अनुभूति

फोक्सुन्डोको पानी शिरैमा

शनिबार, २१ असार २०७६, १० : ०६ नागरिक

सागर उदास
प्रकृतिले नेपालमा वैभवता खन्याएको देखेर गौरव लाग्छ। भौगोलिक हिसाबले हाम्रो मुलुक सानो भए पनि प्राकृतिक, सांस्कृतिक र जातीय विविधताले समृद्ध छ। विशाल छ। एक जुनीमा नेपाल घुम्न भ्याइन्न। एक जुनीले नेपाल बुझ्न संभव छैन।

मान्छेलाई ज्ञानले पूर्ण बनाउँछ। त्यस्तो ज्ञान पढेर वा परेर जानिन्छ। कतिपय कुरा किताबमा पढेर भन्दा घुमेर बढी थाहा पाइन्छ। त्यसैले हामीमा घुमफिर संस्कृति विकास हुनु पर्छ। यही बुझेर पछिल्ला केही दशकदेखि म यात्रामा निस्कने गरेको छु। कहिले विदेश पुग्छु त कहिले स्वदेश।

तनहुँको सदरमुकाम दमौलीमा बसेर साहित्य सृजनासँगै व्यापारिक काममा सक्रिय छु। बेलाबेलामा साथीहरूसँग मलेसिया, सिंगापुर वा थाइल्याण्डतिर घुम्ने अवसर मिलिरहन्छ। हामी यसरी घुमेको देखेर एक दिन छोरा सुशासनले भन्यो, ‘विदेश गएर बनावटी चिज कति हेर्नु हुन्छ ? हाम्रै देशमा छन् घुम्ने राम्रा ठाउँहरू।’

छोराले इन्टरनेटमा तस्बिर र भिडियो देखायो। लोभियौं हामी। ठिकै भन्यो  सुशासनले । नेपालभित्रै घुम्नु पर्छ भन्ने भावना मनमा जागेको छ। हाम्रा सुन्दर गन्तव्य पनि भौगोलिक विकटतामा छन्। यद्यपि हामी घुम्छौं। यसै मेसोमा यसपाला असार ७ गतेदेखि हामी फोक्सुन्डो काव्य–यात्रामा निस्कियौं। र, असार १७ गते आआफ्ना घरमा फर्कियौं।

डोल्पाको फोक्सुन्डो ताल आफैंमा प्रकृतिको सुन्दर वरदान लाग्यो मलाई। घुमन्तेहरूको आँखाको नानी रहेछ फोक्सुन्डो। यस्ता विकट ठाउँमा एक्लै यात्रा गर्न सजिलो हुँदैन। कि त परिवारसँग कि त साथीहरूसँग यात्रा गर्नु पर्छ।

फोक्सुन्डो तालको बारेमा सुनेको झण्डै तीन दशकपछि म त्यहाँ पुगें। दमौलीमा व्यापार गर्न थालेपछि ०४८ सालतिर मैले फोक्सुन्डोको विषयमा सुनेको थिएँ। त्यसको केही वर्षपछि तस्बिर र भिडियो हेर्न पाए। जुन दिन त्यो तालको विषयमा सुनेको थिएँ, त्यही दिन मन त्यता दौडिएको थियो। 

हुन त म तालैतालको प्रदेश गण्डकी प्रदेशको मान्छे, फेवाताल, रुपाताल र बेगनासताल त डुलेकै थिएँ। फोक्सुन्डोमा जान पाए फेवातालको भन्दा बेग्लै अनुभति सँगाल्थें जस्तो कल्पना गर्थें। मनमा भावनाको छाल उर्लिरहन्थ्यो तर यात्राको मेसो मिलेको थिएन।

त्यो मौका जुराइदियो–कन्सेप्ट नेपालले। पर्यटनमा समर्पित युवाहरूको संस्था कन्सेप्ट नेपालले गत वर्ष पनि सुदूर पश्चिममा ‘खप्तड काव्य–यात्रा २०७५’ आयोजना गरेको थियो। त्यतिबेला हामी २७ जना कवि, लेखक तथा कलाकारहरूको समूह खप्तड घुमेका थियौं।

‘फोक्सुन्डो काव्य–यात्रा’को क्लाइमेक्स विन्दु फोक्सुन्डो तालमा पुग्नेबित्तिकै शिरमा पानी छर्किंएँ। तेत्तिसकोटी देवताहरूलाई सम्झिएँ। आफ्ना पितृहरूलाई सम्झिएँ। लगत्तै एक अँजुली पानी उठाएर पिउँदा अमृतपान गरेझैं भयो। त्यसको केही घन्टापछि ताल किनारमा उभिएर गीत सुनाउँदा बेग्लै अनुभूति गरें। डोल्पाले मोहनी लगायो मलाई, त्यसैले फेरि परिवारसँग फोक्सुन्डो यात्रा गर्ने छु।  

यसपालि ‘फोक्सुन्डो काव्य–यात्रा २०७६’ मा हामी १५ जना सदस्य थियौं। ओझेलमा परेका सम्पदामा स्रष्टाहरूलाई घुमाएर अखबारी लेखन र साहित्यिक सृजनामार्फत् ती ठाउँको उजागर गर्ने कन्सेप्ट नेपालको प्रयास राम्रो लाग्यो। पोहोर खप्तडमा झैं यसपाला फोक्सुन्डोमा पनि मलाई सहभागी गराएकामा आयोजकप्रति मनमनै धन्यवाद दिएँ मैले।  

खप्तड यात्रामा सहभागी केही साथी यसपाला छुटे। अर्को यात्रामा अरू कोको छुट्ने हुन् कुिन्न ! बरु यसपालि चित्रकार साथी कृष्णबहादुर नेपाली थपिए। उनको कामबाट हामी प्रभावित भयौं। डोल्पाली साथीहरू पत्रकार विष्णुप्रसाद देवकोटा, शिक्षासेवी सेम्दुक लामा र नेपालगञ्जका पत्रकार कमल खत्री पनि नयाँ सहयात्री बने। फोक्सुन्डो घुमफिरमा अन्य साथीहरू थिए–अभय श्रेष्ठ, भूपिन, देवेन्द्र बस्न्यात, गनेस पौडेल, हेमन्त विवश, हेमन यात्री, सुरेन्द्र राना, दिपेन्द्रसिंह थापा, चन्द्र काफ्ले र अमृत भादगाउँले।

यात्राले नयाँ ठाउँ चिनाउँछ। नयाँ परिवेश बुझाउँछ। नयाँनयाँ साथी बनाउन सघाउँछ। समग्रमा मुलुक चिन्न सिकाउँछ। नेपाल घुम्दा नेपाली भएकामा गौरव लाग्छ मलाई। त्यसैले बरोबर घुम्न मन लागिरहन्छ। नेपाली माटो चुम्न मन लागिरहन्छ।

काव्य यात्राको परिकल्पनाकार एवं संयोजक भादगाउँले हुन्। तिनै भाइले ‘ल है सागर दाइ हामी फोक्सुन्डो जानु पर्छ !’ भनेको दिनमै मन हावामा कावा खाँदै डोल्पामा पुगेथ्यो। जेठमै जाने योजना सुनाएका थिए उनले तर, आवश्यक तयारी र पैसाको जोहो गर्दागर्दै ढिलो भयो। बल्ल ७ असारमा यात्राको साइत जु-यो।

हामी डोल्पाको सुलिगाडसम्म गाडीमा गयौं। त्यहाँबाट हिँडेर पहिलो दिन साङतामा बास बस्यौं। दोस्रो दिन फोक्सुन्डो बेस क्याम्पमा अवस्थित झरना होटलमा बस्यौं। अनि तेस्रो बिहानको खाना खान ताल किनारको रिग्मो गाउँमा पुग्यौं।

सृजनशील मन भए पनि व्यापारी मान्छेलाई १२–१३ दिन घुमफिरको समय छुट्टयाउनु सजिलो कुरा होइन। तर जहाँ इच्छा त्यहाँ उपाय, मैले सोचें, १२ दिन व्यापार गरें भनें २० हजार रुपैयाँ कमाउँला तर यात्रामा निस्कें भने लाखौं रुपैयाँले नपाउने आनन्द र ज्ञान पाउन सक्छु। साथीहरूसँग यात्रा छुटाउनु भनेको युद्द हार्नु जस्तै हुने थियो। म हार्न चाहन्नथें, जितेरै छाडें। 

जहाँ संभावना हुन्छ, त्यहाँ चुनौती पनि हुन्छ। डोल्पा त अलग राज्य रहेछ ! त्यहाँ सबैतिर राज्यको पहुँच रहेनछ। एउटा कुरा डोल्पालीले आफ्नो संस्कृति र सभ्यता बचाएका रहेछन्। वनजंगल जोगाएका रहेछन्। पदमार्गका बुढाबुढीसँग भलाकुसारी गर्दा धेरै कुरा थाहा पाएँ। जीवन र जगत बुझ्न पाएँ।

डोल्पामा नेपालीपन भेटें मैले। कालो अक्षर भैंसी बराबर–नपढेर के भो र, आत्मीय छन् गाउँलेहरू। अतिथि सत्कार जानेका छन् तिनले। अनपढ बुढी आमाले पनि सर ! भनेर सम्बोधन गरिन्। के यो सभ्यता होइन ? गाला फुटेको छ। आङमा न्यानो कपडा छैन। दुःखमा पनि हाँसेकै छन् डोल्पाली।

पदयात्रामा उकाली र ओराली गर्दा गाह्रो भयो। डोल्पाको उकालोमा सास बढेजस्तो भयो। ओह्रालोमा तिघ्रा दुख्यो। आखिर पदयात्रा आफैंमा साहसिक काम न प¥यो। थकाइ त लागिहाल्छ ! नयाँ दृश्य, नयाँ पात्र र नयाँ ज्ञानले निमेषभरमै त्यो थकान पनि मेटाइदिन्छ। 

सहयात्रीबीच यात्रालाई थप रमाइलो बनाउन मैले ‘हात खाली नहुने उपहार’ खेलाउने गरेको छु। यसमा सहभागी सबैले केही न केही सानो–ठूलो पुरस्कार पाउँछन्। फोक्सुन्डो यात्राको सिलसिलामा -याचीमा खाना खाइवरी हिँड्नु अघि मैले भाग्योदय चिठ्ठा खेलाएँ। कसैले कलम, कसैले हाजमोला, कसैले कन्डम, कसैले रुमाल त कसैले घडी पाए।

कण्डम उपहार पाउँदा कलाकार भाइ कृष्णबहादुर लजाए भने लेडिज घडी उपहार पाउँदा अविवाहित गुरिल्ला (सुरेन्द्र राना) मुस्कुराए। खप्तड काव्य यात्रामा पनि मैले यस्तै उपहार बाँडेको थिएँ। आफ्नो दुई–चार पैसा खर्च भए तापनि यात्रालाई यादगार र रमाइलो बनाउने यसले मद्दत पु-याउँछ।

मैले दुई दशक अघिदेखि तनहुँमा हुने विशेष साहित्यिक कार्यक्रममा यस्तो पुरस्कार बाँड्ने परम्परा सुरु गरेको हुँ। भाग्योदय चिठ्ठा हो विदेश जाँदा पनि खेलाउँछु। यसले मुड फ्रेस बनाउँछ।  
-याचीबाट अघि बढ्ने क्रममा हामीले बाटो नचिनेर फोक्सुन्डो खोलाको भेलमा हेलिनु प-यो। ज्यानै जान्छ कि भन्ने डर पस्यो मनमा। धन्न कुनै दुर्घटना भएन। साँझ परिसकेका बेला हतारिएर खोला त-यौं। पानीसँग डराउने मान्छे मलाई बिष्णुले ठुलो आड दिए। धन्यवाद विष्णु भाइ।

त्यतिबेला मन निकै डराएको थियो, आज त्यो क्षण सम्झँदा रोमाञ्चक अनुभूति हुन्छ। त्यसो त मनसुन यात्रा आफैंमा जोखिमपूर्ण हुन्छ। होस गरेर हिँड्नु पर्छ।  त्यसमाथि फोक्सुन्डो पदयात्रा, हामीलाई तालमा पुग्नु थियो। आँखाभरि, मनभरि ताल हेर्नु थियो।

हामीले पदयात्रा सुरु गरेको तेस्रो बिहान जब ठाडो उकालो सकिन लाग्दै थियो त्यहाँ भ्यू पोइन्ट बनाइएको रहेछ। त्यहाँबाट तल फोक्सुण्डो झरना निकैबेर हे-यौं हामीले। तालको पानी निकास हुने ठाउँमा दुधे झरना रहेछ ! 

झरना देख्दा मनमा शितलता छायो। अलि माथि बौद्धमार्गी (बोन धर्म मान्ने बोम्पोहरूको बसोबास छ यस क्षेत्रमा। यात्रामा हामीले बोन गुम्बा र चैत्यहरूको दर्शन पनि ग-यौं।)का मन्त्र अंकित झण्डा टाँगिएको ठाउँबाट ताल देख्दा खुसीले मन छमछमी नाच्यो। शिव–पावर्ती र तेत्तिसकोटी देवताको बास भएको अनुभव भयो। शिवजीको जटाबाट बगेको पानी जस्तो लाग्यो।

तालमा पुग्नेबित्तिकै शिरमा पानी छर्किंएँ। तेत्तिसकोटी देवताहरूलाई सम्झिएँ। आफ्ना पितृहरूलाई सम्झिएँ। लगत्तै एक अँजुली पानी उठाएर पिउँदा अमृतपान गरेझैं भयो।

नांगा डाँडाको काखमा नीलो पानी देख्दा झिमिक्कै गर्न मन लागेन। आँखाले र स्मार्टफोनले अनगिन्ती तस्बिर र भिडियो खिचिरहें। खिचिरहें। साँच्चै भनुम् के, भाग्यमानी मान्छे मात्र पुग्छ फोक्सुन्डो तालमा। आफुलाई दरो बनाएर यात्रामा निस्केको थिएँ म।

पछि जुफाल र दुनैमा बस्ने कतिपय डोल्पालीहरूले समेत ‘हामी त फोक्सुन्डो पुगेका छैनौं’ भनेर कुरा गर्दा हामी त्यहाँ पुगेकामा थप गौरवबोध भयो। हाम्रो समूहमा कोही बिरामी परेन। सकुशल गइयो। सकुशल आइयो।

आँखाभरि, मनभरि फोक्सुन्डो सजाएर फर्कियौं हामी। फोक्सुन्डोसम्म मोटर बाटो पुगेको छैन। यात्रामा हामीले दुई थरि स्थानीय भेट्यौं। एकथरि मोटर बाटोको पक्षमा वकालत गरिरहेका थिए भने अर्काथरि मोटर बाटो बनाएर वातावरण ध्वस्त बनाउनु हुँदैन भन्दैथे। 

मलाई लाग्छ, मोटर बाटो चाहिन्छ। राम्रो सडक सञ्जाल भएमा देशी तथा विदेशी पर्यटकको ओइरो लाग्छ। एक पटक मुस्ताङतिर फर्कों त, मोटरबाटो जोडिएसँगै मुक्तिनाथमा पर्यटक बढेका छन्।

मोटर बाटो नखन्ने हो भने सुलिगाडदेखि फोक्सुन्डो किनारसम्म केबलकार बनाउन सकिन्छ। ठाउँठाउँका गाउँमा ओर्लने र उक्लने सुविधासहितको केबलकार। यस्तो भयो भने मात्र गाउँलेलाई सजिलो हुन्छ। पदयात्रा रुचाउनेलाई पदमार्ग पनि नासिन्न। नीतिनिर्माताहरूले बेलैमा सोचन्।

त्यसैले डोल्पालीले मोटर बाटो खोल्नु प-यो। ठाउँठाउँमा आधुनिक होटल थप्नु प-यो। फोहोर व्यवस्थापनमा आजैदेखि ध्यान दिनु प-यो।

यात्रामा सरकारी कर्मचारीहरूको अमानवीय व्यवहार पनि देख्यौं। राजा र रैतीको जस्तो व्यवहार। नागरिकलाई दोस्रो दर्जाको व्यवहार गरेको देखियो। यार्सागुम्बा टिपेर आउनेहरूलाई चेकपोष्टका कर्मचारीले तिनका झोलामा लात्ताले हानेको देख्यौं। एउटा मान्छेले अर्को मान्छेलाई अमानवीय व्यवहार गरेको देख्दा मन कटक्कै भयो। ‘के ल्याइस् ?’ भनेका छन्। जनताको कर खाएर बसेका कर्मचारीले सभ्य भाषामा सोधखोज गर्न सक्दैनन् ? मान्छेलाई किन भेडाबाख्रालाई जस्तो व्यवहार गरेका ? 

अन्त्यमा एउटा राम्रो कामको चर्चा गरौं, त्यो के भने हाम्रो काव्य–यात्राको आयोजक कन्सेप्ट नेपालले चार जना स्थानीयलाई ताल किनारामा सम्मान ग-यो। यसरी ‘फोक्सुन्डो काव्य सम्मान’ पाउनेहरू थिए–निमा लातार बैजी, नाम्दाक लामा, होइसेर डोल्मा बैजी र सेम्दुक आङ्क्याल रोकाया।

निमा टुङ्नाबादक रहेछन्। नाम्दाक र होइसेर लोकगायिका हुन भने रोकाया समाजसेवी। जनही दश हजार रुपैयाँसहित सम्मान पत्र पाएपछि गायिकाद्वयले निमाको टुङ्नाको धुनमा गीत गाए। भोटे भाषामा स्वागत गीत गाएर उनीहरूले वातावरणलाई सांगीतिक बनाए।

उनीहरूको अनुहारमा छाएको खुसीले हाम्रो मनमा ऊर्जा बढायो। यस्ता भुइँमान्छेको सम्मान खप्तड यात्रामा पनि गरिएको थियो। यस्तो प्रेरणादायी काम गरेकामा कन्सेप्ट नेपाललाई बधाई ! 

त्यही क्षण हामीले ताल किनारामा उभिएर आआफ्ना गीत र कविता सुनायौं। मैले राष्ट्रभक्तिले ओतप्रोत गीत सुनाएँ। सायदै यस अघि हामीले तालमा यसरी आआफ्ना रचना वाचन गरेका थियौं। त्यस हिसाबले पनि यो यात्रा ऐतिहासिक बन्यो। 

मलाई लाग्छ, हाम्रो यात्राले फोक्सुन्डोको प्रवद्र्धनमा ठूलो माइलेज दिनेछ। पोहोर हामी ‘खप्तड काव्य–यात्रा २०७५’ सहभागी भएर फर्केपछि खप्तड क्षेत्रका विषयमा राष्ट्रिय सञ्चार माध्यममा निकै चर्चा भयो। फोक्सुन्डोले पनि मिडियामा चर्चा पाउन थालिसक्यो।

म गीत, कविता र गजल लेख्छु। मेरो लेखनीमा डोल्पाको प्रभाव पर्ने नै छ। फोक्सुन्डोको बारेमा सुनेको तीन दशकपछि तालमा पुगें। फेरि पनि परिवारसँग फोक्सुन्डो घुम्ने मन छ। दुःखको कुरा, नेपालगञ्ज–जुफाल नियमित उडान छैन। जहाज कम्पनीहरूको मनोमानी छ। यसलाई तोड्नु पर्छ। जाजरकोट हुँदै सुलिगाडसम्म आउने सडकलाई पक्कि बनाइहाल्नु पर्छ। हवाई यात्रा सहज भए वा सडक पक्कि बनेपछि म फेरि डोल्पाको यात्रामा निस्कने छु। फेरि तालको पानी शिरैमा छर्कने छु।
(उदास गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हुन्।)





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

Ncell Footer Ad