१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

दुम्सीको आतंकले गाउँबाटै विस्थापित

म्याग्दी– जंगली जनावरको आतंकले भकिम्ली– ९ लरेनीका किसान विस्थापित हुन पुगेका छन् । दस नंग्रा खियाएर उब्जाएको अन्नबाली जंगली जनावरले नष्ट गर्न थालेपछि उनीहरु विस्थापित हुन पुगेका हुन् ।

‘वर्षभरि दुःख ग¥यो, खेतबारीमा हुने ८० प्रतिशतजति उब्जनी दुम्सी, बाँदरले नष्ट गरिदिन्छ,’ लरेनीका सूर्य किसान भन्छन्, ‘रातमा लौरो, टर्चलाइट, आगोलगायत घरेलु हतियार लिएर खेतबारीको रखबारी पनि ग¥यौं तर दुम्सी, बाँदरलाई नियन्त्रण गर्न सकिएन ।’ चार घरधुरी रहेको लरेनी गाउँबाट सूर्य किसान, हरि किसानको परिवार विस्थापित भइसकेको छ ।

मकै, कोदो, आलु, तरकारी, गहुँ लगायत अन्नबाली जोगाउन नसक्दा सधैं छिमेकी गाउँबाट किनेर खाने गरेको लरेनवासी बताउँछन् ।

जंगली जनावरबाट अन्नबाली जोगाउन मात्रै होइन, दुम्सी, बाँदरबाट महिला, केटाकेटीको जिउज्यान नै जोखिममा परेपछि लरेनवासी गाउँ नै छाड्ने अवस्थामा पुगेका हुन् । ‘अहिलेसम्म प्रयोग गरिएका सबै घरेलु उपाय असफल भए । हामीले पनि गाउँ छाड्ने निर्णय गरिसकेका छौं,’ दले चर्मकारले भने, ‘दुम्सी, बाँदरबाट अन्नबाली जोगाउन त सकिएन, त्यसमाथि बालबालिका र महिलाको ज्यानकै जोखिम भयो । महिला, केटाकेटी एक्लै हिँड्दा बाँदरले आक्रमण गर्ने डर भयो । त्यसैले उनीहरुका लागि पनि गाउँ छोड्नुपर्ने अवस्था छ ।’

खेतबारीमा भएको उब्जनीमध्ये २० प्रतिशत मात्रै मुस्किलले भिœयाउन पाइने भएपछि गुजारा चलाउनै समस्या भएको चर्मकारको भनाइ छ ।

खेतबारीमा मात्रै नभएर घरमै राखिएको अन्नबाली समेत जोगाउन मुस्किल भएपछि स्थानीयले गाविससचिव शिवप्रसाद शर्मालाई समेत जंगली जनावरबाट भएको क्षति रोक्न आवश्यक सहयोग मागेका थिए ।

‘उहाँहरूको समस्या समाधान गर्न मुस्किल छ । गाउँमा पुग्ने बाटो नै जोखिमपूर्ण छ, तत्काल वैकल्पिक स्थानमा सर्न अनुरोध गरेको छु,’ सचिव शर्माले भने, ‘गाउँमै पुगेर अवस्था बुझें । गाउँले जंगली जनावरबाट त्रसित छन् ।’

त्यस्तै, लरेनी आसपासका बस्तीमा पनि जंगली जनावरको आतंकले हैरानी खेप्नुपरेको छ । दलित तथा आर्थिक अवस्था कमजोर भएकालाई जंगली जनावरले अन्नबाली नष्ट गरेपछि छिमेकीको सहयोगमा गुजारा चलाउने गरेका छन् ।
 

प्रकाशित: १८ कार्तिक २०७३ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App