१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पाँच देशका कलाकार एउटै ग्यालरीमा

काठमाडौं- नेपालसहित पाँच देशका ३६ कलाकार आफ्ना कलाकृति लिएर बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रस्तुत भएका छन्। शनिबार सुरु भएको प्रदर्शनीको आयोजना एसएमडी फाउन्डेसन इन्डियाको संयोजनमा नेपाल आर्ट काउन्सिल, न्यु आर्ट सर्कल तथा जंगल किलोल फाउन्डेसनले गरेका हुन्।

मंगलबारसम्म चल्ने प्रदर्शनीको उद्घाटन संस्कृतिविद् सत्यमोहन जोशीले गरे। 'यस्ता प्रदर्शनी गर्दै गए नेपाली कलाले विश्वमा आफ्नो छाप छोड्न सक्छ,' भन्दै उनले नेपालमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुनुलाई सकारात्मक ठाने।

नेपाललाई अन्तर्राष्ट्रिय स्तरसम्म कला र संस्कृतिको माध्यमबाट जोडने उद्देश्य राखेर प्रदर्शनी गरिएको नेपालतर्फका आयोजक संस्था न्यु आर्ट सर्कलका उपाध्यक्ष नरेशसुन्दर सैंजुले बताए।

एसएमडी फाउन्डेसनको संयोजक मिन्टु डेकाले यस किसिमका कला प्रदर्शनीले नेपाली तथा अन्य देशका कलाकारलाई एक ठाउँमा जोड्न सकेको बताए। प्रदर्शनीमा सहभागी हुन भारतको कलकत्ताबाट आएका कलाकार सुशान्त सरकारले नेपालमा भएको कला प्रदर्शनी तथा कार्यशालाले आफूमा नयाँ उर्जा थपेको बताए। उनले कार्यशालामा माता शीर्षकमा बनाएको चित्र र समग्र नारी शक्तिलाई इंगित गर्दै शक्तिका रुपमा प्रस्तुत गरेका थिए।

सो प्रदर्शनीमा नेपालबाट कलाकार प्रमिला गिरी, कृष्ण मानन्धर, किरण मानन्धर, श्यामलाल श्रेष्ठ, नरेशसुन्दर सैंजु, जीवन राजोपाध्याय, हरि खडका, शंकरनाथ रिमाल, टेकवीर मुखिया, लोक चित्रकार, शंकरराजसिंह सुवाल, टार्जन साङपाङ, रत्नकाजी शाक्य, शान्तकुमार राई, बुद्धि गुरुङ, गोविन्द डंगोल रहेका छन्।

त्यस्तै भारतबाट मिन्टु डेका, शिखा गुप्ता, सन्ध्या पाण्डे, सुशान्त सरकार, मन्देश राजगुरु, शयामल मुखर्जी, प्रशान्त फुसेल, रचेल थोमस, सुजित दास, जुनमोनी बोरा, झरना हल्दार पाकिस्तानबाट फाकिरा फाकीरो, मोहन दास, असिर नहिम, अदनान अली, लेबनानबाट नाडा इटानी र नोहा हसन चम्सिद्दिन र श्रीलंकाबाट बिसरथ गुनश्री परेरा रहेका छन्।

कार्यशालामा तयार पारिएका चित्रलाई नेपाल कला परिषद्मा रहेको वागमती कला संग्रहालयमा राखिने न्यु आर्ट सर्कलका कोषाध्यक्ष हरि खड्काले बताए।

प्रकाशित: २९ कार्तिक २०७३ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App