१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गुट उपगुट अन्त्यको अपेक्षा

सन्तोष पोखरेल/पोखरा
श्रीहरि पौडेल/तनहुँ
छविलाल तिवारी/पर्वत

गुट र उपगुटले पार्टी कमजोर बनेको भन्दै जागरण अभियानका क्रममा कांग्रेसका कार्यकर्ता र शुभेच्छुकले चिन्ता जनाएका छन्। गुट र उपगुटकै कारण पार्टी कमजोर बन्दै गएकाले आगामी दिनमा पार्टीमा तलदेखि नेतृत्व तहसम्ममा एकता जरुरी रहेको उनीहरूले बताए। अब बलियो र एकढिक्का कांग्रेस बन्नुपर्ने उनीहरूको भनाइ छ।

अभियानमा क्रममा गाउँमा पुगेका नेताहरुसँग कार्यकर्ता र शुभेच्छुकले पार्टीमा दुईधार हुनै नहुने सुझाव पनि दिएका छन्। ‘पार्टीलाई कमजोर बनाउने कामभित्र वा बाहिर कतैबाट पनि हुन नहुने भन्दै कार्यकर्ता र शुभेच्छुकले चिन्ता जनाएका छन्,’ कांग्रेस कास्कीका नेता रामजी कुँवरले भने, ‘कार्यकर्ता र शुभेच्छुकको यो चिन्ता अब पार्टीले मान्नुपर्छ। पार्टीभित्र गुट उपगुट छरपष्ट रहेकाले अब त्यसलाई हटाएर यो अभियानले एकताबद्ध बनाउनुपर्छ भन्ने कार्यकर्ता र शुभेच्छुकको चाहना छ।’ पार्टी बलियो हुनुपर्ने कार्यकर्ता र आम नागरिकको भनाइ रहेको उनले बताए।

कांग्रेसका पुराना नेता तथा पोखरा महानगरपालिका –१६ इकाइका सह–संयोजक दिनानाथ आचार्य पनि पार्टीमा एकता जरुरी ठान्छन्। ‘गुट उपगुट हुनै भएन। गुट र उपगुटले नै पार्टी कमजोर बनेको छ,’ आचार्यले भने, ‘कांग्रेस बलियो बन्ने हो भने दुई होइन, एक हुनुपर्छ।’ गुट उपगुटमै कार्यकर्ता र शुभेच्छुकको चिन्ता रहेको उनले बताए। ‘अब पनि गुट उपगुट भएर बस्ने हो भने काम छैन,’ उनले भने, ‘कार्यकर्ताको यो चिन्ता अब नेताले पनि बुझ्नुपर्छ।’ आगामी निर्वाचनमा दुईतिहाइ ल्याउने आधार अहिले नै पार्टीले तय गर्नुपर्ने उनले बताए। त्यसका लागि पार्टीभित्र दुईधारको अवस्था हटेर एउटा र बलियो कांग्रेस बन्नुपर्ने उनले सुझाए।

कांग्रेसले यतिबेला जागरण अभियान चलाइरहेको छ। कास्की कांग्रेस दोस्रो चरणको कार्यक्रममा व्यस्त छ। पार्टीको प्रचार हेर्ने जिल्ला सदस्य नवीन सिग्देलका अनुसार दोस्रो चरणको अभियान जेठ ५ देखि सुरु भएकोमा २५ गतेसम्म चल्नेछ। उनका अनुसार कार्यक्रममा स्थानीय तहका नगरदेखि गाउँपालिकाका वडासम्म कार्यक्रम तय भएका छन्। कार्यकर्ता भेला, सदस्यता वितरण अभियान पनि यसै क्रममा चलेको उनले बताए। ‘पार्टीलाई कसरी मजबुत बनाउने, एकताबद्ध र संगठित बनाउने यो अभियानको उद्देश्य हो,’ उनले भने, ‘सुझाव पनि त्यही अनुसार आएका छन्।’ सरकारले गर्न नसकेका काम र उसका गलत क्रियाकलापबारे पनि जनतालाइ सूचिच गराउने काम अभियानमार्फत भइरहेको उनले बताए।

कास्कीको अभियानलाई अघि बढाउन केन्द्रीय सदस्य अर्जुन जोशीलाई जिम्मा दिइएको छ। जोशीले पनि जागरण अभियानमा कार्यकर्ता र शुभेच्छुकको चिन्ता गुट र उपगुट हुन नहुनेमा रहेको बताए। ‘अब कांग्रेस सुध्रिनुपर्ने र विगतमा भएको भद्रगोल तथा अराजकता हटाउनुपर्नेमा सबैतिरको सुझाव छ,’ जोशीले भने, ‘गुट उपगुटका कुरामा अब लज्जाबोध हुने बेला भएको छ।’ अभियानका क्रममा स्थानीय तहसम्म पुग्ने र जागरण अभियानमा उठाएका मुद्दा ठिक छन् वा छैनन भनेर पनि सुझाव माग्ने काम भइरहेको उनले बताए।

उनका अनुसार कास्कीमा अहिलेसम्म ९ वटा कार्यक्रम भइसकेका छन्। जागरण अभियानमार्फत हिजोका गल्ती अब नहुने भन्दै नेतृत्वले पनि कार्यकर्ता र शुभेच्छुकसँग वाचा गरेको उनले बताए। पार्टीलाई बलियो बनाउन सबैतिरबाट दबाब आइरहँदा सरकारको ज्यादतीप्रति जनता अत्यन्त आक्रोशित भएको पनि पाएको उनले बताए। ‘कांग्रेस अबपनि एक हुन सकेन भने भविष्यमा अझै कमजोर हुनेछ,’ उनले भने, ‘हामी बलियो हुन नसक्ने हो भने सरकारले अझै ज्यादती गर्नेछ। त्यसैले पनि एकताबद्ध भएको बलियो कांग्रेस आवश्यक छ।’

तनहुँमा पनि जागरण अभियान तीव्र छ। तनहुँ–१ मा आयोजना गरिएको क्षेत्रीय भेलालाई डुम्रेमा सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा जागरणको आवश्यकता रहेको बताए। पार्टीलाई एकढिक्का बनाएर लैजान अभियानको आवश्यकता रहेको उनको भनाइ छ। ‘पार्टीमा गुटको राजनीति हाबी भएको छ,’ केही दिनअघि आयोजित भेलामा पौडेलले भने, ‘गुटभन्दामाथि उठेर संगठन निर्माणमा अगाडि बढ्न जरुरी छ।’ पार्टीमा गुट हाबी भएको भन्दै पौडेलले आफूले हरेक कार्यक्रममा गुटभन्दा पनि पार्टीको कार्यकर्ता हुन्, आम कार्यकर्तालाई आह्वान गर्दै आएको बताए।

केन्द्रीय सदस्य एवं जागरण अयिभानमा तनहुँमा प्रतिनिधिको रूपमा खटिएका नवीन्द्रराज जोशीले कांग्रेसका संगठन किन कमजोर भयो भन्ने विषयमा वडा तहबाट सुझाव लिनुपर्ने बताए। ‘संगठन निर्माणको प्रारम्भिक र बलियो जग भनेको वडा नै हो,’ उनले भने, ‘वडामा संगठन मजबुत बनाउनुपर्छ।’ जागरण अभियानको रुटिन नै तयार पारेर पार्टीले जिल्लामा गतिविधि र्ने तयारी गरेको कांग्रेस तनहुँले बताएको छ। पर्वतमा भने जागरण अभियान केही सुस्त छ। केन्द्रबाट खटिएका प्रतिनिधि फर्केपछि केहीदिनका लागि अभियान रोकिएको छ। पर्वतको फलेबास–९ भंगरा, महाशिला–५ लुंखु, पैयूँ– २ त्रिवेणी र बिहादी –२ को बर्राचौरमा कार्यक्रम गरेपछि केन्द्रीय प्रतिनिधि चीनकाजी श्रेष्ठ काठमाडौं फर्किएका छन। श्रेष्ठ फर्केपछि जागरण अभियान रोकिएको छ।

आगामी कार्यक्रम कुन–कुन दिन, कहाँ भन्ने तय नभएको पर्वतका पार्टी सभापति खिमप्रसाद भुसालले जानकारी दिए। उनले केही दिनभित्र बैठक बसेर बाँकी कार्यक्रम तय गर्ने पनि बताए। केन्द्रीय समितिले वैशाख २५ देखि जेठ २५ सम्म नियमित अभियान सञ्चालन गर्न पर्वतमा केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई खटाएको थियो। उनले पर्वतलाई समय नदिएको यहाँका कार्यकर्ताको गुनासो छ। केन्द्रले जनजागरण अभियानमा निश्चित नेतालाई मात्रै बोल्न दिने तय गरे पनि कार्यकर्तामाझ बोल्न नपाएको भन्दै स्थानीयस्तरमा धेरै नेताको आक्रोश छ। विगतदेखि नै हरेक कार्यक्रममा एकअर्कालाई आरोप–प्रत्यारोपमा उत्रने गरेका यहाँका नेताहरू जनजागरणमा बोल्न नपाएपछि आक्रोश पोख्दै आएका छन्। पार्टीले वडास्तरमा पुगेर पार्टी, भ्रातृ तथा शुभेच्छुक संस्थाको अवस्था, पार्टीको विधान, भावी रणनीति, कार्यदिशाको जानकारी दिने र कार्यकर्ताको भावना बुझ्न निर्देशन दिए पनि पर्वतमा जनजागरण कार्यक्रममा पाँचजनाले मन्तव्य राख्ने र हिँड्ने भएको गुनासो पनि आएको छ।

गोरखामा कांग्रेसको जागरण अभियान। तस्बिरः नरहरि सापकोटा÷नागरिक

प्रकाशित: १२ जेष्ठ २०७६ ००:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App