२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउदैं

चितवन- जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ। भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन्। तीमध्ये पाँच जना बच्चामा सङ्क्रमण देखिए पनि ८६ जनामा भने सङ्क्रमण भेटिएको छैन। एक जना आमाले जुम्ल्याहा बच्चा जन्माएकी हुन्।     
     
भरतपुर अस्पतालमा रहेको एन्टीरेट्रो भाइरल थेरापी ९एआरटी० केन्द्रका अनुसार हरेक वर्ष १२ देखि १५ जनाले सुरक्षित बच्चा जन्माउने गरेका छन्। यस्तै सन् २०१९ को ६ महीनामा चार जना आमाले बच्चा जन्माइसकेका छन्। यसै वर्ष चार जना आमा बच्चा जन्माउने तयारीमा रहेका छन्। सङ्क्रमित भएको थाहा भएदेखि नै औषधि सेवन गर्दा औषधिका कारण बच्चामा र श्रीमान् वा श्रीमतीमा समेत समस्या नहुने केन्द्रका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए।     

सन् २००७ मा केन्द्र स्थापना भएको हो। सङ्क्रमित आमाले नियमित औषधि खाएमा उनीहरुबाट जन्मिएको बच्चामा समस्या नदेखिने गरेको उनले जानकारी दिए। बच्चा बसिसकेपछि एचआइभी सङ्क्रमण देखिएका पाँच जना आमाले जन्माएको बच्चामा मात्रै सङ्क्रमण भेटिएको उनको भनाइ छ.

केन्द्रको सम्पर्कमा रहेका १ सय ७५ जोडीले औषधि सेवन गर्दै बच्चा जन्माउने तयारीमा रहेका छन्। उनीहरु दुवै जना सङ्क्रमित हुन्। औषधिका कारण आफूहरुले सुरक्षित बच्चा जन्माउन सकेको सङ्क्रमितमध्येका एकले बताए। औषधिको सेवनले सङ्क्रमितको जीवन लामो हुने र बच्चा जन्माउन चाहेदेखि बच्चासमेत सङ्क्रमित नहुने उनको भनाइ थियो।     

केन्द्रको परामर्शअनुसार बच्चा जन्माउने सङ्क्रमितहरुको सङ्ख्या पनि बढ्दो रहेको छ। सन् २०१८ मा मात्रै १२ जना आमाले बच्चा जन्माएका थिए। तीमध्ये सङ्क्रमण ढिलो भेटिएकी एक आमाबाट जन्मिएका छोरालाई मात्र सङ्क्रमण भेटिएको थियो। सङ्क्रमण देखिने बित्तिकै औषधिको सेवन गर्न पाइन्छ। केही वर्षअघिसम्म औषधि प्रयोग गर्न कुर्नुपर्ने हुन्थ्यो।     

अस्पतालमा रहेको केन्द्रबाट ८ सय ९५ जनाले औषधि सेवन गर्दै आएका छन्। केन्द्रको सम्पर्कमा एक हजार ७ सय २९ जना रहेका छन्। तीमध्ये कतिपयले आफ्नो पायक पर्ने स्थानबाट औषधि लिँदै आएका छन्। अस्पतालको सम्पर्कमा आएका आमाहरुमा चितवन, नवलपुर, मकवानपुर, धादिङ गोर्खालगायत जिल्लाका रहेका छन्। बढी सङ्ख्यामा चितवनको रहेका छन्। विसं २०७३ मा एक सङ्क्रमितले जुम्ल्याहा बच्चा जन्माएका थिए। उनीहरुमा पनि सङ्क्रमण देखिएको थिएन।     
     
केन्द्रबाट औषधि सेवन गर्नेहरुमा ४ सय ८ पुरुष, ४ सय २६ महिला र ६१ जना बच्चा रहेका छन्। तीमध्ये १२ समलिङ्गी र दुई जना तेस्रोलिङ्गी रहेका छन्। पुरुषहरुको मदिरा सेवन, ध्रुमपान लगायतका कारण सङ्क्रमणपछि चाँडो मृत्यु हुने गरेको छ।रासस     

 

प्रकाशित: ५ भाद्र २०७६ ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App