१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मृत्यु हुने २५ पुगे, चार अझै बेपत्ता

जनकपुर– प्रदेश २ का बाढी र डुबान प्रभावित ६ जिल्लामा मृत्यु हुनेको संख्या २५ पुगेको छ। बेपत्ताहरूको शव भेटिएसँगै मृत्यु हुनेको संख्या बढ्दै गएको हो। मृतकको संख्या रौतहटमा ९, धनुषा, सिरहा र महोत्तरीमा चार/चार, बारा र पर्सामा दुई/दुई रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रौतहटमा दुई, धनुषा र महोत्तरीमा एकजना गरी चारजना अझै बेपत्ता छन्। बाढी र डुबानबाट प्रभावित भए पनि सप्तरी र सर्लाहीमा अहिलेसम्म मृत्यु र बेपत्ताको खबर आएको छैन।

रौतहटमा नौजनाको मृत्यु, दुई बेपत्ता

डुबानमा परेको गौर नगरपालिकासहित आसपासका दर्जनभन्दा बढी गाउँमा पानीको सतह घटेसँगै एकजनाको शव फेला परेको छ। शनिबारदेखि बेपत्ता राजपुर नगरपालिका–१ का २५ वर्षीय साहको शव सोमबार बिहान सशस्त्र बेसक्याम्प गौरनजिकै भेटिएको हो। बाढीका कारण सकछेउमा जमेको पानीमा डुबेर शनिबार तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढीमाई नगरपालिका–१ का वीरेन्द्र रामका १० वर्षीय छोरा रवि र रामबाबु रामको नौ वर्षीय छोरा सरेस तथा राजदेवी नगरपालिका–८ सरोज राय यादवका दुई वर्षीय छोरा सिद्धान्त रहेको प्रहरीले जनाएको छ।

पानीमा डुबेका तीनै बालकलाई स्थानीयले उद्धार गरेर जिल्ला अस्पताल गौरमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए। योसँगै रौतहतमा मृत्यु हुनेको संख्या नौ पुगेको छ। दुईजना अझै बेपत्ता रहेको बताइएको छ। यसअघि यमुनामाई गाउँपालिकाकी गायत्री देवी, ईशनाथ नगरपालिका हरेन्द्र राय, दुर्गा भगवती गाउँपालिकाका वीरेन्द्र झा, गौर नगरपालिकाका शिवमंगल राउत र उमेश राउतको शव फेला परेका थियो। अझै बेपत्ता हुनेमा गढीमाईकी आनन्दी देवी र ईशनाथका रामपुकार छन्।

भारतीय पक्षले दसगजामा बनाएको बाँधको दुई साइफल (ढोका) खोलेपछि पानीको सहत घटेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीनकुमार कार्कीले बताए। उनका अनुसार ९० प्रतिशत पानी घटेको छ। लालबकैया र बागमतीको बाँध भत्केपछि गौरनगरपालिकासहित दर्जन बढी गाउँमा बाढी पसेको थियो।

निरन्तरको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा पसेपछि करिब ३० हजार बढी घरमा क्षति पु¥याएको छ। बाढीबाट विस्थापित सबैलाई सामुदायिक भवन, विद्यालयलगायत सुरक्षित स्थानमा राखिएको छ।

धनुषामा चारजनाको मृत्यु र एक बेपत्ता
जिल्लाका विभिन्न स्थानीय तहका नदी क्षेत्रमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ भने एकजना अझै बेपत्ता छन्।

प्रहरीका अनुसार मुखियापट्टी मुसरनिया गाउँपालिका निवासी ५५ वर्षीय सीयाराम यादव, एक भारतीय नागरिक र अन्य सनाखत हुन नसकेका दुई गरी धनुषामा मृत्यु हुनेको संख्या चार पुगेको हो। जनकनन्दनी गाउँपालिका–१ इनर्वामा फेला परेको शव भारत, बिहारको मधुवनी जिल्ला जयनगर ग्रामवासी ३५ वर्षीय छेदी गुप्ताको भएको प्रहरीले जनाएको छ। धनुषास्थित गणेशमान चारनाथ नगरपालिका–४, चारनाथ खोला किनारमा फेला परेको अन्दाजी ५५ वर्षीय पुरुष र सोही नगरपालिका–६ कमला नदीकिनारमा फेला परेको अन्दाजी १८ वर्षीय युवकको शव सनाखत हुन नसकेको प्रहरीको भनाइ छ। सिरहाको कर्जनहा नगरपालिका–१ घर भई धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ चिसापानीमा छाप्रो बनाइ बस्दै आएका भोला साह बेपत्ता छन्।

कमला नदी, चारनाथ, जलाद खोलालगायत खहरे र खोलाहरूमा आएको बाढी तथा डुबानका कारण धनुषाका ३ सय २३ जना विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकअनुसार जिल्लाका विभिन्न स्थानान ३ हजार १ सय ७७ घर डुबानमा परेका छन्। तीमध्ये सबैभन्दा बढी कमला नदी किनारका बस्ती छन्। डुबानमा परेका २३ घर पूर्ण रूपमा र १४ वटा घरमा आंशिक क्षति पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

जिल्ला दैवी प्रकोप व्यवस्थापन समिति धनुषाका संयोजकसमेत रहेका प्रजिअ प्रदीपराज कणेलका अनुसार वर्षा रोकिएसँगै जिल्लाका विभिन्न स्थानीय तहका गरी ७ सय ४ परिवारका २ हजार ४ सय ३२ जनालाई राहत वितरण गरिएको छ।

महोत्तरीमा चारजनाको मृत्यु, एक बेपत्ता

बाढी र डुबानका कारण जिल्लामा तीन बालकसहित चारजनाको मृत्यु भएको छ। एक बालक अझै बेपत्ता छन्। सोमबार बाढीले बगाउँदासोनमा गाउँपालिका–१ का पाँच वर्षीय बालक इन्ताफ नदाफ र ६ वर्षीय अजरुद्दिन नदाफको मृत्यु भएको हो। बाढीसँगै कल्भर्टमा बढेको पानीमा खस्दा ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

जलेश्वर नगरपालिका–८ का मनोज ठाकुरका आइतबारको बाढीमा बेपत्ता १२ वर्षीय छोरा प्रशान्त ठाकुरको शव सोमबार फेला परेको छ। उनीसँगै बेपत्ता १३ वर्षीय युवराज ठाकुर भने अझै फेल पर्न नसकेको प्रहरीको भनाइ छ। यसअघि रातुखोलामा आएको बाढीमा तीन दिनदेखि बेपत्ता बलवा नगरपालिका–२ का ७५ वर्षीय हनिफ बैठाको शव आइतबार बिहान महोत्तरी गाउँपालिका–३ डाम्ही मडैस्थित सोही खोलाको किनारमा फेला परेको महोत्तरी प्रहरीले जनाएको छ। पोस्टमार्टमपछि सबैको शव परिवारलाई जिम्मा लगाइने प्रहरीको भनाइ छ। यता बेपता बालक युवराजको खोजी जारी रहेको जनाइएको छ।

यसैबीच बाढीको पानीमा बगेर आएको सर्पले डस्दा बलवा–१० लेउरीका शत्रुधन राउतका छोरा राधे राउतको अवस्था गम्भीर बनेको छ। उनको स्थानीय स्तरमै उपचार भइरहेको परिवारले जनाएको छ। चारैतिरको सडक कटानले उपचारलाई अन्यत्र लग्ने अवस्था नरहेपछि बाहिर लग्ने व्यवस्था मिलाइदिन सुरक्षा निकायलाई आग्रह गरेको र प्रयास रहेको जनाइएको छ। यसैगरी, करेन्ट लागेर औरही नगरपालिका–२ का झगरु सदाका सात वर्षीय छोरा चुनचुन सदा घाइते भएका छन्। घाइतेको दायाँ हातमा गहिरो घाउ लागेको छ। घाइते सदाको अहिले स्थानीय क्लिनिकमा उपचार भइरहेको औरही प्रहरी चौकीले जनाएको छ।

सिरहामा चारजनाको मृत्यु

पानीको सतह घट्दै गएपछि सिरहामा चार जनाको शव फेला परेको छ। मृतकहरू मिर्चैया नगरपालिका–४ की ११ वर्षीया रागिनी महतो, सोही ठाउँकी पाँच वर्षीया प्रियंका महतो, सिरहा नगरपालिका–१६ मा पहिचान नखुलेकी एक महिलाको शव फेला परेको हो। नरहा गाउँपालिका–३ मा ५५ वर्षीय शोभित कटुवालको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

 

प्रकाशित: ३१ असार २०७६ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App