१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

गणतन्त्रले बिर्सिएको रुविन गन्धर्व (भिडियो)

काठमाडौं - १२ वर्षको एउटा फुच्चे केटो। ठूलै रहर थियो काठमाडौं जाने। काठमाडौं गएपछि के–के नै हुन्छ भन्ने उनको मनमा थियो। गाउँमा छुवाछुत प्रथाले सीमा नाघेको थियो। जसलाई उनी मन पराउँदैन थिए। २०५७ सालमा गोरखाको पालुङटारबाट साझा बसको सिटमुनि लुकेर काठमाडौं भित्रिएका थिए, उही रुविन गन्र्धव। गाउँबाट सहर भित्रिएका उनको काठमाडौंसँग खासै साइनो थिएन्।

न उनले काठमाडौं चिनेका थिए, न काठमाडौंले उनलाई नै चिनेको थियो। काठमाडौं आए लगत्तै उनले नगदी आउने गाडीमा चालकको सहयोगी भई काम गरे। सडकमै खान्थे, सडकमै कार्टुन ओछ्याएर सुत्थे। उनले करिब तीन महिनापछि जम्मा गरेको पैसाले सारङ्गी किने। जसले उनको पुख्र्यौली पेशा धान्थ्यो।

‘जीविकोपार्जनका लागि सारङ्गी किनेपछि गाडीहरूमा सारङ्गी बजाउँदै हिँडें। रत्नपार्क र भृकुटीमण्डप धाउन थालेँ। त्यहिँबाट पुख्र्यौली पेशा जोगाएँ। ठमेलमा सारङ्गी बजाउँदा बजाउँदै फुपाजूलाई भेटें’, उनले सम्झिए, ‘फुपु बालाजु बस्ने रहिछन्। अनि उतै फुपुको डेरामा बस्न थालेँ। रत्नपार्कमा रातो घर थियो त्यहिँ वरिपरि मान्छेहरू जम्मा हुन्थे। सारङ्गीको धुनमा गीत सुन्थे। दुई पाँच रुपैयाँ दिन्थे जान्थे।’

२०५८ सालमा दरबार हत्याकाण्डमा पूर्वराजा वीरेन्द्र शाहको वंशनाश भयो। उनले २०५८ सालसम्म गाडीमा सारङ्गी बजाएर ओहोरदोहोर गरे। वीरेन्द्रका भाइ ज्ञानेन्द्रले राजगद्धी लिए। त्यसपछि देशमा पाँच दलको आन्दोलन चर्कियो। रत्नपार्क र भृकुटीमण्डपमा गाउँदै हिँड्ने क्रममा उनी आन्दोकारीहरूसँग नजिकिए। बेलाबखत ठमेलतिर पनि धाउँथे। उनको सरस्वती क्याम्पसमा तत्कालिन एमाले अखिलका सुदिश पराजुलीलगायत नेतासँग भेट भयो। उनीहरूले गन्धर्वलाई आन्दोलनका मोर्चाहरूमा ल्याउँथे। जसरी दिनानुदिन आन्दोलनले उग्र रूप लिँदै गयो। उनको ज्यानमा पनि त्यतिकै जोशजाँगर भरिन थाल्यो। त्यतिबेला गाएको उनले एक टुक्का यसरी सम्झिएः

हे क,ख,ग,घ पढ्न जाउँ त मेरो ढंग छैन्
क,ख,ग,घ नपढ्नेले जागिर पाउने हैन्
यसै मर्ने, उसै मर्ने, मर्न के को गाह्राे
यही रिसले सामान्तीलाई हान्नपर्छ तारो
पख्लास तँलाई सामन्ती बजिया
अब तेरो उड्दैछ धजिया

यो गीत गाएको सुनेपछि नेताहरूको नजर उनीमाथि पर्न थाल्यो। नेताहरू मात्रै होइन, प्रहरीको नजरमा पनि उनी परे। ‘म बच्चा नै थिएँ। प्रहरीले समाते पनि मानवअधिकारवादीहरूले थुन्न दिने थिएनन्। छुटाइहाल्थे’, उनले भने, ‘राजाविरुद्धको आन्दोलनले उग्र रूप लिएपछि हरेक मोर्चाहरूमा सामेल भएँ। प्रहरी पनि वाक्क दिक्क हुन थालेछ क्यारे अनि समातेर एक दुई घण्टा पुलिस क्लबतिर राख्थे र छाडिदिन्थे। एकदिन होइन, दुईदिन होइन, हरेक दिन सहभागी हुन्थें। प्रहरीहरूलाई पनि रिस उठन थालेछ क्यारे अरुसँगै समूहमै समात्थे अनि कहिले ककनी त कहिले भीमफेदी लगेर छोड्थे। आउन अलि समय लाग्थ्यो तर फेरि काठमाडौं आउँथे।’

राजाले पशुलाई बाँधे जसरी जनतालाई बाँधेर राखेका थिए। हामी त्यसविरुद्ध लाग्यौं।

उसबेला नेताहरू आन्दोलनको मोर्चामा आएपछि झन् आन्दोलनकारीहरू अझ तातिन्थे। धकेलाधकेल भएपछि प्रहरीले लाठीचार्ज गथ्र्यो। हुलमुलमा को नेता, को जनता प्रहरीलाई के मतलब थियो र लाठी बर्साइहाल्थे। ‘रामचन्द्र पौडेलले कुटाई खाए। गिरिजाप्रसाद कोइराला बेहास नै भए। वामदेव गौतम, रामकुमारी झाक्री प्रहरीको लाठीचार्जबाट जोगिएनन्’, यो सम्झँदै उनले फेरि सारङ्गी रेटेः

दाजु मा-यौ, भाउजू नि मा-यौ
फोकटमा राजगद्धी हात पा-यौ
माइला नानी रैछौ बेइमानी
हो माइला नानी रैछौ बेइमानी

‘आन्दोलनमा कविहरू आउँथे। गीतकार पनि आउँथे उनीहरूले लेखेर दिन्थे म सारङ्गी भर्थें,’ फेरि आन्दोलनतिर रुविन फर्किए, ‘टीकाध्वज खड्का हुनुहुथ्यो। उहाँले नै प्रायः गीत लेखेर दिनुहुन्थ्यो। उहाँले राम्रा शब्द चयन गर्नुहुन्थ्यो।’ आन्दोलनमा गीत गाउँदा उनको थुप्रै सारङ्गी फुट्यो। त्यसताका उनले जति नयाँ कपडा फेरेका थिएनन्। त्यसको दोब्बर उनले सारङ्गी फेरे। सारङ्गी फुटेपछि आन्दोलनमा आएका नेताहरूले किनिदिन्थे।

चैत–वैशाखको घाम झैं चर्किएको आन्दोलनमा होमिँदा थुप्रै थ्रेट आयो। तर, नेताहरूले जोगाउँथे। ‘आन्दोलनमा गगन थापालगायतका नेताहरू थिए। आन्दोलनले उग्र रूप लिएपछि प्रहरीले धरपकड शुरु ग-यो। मेरो हात र खुट्टा फ्याक्चर भयो। मलाई खुट्टा फ्याक्चर भएकोसँग मतलबै थिएन। वैशाखी टेकेर आन्दोलनको मोर्चाहरूमा सहभागी भएँ।’ उनले सम्झिए। सुरुमा उनी रमाइलोकै लागि आन्दोलनमा सहभागी भएका थिए।

पछि त उनलाई आन्दोलनमा नगए के नपुगेको नपुगेको जस्तै हुन थाल्यो। भन्छन् ‘पशुलाई बाँधे जसरी जनतालाई बाँधेर राखेका थिए राजाले। हामी त्यसविरुद्ध लाग्यौं। मेरा गीत सुन्ने आन्दोलनकारी मात्रै थिएनन्। त्यतिबेलाका कर्मचारी पनि थिए। प्रायः आन्दोलन साँझपख हुन्थ्यो। कर्मचारीहरू कपडा खोलेर मेरा गीत सुन्न आउँथे। केही सरकारी कर्मचारीहरूले मलाई ‘भाइ हामीले पनि सुन्यौं आज तपाईंका गीत भन्थे।’

उनी राजधानीको आन्दोलनमा मात्रै सहभागी भएनन्। उपत्यका बाहिरका जिल्लाहरूमा पनि सहभागी हुन्थे। त्यसबेला अन्य गाडी जेकजाँच गरिन्थ्यो। सेना र प्रहरीको थ्रेट आउन थालेपछि उनी पत्रकार र मानवअधिकारकर्मीहरूको गाडीमा ओहोरदोहोर गर्थे। ‘रुविन गन्र्धवलाई जान नदिनु भन्ने माथिको आदेश छ भन्थे। म लुकीलुकी जान्थें। आन्दोलनकै क्रममा म बुटवलको कार्यक्रममा गएका थिएँ। नेताहरूले एउटा होटलमा कोठा लिएर राखिदिएका थिए। तर म बुटवलमा रहेको थाहा पाएपछि प्रहरीले होटलमा छापा मा¥यो। स्व. नेता रवीन्द्र अधिकारीले मलाई अर्कै होटलमा लगेर राखिदिए’, उनले सम्झिए।

एकदिन आन्दोलनमै होमिएका एक नेताको घरमा पुगेपछि उनलाई अचम्म लाग्यो। ‘मलाई एकजना विद्यार्थी नेताले जाउँ भनेर गएको थिएँ। तर सबैलाई भित्र राखे मलाई भने बाहिर नै राखे। मलाई खानेकुरा पनि बाहिर नै ल्याइदिए। मन केहिबेर भक्कानियो।’ उनकाअनुसार तल्लो जात भन्दै अरुलाई भित्र बोलाएर उनलाई बाहिरै राख्ने ती नेता अहिले नेकपा नेतृत्वको सरकारमा मन्त्री छन्। ‘म गिरिजा, माधव नेपाललगायत थुप्रै नेताको घरमा गएँ तर त्यहाँ त्यस्तो भोग्नु परेन।’ उनले भने।

राजतन्त्र ढलेर गणतन्त्र आयो। उनलाई अब देशको मुहार फेरिन्छ भन्ने लाग्थ्यो। उनको कलिलो दिमागले यस्तै सोच्थ्यो। ‘विकास त आजको भोलि नै हुने होइन्। अहिले स्थायी सरकार छ। केही विकास भएका होलान्। केही हुँदै होलान्। केहि विस्तारै हुन्छ होला। देशको अहिलेको अवस्था पनि पूर्ण रूपमा सन्तुष्टि हुने खालको छैन्।’ उनले भने।

उनी गन्र्धव समाजको उपाध्यक्ष पनि हुन्। बाजा र जातिको संरक्षणका लागि उनले थुप्रैपटक सिंहदरबार धाए। तर सिंहदरबारले नचिने जस्तै ग¥यो। तत्कालिन पर्यटन तथा संस्कृतिमन्त्री स्वं रवीन्द्र अधिकारीले सहयोग गर्ने आश्वासन दिएका थिए। तर उनको निधनसँगै त्यो आश्वासन पनि सेलायो। उनका अनुसार वर्षमा करिब ४५ हजार सारङ्गी बिक्री हुन्छन्। नेपालमा करिब १३ हजार गन्र्धव छन्।

रुविनहरूले नै लडेर ल्याएको गणतन्त्रपछि सिंहदरबारले थुप्रै प्रधानमन्त्री र मन्त्री फे¥यो, तर फेरिएन उनको जिन्दगी। गणतन्त्रको आन्दोलनमा होमिनुअघि ठमेललाई सारङ्गी रेट्ने जक्सन बनाएका रुविन गणतन्त्र स्थापनाको १३ वर्षपछि पनि उही जक्सनमा भेटिन्छन्।

प्रकाशित: १५ जेष्ठ २०७६ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App