१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति मुखर्जी जनकपुर र पोखरा जाँदै आजै भारत फर्कने

काठमाडौं-भारतीय राष्ट्रपति प्रणव मुखर्जी टोलीलाई आज जनकपुर र पोखरा जाँदै छन्। उनी निजी वायुसेवा कम्पनी बुद्ध एयरको जहाजबाट बिहान १०:२० बजे जनकपुर प्रस्थान गर्ने छन्। भने जनकपुरबाट १ बजे पोखराको लागि प्रस्थान गर्नेछन्।

मुखर्जी जानकी मन्दिरमा पूजा गरेर तिरहुतिया गाछीमा नागरिक अभिनन्दनमा सहभागी हुने छन्। त्यस पछि पोखरा जाने मुखर्जी रामबजार स्थीत भारतीय गोर्खा पेन्सन क्याम्पमा आयोजिक कार्यक्रममा सहभागि हुने छन्।

बुद्धले दुई जहाज शुक्रबार बिहान ८ बजे सुरक्षा अधिकारीलाई जिम्मा दिनेछ। त्यसपछि जहाजको सबै सुरक्षा जाँच गरिनेछ र चालकदलको पनि सुरक्षा जाँच गरेपछि मात्र उनीहरूलाई ककपिटमा जान दिइनेछ। त्यसपछि बल्ल भारतीय पाहुना जहाजमा सवार हुनेछन्।

राष्ट्रपति मुखर्जीको टोलीलाई शुक्रबार बिहान जनकपुर उड्नासाथ मनोरम हिमशृंखला अवलोकन (माउन्टेन फ्लाइट) पनि गराउने कार्यक्रम रहेको छ।

मुखर्जीको ६० सदस्यीय टोलीका लागि ४७ सिट क्षमतायुक्त ‘एटिआर–४२’ सिरिजका दुई थान जहाज तयारी अवस्थामा राखिएका छन्। दुई जहाजका ९४ सिटमा भारतीय पक्षका ६० र बाँकीमा पर्यटनमन्त्री जीवनबहादुर शाही, उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका अधिकारीलगायत हुनेछन्।

 

मुखर्जी टोलीको भ्रमण क्रममा आन्तरिक यातायात व्यवस्थापनको जिम्मा पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध एयरलाई पत्राचार गरी कात्तिक १९ गते (शुक्रबार) का लागि दुइटा जहाज उपलब्ध गराइदिन आग्रह गरेपछि बुद्धले ३० लाख भाडामा जहाज व्यवस्था गरेको हो।  

‘हामीले भारतीय राष्ट्रपति मुखर्जीको आन्तरिक उडान सबै निःशुल्क गर्ने भनेका थियौं तर पर्यटन मन्त्रालयले निःशुल्क पर्दैन, भाडादर तोक्न भनेपछि दुइटा जहाजको चार्टर्ड भाडा २८ हजार अमेरिकी डलर (२९ लाख ९६ हजार रुपैयाँ) तोक्यौं,’ बुद्धका एक अधिकारीले नागरिकसँग भने, ‘यो भनेको १५ प्रतिशत छुटको भाडा हो । खासमा ३३ हजार डलर (३५ लाख ३१ हजार रुपैयाँ) लाग्छ।’

बुद्धले जहाज उडान अवधिको प्रतिघन्टा ५ हजार डलर (५ लाख ३५ हजार रुपैयाँ) तथा अवतरणपछि कुर्ने (स्ट्यान्ड बाई) समयको प्रतिघन्टा १ हजार ५ सय डलर (१ लाख ६० हजार ५ सय रुपैयाँ) भाडा तोकेको छ।

कसले उडाउँछन् मुखर्जी चढेको चहाज

एउटा जहाजलाई बुद्धका उडान सुरक्षा विभागका निर्देशक तथा प्रशिक्षक पाइलट रञ्जन शर्मा र एटिआर चिफ पाइलट सुनिल गुरुङले उडाउनेछन् भने अर्को जहाज प्रशिक्षक पाइलटहरू एजी शेर्पा र मनोज केसीले उडाउनेछन् । अतिविशिष्ट उडान भएका कारण बुद्धले को–पाइलटलाई उडानमा नराखी चारै जना क्याप्टेनलाई जहाज कमान्डमा खटाएको हो।

भारतीय टोलीका लागि तीन जहाज (दुइटा उडान र एउटा स्ट्यान्ड बाई) प्रयोग हुने भएपछि शुक्रबारको नियमित पोखरा उडान सबै स्थगित गरेको छ । तीन थान एटिआर–४२ जहाजले सामान्य दिनमा पोखराका लागि दैनिक सात, भरतपुर ६, जनकपुर दुई र विराटनगरका लागि दैनिक एक उडान गर्थे।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौंबाट जनकपुर उडान अवधि आधा घन्टाको हुनेछ । त्यसपछि जनकपुरमा दुई घन्टा बिताएर भारतीय टोली त्यहाँबाट सिधै करिब १ बजे पोखरा उड्नेछ । जनकपुरबाट पोखराको उडान अवधि एक घन्टा हुनेछ । पोखरा भ्रमणपछि उक्त टोली दिउँसो ४ बजे काठमाडौंका लागि उड्नेछ । त्रिभुवन विमानस्थलमा साढे ४ बजे ओर्लिनेछ।

‘काठमाडौंस्थित भारतीय दूतावास र दिल्लीबाट आएको सुरक्षा अधिकारीको टोलीले मुखर्जीको आन्तरिक उडानका लागि १० दिनअघि नै बुद्ध एयरको जहाज छनोट गरेको थियो,’ सम्बद्ध स्रोतले भन्यो ।

स्रोतका अनुसार जनकपुर र पोखरा जान सुरुमा नेपाली सेनाको जहाज र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज प्रयोग गर्ने भनिएको थियो। तर, सेनासँग अतिविशिष्ट उडानका लागि जहाज नभएको र निगमको चिनियाँ जहाज वा अन्य साना जहाजको ‘भर’ नभएपछि निजी क्षेत्रको विश्वसनीय वायुसेवा बुद्ध एयरको जहाज प्रयोग गर्ने निर्णय भएको थियो।

राष्ट्रपति मुखर्जी पोखराबाट फर्केर दिउँसो साढे ४ बजे काठमाडौं ओर्लिएपछि साँझ ५ बजे भारतीय हवाई सेनाको ‘बि७३७’ सिरिजको जहाजबाट भारत फर्कने छन् । यो जहाजमा मुखर्जी र उनको टोली गत बुधबार काठमाडौं आएको थियो । जहाज तीन दिनदेखि त्रिभुवन विमानस्थलमै रहेको छ । यो जहाजको ल्यान्डिङ, पार्किङ, नेभिगेसनल लगायत अन्य शुल्क सबै निःशुल्क गरिएको विमानस्थलले जनाएको छ।

प्रकाशित: १९ कार्तिक २०७३ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App