१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आफ्नो हात जगन्नाथ

बाँके - नेपालगन्जमा गत वैशाखमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुदको चर्चा अझै ताजै छ। आठौं राष्ट्रिय खेलकुदले नेपालगन्जमा उत्सवमय वातावरण बनाएको थियो। आठाैंले प्रदेश नम्बर ५ लाई केही गतिला पूर्वाधार दिएर गएको छ। आठाैं राष्ट्रिय खेलकुद (वैशाख ५–११) को सफलतासँगै केही बेथितिले भने पुनः नेपाली खेलकुदमा निरन्तरता पाए।

राष्ट्रिय खेलकुदको स्थानीय आयोजक हो क्षेत्रीय खेलकुद विकास समिति। समितिले खेल विकासलाई लक्षित गरेर दुइ दर्जन पूर्वाधारमा रकम खर्च ग-यो। तर निर्माण भएका पूर्वाधारमा ‘आफ्नो हात जगन्नाथ’ शैलीमा रकम खर्च भयो। २४ योजनामध्ये क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ अध्यक्ष भीम ओलीले आफ्नो गृहजिल्ला बाँकेमा २३ वटा योजनामा रकम छुट्याए। बाँकेमा खर्च भएका २३ योजनामध्ये ओलीले आफ्नो गाउँवरपर मात्रै १३ योजनाका लागि रकम खर्च गरेको तथ्य खुलेको छ।  

क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओलीको कार्यकाल आगामी साउन १७ गते सकिँदै छ। चार वर्षे कार्यकाल सकिनै लाग्दा अध्यक्ष ओलीले मनोमानी ढंगबाट रकम खर्च गरेको देखिएको छ।कार्यकाल सकिनै लाग्दा अध्यक्ष ओलीले पदीय जिम्मेवारीको दुरुपयोग गर्दै आफ्नो गाउँपालिकामा अधिकांश खेलकुद पूर्वाधारका लागि बजेट विनियोजन गरेको आरोप लागेको छ।

क्षेत्रीय खेलकुद विकास समितिको लेखा शाखाअनुसार ओलीको कार्यकालमा क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ ले ५ करोड २२ लाख, ७२ हजार ८ सय ९३ रुपैयाँ रकम पूर्वाधारमा खर्च गरेको छ। त्यसमध्ये ओलीले आफ्नो गाउँपालिकामा झन्डै २ करोड रकम खर्च गरेका छन्। विभिन्न १३ खेलकुद योजनामा ओलीले १ करोड ८६ लाख ५३ हजार २ सय ९५ रकम खर्च गरेको बताउँछन्। क्षेत्रीय खेलकुद विकास समितिका लेखा शाखा प्रमुख एवम् सूचना अधिकारी मीनबहादुर जिसी।

आफ्नो निर्वाचन क्षेत्रमा खेलकुद पूर्वाधारका निम्ति रकम छुट्याउँदा क्षेत्रीय खेलकुद विकास समितिको बोर्डमा छलफल नै नगरी अध्यक्षले बजेट छुट्याउने गरेको आरोप समितिका एक पदाधिकारीले नाम नबताउने सर्तमा लगाए। उनले भने, ‘हामीले पहिले नै अध्यक्षलाई यसबारे सजग रहन अनुरोध गरेको थियौं। तर उहाँले मान्नुभएन। आठाैं राष्ट्रिय तयारीमा सहयोग पुग्छ भन्दै अधिकांश योजना आफ्नै गाउँपालिकामा दिनुभयो। योजना बनाउँदा समितिका पदाधिकारीसँग पनि छलफल भएको छैन। राजनितिक उद्देश्यले नै अध्यक्षले धेरै जसो आफ्नो क्षेत्रमा बजेट खर्च गरेका हुन्।’

अध्यक्ष ओली खेलकुदको क्रेज भएको स्थानमा धेरै योजना परेको बताउँछन्। उनले भने, ‘हामी ग्रामीण खेलकुदको विकास गर्ने अभियानमा छौं। पहिला सहर केन्द्रित थियो खेलकुद। अहिले गाउँगाउँमा पुगेको छ। सहरबाट गाउँमा खेलकुदका योजना लग्ने क्रममा धेरै भएका हुन्। मैले आफ्नो निर्वाचन क्षेत्रलाई मात्र हेरेर लगेको होइन।’

अध्यक्ष ओलीको गाउँमा निर्माण भइरहेको शुक्र भलिबल एकेडेमीमा सबैभन्दा धेरै रकम १ करोड ६२ लाख ९६ हजार ७ सय ८२ रुपैयाँ खर्च भएको छ। त्यसमध्ये दोस्रो फ्रेजको ८७ लाख ६ हजार १ सय १४ रुपैयाँ भुक्तानी हुन बाँकी छ। यसबाहेक विभिन्न विद्यालय र आफूनिकट क्लबलाई खेलकुद मैदान निर्माणका लागि रकम निकास गरिएको छ। सरस्वती मावि बैजनाथपुरमा २ लाख ४९ हजार ८२ रुपैयाँ, मनकामना मावि खजुरालाई २ लाख ४२ हजार १ सय ५२,

भगवती मावि हसनापुरमा १ लाख ७४ हजार ३ सय १८, नेराप्रावि मनकामनामा २ लाख ३२ हजार ७ सय १३, जनसेवा मावि गिजरामा १ लाख ५८ हजार ६ सय ८, शुक्र मावि के गाउँमा ८१ हजार ७ सय ९२, नेरा पशुपति विद्यालय ए गाउँमा २ लाख ५० हजार, जनकल्याण मावि खजुरामा १ लाख ८७ हजार ९ सय ३५, शान्ति नेपाल राप्राविमा १ लाख ४० हजार २१ रुपैयाँ, जय किसान स्पोर्ट्स क्लबलाई १ लाख ९० हजार, ६ सय  ७५ रुपैयाँ, सीतापुर स्पोटर््स ट्रेनिङ सेन्टरलाई ४ लाख ३८ हजार ७ सय ७५ रुपैयाँ रकम खेलकुद मैदान निर्माण गर्ने भन्दै प्रदान गरिएको छ।

प्रकाशित: २१ जेष्ठ २०७६ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App