१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘क्यान्सर भनेको मेन्टल्ली डेथ होइन’

काठमाडौं – अभिनेत्री मनिषा कोइराला क्यान्सरमुक्त भएर स्वस्थ जीवन बाँचिरहेको सात वर्ष भयो। यो अवधिमा उनले आफूलाई सृजनात्मक काम गर्न प्रोत्साहन गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेकी छिन्। ‘क्यान्सरमुक्त भएर राम्रो स्वास्थ्य अवस्थामा रहेको सात वर्ष भयो। मेरो सृजनात्मक भोकको सन्तुष्टीको लागि काम गरिरहेको छु। त्यसैले समाजमा फर्किनु भनेको स्नेह हो न केवल कर्तव्यमात्र हो। तर, शुद्ध प्रेम हो। यसका लागि म कृतज्ञ छु,’ अभिनेत्री मनिषा कोइरालाले फोटोसहितको ट्वीटमा उल्लेख गरेकी छिन्।

यसअघि उनले क्यान्सरलाई जितेको अनुभव सँगालेर सार्वजनिक गरेको आत्मकथा ‘हिल्ड’ मा मृत्युनजिक पुग्दा जीवनको महत्व बुझ्ने कुरालाई प्राथमिकताका साथ लेखेकी थिइन्। नेपालीमा समेत अनुवाद भएको ‘हिल्ड’ मा बाँच्नका लागि गरिएको साहस र संघर्षको कथा समेटिएको छ।

केही समय राजधानीमा आयोजित एक कार्यक्रममा उनले क्यान्सर जीवनको महत्व बुझ्ने अवसर भएको बताएकी थिइन्। ‘झन्डै ३० वर्ष लामो फिल्मी करियरमा सबै खालका फिल्म खेलें,’ क्यान्सर लागेको थाहा पाइएपछि जीवनमा आशावादी हुन सिकेको बताउँदै उनले भनेकी थिइन्, ‘मैले कसरी क्यान्सरलाई जितें भन्ने कुरा सबैले थाहा पाउनुपर्छ।’

बलिउड फिल्म करियरको सफलताको शिखरमा पुगेर एक्कासि फ्लप हुँदा त्यसले स्वास्थ्यमा प्रत्यक्ष असर गरेको अनुभव बारम्बार उनले सुनाइरहेकी छिन्। ‘क्यान्सर भनेको मेन्टल्ली डेथ भन्ने बुझाइ थियो। क्यान्सर लाग्दैमा मृत्यु हुन्न भन्ने कुरा बुझ्न मलाई धेरै समय लाग्यो,’ आफ्नो अनुभव सुनाउँदै उनले भनेकी थिइन्, ‘मानसिक र शारीरिक रूपमा थकाएको क्यान्सरलाई आत्मबलसहितको उपचारले जितेर नयाँ जीवन सुरुआत गर्दा अझ उत्साहले भरिने रहेछ।’ उनी सबैलाई आशावादी भएर हरेकपटक सफलतातिर लाग्न प्रेरित गर्छिन्।

सन् १९९१ मा सुभाष घईको ‘सौदागर’ फिल्मबाट बलिउड फिल्ममा प्रवेश गरेकी अभिनेत्री कोइरालालाई सन् २०१२ मा पाठेघर क्यान्सर लागेको थियो। हाल उनी नेटफ्लिक्सको वेव सिरिज ‘बम्बई बेगम्स्’ मा देखिने तयारीमा छिन्।

 

प्रकाशित: १० श्रावण २०७६ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App