१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'महाभियोगले आयोगलाई आहत'

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव संसद्मा दर्ता भएपछि सिंगो आयोगलाई आहत पुगेको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले आइतबार जारी गरेको तीन पृष्ठको प्रेस विज्ञप्तिमा महाभियोग प्रस्तावले सिंगो आयोग परिवारलाई आहत पुगेको उल्लेख छ।

महाभियोग प्रस्ताव दर्तापछि कार्कीले विगतमा गरेका त्रृटिपूर्ण काम–कारबाहीबारे र निलम्बित भइसकेपछि पनि आयोगकै निवासबाट स्रोत–साधनको दुरुपयोग गरेको समाचार सार्वजनिक भएपछि बस्न्यातले गोपनीयताका नाममा सूचना दिनेलाई घुमाउरो तरिकाले धम्क्याएका छन्। विज्ञप्तिमा भनिएको छ, 'आयोगको अनुसन्धान प्रक्रिया र त्यसको गोपनीयताको प्रश्न अत्यन्तै गम्भीर र मार्मिक भएकाले सूचना अधिकारी र प्रवक्तामार्फत मात्र सार्वजनिक हुनेछ।'

निलम्बनमा परेपछि पनि सरकारी निवासबाटै पद जोगाउन चलखेलमा जुटेका कार्की र उनका सहयोगीको सल्लाहअनुसार नै कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले आइतबार आयोगका पदाधिकारी र कर्मचारीलाई निर्देशन दिएका थिए। आयोग उच्च स्रोतका अनुसार कार्कीकै योजनामा धम्क्याउने र अप्रत्यक्ष समर्थन देखाउने नियतले आइतबार पे्रस विज्ञप्ति सार्वजनिक गरिएको हो।

आइतबारको कार्यक्रममा सहभागी एक आयुक्तले महाभियोग प्रस्तावले आयोगको गरिमामा असर पुगेको चर्चा भएको बताए। उनले कार्यक्रममा बोल्दै नबोलेको कुरा विज्ञप्तिमा उल्लेख भएको विषयमा आफूलाई जानकारी नभएको बताए। नाम नलेख्ने सर्तमा उनले भने, 'आयोगको गरिमामा महाभियोग प्रस्तावले असर पुगेको भन्ने कार्यवाहक आयुक्तले बोलेका हुन्, आयोगलाई नै आहत पुगेको मैले त थाह पाइनँ।'

आइतबार आयोगमा आयोजित कार्यक्रम महाभियोग घटनापछि आयोगको संवैधानिक दायित्व र कारबाहीको निरन्तरतामा विचलन नआओस् भन्ने विषयमा केन्द्रित रहेको आयोगका प्रवक्ता सहसचिव गणेशराज कार्कीले जानकारी दिए। उनले कुनै व्यक्ति विशेषभन्दा पनि महाभियोग प्रस्तावले आयोगलाई समेत असर गरेको र यसले सबैलाई दुःखी बनाएको प्रसंगमा कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले बोलेको बताए। 'हामीले कुनै व्यक्तिका विषयमा भन्दा सिंगो आयोगलाई परेको असर र आगामी कार्ययोजनामा नियमित हुन कार्यक्रम आयोजना गरेका हौं, अन्यथा केही होइन,' कार्कीले भने।

विज्ञप्तिमा प्राप्त उजुरीसँग सरोकार राख्ने कसैलाई पनि हैरानी नदिई कसुरदारउपर कडा हुन भनिएको छ। आयोगका अनुसार आइतबार आयोगका सबै आयुक्त, सचिव र कर्मचारीको उपस्थितिमा बस्न्यातले निर्देशन सम्बोधन गरेका हुन्।

प्रकाशित: ८ कार्तिक २०७३ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App