१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हायातको आन्दोलन स्थगित

मिनराज भण्डारी
काठमाडौं - होटल हायातमा कार्यरत मजदुरले सुरु गरेको हडताल स्थगित गरेका छन्। खाइपाई आएको सुविधा कटौती गरेको, व्यवस्थापनको उच्च तहमा कार्यरत भारतीयले नेपाली मजदुरलाई अपमानजनक व्यवहार गरेको लगायत कारण सुरु गरिएको आन्दोलनश्रम कार्यालयको आग्रहमा स्थगित गरएको होटलको आधिकारिक ट्रेड युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ–होटल हायातले जनाएको छ। महजदुर आन्दोलनले होटलको सेवा एक सातादेखि ठप्प थियो।

आफ्ना मागको सुनुवाइ नभए पनि श्रम कार्यालयको आग्रहमा मंगलबार रातिबाट मजदुहरु काममा फर्किएको संघले जनाएको छ। आधिकारिक ट्रेड युनियन हायातका अध्यक्ष तथा अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका महासचिव मुक्ति दाहालका अनुसार श्रम तथा रोजगार कार्यालयबाट मजदुर माग सम्बोधन गर्न समन्वय गर्ने आश्वासन आएपछि हडताल स्थगित गरिएको हो।

व्यवस्थापन पक्षसँग भएका वार्ताबाट कुनै निष्कर्ष नआए पनि माग सम्बोधन गर्ने गरी श्रम कार्यालयले सहजीकरण गर्ने पत्र आएपछि तत्काललाई हडताल स्थगित गरेर काममा फर्किएको उनको भनाइ छ। कम्पनी सञ्चालकहरुले हडतालको फाइदा उठाउँदै जग्गा विवादबाट उम्कन सक्ने देखिएकोले हडताल स्थगित गरेको दाहालले बताए। उक्त होटलका सञ्चालकले सेयरको नाममा अर्बौं रुपैयाँको सरकारी जग्गा आफ्नो बनाउन खोजेपछि छानबिन भइरहेको लागेको छ। ‘यही बहानामा होटल नै बन्द गरेर छानबिनबाट उम्किने सम्भावना देखिएकोले पनि हडताल स्थगित गरेका हौं,’ दाहालले भने।

होटल सञ्चालकलाई अर्बौंको सरकारी जग्गा हडप्न खोजेको विषयमा जारी छानबिनबाट भाग्ने बहाना मिल्न सक्ने सम्भावना रहेकै बेला श्रम तथा रोजगार कार्यालयबाट मध्यस्थताको आश्वासन आएपछि आन्दोलन स्थगित गरेको मजदुर नेताको भनाइ

‘होटल सञ्चालकमाथि लागेको आरोपको विषयमा अख्तियार र संसदीय समितीले छानबिन गरिरहेको छन्। उक्त छानबिनलाई प्रभावित पार्न आन्दोलनको बहाना बनाएर होटेल सञ्चालकहरु भाग्न खोजेकोे हो,’ उनले दाबी गरे। मंगलवारदेखि नै होटलको काम सुरु भए पनि बुकिङ खोलिएको छैन। राज्यको सम्पत्ति हडप्ने दाउमा होटल सञ्चालक केन्द्रित रहेको उनको आरोप छ।

होटल सञ्चालक समिति र उच्च व्यवस्थापनको आँखा कमाउ धन्दातिर लागेको भन्दै दाहालले प्रत्येक वर्ष वर्ष होटल मर्मतसम्भारको नाममा पाँच करोडसम्म छुट्ट्याए पनि कुनै सिन्को नभाँची उक्त रकम पचाउने गरेको आरोप लगाए।
सरकारी पैसा र जग्गामा लुट मच्चाउँदै आएकाहरु ट्रेड युनियनको आन्दोलनलाई कारण देखाउँदै अनुसन्धानको घेराबाट उम्कन खोजेका कारण अहिले आफूहरु काममा पर्किएको उनको भनाइ छ।

श्रम अदालतको फैसला कार्यान्वयन गरेमात्र हडताल रोक्ने अडान लिए पनि श्रम तथा रोजगार कार्यालयबाट जारी पत्रको कदर गर्दै आन्दोलन स्थगित गरेको उनले बताए। ‘हामी मागबाट पछि हटेका होइनौं। विभागले नै समन्वय गर्ने र सहकार्यमा जोड दिने भनेपछि अहिलेलाई काममा फर्कियौं,’ उनले भने।

होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले होटल पुनः सञ्चालनमा आएको जानकारी गराए। युनियनले कानुन विपरीत काम गरेको भन्न पनि उनले बिर्सिएनन्। श्रम कार्यालयको पत्र व्यवस्थापनसमक्ष पनि आएको जानकारी गराउँदै उनले होटलको सेवा स्थगन व्यवस्थापक पक्षबाट नभई ट्रेड युनियनको नाजायज मागका कारण भएको बताए। होटल पूर्ण रुपमा बन्द नभए पनि बन्द सरह भएको भन्दै उनले ट्रेड युनियनका माग कानुनसम्मत नरहेको दाबी गरे।

‘वार्षिक नौ प्रतिशतको तलबवृद्धिदर घटाएर पाँच प्रतिशत कायम गर्ने सहमति होटल एसोसिएसन अफ नेपाल, टे«ड युनियन र व्यवस्थापक पक्षबीच भएको हो,’ उनको भनाइ रहेको छ। ‘मजदुरले पाउने सेवा शुल्क ६८ प्रतिशतबाट बढाएर ७५ प्रतिशत पु-याएका छौं, त्यो कुरा किन देख्दैनन् ?’ परियारले प्रश्न गरे। युनियनले ‘अराजक माग ल्याएर सेवा प्रभावित पार्न नाटक गरेको’ उनले आरोप लगाए।

‘जग्गाको विषयमा सरकारले जाँचबुझ गरिरहेको छ। अख्तियारले अनुसन्धान गरिरहको छ। हामीले अदालतको आदेश अनुशरण गर्ने हो। विधिको शासन मान्ने हो। भाग्ने बहाना हुनै सक्दैन। एकतर्फी रुपमा आन्दोलन गरेर केही फरक पर्दैन,’ परियारले भने।

सोमवार मात्रै होटलको व्यवस्थापक्षले व्यावसायिक सुरक्षा नभएको भन्दै सम्पूर्ण सेवा बन्द गरिएको जानकारी पत्र मार्फत नेपाल स्टक एक्सचेन्जलाई पठाएको थियो। दुई सय ८० कोठा रहेकोे हायातमा करीब ४०० मजदूर कार्यरत रहदै आएका छन।

प्रकाशित: ५ असार २०७६ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App