१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मेरो प्रेरणा स्रोत

माधव घिमिरे
सिद्धिचरण श्रेष्ठलाई म निश्चल स्वभावका कवि, सधैँभरि कविता मात्रै सोचिरहेका जस्ता देखिने, बडो ध्यान दिएर अरूका कुरा सुनिरहने र सबैभन्दा मुख्य कुरो काव्यको कदर गर्न सक्ने उनी सरस्वतीका एक वरदपुत्र थिए। उनको पुस्तामा लेखनाथ, देवकोटा, समबीच हामीले ‘कविजी’भनेर सम्बोधन गर्ने उनी मात्रै एक्ला व्यक्ति थिए।

उहाँको कवितामा देश बोल्थ्यो, प्रकृति बोल्थ्यो। कवितालाई नै उहाँले आफ्नो जीवन मान्नुभएको थियो। साँचो अर्थमा, कविका निम्ति जीवन नै कविता हो र कविता नै जीवन हो। कविले आफूलाई पहिले आफ्नो कवितामा समर्पित गर्छ र पछि त्यही कवितामै ऊ जीवित रहन्छ। युगकवि सिद्धिचरणको जीवनमा यही तथ्य चरितार्थ हुन्छ।

उहाँका सबै कृतिहरू मैले पढेको छु। तैपनि ‘विश्व–व्यथा’उहाँको मलाई असाध्यै प्रिय लाग्छ। ‘शबरी’ खण्डकाव्य त मलाई कण्ठस्थ छ। मेरो गौरी खण्डकाव्य लेख्दा मैले केही अंश उहाँलाई सुनाएको थिएँ। लेख्दै जाँदा पछि केही अलमल भयो। पछि उहाँले हाँस्दै मलाई भन्नुभएको थियो, ‘यो पारा लेखिनस् भने तँलाई गोली ठोकेर मारिदिन्छु।’ यसरी, उहाँकै प्रेरणाले पनि मैले ‘गौरी’लाई पूर्णता दिएँ। त्यसैले उहाँ नै मेरो साहित्यको प्रेरक व्यक्तित्व हुनुहुन्छ।

नढाँटी भन्ने हो भने उहाँकै संगत र प्रेरणाले म सिर्जनशील बन्नमा सफल भएको हुँ। उहाँ युगस्रष्टा मात्रै होइन, युगद्रष्टा नै हुनुहुन्छ।  

उनले जवानीका दिनमा सौन्दर्यले झलमल्ल र भावनाले उज्ज्वल कविता लेख्नुभयो। त्यस्ता कवितालाई हामी रुमानी प्रवृत्तिका कविता भन्न सक्छौँ। ‘क्रान्तिबिना यहाँ स्वच्छ शान्ति हुँदैन’ भन्ने मन्त्ररूपी कविता देशको उकुसमुकुस मानसिकताको उच्छ्वास थियो। त्यो उच्छ्वास तत्कालीन राजनीतिक जीवनमा मात्रै होइन सामाजिक जीवनमा व्याप्त असमानताको उकुसमुकुसबाट पनि मुिक्त प्राप्त गरेर शान्ति प्राप्त गर्ने प्रयास थियो। काव्य रचनाको क्रमसँगै आफ्नो प्रौढ जीवनको प्रारम्भदेखि उहाँ बढी चिन्तनशील बन्दै जानुभयो। क्रमशः उहाँ रुमानी प्रवृत्तिबाट प्रगतिवादी र यथार्थवादी प्रवृत्तितिर बढ्दै जानुभयो। तथापि उहाँका कवितामा रुमानी प्रवृत्तिको धारा भने भित्रभित्रै यथावत् थियो। खास गरेर उहाँको ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ र ‘मंगलमान’ यस्ता उत्कृष्ट खण्डकाव्यहरू यही रुमानी शैली र यथार्थपरक प्रवृत्तिले गर्दा मर्मस्पर्शी र सार्थक बने।
पछिल्लो कालखण्डमा उहाँका कवितामा अध्यात्म पनि देखियो। सम्पूर्ण जीवन काव्यमा समर्पण गर्नुको परिणति पनि हो यो। बेला–बेलामा टाढातिर टोलाइरहने कविजीका आँखामा तरंगिने भावनाको तरलता र दृष्टिको उज्ज्वलताले पनि यसलाई पुष्टि गथ्र्यो।

अहिले हामी उहाँको शतवार्षिकीमा छौं। भर्खरै पनि रेडियोमा एउटी बालिकालाई ‘तिम्रो घर कहाँ हो ?’ भनेर प्रश्न गर्दा ‘मेरो प्यारो ओखलढुंगा’ भनेर गर्वसाथ भनेको सुन्दा म कविताको अद्भूत शक्ति देखेर अचम्मित भएको छु। जसरी कुनै स्त्रीले माताका रूपबाट कुनै सुन्दर मूर्ति रचेर त्यस्तै सन्तानको सिर्जना गर्दिनँ, त्यही प्रकार कविजीको पनि कविताप्रतिको भावना थियो। उहाँ जीवन र जगत्का सानातिना प्रसंगबाटै सत्यको उद्घाटन गर्नुहुन्थ्यो। ‘म कसरी छत्तीस लागेँ’ भन्ने कविताका पंक्तिहरू एउटा पक्षमा समर्पित प्रत्येक व्यक्तिका मनका भावना हुन्। यसरी हेर्दा आज उहाँका रचनाहरू झन्झन् प्रासंगिक भएका जस्ता लाग्छन्।

युगकविसँगको संगतले मैले धेरै उपलब्धि हासिल गरेको छु। पहिलो, उहाँ प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित हुने ‘कविता’ पत्रिकामा संस्थापक प्रधानसम्पादक हुनुहुन्थ्यो, जसमा बालकृष्ण सम र म पनि सम्पादन गथ्र्यौँ। त्यसअघि गोरखापत्रमा पनि मैले उहाँसँग काम गर्ने अवसर पाएँ। पछि, २०१४ सालमा प्रतिष्ठानको स्थापनाकालदेखि नै उहाँसँगै काम गर्न पुगेँ। त्यसबेला उहाँको बालकविता ‘तिरमिर तारा’ मैले नै छाप्ने सुअवसर पाएको थिएँ। सबैभन्दा ठूलो उपलब्धि, एउटै कुरा मैले प्राप्त गरेको के हो भने कविताको मर्म बुझ्ने र अरूलाई समेत कविता लेख्न घचघच्याइरहने व्यक्ति हुनुहुन्थ्यो उहाँ। मैले जे–जति लेखेँ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा केही न केही उहाँकै प्रेरणाका उपज हुन्। यस अर्थमा उहाँ मेरो प्रेरणाकै स्रोत नै हुनुहुन्छ। नढाँटी भन्ने हो भने उहाँकै संगत र प्रेरणाले म सिर्जनशील बन्नमा सफल भएको हुँ। उहाँ युगस्रष्टा मात्रै होइन, युगद्रष्टा नै हुनुहुन्छ।

अन्तमा, हामी गंगाजीलाई जल चढाएर अर्घ दिन्छौँ। सूर्यलाई बत्ती बालेर आरती गछौँ। यसरी नै कविलाई कविता लेखेर वर्णन गर्छौँ। कविजीलाई पनि म कविताका पंक्तिमा यसरी सम्झन्छु–
हुन्न क्रान्तिबिना शान्ति भनेर गर्जियौ तिमी
आज स्वप्न भयो पूरा क्रान्तिदर्शी थियौ तिमी
तिमी कठोर हीरा ह्वौ तिमी कोमलह्वौ
छवि नमस्कार तिमीलाई हे हाम्रो युगकाकवि।
प्रस्तुति : रामबाबु सुवेदी

प्रकाशित: १८ जेष्ठ २०७६ ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App