१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

इपिजी रिपोर्ट बुझाउने मितिको टुंगो लागेन

काठमाडौं - नेपाल र भारतका प्रबुद्ध व्यक्ति (इपिजी) समूहले संयुक्त रूपमा तयार पारेको प्रतिवेदन एक वर्षभन्दा बढी समयसम्म अलपत्र अवस्थामा छ।  भारतीय पक्षले रिपोर्ट बुझ्ने मिति टुंग्याउन नसक्दा प्रतिवेदन अलपत्र बनेको हो।  नेपाल र भारतबीच भएको सन १९५० को शान्ति तथा मैत्री सन्धि, व्यापार तथा पारवहन सन्धि, जलस्रोत तथा वातावरणलगायतका समग्र विषयमा रहेका समस्या सम्बोधन गर्न दुवै देशका प्रधानमन्त्रीको पहलमा प्रबुद्ध समूह गठन भएको थियो।  दुवै देशका विज्ञले तयार पारेको उक्त रिपोर्ट भारतीय पक्षले प्रधानमन्त्री मोदीको व्यस्तता देखाउँदै बुझ्न मानिरहेको छैन।

दुई मुलुकबीच रहेका समस्या सम्बोधनका लागि २०७२ मा गठन भएको प्रबुद्ध समूहले दुई वर्षको समय सीमाभित्र रहेर प्रतिवेदन तयार पारे पनि भारतीय पक्षले बुझ्न नमान्दा प्रतिवेदन अलपत्र जस्तै बनेको छ।  प्रबुद्ध समूहका तर्फबाट नेपाली टोलीका संयोजक डा. भेषबहादुर थापाले भारतीय पक्षको प्रतिक्रियाको पर्खाइमा रहेको बताए।  ‘प्रतिवेदन तयार भएको एक वर्षभन्दा बढी समय भइसकेको छ, हामी भारतीय पक्षको प्रतिक्रियाको पर्खाइमा छौँ,’ थापाले भने।

थापाले केही समय अघी भारती टोलीका संयोजक भगतसिंह कोसियारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै प्रतिवेदन बुझ्ने बताएपनि प्रक्रिया अझै अघी बढ्न नसकेको बताए।  ‘केही समय पहिले भारतीय टोलीका संयोजक कोरियारीले प्रतिवेदन बुझ्ने बताउनुभएको थियो तर पछिल्लो समय कुनै संवाद छैन,’ थापाले भने।

प्रबुद्ध समूहको गठन गर्ने सहमति गरेका दुवै देशका प्रधानमन्त्री अहिले पनि सत्तामा रहेकाले ढिलो छिटो प्रतिवेदन बुझ्ने थापाको विश्वास छ।  ‘भारतमा पछिल्ला राजनीतिक गतिविधिहरुका कारण प्रधानमन्त्रीले समय व्यवस्थापन गर्न नसकेर ढिलाई भएको हुनसक्छ,’ थापाले भने।  कतिपयले प्रतिवेदनलाई लिएर भारतीय पक्ष असन्तुष्ट रहेकाले प्रतिवेदन बुझ्न ढिलाई भएको बताउने गरेका छन्।  संयोजक थापा भने प्रतिवेदन सार्वजनिक नै नभएकाले असन्तुष्ट भएको भन्न नमिल्ने बताउँछन्।  उक्त प्रतिवेदन प्रबुद्ध समूहले भारतीय प्रधानमन्त्रीलाई बुझाएपछि नेपाली प्रधानमन्त्रीलाई बुझाउनेछ।  नेपाली पक्षले भने प्रतिवेदन बुझ्न कुनै समस्या नभएको बताउँदै आएको छ।

प्रबुद्ध समूहमा नेपालका तर्फबाट संयोजक थापा तथा सदस्यमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन्।  भारतीय टोलीमा संयोजक भगतसिंह कोरियारी, पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापक बिसी उप्रेति र प्राध्यापक महेन्द्र पी लामा रहेका छन्।

प्रकाशित: २८ श्रावण २०७६ ०१:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App