१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

झरीमा कालोपत्रे

सुर्खेत– ढुंगेश्वर गाउँपालिका–२ को स्याउले बजार नजिकै सडक छेउमा रम्भादेवी सुनारको घर छ। सुर्खेत–दैलेख खण्डको स्याउले बजार क्षेत्रमा बुधबार दिनभर पटके मर्मत (कालोपत्रे)को काम भयो। वर्षातका कारण सडकमै पानीको भेल बगिरहेको छ। त्यसैमाथि भइरहेको पटके मर्मतबाट रम्भादेवी विल्कुलै सन्तुष्ट छैनन्। ‘पानीमा सडक कालोपत्रे नगर्नुपर्ने हो’ उनले भनिन्, ‘अघिअघि कालोपत्रे भइरहेको छ, पछिपछि पानीले त्यसलाई बगाएर लगिराखेको छ।’ 

सुर्खेत–दैलेख खण्डको सियाकोटदेखि चुप्रासम्मको करिब साढे १८ किलोमिटर क्षेत्रमा पटके मर्मतको काम सुर्खेतको गंगामाला निर्माण सेवाले पाएको छ। पटके मर्मत भइराखेको क्षेत्रमा निर्माण सेवाका प्रतिनिधि र सडक डिभिजनका प्रतिनिधि आउँदैनन्। स्थानीयहरुले पानीमा कालोपत्रे नगर्न कामदारलाई अनुरोध नगरेका होइनन्। स्थानीयको कुरा उनीहरुले सुन्दैनन्। ‘आफ्नो आँगनअघिको सडकमा भइराखेको काम गुणस्तरीय होस् भन्ने हाम्रो चाहना हो’ रम्भादेवीले भनिन्, ‘हामीले जति आग्रह गर्दा पनि उनीहरुले सडक टालटुल पारेरै छोडे।’

सियाकोट–चुप्रा सडक खण्डमा इमल्सन कालोपत्रे गरिएको हो। हिउँ पर्ने, ओस लाग्ने र चिस्यान क्षेत्रमा इमल्सन कालोपत्रे गरिन्छ। सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार पानी परेको बेला पनि कालोपत्रे गर्न मिल्दैन।

स्याउले बजार आसपासमा बुधबार दिउँसोदेखि पानी परिरहेको थियो। कामदारहरु झरीमा रुझ्दै काममा खटिएका थिए। ‘जसरी भए पनि काम सक्नु भन्ने आदेश छ, पानीमा भिजेर भएपनि सडक टालटुल पारिरहेका छौं’ एक कामदारले भने, ‘हामी कामदार हौं, काम लगाएपछि गर्नैपर्यो।’ 

सुर्खेत–दैलेख खण्डको सियाकोटदेखि चुप्रासम्मको करिव साढे १८ किलोमिटर क्षेत्रमा अहिले पटके मर्मतको काम भइरहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यतिर यो क्षेत्रमा पटके मर्मतको काम भइसक्नुपर्ने थियो। निर्माण कम्पनीले समयमै काम नसक्दा दोस्रो पटक म्याद थपेर काम भइरहेको छ। सियाकोट–चुप्रा पटके सडक मर्मतको काम ७४ लाख ८८ हजार पाँच सय ३० रुपियाँमा गंगामाला निर्माण सेवाले पाएको छ।

सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी देवेन्द्र भट्टराईले ओसिलो र चिसो ठाउँमा इमल्सन कालोपत्रे गर्न मिल्ने भएपनि पानी परिरहेको समयमा भने कालोपत्रे गर्न नहुने बताए। ‘पानी परिरहेकै समयमा कालोपत्रे गर्न मिल्दैन’ उनले भने, ‘निर्माण कम्पनीले पानी परिरहेको समयमा कालोपत्रे गरेको पाइए कारवाही गछौं।’ उनले पानी परिरहेको समयमा गरिएको पटके कालोपत्रे टिकाउ नहुने बताए। ‘पानी परिरहेको बेला कालोपत्रे गरेमा त्यो टिकाउ हुँदैन’ उनले भने, ‘बिग्रिएको पाइएमा ठेकेदारलाई हामी भुक्तानी दिँदैनौं।’

सियाकोट–चुप्रा सडक खण्डको स्याउलेमा पानी परिरहेको बेला कालोपत्रे गरिँदै । तस्बिरः नगेन्द्र उपाध्याय÷नागरिक

प्रकाशित: १२ भाद्र २०७६ १५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App