१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

होमस्टे प्रवर्द्धन गर्दै नगरपालिका

रामेछाप - युवालाई गाउमा नै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यका साथ जिललाको रामेछाप नगरपालिकाले आफ्ना पालिकाभित्रका वडालाई मध्यनजर गर्दै होमस्टे प्रवद्र्धनको काम थालेको छ। प्रत्येक वडामा होमस्टे प्रवद्र्धन गरी युवाहरुलाई व्यावसायिक बनाउन होमस्टे व्यवस्थापन तथा पाककला तालिम सम्पन्न गरेको छ।

नगरपालिकाको आयोजना तथा ग्रामीण बिजनेस प्रमोशन प्रालिको सहजीकरणमा पालिकाभित्रका वडाका १८ युवायुवतीले तालिम लिएका छन्। एक हप्तासम्म सञ्चालित उक्त तालिममा होमस्टे प्रवद्र्धन गर्ने कला तथा खानाको परिकार बनाउने सीप  सहभागीलाई सिकाइएको थियो।

पालिकाभित्र वडा तहमा होमस्टे व्यवसाय फस्टाउन सक्ने र व्यवसाय गर्न चाहनेका लागि गाउँमै अवसर सृजना भएकाले स्वरोजगार बन्न चाहने युवाका लागि होमस्टे प्रभावकारी बन्ने सम्भावना देखेर पालिका होमस्टे प्रवद्र्धनमा लागेको रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगरले बताए।

उनले पालिकाले पत्येक वडाबाट १०/१० जनाका दरले एक महिने होमस्टे प्रवद्र्धन सम्बन्धी तालिम दिने लक्ष्य राखिएको भए पनि यो वर्ष पालिका त्यसमा सफल बन्न नसकेको बताए। विधि र प्रक्रियाले पनि समस्या निम्तिएको मगरले बताए। मगरले आगामी वर्षको कार्यक्रममा युवालाई प्राथमिकता दिएर कार्यक्रम बनाउनुका साथै बजेट व्यवस्थापनसमेत गर्ने बताए।

तालिमपछि रामेछाप नगरपालिकाको भालुखोप डाँडामा होटल साङ्गेल सञ्चालन गर्दै आएका लालबहादुर तामाङले आफूले होटल नजानेरै सञ्चालन गरिएको महशुस भएको बताए। तालिमले आगामी दिनमा होटलका थप सेवा विस्तारमा सहयोग गर्ने पनि बताए। स्थानीय स्तरमा उत्पादित सामग्रीबाट मिठो परिकार बनाउन सक्ने भएको र यसलाई अझ तिखार्नका लागि उच्च तालिमको आवश्यकता रहको बताए।

सिप नजान्दा बेरोजगार बस्नु परेको थियो यो तालिम लिएपछि व्यावसायिकता तिर लम्किन प्रेरणा मिलेको बबिना लामाले बताइन्। भालुखोपमा होमस्टे प्रवद्र्धनका लागि पहिलेदेखि नै परिकल्पना गरिए पनि पूरा हुन नसकेको पट्नादेवी माविका प्रधानाध्यापक मोहनकुमार श्रेष्ठले बताए।

उनले गाउँगाउँमा होमस्टेको प्रवद्र्धन गरिएमा गाउँमै युवाको लागि रोजगारीको वातावरण हुने र कुनै पनि युवा विदेश पलायन हुनु नपर्ने कुरामा जोड दिए। रामेछाप नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर खड्काले होमस्टे प्रवद्र्धनका साथै कला र संस्कृतिको संरक्षणमा समेत लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित: ३ जेष्ठ २०७६ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App