१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

टोलीको नतिजाबाट अचम्मित छु : क्लोप

लन्डन– लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले यस सिजन टोलीले जारी राखेको सतप्रतिशत नतिजाबाट अचम्मित भएको प्रतिक्रिया दिएका छन् ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–० ले हराएको हो । यस जितसँगै चार खेलबाट लिभरपुल १२ अंकका साथ शीर्ष स्थानमा यथावत छ । समान खेलबाट १० अंकसहित साबिकको विजेता म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । शनिबारै भएको खेलमा सिटीले ब्राइटोनलाई ४–० ले पराजित गरेको थियो ।

सिजनपूर्वको अभ्यासमा भने लिभरपुलले तीन खेल गुमाएको थियो । यस क्रममा टोलीका महत्वपूर्ण खेलाडीहरू मोहम्मद सलाहा, रोबेर्टो फिर्मिनो र साडियो माने अन्तर्राष्ट्रिय विश्रामका कारण टोलीमा अनुपस्थित थिए । तर, नयाँ सिजनको सुरुआतसँगै यी तीनै खेलाडी उत्कृष्ट लयमा छन् । लिभरपुलले प्रिमियर लिगमा सुखद नतिजाको यात्राालाई कीर्तमानी १३औं खेलसम्म लम्बाएको छ ।

‘मैले चार साता अघिसम्म टोलीले यस्तो प्रदर्शन गर्छ, भनेर सोचेकै थिइनँ,’क्लोपले भने, ‘हाम्रा लागि प्रिसिजन मिश्रित बनेको थियो। त्यतिबेला माने, सलाहा र फिर्मिनो टोलीमा अनुपस्थित थिए । तर पनि उनीहरू अहिले उत्कृष्ट लयमा छन् । यो निकै सुखद सुरुआत हो ।’ खेलको तेस्रो मिनेटमै बर्नलीले अग्रता लिने सुनौलो अवसर पाएको थियो । तर क्रिस उडले गरेको प्रहार लिभरपुलका गोलकिपर एड्रियानले उत्कृष्ट बचाए । ३३औं मिनेटमा क्रिस उडले गरेको आत्मघाती गोलबाट लिभरपुलले अग्रता लिएको थियो । 

त्यसको ४ मिनेटपछि नै मानेले बललाई पोस्टको दिशा दिँदै लिभरपुलको अग्रता दोब्बर पारे । खेल सकिन १० मिनेट बाँकी हुँदा फिर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता बढाए । यससँगै फिर्मिनो प्रिमियर लिगमा ५० गोल पूरा गर्ने पहिलो ब्राजिली खेलाडीसमेत बनेका छन् । प्रमियर लिगअन्तर्गत शनिबार भएका अन्य खेलमा वेस्टह्यामले नर्विचलाई २–० ले हराउँदा वाट्फोर्ड र न्युक्यासल युनाइटेडले भने १–१ को बराबरी खेले । एएफपी

प्रकाशित: १६ भाद्र २०७६ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App