१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओली इतिहासकै डरपोक प्रधानमन्त्रीः काँग्रेस नेताहरू

काँग्रेस संस्थापक नेता स्व.गणेशमान सिंहको बुटवलमा शालिक अनावरण गर्दै नेताहरु प्रकाशमान सिंह, बालकृष्ण खाँण लगायत । तस्बिर/रेखा

बुटवल– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बहुमतको सरकारले लोकतान्त्रिक संविधानलाई संस्थागत नै गर्न नचाहेको आरोप लगाएका छन्। आइतबार बुटवलमा कांग्रेसका संस्थापक नेता स्वर्गीय गणेशमान सिंहको शालिक अनावरण गर्दै नेता सिंहले प्रचण्ड बहुमतको सरकार लोकतान्त्रिक संबिधान संस्थागत गर्ने पक्षमै नरहेको जिकिर गरे।

नेता सिंहले भएभरको अधिकार आफू मातहत राखेर शक्तिशाली बन्न खोजे पनि प्रम ओली इतिहासकै डरपोक प्रधानमन्त्री भएको टिप्पणी गरे।

‘प्रदेश र स्थानीय तहलाई अधिकार दिन गरेको कन्जुस्याइ र संघमा प्रधानमन्त्रीले सबै अधिकार आफूसँगै राख्नुले सरकार संविधान संस्थागत गर्ने पक्षमा छैन भन्ने कुराको पुष्टि गर्छ’, नेता सिंहले भने। नेपाली काँग्रेस बुटवल नगर समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेता सिंहले भएभरको अधिकार आफू मातहत राखेर शक्तिशाली बन्न खोजे पनि प्रम ओली इतिहासकै डरपोक प्रधानमन्त्री भएको टिप्पणी गरे। विकास, सुशासन र शान्ति सुरक्षाको प्रत्याभूति गर्ने  बिषयमा ओली सरकार असफल भइसकेको उनको दावी छ। काँग्रेस सरकारमा हुँदा ठिक समयमा ठिक आर्थिक नीति लिएकाले त्यसकै बलमा देशको अर्थतन्त्र अहिलेसम्म टिकिरहेको भन्दै नेता सिंहले वर्तमान सरकारको रवैयाले संविधान, संघीयता र अर्थतन्त्र खतरामा पर्न सक्ने औल्याए। 

देशको बिग्रदो परिस्थती र चुनौतीसँग सामना गर्न काँग्रेसलाई बलियो बनाउनुको विकल्प नभएको उनको भनाई थियो। पार्टीलाइ तदर्थबादमा राखेर आउने दिनका चुनौतीहरु सामना गर्न नसकिने भन्दै उनले बिधानको परिधिभित्र रहेर जतिसक्दो छिटो संघीयताको मर्म अनुरुपका नयाँ संचरनाहरु निर्माण गर्नुपर्ने खाँचो औल्याए। 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कम्युनिस्ट सरकारको निरंकुशताबिरुद्ध  कांग्रेसले फेरि एकपटक शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए। 

असार पन्ध्रको प्रसंग उल्लेख गर्दै नेता खाँणले हिल्याएको जमिनमा आलु रोपे कुहिने निश्चित भएजस्तै लोकतान्त्रिक शासन व्यवस्थामा रोपिएको कम्युनिस्ट सरकार पनि कुहिएर जाने बताए। ‘लोकतान्त्रिक शासन व्यवस्थामा कम्युनिस्टको आलु लगाएपछि त्यो सरकार नसडेर के सड्छ?’ नेता खाँणले भने।

प्रम ओली फ्रान्समा जाँदा त्यहाँका राष्ट्रपतिले कम्युनिस्ट प्रधानमन्त्री लोकतन्त्रवादी हुनै नसक्ने भन्दै भेट दिन नमानेको प्रसंग उल्लेख गर्दै उनले बेलायतमा काम चलाउ प्रधानमन्त्रीले भेट दिए पनि त्यहाँकी महारानीले भेट्न नमानेको दाबी गरे। ‘प्रधानमन्त्री बिदेश जाँदा त्यहाको सेनाले शाही सलामी दिने चलन हुन्छ तर ओलीलाई बिदेशको सेनाले सलामी समेत दिन मानेन’, नेता खाँणले भने। 

सरकारकै कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा दिनानुदिन खस्किरहेको दाबी गर्दै नेता खाँणले त्यसबाट पनि प्रम ओली छटपटाइ रहेको बताए। निर्वाचनका बेला जनतालाई घरबास दिन्छु भनेर झुटो बाचा गर्ने कम्युनिस्टहरु सरकारमा गएपछि जनताका घरमा डोजर लगाएर घरबारबिहीन बनाउने काम गरेको भन्दै त्यसप्रति आपत्ति जनाए। 

काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, काठमाडौं सभापति कृष्णसमुज बाँनिया, महासमिति सदस्य युवराज गिरी, क्षेत्रीय सभापति हरी लम्साल, नगर सभापति खेलराज पाण्डे, महेशमान सिंह, धना लामा लगायतका नेताहरुले बोल्दै दुईतिहाइको सरकारले देशमा विकास, सुशासन र शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको गुनासो गरे। सरकारका गलत क्रियाकलाप बिरुद्ध काँग्रेसले प्रतिपक्षको रुपमा शसक्त आवाज उठाउनु पर्नेमा पनि बक्ताहरुले जोड दिएका थिए। 

प्रकाशित: १५ असार २०७६ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App