर्डले खेलमा फर्कने संकेत गरेको थियो। खेल सकिन ९ मिनेट बाँकी हुँदा रोबेर्टो पेरेइराले बललाई जाली चुमाउँदै वाट्फोर्डलाई खेलमा फर्काएका थिए।

‘हामीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल पूर्ण रूपमा नियन्त्रणमा लिएका थियौ,’ जाकाले भने, ‘तर दोस्रो हाफ वाट्फोर्डको पक्षमा रह्यो। हामीले अंक बाड्यौ, त्यो नै हाम्रा लागि महत्वपूर्ण हो।’ ‘खेलको पहिलो हाफमा स्वाभाविक प्रदर्शन र दोस्रो हाफमा त्यसको विपरीत प्रदर्शन गर्दा लिगमा लिएको लक्ष्यमा पुग्न कठिन छ,’ जाकाले भने।

यस नतिजापछि ५ खेलमा ८ अंक जोडेको आर्सनल सातौं स्थानमा छ। ५ खेलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको लिभरपुल शीर्ष स्थानमा छ भने साबिक विजेता म्यानचेस्टर सिटी १० अंकका साथ दोस्रो स्थानमा छ। समान ५ खेलमा समान ८ अंक जोडेको टोटेनह्याम, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी क्रमशः  तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। मात्र २ अंक जोडेको वाट्फोर्ड अन्तिम स्थानमा छ।

‘हामीले दोस्रो हाफमा केही गल्ती गर्यौ, जसको वाट्फोर्डले पूर्ण रूपमा फाइदा उठायो,’ आर्सनलका प्रशिक्षक युनेई इमिरेले भने, ‘वाट्फोर्डले पहिलो गोल गरेसँगै खेलको गति परिवर्तन भयो। क्रमशः उनीहरू हाबी हुँदै गए।’

इमिरेले मिडफिल्डर मेसुट ओजिललाई पहिलो पटक सुरुआती ११ मा मैदान उतारेका थिए। जुलाईमा सेड कोल्सिनाकसँगै आक्रमणमा परेपछि ओजिल मैदानबाहिर बस्दै आएका थिए।

‘दोस्रो हाफमा टोलीले जुन प्रदर्शन गर्यौ, त्यसबाट म हर्षित छु,’ वाट्फोर्डका प्रशिक्षक कुइके सान्चेज फ्लोरेसले भने, ‘आर्सनल उत्कृष्ट टोली हो र उनीहरुविरुद्ध अंक खोस्न कठिन छ।’ आइतबारै चाँडो गरी भएको खेलमा बर्नमाउथले एभर्टनलाई ३–१ ले निराश पारेको थियो। आर्सनल २–० को अग्रता जोगाउन नसक्दा अन्ततः वाट्फोर्डसँग २–२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको थियो।

प्रकाशित: ३१ भाद्र २०७६ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App