१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आइफा अवार्ड रोकिँदैनः कानुनमन्त्री ढकाल

विराटनगर– कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आइफा अवार्ड नरोकिने बताएका छन्। शुक्रबार मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको छलफलमा ढकालले आइफा अवार्ड कुनै पनि हालतमा नरोकिने बताएका हुन्।

केही मिडिया र सामाजिक सञ्जालले आत्मरतिमा रमाउँदै आइफा अवार्ड आयोजना नहुने भन्दै हल्ला गरिरहेको ढकालले आरोप लगाए। उनले भने ‘केही मिडियाहरूले आत्मरतिमा रमाएर विभिन्न खालका समाचार प्रकाशित  गरिरहेका छन्।’ उनले आइफा अवार्ड नेपालमा आयोजना गर्ने निर्णयबाट सरकार पछि नहट्ने पनि स्पष्ट पारे।

केही विज्ञ भनाउँदाहरूले कानुन निर्माणको ठेक्का नपाएकाले सरकारले संसदमा पेश गरेको विधेयकका विरुद्ध अफवाह फैल्याइ रहेको ढकालको आरोप छ। ‘कानुन निर्माणको ठेक्का सरकारले लगाउन छाडेकाले संसदमा पेश भएका विधेयकहरूको विरोध भइरहेको छ’ उनले भने।

उनका अनुसार विगतमा केहि दातृ निकायहरूको सहयोगमा नेपालको कानुन निर्माणको ठेक्का विज्ञहरूले पाउ“दै आएका थिए। कानुन निर्माणको मुहानमै एनजिओको प्रवेश रोक्दा खाइपाइ आएकाहरूले विधेयक विरुद्ध अफवाह फैलाइएको ढकालको भनाइ छ। अहिले तारे होटलमा हैन छलफलका लागि सिधै  संसदमा विधेयक लैजान थालिएको उनले बताए।  संसदमा विधेयक लैजाँदा अफवाह फैलाउनु जनादेश विरुद्ध भएको ढकालको भनाइ छ।

मिडिया काउन्सिल विधेयकका कमी कमजोरीहरू पत्रकार महासंघले दिएको सुझावका आधारमा परिमार्जन गर्न सरकार तत्पर रहेको पनि ढकालले बताए। ‘मिडिया काउन्सिल विधेयकका सम्बन्धमा  पत्रकार महासंघले उठाएका सवालहरू सम्बोधन गर्न सरकार तत्पर छ’ ढकालले भने । संसदमा पेश भएका अन्य विधेयकहरूका कमी कमजोरीहरूलाई सरोकारवालाको सुझावका आधारमा संसोधन गर्न सकिने उनले बताए।

प्रकाशित: २० असार २०७६ ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App