१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लोकसेवाको विज्ञापनमा तेस्रोलिंगीलाई समावेश गर्न माग

काठमाडाैं– सरकारले खुला गर्ने लोकसेवाको विज्ञापनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेश गर्न माग गरिएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार निलहिरा समाजले आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समसामयिक अन्तरक्रिया तथा छलफल’मा समाजबाट अपहेलित भएको तेस्रोलिङ्गी समुदायलाई लोकसेवाको विज्ञापनमा समावेश गर्नुपर्ने बताइएको हो।

कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको महत्वपूर्ण भूमिका रहेको बताए। 'यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समस्या समाधानका लागि नेपाल प्रहरी तत्पर छ,' उनले भने। नेपाल प्रहरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समुदाय–प्रहरी साझेदारीमा समावेश गरेको उनको भनाइ थियो।

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख, प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले कानुनको पालना गरेर अगाडि बढे प्रहरीले सहयोग गर्ने विश्वास व्यक्त गरे। 'संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारलाई ‘ग्यारेन्टी’ गरेकोले सम्मानित भएर बाँच्नका लागि बाटोमा होइन, नयाँ जागिरको खोजी गर्नुपर्छ,' उनले भने।

टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले खुलारूपमा यौन व्यवसाय सञ्चालन गर्न कानुनले नदिएको भन्दै व्यापार व्यवसाय गरेर अगाडि बढ्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सुझाव दिए। खुर्सानीटार टोल सुधार समितिका उपाध्यक्ष हरिश चन्दले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राज्यले हेर्नुपर्ने बताए।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका तर्फबाट जिया केसी, अस्मिता श्रेष्ठ, अनिशा सुवेदी, सुनिता लामालगायतले आफ्नो समुदाय प्रहरी र समाजबाट अपहेलित हुनुपरेको बताउँदै आफूहरु सम्मानित भएर बाँच्न चाहेको बताएका थिए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हक र हितका लागि काम गर्दै आएको निलहिरा समाजले देशभरका २७ जिल्लामा शाखा विस्तार गरेर काम गरिरहेको समाजका अध्यक्ष पिङ्की गुरुङले जानकारी दिइन्। रासस

प्रकाशित: २९ असार २०७६ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App