१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ठूला–साना व्यापारीबीच भेदभाव नहोस्

काठमाडौं - सिन्धुपाल्चोकको तातोपानी नाकासम्वद्ध कन्टेनर व्यवसायीसँग नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले छलफल गरेको छ । काठमाडौंमा बिहीबार दुई पक्षबीच नाकामा ढुवानीलाई कसरी सहज र सरल बनाउने विषयमा छलफल भएको हो ।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको तातोपानी नाका यही जेठ १५ गतेदेखि सञ्चालनमा आएको छ । नाका सञ्चालनपछि सामान ढुवानी गर्ने कन्टेनर व्यवसायीसँग ढुवानी सेवाले पहिलेको भन्दा फरक तरिकाले भाडादर कायम हुने भन्दै छलफल गरेको हो । छलफलमा व्यवसायीका समस्याबारे पनि छलफल भएको थियो । कतिपय व्यवसायीले उक्त कम्पनीमा आवद्ध भएर दुई नम्बरी काम गरेकाले त्यसको जिम्मेवारी कसले लिने भन्दै जिज्ञासा राखेका थिए ।

छलफलमा सो नाकाका कन्टेनर व्यवसायी सागर शेर्पाले विगतमा जस्तो सिन्डिकेट लादेर साना व्यापारीलाई लखेट्ने प्रवृति हट्नुपर्नेमा जोड दिए । ‘पहिला पनि ठूला व्यापारीले साना व्यापारीलाई पेल्नका लागि ढुवानी भाडा बढाएर तीन–चार लाख पु¥याएका थिए,’ शेर्पाले भने, ‘यसमा कन्टेनर व्यवसायीलाई दोष लगाउने ठाउँ छैन ।’

छलफलमा साना–ठूला व्यापारीबीचमा भेदभाव गर्न नहुनेमा सहभागीले सुझाव दिएका थिए । व्यवसायी शेर्पाका अनुसार ठूला व्यापारीलाई भने ८–१० कन्टेनर दिने तर साना व्यापारीलार्ई थोरै संख्यामा कन्टेनर दिने काम अन्त्य हुनुपर्ने बताए ।

अर्का व्यवसायी राजकुमार श्रेष्ठले पछि ढुवानी सेवामा कन्टेनर थपिन पाउने कि नपाउने भन्दै प्रश्न गरेका थिए । व्यवसायी श्रेष्ठका कन्टेनर रसुवामा सञ्चालन भइरहेका छन् । उनले ती कन्टेनर पछि तातोपानी नाका सञ्चालन गर्न पाउने कि नपाउने भन्दै जिज्ञासा राखेका थिए । उनले पहिले तातोपानी नाकामा चलेका कन्टेनर मात्रै अहिले कम्पनीले समेट्ने हो भने भोलिका दिनमा रसुवामा पनि यताका कन्टेनर चल्न नदिन सक्ने भन्दै कम्पनीको ध्यानाकर्षण गराएका थिए ।

छलफलमा सहभागी व्यवसायीको जिज्ञासा मेट्दै नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले विगतमा एउटा कन्टेनरको भाडा तीन–चार लाख लिने गरेकामा अहिले त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले व्यवसायीलाई रसिदमा उल्लेख गरेको भाडा तिर्न अनुरोध गरे । त्यो भन्दा बढी कसैले भाडा मागे कम्पनीमा जानकारी गराउन उनले आग्रह गरे ।

अध्यक्ष सापकोटाका अनुसार पहिले संस्थामा करिब एक हजार कन्टेनर आवद्ध थिए । तर भूकम्पपछि कतिपय बिग्रिएका छन् । ‘अहिले संस्थामा करिब साढे पाँच सय कन्टेनर आवद्ध भइसकेका छन्,’ उनले भने, ‘विस्तारै बढ्ने क्रम जारी छ ।’ उनका अनुसार सम्पर्कका लागि भोटेकोशी गाउँपालिकाको खुकुन्डोलमा नेपाल ट्रक कन्टेनर ढुवानी सेवाको सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै ढुवानी सेवाका सञ्चालक शम्भु तिमिल्सिनाका अनुसार कम्पनीमा आवद्ध सदस्यलाई सेयर दिइएको बताए । उनका अनुसार एक सदस्यलाई १० हजार रुपैयाँ बराबरको सेयर दिइएको छ । त्यस्तै दुर्घटना बिमावापत कम्पनीले मासिक चार हजार रुपैयाँ शुल्क लिने उनले बताए ।

तातोपानी नाका सञ्चालनमा आएको दुई साता बितिसक्दा पनि अहिलेसम्म चारवटा कन्टेनर मात्रै नेपाल भित्रिएका छन् । सञ्चालनमा आएको दिन ऊन लिएर भित्रिएका चार कन्टेनरबाहेक त्यसपछि नाकाबाट अन्य कन्टेनर सञ्चालन भएका छन् । सोही क्षेत्रका व्यापारीसमेत रहेका सापकोटाका अनुसार जेठ ३२ गते २० वटा कन्टेनर सामान लिन खासा जाने तयारी भए पनि अहिले अन्तिममा आएर केही रोकिएका छन् ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App