१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाैहत्या प्रकरणः उपमहानगरपालिकाको बचाउमा दैलेख जिसस

सुर्खेत– गत शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाले पठाएका तीन सय ७० मध्ये ३६ गाई सुर्खेतका विभिन्न ठाउँमा मृत अवस्थामा फेला परे। दैलेख लैजाने भन्दै ल्याइएका गाईहरुलाई भेरीदेखि कटकुवासम्मका विभिन्न भिरबाट खसालेर मारिएको थियो। घटनालगत्तै दैलेखका विभिन्न स्थानीय तह र धार्मिक संस्थाहरुले विज्ञप्तिमार्फत आफूहरुले गाईहरु नमगाएको सार्वजनिक गरिसकेका छन्।

गौहत्या घटनामा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, कार्यकारी अधिकृत हरि प्याकुरेललगायतका कर्मचारी मुछिएका छन्। उनीहरुको बचाउमा जिल्ला समन्वय समिति दैलेख लागिरहेको छ। भदौ ८ गतेको मितिमा जिसस दैलेखले नेपालगञ्ज उपमहानगरपालिकालाई ‘स्वच्छ गाई उपलब्ध गराइदिने’ व्यवहोराको पत्र सार्वजनिक भएसँगै गाई राजनीतिले नयाँ मोड लिएको हो। जिसस दैलेखले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखलाई सम्बोधन गरेर पठाएको पत्रमा श्रीस्थान, नाभीस्थान, कोटिला, धुलेश्वर, पादुकालगायतका धार्मिक क्षेत्रका साथै नारायण नगरपालिकालगायतका स्थानीय तहमा व्यवसायिक गाईपालन प्रयोजनका लागि स्वच्छ र पाल्नका लागि योग्य गाईहरु उपलब्ध गराइदिन उल्लेख गरिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा भदौ छ गतेको जिसस बैठकले नेपालगञ्ज उपमहानगरपालिकाबाट गाईहरु मगाउने गरेर निर्णय भएको दावी गर्छन् भने कार्यपालिकाका सदस्य जिल्लासभाबाहेक अरु अजेण्डामा छलफल नभएको बताउँछन्। ‘नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत दैलेखको स्थायी बासिन्दा हुनुका साथै लामो समय यहाँ स्थानीय विकास अधिकारी हुनुहुन्थ्यो, यहाँका सबै स्थानीय तहका प्रमुखहरुसँग उहाँको व्यक्तिगत सम्पर्क छ,’ थापाले भने, ‘पहिले सबै स्थानीय तहहरुले उहाँले सम्पर्क गर्नुभएको हो, त्यसैको आधारमा उता (नेपालगञ्ज) बाट पठाउनु भएको हो, अहिले लिखित नहुँदा समस्या भयो।’

उनले नेपालगञ्जबाट गाईहरु ल्याउँदा भने आफूहरुलाई जानकारी नदिइएको बताए। ‘हामीले उन्नत जातका जर्सी गाईहरु मागेका थियौं, उताबाट बुढा र रोगी गाईहरु पनि पठाइएछ, पठाउँदा पनि खवर भएन्, गाईहरु मरिसकेपछि मात्रै हामीले थाहा पायौं’ थापाले भने, ‘राम्रा गाईहरु पठाइदिएको भए अहिलेको समस्या आउँदैनथ्यो, कृषकले नपाल्ने खालका गाईहरु पठाउँदा अहिले समस्या आयो।’ थापाले नेपालगञ्जबाट गाईहरु पठाउँदा समन्वय नगरेकाले समस्या देखिएको बताए।

जिल्ला समन्वय समितिका सदस्य सर्वराज महताराले भदौ ६ गतेको बैठकमा नेपालगञ्जबाट गाई ल्याउने विषयमा कुनै छलफल नभएको दावी गरे। ‘समन्वय समितिको बैठकमा जिल्लासभा सञ्चालन गर्ने अजेण्डा मात्रै थियो’ कार्यपालिका सदस्य महताराले भने, ‘गाई ल्याउने विषयमा कुनै पनि छलफल भएको थिएन्।’ उनले बैठकको निर्णयभन्दै सार्वजनिक भएको पत्रको बारेमा अनभिज्ञता जनाए।

पत्रमा एउटै मिति
जिल्ला समन्वय समिति दैलेखले भदौ आठ गते स्वच्छ गाई उपलब्ध गराइदिने व्यवहोराको पत्र पठायो। त्यहीँ दिन नेपालगञ्ज उपमहागरपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेलाई कान्जी हाउसमा रहेका गाईहरु दैलेखसम्म पु¥याउनका लागि सिफारिस माग्यो। जिल्ला प्रशासन कार्यालयले सोही दिन बाँके, बर्दिया, दैलेख र सुर्खेतका जिल्ला प्रहरी कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जका साथै बाटोमा पर्ने अन्य चेकपोष्टहरुलाई बोधार्थ दिएर तीन सय ७० चौपाया दैलेखको श्रीस्थानसम्म पु¥याउनका लागि समन्वय गरिदिनु भन्ने पत्र काट्यो। प्रशासनले पत्र दिएको चार दिनपछि नेपालगञ्ज उपमहानगरपालिका–२१ स्थित कान्जी हाउसबाट चितवन क्यारियरले आठ वटा ट्रकमा गाईहरु ल्याएर आयो।

दैलेखको श्रीस्थान पु-याइनुपर्ने गाईहरु सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भेरी, धुलियाविट र उत्तरी जलाधार क्षेत्र अन्र्तगतको कटकुवालगायतका ठाउँमा झारिए। सेल्फीडाँडा, धुलियाविट र झुप्राखोला नजिकैको भिरहरुबाट केही गाईहरु गाडीबाटै खसालिए। मंगलबारसम्म ३६ वटा गाई मृत फेला परेका छन्। केही गाईहरु नेपालगञ्ज उपमहानगरपालिकाले फिर्ता लिएको छ। वीरेन्द्रनगर नगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय हराएका गाईहरुको खोजीमै छ।

प्रहरीले नेपालगञ्जबाट ल्याइएका गाईहरु बाटोमै झारेर फर्कदै गरेका पाँच वटा ट्रक, तिनका चालक र दुई सहचालकलाई पक्राउ गरेको छ। पक्राउ परेका सात जनाविरुद्ध प्रहरीले गोवध अन्र्तगत अनुसन्धान गरिरहेको छ। गाई ल्याएर आएका नेपालगञ्ज उपमहानगरपालिकाका अन्र्तगतको नगर प्रहरीका प्रहरी निरीक्षक सूर्य बोगटीलाई पक्राउ पूर्जी जारी गरिएको छ।

गृहको छानविन टोलीले काम थाल्यो
दैलेख पु-याउनका लागि नेपालगञ्जबाट ल्याइएका गाईहरु बाटोमै खसालिएको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयले गठन गरेको छानविन टोली सुर्खेत आइपुगेको छ। मन्त्रालयका उपसचिव सागरमणि पाठक संयोजक रहेको छानविन समितिले गाई भिरबाट खसालिएको स्थानहरुको अवलोकन गर्नुका साथै सरोकारवालासंग घटनाबारे सोधपुछ गरेको छ।

छानविन समितिका संयोजक पाठकले घटनाको अनुसन्धान सुरु गरिसकेको जानकारी दिए। ‘हामीले मंगलबारदेखि बाँकेबाट अनुसन्धान सुरु गरेका हौं’ उनले भने, ‘सुर्खेत र दैलेखसम्म पुगेर विस्तृतमा यसको अनुसन्धान गछौं।’ समितिले मंगलबार नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जी हाउसको अनुगमन गरेको थियो। यसका साथै उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग पनि घटनाबारे सोधपुछ गरेको थियो।

गृह मन्त्रालयले उपसचिव सागरमणी पाठकको संयोजकत्वमा सुरक्षा निकायको समेत प्रतिनिधित्व रहने गरी शनिबार चार सदस्यीय छानविन समिति गठन गरेको थियो। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश छ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिकाद्धारा गठित छानविन समितिले सुर्खेत आएर घटनाबारे अनुसन्धान गरिरहेको छ। नेपालगञ्जका कानुन व्यवसायी विकास आचार्यको संयोजकत्वमा सात सदस्यीय छानविन समितिले बुधबार बिहान वीरेन्द्रनगरमा नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीसंग घटनाबारे सोधपुछ गरेको थियो।
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App