१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अनुदान फिर्ता गरेर ‘रेट्रोफिट’

रेट्रोफिट गरिएका घर हस्तान्तरण गरिँदै। तस्बिर: नागरिक

धादिङ - चार वर्षअघिको विनाशकारी भूकम्पले नीलकण्ठ नगरपालिका–३ रिजालगाउँकी रुद्रकुमारी रिजालको घर चिराचिरा भयो। बस्न डर थियो। भूकम्पपीडितलाई आवास निर्माण अनुदान भनेर सरकारले ३ लाख रुपैयाँ तीन किस्तामा उपलब्ध गराउने भनेपछि पहिलो किस्ताका लागि उनले नाम टिपाइन्। पहिलो किस्ताबापत ५० हजार रुपैयाँ पनि पाइन्। घर बनाउने तयारी गरिरहँदा उनका पतिको मृत्युले काम रोकियो।

पतिको मृत्युपछि घरव्यवहार आफैंले धान्नुपर्ने भएकाले उनले घरको जग हाल्न सकिनन्। पहिलो किस्ताको अनुदान लिएर घर नबनाए सरकारलाई पैसा फिर्ता गर्नुपर्छ भन्ने हल्ला गाउँभर चल्न थालेपछि उनी घर बनाउने कि नबनाउने भन्ने अन्योलमा परिन्। ‘भूकम्पले घर पूर्ण रूपमा भत्किएको थिएन र बस्न सक्ने अवस्था पनि थिएन,’ उनले भनिन्, ‘घर बनाउन पहिलो किस्ताको अनुदान लिएँ तर पतिको मृत्युपछि आफैंले बनाउन आँट आएन।’

 युके एड, युएनओपिस, बिल्ड चेन्ज र बिबिसी मिडिया एक्सनको सहयोगमा गत जेठ २३ गतेदेखि रेट्रोफिट गर्न थालिएका घरहरू साउन १८ गते सम्पन्न भएका थिए।

पछिल्लो समय १ लाख रुपैयाँ अनुदान पाउने सूचीमा नाम निस्केका धेरै भूकम्पपीडितले ३ लाख अनुदानका लागि नाम सिफारिस गरिरहेका छन्। तर रिजालले भने पूर्ण क्षतिको अनुदान फिर्ता गरेर पुरानो घर रेट्रोफिट (प्रबलीकरण) गरेको सुनाइन्। उनका अनुसार बुइगलसहितको दुईतले पुरानो घर अहिले नयाँजस्तै भूकम्प थेग्न सक्ने बनेको छ। चर्किएकै घरमा जोखिम मोलेर बस्दै आइरहेकी रिजालले अब भने आफू सुरक्षित भएको बताइन्। ‘पुरानो घर, भूकम्पले चर्किएको, त्यसमाथि इन्जिनियर र डकर्मी आएर गारो प्वाल पार्दा अब घर नै रहन्न कि जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘चर्किएकै घरलाई रेट्रोफिट गरेर भूकम्प थेग्ने भएको छ।’

युके एड, युएनओपिस, बिल्ड चेन्ज र बिबिसी मिडिया एक्सनको सहयोगमा गत जेठ २३ गतेदेखि रेट्रोफिट गर्न थालिएका घर साउन १८ गते सम्पन्न भएका थिए। यसअघि विपन्न, एकल महिला तथा वृद्ध रुद्रकुमारी रिजाललाई उनको अवस्थाको मूल्यांकन गरेर संस्थाले प्रबलीकरण गर्न घर छनोट गरेको थियो। घर रेट्रोफिटका लागि तीन लाख ८२ हजार ६ सय आठ रुपैयाँ खर्च भएको छ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन तथा आवासका प्रमुख कोषनाथ अधिकारी र वडाध्यक्ष होमप्रसाद रिजालले संयुक्त रूपमा प्रबलीकरण गरिएका घर रेट्रोफिट सम्पन्न प्रमाणपत्रसहित हस्तान्तरण गरेका छन्। घर हस्तान्तरण गर्दै वडाध्यक्ष रिजालले रेट्रोफिट गरिएको ढुंगामाटाको घरबारे सुरुमा अनभिज्ञ रहेको भन्दै अहिले घर निर्माण भएर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको पनि बताए।

जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) धादिङका प्रमुख कोषराज अधिकारीले नयाँ घर निर्माणको काम सकिएकाले अब पुरानो घरलाई बलियो बनाउने प्रविधिबारे लाभग्राहीसम्म पु¥याउन आवश्यक रहेको बताए। ‘पुरानो घरको मौलिकपन कायम राख्न पनि रेट्रोफिट आवश्यक छ,’ उनले भने, ‘सुरुमा हामीले बुझाउन सकेनौं, अब ढिला गर्नुहुन्न।’ प्रबलीकरणका कारण हाम्रो मौलिकता र संस्कृतिको जगेर्ना भएको भन्दै कम खर्चमा पहिलेको जस्तै ढुंगामाटाको बलियो घर निर्माण गर्न सकिने बताए।

बिल्ड चेन्जका कार्यक्रम संयोजक अनिल बस्नेतका अनुसार जिल्लाका नीलकण्ठ नगरपालिका, बेनिघाट र गजुरी गाउँपालिकामा तीनवटा घरमा रेट्रोफिट गरिएको छ। जिल्लाभर २० वटा घरको मात्र रेट्रोफिट गरिएको छ भने हालसम्म ३२ जिल्लामा १ सय १४ वटा घर रेट्रोफिट गरिएको उनले बताए।

प्रकाशित: ६ भाद्र २०७६ ०१:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App