१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सीमामा एसएसबीको अवरोध, 'कतै घर भत्काउँदै, कतै सडक थुन्दै'

इलामको सूर्याेदय नगरपालिका–२, चारमाइलको भारतीय सीमा क्षेत्रमा रहेको सडकमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले खाडल खनेर अवरोध गरेपछि सोमबार भेला भएका सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र एसएसबी।

इलाम - भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पूर्वी सीमा क्षेत्रका नेपालीमाथि अनावश्यक दुःख दिएको छ। सीमा क्षेत्रको नेपाली भूमिमा सडक, घर, चर्पी बनाउन अवरोध गरिरहेको एसएसबीले सूर्याेदय नगरपालिका–२ चारमाइलको कच्ची सडकसमेत बन्द गराउने प्रयास गरेको छ।

नेपाल भएर भारततिर छिर्ने वर्षाैं पुरानो कच्ची सडकमा खाडल खनेर एसएसबीले आउजाउ अवरोध गरेको हो। विशेषगरी नेपालतर्फको तरकारी भारतमा बेच्न बन्द गराउने ध्येयले सडकको दसगजामा खाडल खनेर अवरुद्ध गरिएको पशुपतिनगरस्थित सशस्त्र प्रहरीले जनाएको छ। ‘वर्षाैं पुरानो कच्ची सडक बन्द गराउने प्रयासमा एसएसबीले बीच सडकमा खाडल बनाइदिएको रहेछ,’ सशस्त्र प्रहरीका इन्स्पेक्टर शशांकजंग कार्कीले भने, ‘सडक दुवैतर्फ भए पनि दसगजा जहाँ पर्छ, त्यहीं खाडल गनेर बाटो बन्द गराइएको रहेछ।’ एसएसबीका जवानले ‘माथिको आदेश’ भन्दै सडक अवरुद्ध गरेको उनले बताए।

पशुपतिनगरमा भन्सार कार्यालय रहे पनि पूरा कारोबार गर्नेगरी खुलेको छैन। भारतपट्टि पनि कस्टम अफिस नहुँदा पशुपतिनगरबाट अवैधरुपमा सामान आयातनिर्यात भइरहेको हुन्छ। तर नेपालमा उत्पादित ठूलो परिमाणको तरकारी पशुपतिनगरबाट भारत जान्छ। ‘एउटा चारपाङ्ग्रे सवारीले एकपटकमा १ सय १३ रुपैयाँको रसिद काटेपछि उसले बोकेको तरकारी वैध हुन्छ तर एसएसबीले चाहिँ भारत छिराउन दिएको छैन,’ कार्कीले भने, ‘वर्षाैंदेखि यही क्रमले चलिरहेको तरकारी निर्यात अवरोध गर्न र हिँडडुलमा बाधा गर्न सडक अवरोध गरिएको बुझिन्छ।’

इलामको पूर्वी साढे ५२ किलोमिटर भूभाग भारतसँग जोडिएको छ। सीमास्तम्भ नभएको, भए पनि लामो दूरीमा मात्र भएकाले सीमा नै कहाँ हो भन्ने पत्ता लगाउन समस्या छ।

केही महिनाअघि एसएसबीले सन्दकपुर गाउँपालिका–५ जमुनाको गैरीबास–कालपोखरी ट्रेकिङ रुट निर्माणको काम रोक्यो। सुरुमा नापजाँचमा नबोलेको एसएसबी जब काम सुरु भयो, तब कामै गर्न नदिनेगरी प्रस्तुत भयो। ‘त्यो ट्रेकिङ रुट नेपालकै भूमिमा पर्छ तर जब काम थालियो, एसएसबीका जवानले अवरोध गरे,’ ट्रेकिङ रुट निर्माण तथा उपभोक्ता समिति अध्यक्ष उमेश गुरुङले भने, ‘धम्क्याउने, बन्दुक देखाउने र काम नरोके जे पनि हुनसक्ने धम्की दिए।’ लामो समयको संघर्षपछि ट्रेकिङ रुटको काम भने सकिएको उनले बताए।

एसएसबीले केही समयअघि दसगजानजिकै निर्माण भएको माइजोगमाई गाउँपालिका–२, मेघमाका प्रदीप तामाङको घर भत्काइदियो। सीमाक्षेत्र तुम्लिङमा निर्माण भएको साइराम लज पनि भत्काउन भन्यो। कालपोखरीमा सांगे शेर्पाले निर्माण गरेका दुई चर्पी भत्काउन एसएसबीले पटकपटक प्रयास ग¥यो। सन्दकपुर गाउँपालिका–५ का दावा शेर्पा, रिन्जी शेर्पा, डोमा शेर्पा र टासी शेर्पाको घर पनि दशगजामै परेको भन्दै एसएसबीले भत्काउन ताकेता गरिरहेको पीडित बताउँछन्।

इलामको पूर्वी साढे ५२ किलोमिटर भूभाग भारतसँग जोडिएको छ। सीमास्तम्भ नभएको, भए पनि लामो दूरीमा मात्र भएकाले सीमा नै कहाँ हो भन्ने पत्ता लगाउन समस्या छ। भारतले सीमा हेर्न ३–३ किलोमिटरमा एसएसबीको क्याम्प राखे पनि नेपालतर्फ प्रहरीको उपस्थिति अत्यन्त पातलो छ। इन्स्पेक्टर कार्कीले पूर्वको सीमावस्था गन्जागोल रहेको बताए। ‘सीमास्तम्भ नहुँदा कता नेपाल, कता भारत भन्ने नै थाहा छैन,’ उनले भने, ‘आँखाले हेरेको र बुझाबुझको भरमा सीमा चलिरहेको छ।’ कतिपय स्थानमा ४ किलोमिटरको दूरीमा मात्रै सीमास्तम्भ रहेकाले सीमा छुट्याउन समस्या रहेको उनले सुनाए।

अन्तर्राष्ट्रिय मान्यताअनुसार दुई देशबीचको दशगजामा कुनै संरचना बनाउन पाइँदैन। तर एसएसबीले पछिल्लो समय सीमावर्ती सन्दकपुर र माइजोगमाई गाउँपालिका तथा सूर्याेदय नगरपालिकाका बासिन्दालाई नेपालभित्रै बनेका संरचनासमेत भत्काउन उर्दी गरिरहेको स्थानीयको गुनासो छ। ‘एसएसबीले केही समयदेखि सीमावर्ती क्षेत्रका नेपालीलाई दुःख दिएको छ,’ माइजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले भने, ‘एसएसबीले नेपाली भूमिमा छिरेर खेतीपाती गरेको समेत पाइयो।’

सीमावर्ती क्षेत्रको दसगजा मिच्नेक्रम पछिल्लो समय नेपाल–भारत दुवैतिरबाट बढिरहेको छ। स्थानीयका अनुसार दसगजा छेउछाउ दुवैतर्फ होटल–रेस्टुराँसमेत बन्दैछन्। ‘नेपालपट्टि बनेका कतिपय यस्ता संरचनामा भारतीय नागरिकको समेत लगानी छ,’ सीमाक्षेत्र मेघमाका बासिन्दा भन्छन्, ‘तर एसएसबी चाहिँ दसगजाको नाममा नेपाली भूमिमा नेपालीलाई नै अवरोध गर्दैछ।’ इन्स्पेक्टर कार्की पूर्वी सीमा क्षेत्रका विभिन्न स्थानमा विवाद भएको र यही क्रम जारी रहे सीमामा द्वन्द्व बढेर जाने बताउँछन्।

भारतसँगको पूर्वी सीमामा भौतिक संरचना बनाउनेदेखि एसएसबीको दुव्र्यवहार हुने घटना नयाँ भने होइन। पटकपटक भारतीय सीमा क्षेत्रमा समस्या बल्झिने गरेको छ। सीमा समस्या समाधानका लागि नेपाल र भारतका अधिकारीबीच दर्जनौं पटक बैठक र छलफलसमेत भएका छन्। पशुपतिनगरमा सशस्त्र प्रहरीको बेसक्याम्प बसेयता नै सीमा समस्या समाधानका लागि नेपाल–भारतका अधिकारीबीच २० वटा बैठक बसिसकेको इलामस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर नम्बर १ का एसपी विदुर खड्काले बताए।

भूमिसुधार तथा व्यवस्थापन विभागले केही वर्षअघि गरेको अध्ययनमा पूर्वको मानेभन्ज्याङदेखि जिर्मलेसम्म ४५ सीमास्तम्भ गायब भएको पाएको थियो। २०७० साल असारमा विभाग र भारतको दार्जलिङस्थित समकक्षी निकायको संयुक्त टोलीले गरेको अनुगमनमा जिर्मलेका ८०, ८१ र ८२ नम्बरका ३ ठूला सीमास्तम्भ (जङ्गे पिलर), १० सब्सी हाइरी पिलर (एसपी) र २९ माइनर पिलर (एमपी) गायब पाइएका थिए। हराएका सीमास्तम्भको संकेतका लागि राखिएका ३ रिफ्लेक्ट पिलर (आरपी) पनि पत्ता लागेका थिएनन्। यो क्षेत्रमा तीनै प्रकारका १ सय ७ सीमास्तम्भ हुनुपर्ने विभागले जनाएको थियो। तथ्यांकमा ५ ठूला सीमास्तम्भ, ४३ एसपी र ४५ एमपी हुनुपर्नेमा भएका सीमास्तम्भ पनि मर्मत गर्नुपर्ने अवस्थामा पाइएका थिए।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आउँदो कात्तिकदेखि विभागले इलामको पूर्वी सीमा नापजाँच गर्ने बताए। ‘पोहोर झापासम्मको नापजाँच सकिएको छ, यो वर्ष इलामसँग जोडिएको भारतीय सीमाक्षेत्र नापजाँच गरिँदैछ,’ उनले भने, ‘सीमा नापजाँचपछि अहिले देखिएका समस्या समाधानमा सहयोग पुग्छ।’

प्रकाशित: ७ श्रावण २०७६ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App