१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

लक्ष्यअनुसार बिजुली खपत दर बढेन

काठमाडौं – सरकारले लोडसेङिङ अन्त्य गरेर २४सै घन्टा बिजुली आपूर्ति गरे पनि प्रतिव्यक्ति वार्षिक विद्युत् खपत दर बढाउन सकेको छैन। यसले गर्दा मुलुकमा पछिल्लो समय बर्खामा पर्याप्त जलविद्युत् उत्पादन भए पनि सोही अनुसार खपत हुन सकिरहेको छैन।

सरकारले आर्थिक वर्ष ०७५/७६ मा प्रतिव्यक्ति विद्युत् खपत दर वार्षिक २५० किलोवाट घन्टा पु-याउने लक्ष्य राखेको थियो। गत असार मसान्तसम्ममा यो २४५ किलोवाट घन्टा पुगेको छ। सरकारले गत आर्थिक वर्षमा आफ्नो लक्ष्यभन्दा पाँच किलोवाट घन्टा कम खपत भएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार वार्षिक विद्युत खपत हुन नसकेको अब विद्युत् खेर जाने अवस्था सिर्जना हुनेछ। ‘अब विद्युतीय उपकरणमा स्थानीयको सहभागिता गराउनुको विकल्प छैन,’ मन्त्रालयको वर्षिक प्रतिवेदनमा भनिएको ‘प्राधिकरणले विद्युतीय उपकरण बढी चलाउन अनुरोध गर्न थालिसकेको छ।’

७८ प्रतिशत जनतामा पुग्यो बिजुली
नेपालमा जलविद्युत् उत्पादन सुरु भएको १०८ वर्ष नाघेको छ। फर्पिङ जलविद्युत् केन्द्रबाट विक्रम सम्बत १९६८ मा पाँच सय किलोवाट विद्युत् निकालिएको थियो। तर, अझै पनि २२ प्रतिशत नेपालीले टुकीकै सहारामा जीवन गुजारिरहेका छन्।

मन्त्रालयको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार ७८ प्रतिशत सर्वसाधारणको पहुँचमा राष्ट्रिय प्रसारण प्रणाली पुगेको छ। २२ प्रतिशत नेपालीको घरमा बिजुली पुगेको छैन। मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा थप आठ प्रतिशत सर्वसाधारणको पहुँचमा बिजुली पुगेको छ। अघिल्लो आर्थिक वर्षसम्म ७० प्रतिशत जनताको पहुँचमा विद्युत् पुगेको थियो। अहिलेको समाजमा बिजुली अनिवार्य भइसकेको छ। तर, सरकारी बेवास्ताले २२ प्रतिशतभन्दा धेरै जनता बिजुली सेवाबाट वञ्चित छन्।

सरकारले गत आर्थिक वर्षमा चार लाख ८७ हजार घरधुरीमा विद्युत् पहुँच पु-याउने लक्ष्य राखेको थियो। तर, लक्ष्य अनुसार सर्वसाधारणको घरमा बिजुली पुगेको छैन। सरकारले गत आर्थिक वर्षको असार मसान्तसम्म चार लाख २० हजार घरधुरीमा मात्रै बिजुली पहुँच पुगेको जनाएको छ।  मन्त्रालयका अनुसार नेपालमा बिजुली उपभोग गर्ने ग्राहक संख्या ४४ लाख ७० हजार छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चार लाख  २० हजार ग्राहक थपिएका छन्। अघिल्लो आर्थिक वर्षमा ४० लाख ५० हजार ग्राहक थिए।

२७६ किलोवाट सौर्य वायुऊर्जा
सरकारले गत आर्थिक वर्षमा दुई सय ७५ किलोवाट सौर्य वायु मिनी ग्रिड उत्पादन गरेको छ। सरकारले गत आर्थिक वर्षको तुलनामा ३८ प्रतिशत धेरै सौर्य वायु मिनी ग्रिड उत्पादन गरेको छ। हालसम्म ७३१ किलोवाट सौर्य वायु मिनी ग्रिडमा उत्पादन भएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ। सरकाले गत आर्थिक वर्षमा ७५ वटा संस्थागत तथा सामुदायिक बायोग्यास जडान गरेको छ। हालसम्म बायोग्यास जडान गर्नेको संख्या एक सय ८६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २८ श्रावण २०७६ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App