घुमफिर वर्षमा रारा

शनिबार, २७ कार्तिक २०७३, १० : ४३ नागरिक

रामदेवी महर्जन

सरर बतास चल्यो। बतासले नाकै चिस्यायो। नजिकै चौरमा भेडा र घोडाका बथान चर्दै थिए। चारैतिर हरिया डाँडा। बीचमा निलो दह। घाम बिदा माग्ने तरखरमा थियो। जुम्लाबाट उकाली ओराली पार गर्दै पदयात्राको तेस्रो दिन पुगेका पदयात्री अनायासै खुशीले चिच्याए– रारा देखियो! रारा। म जंगल बीचको घोडेटोमा दगुरेँ, राराताल हेर्ने हतारमा।

अहो निलो आकाश मुनि विशाल दह। आँखाले भ्याएसम्मै देखियो ताल। कति निलो! तीन दिनसम्मको हिँडाइको थकान राराको एक झलकले बिर्साइ दियो।  अनि हामी फटाफट मिलिचौरमा हिँड्यौं। तालको पानी छुने हतारोमा। जब किनारमा पुग्यौं, सबैजना रारालाई पृष्ठभूमीमा राखेर फोटा खिच्न थाल्यौं। क्यामेरालाई भ्याई नभ्याई भयो।

मैले पनि खिचें। चिसो हावा चलेका बेला पनि ज्याकेट खोलेर खिचें। कहिले राराको चिसो पानी अँजुली भरी लिएर त कहिले हावामा उडेर। फोटो शेसनमा २० मिनेट बित्यो, फिल्मी शैलीमा।

बिस्तारै घाम डाँडा मुनि लुक्यो। फोटो खिच्ने धित मरेकै थिएन, तर बासस्थल पुग्नु थियो। हामी ताल किनारै किनार हिँड्यौं, रारा निकुञ्ज कार्यालय हातामा पुग्न। जहाँ हाम्रो क्याम्प हुँदै थियो।

'रारा कि अप्सरा', 'धर्तिकै स्वर्ग, 'ड्रिमल्याण्ड रारा' आदि शिर्षकमा लेखिएका थुप्रै लेख पढेको थिएँ पत्रपत्रिकामा। टिभीमा पनि। धेरै पहिला देखि नै मलाई रारा पुग्ने इच्छा थियो। त्यो इच्छा यही दशैं–तिहार बीचमा प्रकृतिप्रेमी समूहको पदयात्राले पुरा गरायो।

राराको सौन्दर्यमा हराउँदा मनमा अनेक प्रश्नहरु खेल्न थाले। दह त मैले जन्मथलो धापाखेल (ललितपुर)मा पनि देखेकै थिएँ। फरक यत्ति हो कि धापाखेलको नागदह सानो छ।

साँझपख किनारै किनार हिँड्दा चारैतिर आँखा डुलाएँ। घामको किरणसँग पानीको रंग फेरिँदै गयो। कहिले रातो, कहिले निलो, कहिले हरियो त कहिले सुनौलो बन्दो रहेछ ताल। रारा त सधैं कञ्चन छिन्, सफा छिन्। जब आकाशको रंग बदलिन्छ तब पानी पनि त्यस्तै देखिन्छ।

प्रकृतिको सुन्दर सृष्टि रारालाई आँखाभरि कैद गरें। साँच्चै धर्तिकै स्वर्ग रहेछ। दुई घन्टा हिँडाई पछि क्याम्प पुगियो। खुल्ला ठाउँमा टेन्ट गाडिएको राता, निला, हरिया रंगीबिरंगी थिए। हामीले पदयात्राभर क्याम्पिङ गर्‍यौं।

ललितपुरबाट जुम्लासम्म करिब ८२५ किमी मोटरमा गएर, जुम्ला सदरमुकामबाट हिँडेको तेस्रो दिन हामी राराताल पुगेका हौं। हामी ४६ जना पदयात्री थियौं। साथमा सहयोगी थिए। हाम्रो नेतृत्व समूहका संस्थापक डा. उमेश श्रेष्ठले गर्नु भएको थियो।

कर्णाली अञ्चलको मुगुमा पर्ने राराताल (२९९० मिटर) पुग्दा मनमा उत्साहको दियो जल्यो। खुशी अनि उमंगको लहरै चल्यो। 

...

कर्णालीलाई मुलुककै विकट ठाउँ भनिन्छ। भौगोलिक हिसाबले धेरै डाँडाकाँडा र खोला नाला भएको कर्णाली आफैंमा प्रकृतिको सुन्दर सृजना रहेछ। हरिया वनजंगल, चराचुरुङी, खोला नाला, सेता हिमालमात्रै होइन निलो कर्णाली नदीको सौन्दर्यको बयान शब्दमा गर्न सकिँदैन।

दुबैतिर अग्ला डाँडा, बीचमा आफ्नो बाटो आफैं बनाएर बगेकी कर्णाली। बगरमा स–सानाबस्ती अनि लहलह झुलेका धानबाली। हामीले कर्णाली राजमार्गमा यात्रा गर्दा बसबाटै देख्यौं यस्ता दृश्य। जता हेर्‍यो उतै सुन्दर। कर्णाली नदीको सौन्दर्यले त यति लोभ्यायो भने झन राराताल कस्तो होला? मनमा यस्तै कुरा खेलाउँदै बसमा उकालो चढिरहेका बेला गाडीले घ्याच्च ब्रेक लगायो।

कालिकोट सदरमुकाम मान्म बजारको व्हाइट हाउस होटलमा हाम्रा लागि खाना बनेको थियो। खाइवरीअघि बढ्यौं। 'ऊ त्यो बाटो हुँदै जानुपर्छ', बसका गुरुजीले औंल्याए। 'अहो पहरो खोपेर बनाइएको बाटो! त्यसमाथि नागबेली। त्यही सडकमा गुड्यौं हामी। नाग्म हुँदै जुम्ला पुग्दा अँध्यारो भैसकेको थियो। जुम्ला बजारको काञ्जिरोवा होटलमा हाम्रा लागि खाना पाकिसकेको थियो। होटल सञ्चालक नोर्बु लामाको समूहबाट न्यानो स्वागत पायौं।

काठमाडौंबाट बसमा हिँडेको तेस्रो दिन हामी जुम्ला पुगेका। कर्णाली राजमार्ग एक त साँगुरो छ, त्यसमाथि खाल्डाखुल्डी र ठाउँ–ठाउँमा पुल नहुँदा त्रासमा यात्रा गर्नु पर्दो रहेछ। राजमार्ग सुर्खेतदेखि जुम्लासम्म २३३ किमि छ। दैलेख हुँदै कालिकोट पुग्दा मनमा चिसो पस्ने बाटो छ। कालिकोट खण्ड पुरै बिग्रिएको छ। कतै ढुँगा खसेर तेर्सिएको छ कतै खोलामै गाडी कुदाउनु पर्छ। कति ठाउँमा त गाडीबाट ओर्लियौं। गाडी धकेल्यौं।

हामी एक–दुई दिनमै यसरी आत्तियौं भने कर्णालीबासी हरेक दिन ज्यान जोखिममा पारेर यात्रा गर्न बिबश छन्। यस्तो ठाउँको विकासमा हाम्रा नेताको ध्यान कहिले जाला?

रारा घुम्ने नेपालीको संख्या बढेकाले जुम्ला बजारका सबै होटल भरिभराउ थिए। दशैं–तिहारबीचको समय पदयात्राको मौसम। हामीले महिना दिन पहिल्यै रारा पदयात्राबारे बुझेका थियौं। बाटोमा ठूलो समूहलाई एकैपटक खुवाउन र बास मिलाउन पर्याप्त होटल नभएकाले हामीले क्याम्पिङ रोजेका थियौं।

सगरमाथा, थोराङला लगायतमा पदयात्रा गरेता पनि रारा पदयात्रा मेरा लागि यसकारणले फरक थियो कि यसपटक क्याम्पिङ भयो। टेन्टमा बस्नु पर्ने। काञ्जिरोवा होटलबाटै टेन्टको बास सुरु भयो। 

टेन्टभित्र एक छिन म अलमल्ल परें। हामीले म्याट्रेस ओच्छायौं। सिल्पिङ व्यागभित्र घुसि्रयौं। सिल्पिङ व्याग र ज्याकेट चाहिने जति न्यानो नभएकाले रातभर चिसोमा खोकी लाग्यो। निदाउनै सकिएन। बिहान ५ बजे उठेर बाहिर निस्कें। बेलुकी आइपुगेकाले जुम्ला बजार (२,७७० मिटर) कस्तो छ, देख्न पाएकै थिएनौं। बिहान देखें, स्यानो उपत्यका रहेछ। गुचुमुच्च घरहरु। नजिकै तिला नदी बगेकि। 

नोर्बु दाईले नै क्याम्पिङको सबै जिम्मेवारी लिनु भएको थियो। उहाँको छोरा पेमा र छोरी छिरिङ सहितको टोली तयार थियो। हाम्रा लागि २५ जना सहयोगी, खच्चड र घोडा तम्तयार थिए। ६ बजे हामीले पदयात्रा सुरु गर्‍यौं।

जुम्ला सदरमुकाम खलंगा बजार घुमेर अघि बढ्यौं। जीउभरि भारी बोकेर हिँडेका खच्चड अनि टाउकोमा नाम्लो लगाएर हाम्रा लागि खाजा र खाना बोकेका जुम्ली दाजूभाई। उनीहरु सामान्य शर्ट र पाइन्टकै भरमा थिए। 

उकालोमा लामबद्ध भएर हिँड्यौं। दुई घन्टा पछि चेहेरे (३०१० मिटर) पुग्यौं। त्यहाँ ठूलो चौर छ। गाइड भाई धनलालले देखाए, 'ऊ त्यही हो हामी पुग्नु पर्ने डाँडो।'

खाना खान चेहेरे चौर उपयुक्त रहेछ। हामीले तलै नास्ता गरेकाले डाँफे लेक कटेर खाना खाने योजना थियो। चेहेरे चौरबाट तल देखियो जुम्ला बजारको पुरा दृश्य। एकछिन चेहेरेमा फोटो शेसन गरेर उकालो लाग्यौं। सुन्दर ठाउँमा हिँड्दा स्वर्गमा यात्रा गरेको अनुभूति भयो। प्राकृतिक सौन्दर्यको खानी कर्णाली, जता हेरे पनि पनि आँखा रमाउँछ। मन रमाउँछ।

नाकै ठोकिने उकालो। त्यसमाथि चर्को घाम। अनि चिसो हावा। थकानले एक छिन भित्ताको ढुँगामा टुसुक्क बसेर सुस्केरा हालें। चारैतिर आँखा दौडाएँ, अद्भूत दृश्य देखियो। थकान मेटियो। यस्तै प्रकृतिको सन्दरता हेर्दै उकालो चढ्यौं। 

डाँडाका बीच बीचमा भेडाबाख्रा चरिरहेका थिए। गोठाला उत्साही नजरले हामीलाई हेर्थे। अनि जुम्ली लवजमा सोध्ये, 'रारासम्म जान लाग्या हुन्?' करिब ५ घन्टा लाग्यो हामीलाई डाँफे थाप्लो (३७४० मिटर)मा पुग्न।

त्यहाँ केहीबेर आराम गर्‍यौं। हामी दिउसोको दुई बजे खाली लेकमा पुग्यौं, जहाँ हाम्रा लागि खाना पाकेको थियो। चर्को गर्मी, पानीको कमी र खाली पेट भएकाले मलाई अलिक अफ्ठेरो पर्‍यो। अप्ठेरोमा साथ दिने सबैलाई धन्यवाद! बिशेषगरी साथीहरु भवानी खड्का, सरिता डंगोल, शंकर आचार्य र सानुकाजी डंगोललाई धन्यवाद।

हामीले खाना खाएको ठाउँ नजिक केही होटल छन्। हामी त्यहाँबाट एक घन्टा हिँडेर थारमारे(३३४० मिटर) पुग्यौं। थारमारे चिसो छ। त्यो साँझ चाँडै सुत्यौं।

बिहान कोदोको रोटी र तरकारी खाएर ७ बजेतिर फेरी हिँड्न थाल्यौं। कहिले कलिलो घाम, कहिले छिप्पिएको घाम त कहिले चिसो हावा। प्रकृतिको नियम नै त्यस्तै छ, जति उकालो चढ्यो, उति ओरालो झर्नै पर्ने। हाम्रो लन्च नेउरीगाड किनारमा भयो। त्यहाँबाट हामी बास बस्न भुलभुले (३२५०मिटर) पुग्यौं।

तेस्रो दिन हामी भुलभुलेबाट उकालो चढेर घुच्चीको लेक(३४४६ मिटर) पार गरि झ्यारी पुग्यौं। झ्यारी (२६३५ मिटर) झुरुप्प बस्ती रहेछ। त्यहाँबाट हिमाल देख्यौं। बाटोमा बिजुली देखेका थिएनौं, सबैतिर सोलारको उज्यालो थियो। झ्यारीमा खाना खाएर उकालो चढ्यौं। घरको छतछतमा बसेर कोदो बताउँदै थिए गाउँले। दुई घन्टा उकालो कटेपछि हामी पुग्यौं रारा राष्ट्रिय निकुञ्जको प्रबेशद्वार।

बिदेशीले प्रबेश शुल्क तिर्नु पर्छ। हामीले पर्दैन। त्यहाँबाट दुई घन्टा हिँडेपछि रारा पुग्यौं। रारामा पुग्दा खुशीले रमायौं। जुम्लाबाट ५२ किमी दुरीमा छ ताल। ताल किनारमा दुइटा मात्रै होटल रहेछन, डाँफे होटल र भिलेज हेरिटेज रिसोर्ट। आधा घन्टा दुुरीको माझघट्टमा पनि होटल छन्। धेरै नेपाली रारा घुम्न आएको देख्यौं। दशैंदेखि यता दिनमै दुई सयजनासम्म नेपाली आएका रहेछन्। हामी पुगेको दिन करिब ३ सय जना भयौं। 

१२ वैशाख ०७२ को भुइँचालो पछि नेपालीमा पदयात्रा गर्ने प्रबृत्ति बढेको छ। नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रबर्धन गर्न वर्ष २०७३ लाई घुमफिर वर्षका रुपमा मनाइरहेको छ। वास्तवमा पदयात्राबाट देशलाई चिन्न सकिन्छ। गाउँको रहनसहन, जनजीवन बुझ्न सकिन्छ। र, देशलाई चिनेमात्र देशका  लागि केही गर्नु पर्छ भन्ने भावना जाग्छ। त्यसैले हामीले वर्षको एक पटक मात्र भए पनि पदयात्रा गर्नु पर्छ।

पदयात्रा गर्नु भनेको मोज मज्जा गर्नु र मनपरि खाएर हिँड्नु होइन। अनुशासित रुपमा भुगोल, प्रकृति र संस्कृति हेर्दै आपसमा सहयोग गर्दै अघि बढ्नु हो। जसले आत्मियता बढाओस्, भातृत्व विकास गराओस्। त्यसैले मनपरि खाएर अबेरसम्म बस्नु हुँदैन। राती १० बजे सुत्ने र बिहान ५ बजे उठ्ने गर्नु पर्छ।

अन्ततः हामीले रारामा एक रात बितायौं। बिहान हामी ब्युँझेको केही समयपछि सूर्य पनि व्युँझियो। सुयैको सुनौला किरणले ताललाई चुम्दा तालनै सुनौलो देखियो। फेरि क्यामेराले बिश्राम पाएनन्।

आफ्नो सुन्दरताले विश्वलार्य नै आफुतिर आर्कषित गर्न सफल रारा नेपालकै ठूलो ताल हो। जुन १ सय ६७ मिटर गहिरो, ५.१ किमि लम्बाइ र ३ किमि चौडाइमा फैलेको छ। किनारको लम्बाइ १४.६ किमि छ। हिँडेर फन्को मार्न ४ घन्टा लाग्छ। सरकारले विसं २०३२ सालमा रारा निकुञ्ज बनाएको हो। त्यसको क्षेत्रफल १०६ वर्ग किमि छ।

रारातालको बिषयमा धनलाल भाइले एउटा कथा सुनाए। उनका अनुसार उहिल्यै ताल भएको ठाउँमा एक ऋषिले भिक्षा मागे। त्यहाँकि महिलाले ऋषिलाई भिक्षा नदिई घचेटिदिइन्। ऋषिको कमण्डलु खस्यो। अर्को बिहान हेर्दा त्यहाँ निलो विशाल दह देखियो।

हामी बिहान किनारै किनार घुम्यौं। सबै आ–आफ्नै धुनेमा खिच्न थाले। कोही डुँगामा चढे, कोही किनारामा घुमे। हाम्रो समूहका संस्थापक डा. उमेश श्रेष्ठले चाहिँ रारा किनारमा योगको एक घन्टे व्यायाम सेटको मुभि रेकर्ड गराउनु भयो।

बिहान छिप्पिँदै थियो, हामीले छिट्टै खाना खायौं। र, १० बजेतिर सामूहिक तस्बिर खिचेर रारालाई बाई बाई गर्‍यौं। अझै तीन दिन हिँड्नु छ, जुम्ला बजार पुग्न। सामान्यतः एउटै बाटोबाट फर्कनु पदयात्रामा राम्रो मानिँदैन। त्यसैले हामीले पनि चुच्चेमाराको लेक हुँदै फर्कियौं ।

हाम्रो घुमफिर अरुको भन्दा फरक हुन्छ। हामी स्वास्थ्यलाई केन्द्रमा राखेर यात्रा गर्छौं। स्वास्थ्यबर्धक खाना खान्छौं। स्वास्थ्यबारे छलफल गर्छौं। बाटो घाटोमा भेटिएका बटुवा, गाउँले र होटलवालाई पनि स्वास्थ्य ज्ञान बाँड्छौं। हाम्रो यात्रा मासु र मदिरा रहित हुन्छ। शुद्ध शाकाहारी रारा यात्रा गर्‍यौं हामीले।

चुच्चेमारा (३८०२ मिटर) बाट हामीले रारातालको सिंगो स्वरुप देख्यौं। फेरी एक पटक हामी रमायौं। रोटी तरकारी खाँदै फेरी रारालाई हेरिरह्यौं। हेरिरह्यौं। त्यो साँझ रोटामा बस्यौं। अर्को दिन रोटाबाट बोतामालिका हुँदै सिञ्जा भ्याली पुग्यौं। खस सभ्यताको उद्गम थलो सिञ्जा पुग्दा मन भावुक बन्यो। धेरै सम्पदा छन् सिञ्जामा कनकसुन्दरी, जाल्पादेवी, पाण्डवगुफा, बिराट राजाको दरबार, देवलहरु आदि। यस्ता सम्पदा जिर्णोदार र पुनःनिर्माण हुनै पर्छ।

सिञ्जाबाट हामी  बास बस्न छालाचौर पुग्यौं। त्यहाँबाट बिहान साँढे ६ बजे नै हामी उकालो चढ्यौं। कोणधारी रुखको फेदफेदै। बिहान १० बजे जलजला पुग्यौं। त्यहाँको चौरमा घोडा चरिरहेका थिए। ठयाक्कै ल्याण्डस्केप खप्तडको जस्तै रहेछ। तर, म खप्तड पुगेकी छैन।

जलजलाबाट ओरालो झर्‍यौं, दिउसो २ बजे जुम्ला बजारको काञ्जिरोवा होटल पुग्यौं। नुर्बु दाई कर्मयोगी रहेछन्। भरियाबाट पर्यटनमा प्रबेश गरेका उनले आज जुम्लाकै ठूलो र सुविधायुक्त होटल चलाएका छन्। तर, उनी कुनै पनि कामलाई सानो वा ठूलो भन्दैनन्। कामको सम्मान गर्छन।

समग्रमा रारा यात्राअबिश्मरणीय बन्यो। जुम्ली दाजूभाई जो हाम्रा लागि खाना बनाउन र टेन्ट गाड्न खटिएका थिए, उनीहरुको सत्कार र मेहेनत बिना यात्रा सफल हुने थिएन। हामी टेन्टभित्र पस्दा उहाँहरु खाना बनाउनु हुन्थ्यो, खोलाबाट बोकेर ल्याएको पानी तताउनु हुन्थ्यो। त्यो खाना तारे होटलको भन्दा मिठो थियो। 'तपाइँहरुलाई गारो भएको छैन' भनेर सोध्दा हाँस्दै भन्नु हुन्थ्यो, 'बरु तपाइँहरुलाई पो अप्ठेरो भयो कि!'

 जति कर्णाली नदी सफा छ त्यति नै कर्णालीबासीको मन सफा छ। यात्रालाई सहज बनाइदिने सबैलाई धन्यबाद। 

...

रारा पदयात्राभर हामीले बिजुली देखेनौं। तालबाट बगेर जाने पानी सदुपयोग गरेर बिजुली निकाल्न सके रारा क्षेत्र झलमल्ल बनाउन सकिन्छ। तर, अहिले राराको पानी खेर गइरहेकोछ। यसमा सरकारले किन ध्यान नदिएको होला?

भौगोलिक विकटता भए पनि कर्णाली सुन्दर छ। कृषिमा निर्भर कर्णाली जडिबुटिको धनी छ। जहाँ धान, स्याउ, ओखर, आलु उब्जनी हुन्छ। कर्णाली राजमार्ग सुधार गरेर गाउँलेलाई उन्नत र आधुनिक कृषि प्रणालीमा लगाउन जरुरी छ। कर्णाली राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ। त्यसका लागि कर्णालीको ब्राण्डिङ गरेर आकर्षक प्याकेज बनाउनु पर्छ। कर्णालीको सौन्दर्य बेचेरै कर्णालीबासी धनी बन्न सक्छन्।

रारामा बर्षैभरि घुम्न सकिन्छ। मंसिर–पुसमा हिउँ पर्छ, यात्रा सजिलो हुँदैन। बर्खामा ताल किनारमा रंगविरंगका फुलफुल्छन्। असोज–कात्तिक राम्रो सिजन हो। चैत–वैशाखमा गुराँसको सौन्दर्यमा झनै उज्यालो देखिन्छ ताल।

रारा घुमेर फर्केको केही दिन भैसक्यो। तर, आँखामा र मनमा रारा नै नाचिरहेको छ। मलाई लाग्यो, जीवनमा एकपटक पुग्नै पर्ने ठाउँ हो रारा। हामी त पुग्यौं, तपाइँ नि?

कसरी पुग्ने :  काठमाडौं–जुम्ला बसमा ८२५ किमि। बसमा दुई दिन। काठमाडौं–नेपालगञ्ज–जुम्ला हवाई यात्रा ३० मिनेट। जुम्लाबाट ३ दिन पदयात्रामा रारा।  नेपालगञ्जबाट मुगुको ताल्चासम्म ३५ मिनेट हवाई यात्रा। ताल्चाबाट दुई घन्टा पदयात्रामा राराताल। बाँकेको कोहलपुरबाट सुर्खेत, कालिकोट हुँदै गमगढी ३७९ किमि छ। गमगढीबाट ३ घन्टा पदयात्रामा ताल। जुम्ला–गमगढी मोटर बाटो १२८ किमि छ। 

सुझाबहरु

.सबैभन्दा पहिले जाने ठाउँको राम्रो अध्ययन गर्ने। त्यहाँको मौसम, भौगोलिक वनावट आदि बुझ्ने। र, आबश्यक्ता अनुसार कपडा बोक्ने।

.चिसो ठाउँमा जाँदा न्याना कपडा, ज्याकेट र सिल्पिङ व्याग राम्रो व्यवस्था गर्ने। गाइड वा विज्ञको सल्लाह अनुसार यात्रा गर्ने।

.निश्चित ठाउँमा खाना खाने र बास बस्ने। घाम नडुब्दै बासस्थल पुग्नु पर्छ। नत्र समस्या पर्छ।

.धेरै उचाइमा हिँड्दा लेक लाग्न सक्छ। बिस्तारै बिस्तारै हिँड्ने। उचाइमा मुख बन्द गरेर हिँड्नु पर्छ। हतार हतार हिँडेमा श्वास फुलेर समस्या हुन्छ। बेला बेलामा मनतातो पानी पिउँदै आराम गर्दै हिँडे लेक लाग्दैन।

.चिसो बतास चल्दा टाउको र घाँटी छोपेर हिँड्नु पर्छ। माकल टोपी, गलबन्दी आदि बोक्नु पर्छ। होस पुर्‍याएर हिँड्नु पर्छ।

बासस्थल

.जुम्ला बजारबाट रारा पदयात्रा गर्दा पहिलो बास थारमारे वा न्यूरीगाडमा बस्ने। होटल छन्। जुम्ला–थारमारे १६ किमि।

.दोस्रो बास भुलभुलेमा। भुलभुलेमा होटल छन्। थारमारे–भुलभुले–१६ किमि।

. तेस्रो बास राराताल मा। भुलभुले–रारा २० किमि।

.चौंथो बास रोटाचौरमा। रारा–चुच्चेमारा–रोटा १५ किमि।

.पाँचौ बास जलजलामा। रोटा–जलजला १८ किमि।

.छैठौं बास जुम्ला बजारमा। जलजला–जुम्ला २० किमि।

जन। बोली

नोर्बु लामा जुम्लीले भाई ज्याबलसँग मिलेर जुम्ला बजारमा होटल काञ्जिरोवा चलाएको ८ वर्ष यो। होटलमा ४० जना बस्न सक्छन्। उनले विगतमा भरिया र गाइड बनेर पर्यटनमा काम गरेका थिए। 'हामी टे्रकिङ प्याकेज बनाउँदै छौं', नोर्बु भन्छन्, 'एक पटक कर्णाली हेर्न आउनुस् है। सबैलाई हृदय देखि स्वागत गर्छौं।'

...

हरिगोपाल हेङग गाडी चालक हुन्। काठमाडौं–जिरी रुटमा गाडि हुइँक्याउने उनी घुमफिर यात्री लिएर देशका धेरै भूभाग पुगिसके। उनलाई अफ्ठेरो बाटोमा गाडि कुदाउने बानी परिसक्यो। पहिलोपटक जुम्लासम्म प्रकृतिप्रेमी समूहलाई लिएर गएका हरिगोपाल भन्छन्, 'कर्णाली राजगमार्ग डरलाग्दो रहेछ। बाटोमा झरेका ढुँगा माटो सडक विभागले बेलैमा पन्छाइदिए सजिलो हुन्थ्यो।'

...

धनलाल परियार गाइड हुन्। तीन बर्ष भयो उनी गाइड बनेको। उनले धरैपटक रारा पदयात्रा गरिसकेका छन्। विगतमा भारतको दिल्लीमा तीन बर्ष बस्दा उनले निकै दुःख पाएका थिए। 'विदेश गएर दुःख पाउनु भन्दा आफ्नै देशमा काम गरेर परिवारसँग बस्नु राम्रो हो' धनलाल भन्छन्, 'म पेशाप्रति सन्तुष्ट छु।'








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad