१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एकीकरण नसकिँदै सत्ता विवाद

काठमाडौं - नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरूबीच भित्रभित्रै विवाद रहेको देखिएको छ। उतिबेलाको लिखित सहमति बाहिर नआए पनि पार्टी र सरकार सञ्चालनमा ओली हावी हुँदै गएपछि त्यो बाहिर आएको हो।

त्यसो त अध्यक्ष दाहालले यसअघि विभिन्न सार्वजनिक कार्यक्रममा पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ओली र सरकारप्रति गुनासो र असन्तुष्टि प्रकट गर्दै आएका थिए। तर अहिले यस किसिमको असन्तुष्टि मुखर हुँदै आएको छ। जसका कारण पार्टीको एकीकरण प्रक्रियाले पूर्णता नपाउँदै सत्ता फेरबदलको कुरा उठेको हो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले पूर्वसहमतिअनुसार अर्का अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व हस्तान्तरण गर्नेमा आफू आश्वस्त रहेको बताएका छन्। सरकार सञ्चालन एक अध्यक्षले र पार्टी सञ्चालन अर्को अध्यक्षले गर्नेगरी प्रक्रिया टुंग्याउनुपर्ने उनको भनाइ छ। ‘एउटा अध्यक्षले पार्टीलाई मुख्य रूपमा हेर्ने र अर्का अध्यक्षले सरकार मुख्य रूपमा हेर्ने भयो भने सहज हुन्छ,’ उनले भने, ‘आलोपालो भनिए पनि मलाई प्रधानमन्त्री हुने हतारो छैन।’ दाहालले एक टेलिभिजन कार्यक्रममार्फत सो धारणा सार्वजनिक गरेका हुन्।

पार्टीमा दुई अध्यक्ष रहने र प्रतिनिधिसभाको निर्वाचनपछि गठन हुने सरकारको नेतृत्व पनि आधा–आधा समय गर्ने सहमति उनीहरूले गरेका थिए। पार्टी एकीकरण घोषणाअघि २०७५ जेठ २ गते दुवै अध्यक्षका साथै तत्कालीन एमाले उपमहासचिव विष्णुप्रसाद पौडेल र माओवादी केन्द्रका नेता जनार्दन शर्मालेसमेतले हस्ताक्षर गरेको सहमतिपत्रको चौथो बुँदामा समानता र समान अवधिमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ। त्यसैअनुसार ओलीले अर्को वर्ष सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा दाहाल र उनीनिकट नेताहरू छन्।

‘एउटा अध्यक्षले पार्टीलाई मुख्य रूपमा हेर्ने र अर्का अध्यक्षले सरकार मुख्य रूपमा हेर्ने भयो भने सहज हुन्छ,’ अध्यक्ष पुष्पकमल दाहालले भने, ‘आलोपालो भनिए पनि मलाई प्रधानमन्त्री हुने हतारो छैन।’

यता पार्टी एकीकरण प्रक्रियालाई निष्कर्षमा पु¥याउन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नचाहेको गुनासो पार्टीभित्र छ। पार्टी एकीकरण प्रक्रियालाई तत्काल टुंगोमा पु¥याउँदा सरकारको नेतृत्व दाहाललाई हस्तान्तरण गर्न दबाब पर्ने विश्लेषणसहित ओलीले पार्टीका निकायहरूलाई पूर्णता दिन आनाकानी गरिरहेको तत्कालीन माओवादीनिकट एक नेताको भनाइ छ।

पार्टी अध्यक्षको भूमिकामा रहे पनि ओलीले अर्का अध्यक्ष दाहाललाई मानार्थ अध्यक्ष मात्र बनाएको सुनाउँदै ती नेताले भने, ‘सिके राउतसँग भएको सहमति पनि अध्यक्ष दाहाललाई हस्ताक्षरपछि र सार्वजनिक समारोहको दिन बिहान मात्रै जानकारी गराइएको थियो। त्यसले उहाँलाई धेरै नै सशंकित बनाएको छ।’ दाहालनिकट ती नेताले पार्टी सञ्चालन र सरकारको नेतृत्वका सन्दर्भमा भएका सहमति कार्यान्वयनमा पनि त्यस्तै आशंका जन्मिएको बताए।

पार्टी एकीकरण प्रक्रिया टुंग्याउँदा आफूलाई अध्यक्ष दाहालसहित असन्तुष्ट पक्ष एक ठाउँमा उभिएर आफूलाई अप्ठ्यारोमा पार्न सक्ने भय ओलीमा रहेको नेकपाका एक नेताले सुनाए। पार्टी एकीकरण घोषण भएको एक वर्षभन्दा बढी भए पनि अझै महŒवपूर्ण निकायहरूको एकीकरण प्रक्रिया टुंगो लाग्न बाँकी छ। नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका नेताहरू पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट छन्।
तत्कालीन माओवादीबाट सरकारमा सहभागि केही मन्त्रीहरूलाई दाहालले परिवर्तन गर्न चाहे पनि ओलीले उनीहरूलाई नै साथ दिएका कारण पनि दाहाल ओलीप्रति सशंकित छन्। सरकारको कामप्रति बेलाबेला असन्तुष्टि जनाउँदै आएका दाहालले ओलीविरुद्ध भने अहिलेसम्म केही बोलेका छैनन्।

पार्टीभित्र बढ्दै गएको अन्तरविरोधलाई समयमा सम्बोधन गर्न नसके ठूलो दुर्घटनामा पार्टी फस्न सक्ने नेताहरूको विश्लेषण छ। सत्ता राजनीतिलाई समयमै नेताहरूले समाधान गर्न नसके पार्टी विभाजनतर्फ उन्मुख हुन सक्ने आशंका गर्दै नेताहरूले एउटाले गरेको कामप्रति अर्कोले शंका गर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए।

त्यसो त दाहालले बुधबार टेलिभिजन अन्तर्वार्ताका क्रममा सत्ता र पार्टी सञ्चालन मिलेर गर्ने तथा जिम्मेवारी स्पष्ट हुनेगरी आलोपालो गर्ने सहमति भएको बताएपछि कार्यकारी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद दाहालले पाउनुपर्ने विषयको बहस सुरु भएको हो। यसअघि दाहालले यस्तो विषय आफैं राख्दैनथे। उनले आफूनिकटका कोही नेताहरूलाई अभिव्यक्ति दिन लगाएर बहसलाई सहजीकरण गर्ने गरेका थिए। ‘पार्टी एकताका बेला हामी (म र ओलीजी) बीच भएको सहमति लुकेको छैन, त्यो लिखित नै छ। जसमा स्पष्ट रूपमा सत्ता सञ्चालन आलोपालोका आधारमा गर्ने भन्ने उल्लेख छ,’ दाहालले भने। यसरी सार्वजनिक रूपमै टिप्पणी गरेर दाहालले आफूलाई ओलीको विकल्पका रूपमा प्रस्तुत गरेको विश्लेषण हुन थालेको छ।

‘हामी अहिले पार्टीमा दुई अध्यक्ष छौं र सत्ताको नेतृत्व उहाँ (ओलीजी) ले गर्नुभएको छ। सहमति भएको भए पनि म आफूलाई प्रधानमन्त्री बन्नुपर्छ जस्तो या त्यसको लोभ छैन,’ दाहालले भनेका छन्, ‘जनअपेक्षाअनुसार समृद्धि र विकासका काम भए भने सत्ता ओलीजीले नै पाँच वर्ष चलाउँदा पनि मलाई फरक पर्दैन तर मेरो भूमिका स्पष्टचाहिँ हुनुपर्छ।’ एक हिसाबले हेर्ने हो भने दाहालले अबको महाधिवेशनमा आफूलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन्।

त्यसो त उनले दुई दिनअघि विराटनगरमा पनि सोही कुरा बताएका थिए भने कार्ल माक्र्सको २०१औं जन्मजयन्तीका अवसरका आयोजित कार्यक्रममा उनले आफू गतिशील नेतृत्वको पक्षमा रहेको बताएका थिए। उनले त्यतिबेला पनि पार्टीको महाधिवेश एक वर्षभित्र गरिसक्नुपर्ने कुरा उठाएका थिए।

प्रकाशित: १७ जेष्ठ २०७६ ००:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App