१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उड्डयन विद्यालयको योजना सार्वजनिक

काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमै उड्डयन विद्यालय (फ्लाइङ स्कुल) स्थापना गर्ने योजना सार्वजनिक गरेका छन्।   बुधबार मन्त्रालयमा पत्रकारसँगको भेटमा मन्त्री भट्टराईले ५० लाख रुपैयाँ तिरेर पाइलट कोर्स अध्ययन गर्न विदेश जानुपर्ने बाध्यता तोड्दै देशभित्रै पाइलट उत्पादन गर्न उक्त योजना ल्याउन लागेको बताए। 

महँगो शुल्क तिरेर पाइलट कोर्स गर्न विदेश जानुपर्ने अवस्था बन्द गर्दै विदेशमा लाग्नेभन्दा कम लागतमा स्वदेशभित्रै अध्ययनको व्यवस्था गर्न फ्लाइङ स्कुलको अवधारणा ल्याउन खोजेको उनको भनाइ छ। उक्त योजनामा सरकार र वायुसेवा कम्पनीबाट सहयोग पुग्ने उनको विश्वास छ।  वायुसेवा कम्पनीलाई पनि पाइलट चाहिने भएकाले विद्यालय योजनामा लगानी गर्न सक्ने उनको भनाइ छ।  विद्यालय स्थापनासम्बन्धी विस्तृत योजना केही दिनमा सार्वजनिक गरिने उनले जानकारी गराए।

राष्ट्रिय ध्वजाबाहकलाई अन्तर्राष्ट्रिय स्तरमा शान देखाउन सक्ने बनाउन आफूले निगमभित्र रहेको भेन्टिलेसन खोल्ने योजना रहेकोे उनले खुलाए।  विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको काम वायुसेवा निगमले नै सम्हाल्न सक्ने उनको भनाइ छ।  महँगो भाडा तिरेर आउने यात्रु चढ्नलायक बस विमानस्थलमा नभएकाले अन्तर्राष्ट्रिय स्तरकै सुविधायुक्त नयाँ बस किन्न अनुमति दिइसकेको मन्त्री भट्टराईको भनाइ छ।

निगममाथि लागेको प्रतिबन्ध हटाएर युरोपको आकाशमा राष्ट्रिय ध्वजाबाहक उड्ने वातावरण बनाउन सरकार लागिपरेको उनले बताए।  आन्तरिक उडानका लागि निगमका सबै जहाज पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय उडानको गन्तव्य विस्तार गर्दै निकट भविष्यमै चीन, दक्षिण कोरियालगायत गन्तव्यमा सेवा सुरु गर्ने उनको भनाइ रहेको छ।

देशको अर्थतन्त्रमा ७.५ प्रतिशत योगदान पर्यटन क्षेत्रको रहेको बेला उक्त प्रतिशत बढाउन आफूले भूमिका खेल्ने उनले प्रस्ट पारेका छन्।  नेपालमा पर्यटनसम्बन्धी अध्ययन गर्ने प्रतिष्ठान बनाउने मन्त्रालयको योजनामा अन्य मन्त्रालयले पनि चासो देखाएको उनको भनाइ छ। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सगरमाथामा भएको ट्राफिक जामबारे गलत सूचना गएको उनले बताए।  केही दिन पहिलेदेखि मौसम अनुकूल नहुँदा रोकिएका आरोही मौसममा आएको सुधारसँगै केही चाप भने देखिएको उनको भनाइ छ।  ‘मौसम हाम्रो बसमा छैन।  मौसम खराब हुँदा पनि आरोहीलाई चढ्नैपर्छ पनि भन्न मिलेन।  त्यो बढी खतरानाक बन्थ्यो,’ उनले भने, ‘सरगमाथामा मृत्युको कारण लेक लाग्ने र कमजोरी रहेको मेडिकल रिपोर्टले देखाइसकेको छ। ’
मन्त्री भट्टराइले कतव्र्य पालना नगरी कामबाट फर्कने लियाजो अधिकृतको सम्पूर्ण विवरण मन्त्रालयमा पेस गर्न पर्यटन विभागलाई निर्देशन दिएको बताए।  लियाजोको रुपमा खटिएका तर कार्यक्षेत्रमा नपुगी बाटोबाटै फर्किएकाले चिकित्सकीय रुपमा अस्वस्थताको प्रमाण देखाउन नसके पुनः हिमालको मुख देख्न नसक्ने बताए। 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा चर्चा अनुरुप काम नभएको भन्दै उनले निर्माणको कामले तिव्रता पाउने बताए।  विमानस्थल निर्माणको लागि केन्द्रीय स्तरका शिर्ष नेतादेखि प्रदेश सरकार, स्थानीय सरकार लगायतसँग छलफल गरी कसरी र कुन मोडलमा जाने भनेर छिट्टै टुंगो लगाउने भट्टराईको भनाइ छ। त्यस्तै, उक्त क्षेत्रमा पर्ने रुख कटानका विषयमा समेत हालसम्म कुनै आधिकारिक तथ्यांक नआएकाले जति बजारमा हल्ला चलेको छ त्योभन्दा कम रुख कटान गरी विमानस्थल निर्माण सम्पन्न गर्ने जानकारी गराए।

राष्ट्रिय गौरवकै रुपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ७३ प्रतिशत सम्पन्न भएको पनि मन्त्री भट्टराईले जानकारी गराए।  उक्त विमानस्थललाई आउने डिसेम्बर अन्तिमसम्म सञ्चालनमा ल्याउने गरी निमार्ण कार्यमा जोड दिने उनको भनाइ छ।

प्रकाशित: २३ श्रावण २०७६ ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App