१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

शाहद्वारा लगातार दोस्रो कीर्तिमान

काठमाडौं – नेपाली पौडीका साहिद हम्जा शाहले हंगेरीमा जारी सातौं विश्व जुनियर च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।   हंगेरीको बुढापेस्टमा सहरमा शुक्रबार राती भएको सातौं फिना विश्व जुनियर पौडी च्याम्पियनसिपमा शाहले ५० मिटर बटरफ्लाइमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । २७.५५ सेकेन्ड समयका साथ शाह हिटमा तेस्रो भए पनि उक्त समय नेपालको राष्ट्रिय कीर्तिमान बन्न पर्याप्त भएको थियो । कुल ८५ खेलाडी सहभागी उक्त विधामा उनी समग्रमा भने ७४औं स्थानमा रहेका थिए ।

यद्यपि, शाह सन् २०१७ को सातौं राखेप च्याम्पियनसिपमा अनुभव सुब्बाले बनाएको राष्ट्रिय कीर्तिमानलाई सुधार गर्न सफल भए । यसअघि शाहले हंगेरीमै एक सय मिटर बटरफ्लाईमा पनि तीन दशकअघिको राष्ट्रिय कीर्तिमान भंग गरेका थिए । शाहले सन् १९८९ मा पाकिस्तानमा सम्पन्न चौथो साफमा आनन्द लेप्चाले बनाएको कीर्तिमानलाई सुधार गरेका थिए ।

त्यति बेला लेप्चाको समय १ मिनेट ३.४३ सेकेन्डको थियो । उनीसँगै अदिप्सा वैद्यले पनि गत बिहीबार सय मिटर ब्रेस्टस्टोकमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । अदिप्साले १ मिनेट २३.८९ सेकेन्डको टाइमिङ निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दा टिसा शाक्यको नाममा रहेको १ मिनेट २५.८२ सेकेन्डको कीर्तिमान सुधार गरेकी थिइन् । टिसाले यसअघि सातौं राखेप च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएकी थिइन् ।

शनिबार नेपालको सबै चुनौती समाप्त हुँदा पनि थप राष्ट्रिय कीर्तिमान बन्न भने सकेन । उक्त विश्व च्याम्पियनसिपमा ईश्वर कार्कीको प्रशिक्षणमा नेपालका समान ४÷४ पुरुष र महिला खेलाडीले चुनौती प्रस्तुत गरेका थिए । शनिबार भएको ५० मिटर ब्रेस्टस्टोकमा नेपालका विकास कुमालले ३४.५३ सेकेन्ड र वेदज्ञराज जोशीले ३५.६९ सेकेन्डको समय निकालेका थिए ।

विकास आफ्नो हिटमा चौथो स्थानमा रहँदा वेदज्ञराज भने हिटमा दशौं स्थानमा खुम्चिए । कुल ७५ खेलाडी सहभागी यस विधामा विकास ७१औं र वेदज्ञराज ७३औं स्थानमा रहे । यस विधामा शूभम् श्रेष्ठको नाममा ३२.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । शनिबारकै ५० मिटर फ्रिस्टायलको प्रतिस्पर्धामा नेपालका टिसा शाक्यले २९.८४ सेकेन्ड र युस्का महर्जनले ३१.६७ सेकेन्डको समय निकालिन् ।

आ–आफ्नो हिटमा टिसा आठौं र युस्का सातौं स्थानमा रहेकी थिइन् । यद्यपि, १ सय ६ खेलाडी सहभागी यस विधाको समग्रमा भने टिसा ९१औं र युस्का ९८औं स्थानमा खुम्चिए । यस विधामा गौरिका सिंहको नाममा २८.०९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।

गौरिकाले सन् २०१७ सम्पन्न २०औं राष्ट्रिय पौडी प्रतियोगितामा उक्त कीर्तिमान बनाएकी थिइन् । यस प्रतियोगितामा पुरुषतर्पm साहिद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमाल र महिलातर्फ टिसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुष्का पोख्रेलले सहभागिता जनाएका थिए ।

शाहले ५० मिटर बटरफ्लाईमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदा २७.५५ सेकेन्ड समयको समय निकालेका थिए । शाहले सन् २०१७ को सातौं राखेप च्याम्पियनसिपमा अनुभव सुब्बाले बनाएको राष्ट्रिय कीर्तिमानलाई सुधार गरेका हुन् । शाहले यसअघि एक सय मिटर बटरफ्लाईमा पनि तीन दशकअघिको राष्ट्रिय कीर्तिमान भंग गरेका थिए ।

प्रकाशित: ८ भाद्र २०७६ ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App