१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पासङ ल्हामू राजमार्गमा पहिरो, सयौं कन्टेनर बाटैमा अलपत्र

काठमाडौं - चीनसंगको मूख्य व्यापारिक नाका पासाङ ल्हामू राजमार्ग पहिरोका कारण अवरुद्ध भएपछि नजिकिएको चार्डपर्वलाई असर पर्ने देखिएको छ। चार्डपर्व लक्षित सामान ढुवानी गर्ने सयौ कन्टेनर बाटैमा अलपत्र परेका छन। बाटो तत्काल खुलाउन नसकिए नजिकिएको चार्डपर्वमा मूल्य वृद्धि तथा सामाग्रीको अभाव हुने सम्भावना देखिएको हो।

गत बुधवार साँझ उक्त राजमर्ग अन्तरगत रसुवाको कालिका गाउँपालिका–१, नागुर्दुनमा पहिरोले सडक भत्काएपछि सवारी सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको हो। पहिरोका कारण मानिस हिँड्ने बाटो समेत छैन। उक्त स्थानमा २५ मिटर सडक भासिएको छ।

‘हाम्रा सयौं कन्टेनर बाटैमा अलपत्र परेका छन्’ व्यवसायि राजेन्द्र दुलाल भन्छन्,‘पहिरोका कारण व्यवसायी ठूलो मर्कामा परेका छन्।’ उनले अलपत्र परेका अधिकांश माल सामान बाहक सवारी दशैतिहार लक्षित रहेको जानकारी दिए।

‘तीन सय जति कन्टेनर बाटोमा छन्, बाटो कहिले खुल्ने हो अझै थाहा छैन’, उनले भने। पहिरोका कारण सामान्य आवतजावत गर्नसमेत समस्या उत्पन्न भएको छ। कडा चट्टानका कारण भित्तो फुटाएर बाटो खोल्ने अवस्था नभएकोले जगै देखि बाटो भर्नुपर्ने देखिन्छ।

यता जिल्ला प्रशासान कार्यलय रसुवाले भने बाटो खुलाउने प्रयास जारी रहेको जानकारी दिएको छ। ‘हामीले तारजालीको काम सुरु गरिसकेका छौ’, रसुवाकी निमित्त प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले नागरिकन्यूजसंग भनिन्,‘अब चार दिन भित्रबाटो खुलाउने प्रयास गर्नेछौं।’ उनले बाटो अवरुद्धका कारण सयौं व्यवसायी मर्कामा परेको स्वीकार गरिन्।

‘पासाङ ल्हामु सडक सञ्चालन गर्न नसकिए विकल्पका रुपमा गल्छी, त्रिशुली, मैलुङ, स्याप्रुवेशी सडकखण्ड सञ्चालन गर्नेछौं’ निप्रजिअ भट्टराईले भनिन्,‘चार दिनभित्र २५ मिटर पहिरो पुर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो।’ तर गल्छी, त्रिशुली, मैलुङ, स्याप्रुवेशी सडकखण्ड पनि ठाँउठाउँमा पहिरो गएका कारण तत्काल सञ्चालनको अवस्था छैन। उक्त सडकखण्ड पनि खुलाउन प्रयास भैरहेको उनले बताइन।  

चीनबाट विषेशगरि लत्ताकपडा, विद्युतीय उपकरण, निर्माण समाग्री आयात हुने गर्छन। समयमै बाटो खुलाउन नसकिए त्यस्ता समाग्रीको मूल्य वृद्धि समेत हुनसक्ने व्यवसायीहरु बताउँछन्। बाटोे अवरुद्धका कारण चार्डपर्वमा सामाग्रीको अभाव हुने भएकाले मुल्यवृद्धिको सम्भावना उतिक्कै रहेको छ।

विनाशकारी भूकम्पछि चीनसंगको मूख्य व्यापारिक नाकाको रुपमा रहेको अरनिको राजमार्ग पूर्णरुपमा सञ्चानलनमा आउन सकेको छैन। तातोपानी नाकाको विकल्पका रुपमा पासाङ ल्हामु मार्ग सञ्चालन हँुदै आएको छ। पछिल्लो वर्षहरुमा यहि मार्गले चीनसंगको ठूलो व्यापारिक हिस्सा धान्दै आएको छ।

प्रकाशित: २७ भाद्र २०७६ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App